अपराधी बचाउने प्रयास

कञ्चनपुर । १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या अभियोगमा पक्राउ परेका व्यक्तिको विषयलाई लिएर कञ्चनपुरमा दैनिक आन्दोलन चर्किन थालेको छ ।

मानसिक सन्तुलन ठीक नभएका व्यक्तिलाई पक्राउ गरेको भन्दै पीडितका परिवार, आफन्त र स्थानीयले प्रहरी प्रशासनविरुद्ध नै आन्दोलन केन्द्रित गरेका हुन् ।

किशोरीको बलात्कार र हत्याका दोषी पत्ता लगाउन माग गर्दै आएका स्थानीय र प्रहरीबीच बुधबार पटकपटक भएको झडपमा दुवैतर्फ घाइते भएका छन् ।

मानसिक रूपमा असन्तुलित दिलीपसिंह विष्टलाई प्रहरीले सार्वजनिक गरेको भन्दै सुरु भएको आन्दोलनले झन् सघन र उग्र रूप लिएको छ । यसअघि बजारमा केन्द्रित हँुदै आएको आन्दोलन बुधबार मृतक किशोरी पढ्न गएको घरतर्फ गएपछि झडप भएको हो ।

उनीहरूले घटना सुरु भएको स्थलबाट अनुसन्धान सुरु हुनुपर्ने माग गरेका छन् । प्रमुख जिल्ला अधिकारी कुमार खड्काको प्रतिबद्धतापछि उनी पढ्न गएको घरका दिदीबहिनी हत्याकाण्डको दायरामा आएका छन् । उनीहरूमाथि अनुसन्धान हुने प्रजिअ खड्काले आश्वासन दिएका छन् ।

उनीहरूलाई पनि अनुसन्धानमा तान्नुपर्ने भन्दै भएको प्रदर्शनका क्रममा भएको झडपका कारण महेन्द्रनगर बजार क्षेत्र दिनभरि तनावग्रस्त हुन पुग्यो । आन्दोलनकारीले निर्मला पढ्न गएको बम दिदीबहिनीको घरमा आक्रमणको प्रयास गरेपछि झडप भएको हो ।

प्रहरीले आन्दोलनकारीलाई तितरबितर गर्न दर्जनौँ राउन्ड अश्रुग्यास प्रहार गरेको थियो । बम दिदीबहिनीको घरभन्दा तीन सय मिटर टाढासम्म हजारौँ आन्दोलनकारी एकीकृत भएका थिए ।

प्रहरीले उक्त क्षेत्रमा मात्रै करिब ३० सेलभन्दा बढी अश्रुग्यास प्रहार गरेको छ । यसैगरी, महेन्द्रनगर बजारमा पनि १५ सेल अश्रुग्यास प्रहार भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी ज्ञानबहादुर सेठीले बताए । बम परिवारको गाउँमा भएको झडपमा प्रहरीले प्रहार गरेको अश्रुग्यासबाट महिला र बालबालिकाहरू प्रभावित भएका छन् ।

बुधबार पनि स्थानीय व्यापारी, उद्यमीले स्वतःस्फूर्त रूपमा बजार बन्द गराएका छन् भने विद्यालय, सरकारी कार्यालय र बैंक पनि खुल्न सकेका छैनन् । सिआइबी टोलीले एसपी डिल्लीराज विष्टकै बोलीमा बोली मिलाएको र कञ्चनपुर प्रहरीसँग मिलेमतो गरेको भन्दै प्रदर्शनकारीले नाराबाजी गरेका छन् ।

सिआइबीलाई अपराधीको पैसामा बिकेको आरोप पनि आन्दोलनकारीले लगाएका छन् । सोमबार अभियुक्त भन्दै सार्वजनिक गरिएका विष्ट मानसिक रूपमा असन्तुलित भएको भन्दै उनीहरूले वास्तविक अपराधीलाई ढाकछोप गर्न खोजेको आरोप लगाएका छन् ।

एक प्रहरी अधिकारीका अनुसार प्रहरीले मंगलबार दिलीपका बुबा कमलसिंह विष्टलाई बिहानै घरबाट जिल्ला प्रहरी कार्यालय ल्याएको थियो । आरोपितका दाजु खडकसिंह विष्टसमेतलाई करिब तीन घण्टा जिप्रकामा राखेर अनुसन्धान अधिकारीहरूले दिलीप मानसिक अवस्था ठीक भएको व्यक्ति हो भनी कागजमा सहीछाप गराउने चेष्टा गरेका थिए ।

तर, उनीहरूले त्यसको सोझो प्रतिवाद गरेपछि प्रहरी दिलीपलाई मानसिक रूपमा स्वस्थ, तर यो मामिलामा खराब साबित गर्ने आफ्नो प्रयासमा असफल भएको छ ।

मानसिक रूपमा अस्वस्थ दिलीप विष्टलाई मानिसक रूपमा ठीक रहेको फरेन्सिक प्रमाणपत्र ल्याउनुपर्ने अवस्था सिर्जना भएको छ । जिल्ला न्यायाधिवक्ताले यस्तो व्यक्तिलाई सामान्य मानिससरह बयान लिन नमिल्ने र दिलीपको बयान लिनुअघि प्रहरीले जिल्ला न्यायाधिवक्तासमक्ष उनको मानसिक स्वास्थ्य ठीक रहेको प्रमाण पेस गर्नुपर्ने हुन्छ ।

यो प्रयास असफल भएपछि प्रहरी डिएनए परीक्षणतर्फ अगाडि सरेको छ । जसको रिपोर्ट आउन केही साता लाग्ने भएकाले त्यतिवेलासम्म आन्दोलन साम्य हुने प्रहरीको आकलन रहेको छ । सोही योजनाअनुसार डिएनए परीक्षणको प्रक्रिया सुरु गरिएको आरोप स्थानीयले लगाएका छन् ।

बालिका हत्याको घटनामा समातिएका व्यक्तिका विषयमा पीडित परिवारले नै प्रहरी अनुसन्धानमाथि असन्तुष्टि जनाएपछि प्रहरीले डिएनए परीक्षण गर्ने तयारी गरेको हो । आन्दोलनलाई साम्य पार्न र पीडित परिवारलाई आश्वस्त पार्न डिएनए परीक्षण गर्न लागिएको प्रहरी स्रोतको भनाइ छ । डिएनएको रिपोर्ट आएपछि आरोपित विष्टले नै बलात्कार गरेको हो, होइन प्रस्ट हुनेछ ।

यसैबीच, घटनाका विषयमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँग जानकारी लिएका छन् । मन्त्री थापाले घटनाबारे जानकारी लिँदै वास्तविक दोषी पत्ता लगाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका छन् ।

महानिरीक्षक खनालले भने विष्ट नै वास्तविक दोषी रहेको प्रमाणले देखाएको ब्रिफिङ गरेको बताइएको छ । बलात्कारपछि हत्या गरिएकी बालिकाको घटनाका आरोपी विष्ट नै भएको प्रमाण तथा आधार फेलापरेको भन्दै महानिरीक्षक खनालले सबै जानकारी मन्त्री थापासमक्ष गरेका हुन् ।

मन्त्री थापाको सचिवालयका सदस्यहरूले बुधबार कञ्चनपुर प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएका अनुसन्धान अधिकारी र स्थानीयसँग टेलिफोनमा यथार्थ विवरण लिएर उनलाई सुनाएपछि महानिरीक्षक खनाललाई बोलाएका थिए । त्यसलगत्तै मन्त्रालय पुगेका महानिरीक्षक खनालले थप विवरणसहित मन्त्री थापालाई बिफ्रिङ गरेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

मन्त्री थापालाई गराइएको ब्रिफिङमा बलात्कारपछि हत्याका आरोपी विष्टले बालिकाको साथमा रहेको २० रुपैयाँसमेत लिएर गएको खुलेको छ । प्रहरी अनुसन्धानमा विष्टले घटना भएको केही समयपछि सोही २० रुपैयाँले स्थानीय एक पसलबाट गुट्खा किनेर खाएको समेत खुलेको आइजिपी खनालले गृहमन्त्रीलाई बताएका छन् ।

सुरुदेखि नै शंकाको घेरामा रहेका विष्टले पक्राउ परेपछि कसरी निर्मलाको हत्या गरेका थिए, त्यसबारेसमेत प्रहरीलाई बताएका छन् । प्रहरीसँगको बयानमा उनले आफू मार्सल आर्टको खेलाडी भएको र निर्मलाको किलकिले थिचेर हत्या गरेको बताएका छन् ।

बलात्कारअघि बाटोमा भेटिएकी निर्मलाको साइकलको चेन बनाइदिएको, त्यसपछि बलात्कार गरेको र त्यसको पोल खुल्ने डरले हत्या गरेको प्रहरीलाई बताएका छन् । १० साउनमा साथीको घरमा किताब लिन गएकी १३ वर्षीया बालिकाको फर्कने क्रममा बलात्कार गरी हत्या गरेको अवस्थामा शव भोलिपल्ट भेटिएको थियो ।

एसएसपी चन्द खटाइए

कञ्चनपुरको आन्दोलन चर्केर उग्ररूप लिन थालेपछि प्रदेश–७ प्रदेश प्रहरीले एसएसपी विक्रमबहादुर चन्दलाई त्यहाँ खटाएको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक सुरज केसीले आन्दोलन उग्र बन्दै गएपछि शान्ति सुरक्षा कायम गर्न एसएसपी चन्दलाई पठाइएको जानकारी दिए ।

‘त्यहाँको आन्दोलन दिनप्रतिदिन उग्र बन्दै गएपछि अवस्था सामान्य पार्न एसएसपी खटाइएको हो’, उनले भने, ‘एसएसपीले त्यहाँ सहजीकरण गर्दै अनुसन्धानबारे पनि वास्तविक अध्ययन गर्नुहुनेछ ।’

डिआइजी केसीले जिम्मेवारीसहित एसएसपी खटाएपछि अब हत्याकाण्डको अहिलेसम्म भएको अनुसन्धानको वास्तविकता र बाँकी प्रक्रिया उनले नै हेर्ने जानकारी दिए ।

आन्दोलनकारीले एसपी डिल्लीराज विष्टको सरुवा हुनुपर्ने र उनको अनुसन्धान सही ढंगबाट नभएको भन्दै आन्दोलन चर्किएपछि तत्कालका लागि एसएसपी खटाइएको हो ।

प्रतिक्रिया