बंगालको खाडीमा नेपालको माटो

राजेशमान केसी. भूक्षय भन्नाले पृथ्वीको सतहीय भूमि पानी, हावा र बर्फिलो चट्टानबाट बिस्तारै बगेर जानु हो । यसरी माटो, चट्टान र बालुवाको क्षयबाट पृथ्वीको माथिल्लो सतह बिस्तारै नष्ट भएर जान्छ । चट्टानहरू यान्त्रिक र रासायनिक घर्षणबाट घर्षण हुँदै जान्छन् । खासगरी वर्षा र उर्लंदो भेल वा पानीले चट्टानहरूलाई कमजोर तुल्याउँदै लान्छ ।

केही किसिमका चट्टानहरू जस्तैः चुन ढुंगा बिस्तारै पानीमा घुलिन पुग्छ। अन्य चट्टानहरू पानीमा रसायनहरूबाट नष्ट पारिन सक्छन् । उर्लंदो भेल, छालको रूपमा, वर्षात् अथवा नदीनाला र खोलाहरूले चट्टानका ससाना टुक्राहरू नदीको सिरानमा र समुद्रहरूमा जम्मा गर्दछन् । यस्तै, किसिमले माटोको नरम भाग बगाएर जाने र जम्मा गर्ने गर्दछ ।

यस्तै, किसिमले माटोको नरम भाग बगाएर जाने र अन्यत्र जम्मा हुने प्रक्रियालाई भूक्षय भनिन्छ। भूक्षयका कारण नेपालको माटो बर्सेनि ठूलो परिमाणमा बंगालको खाडीमा पुग्ने गरेको छ । त्यसैगरी भूक्षय हुने अन्य तरिकाहरूमा छालको क्रियाकलापबाट समुद्रीतटहरू बगाउने ठूल्ठूला बरफीय चट्टानहरूबाट पर्वतीय चट्टानहरूको विस्थापन र तीव्र आँधीका कारण माटो र बालुवाको विस्थापन, विभिन्न उपत्यकाहरू, गुफा, कन्दराहरू र जलमार्गहरू विशेष गरेर नदीनाला र खोलाहरूबाट निर्माण हुने गर्दछन्, जसले चट्टान र माटोलाई कटानी गर्दछ र तिनीहरूलाई आफैँसँग बगाएर लाने गर्दछ ।

स्मरण रहोस् नदीको आफ्नो निर्धारित मार्गसमेत पानीको तीव्र वेगबाट उत्पन्न शक्तिका कारण परिवर्तन हुन सक्तछ । यसको प्रमुख उदाहरणको रूपमा भन्नुपर्दा भूक्षयको मुख्य असर संयुक्त राज्य अमेरिकाको उत्तरी एरिजोना सहरस्थित न्चबलम ऋबलथयल लाई लिन सकिन्छ । जहाँ ठूलो अनुपातमा चट्टान र माटोलाई कटान गरी आफूसँगै बगाएर लगेको छ। भूक्षयबाट अत्यन्त खतराजनक जमिन भासिने र जमिनको ठूलो भाग कुनै पनि उब्जनीका लागि अनुपयुक्त हुन सक्तछ ।

रुख–बिरुवा र वनस्पतिले माटोको सतहलाई मजबुत बनाएर र अत्यधिक पानीको वहावलाई सोसेर भूक्षय रोक्न सक्तछ । तर, यदि यस किसिमको संरक्षण पद्धतिलाई जथाभावी रूपमा वनजंगल फँडानी गरेर हटाइयो भने निश्चित रूपमा यसबाट माटोको ठूलो हिस्सा बगेर जाने प्रबल सम्भावना रहन्छ । त्यस्तै, विभिन्न गाइवस्तु र चौपायाहरूको अत्यधिक चरिचरनबाट घाँसहरू उजाडिंदै जान्छन् । यसले पनि भूक्षयको सम्भावना बढाउँछ ।

यसका लागि विशेषज्ञहरूले विभिन्न वैज्ञानिक पद्धतिहरू अपनाउन जोड दिएका छन् । पृथ्वीमा विद्यमान विभिन्न प्राकृतिक तत्वहरू मध्ये एक प्रमुख तत्व हो माटो । जमिनको उत्पादकत्व र उर्वरा बढाउन माटो अपरिहार्य हुन्छ । माटो प्रकृतिमा चट्टान र ससाना कणहरू, विभिन्न लवण पदार्थहरू, सूक्ष्म जीवाणु तथा पानीको ओसहरू मिलेर बनेको एक जटिल मिश्रण हो ।

स्मरण रहोस् माटोमा जैविक तत्व, खनिज लवण तथा पानीको ओस र सूक्ष्म जीवाणु यथेष्ट मात्रामा रहेमा मात्र यसमा रुख बिरुवा, बालीनाली राम्रोसँग फस्टाउन सक्छ । वास्तवमा माटोमा भएका जल, खनिज, लवण पदार्थ र अन्य प्रांगारिक तत्वहरूको सञ्चिति गर्दै भूउपयोग गरिएमा मात्र जमिनको उत्पादकत्व बढ्छ । त्यसैले, हामीले माटोलाई सामान्य वस्तु सम्झी अवहेलना गर्नु हुँदैन ।

हामीलाई सुन्दा अचम्म लाग्न सक्छ । तर, यथार्थ कुरा के हो भने प्रकृतिमा एक इन्च माटो बन्न एक सय देखि चार सय वर्षसम्म लाग्न सक्छ। नेपालको सन्दर्भमा भन्नुपर्दा देशको अहिले पनि झन्डै ८० प्रतिशत जनसंख्याको आय–आर्जनको माध्यम कृषि नै हो। यस हिसाबले भूमि अर्थात् माटो नै हाम्रो मुलुकको जीविका धान्ने प्रमुख प्राकृतिक स्रोत हो ।

हाम्रो देशको भौगोलिक अवस्था अत्यन्त जटिल छ। भिराला तथा अति भिराला पाखाहरूमा कृषि उत्पादनका लागि अव्यवस्थित वा अवैज्ञानिक तरिकाले खनजोत गरिएका छन् । फलस्वरूप पहाडमा खेतीबारीबाट मलिलो माटो नास भएर उब्जाउ घट्दै जानेक्रम एकातिर छ भने अर्कोतिर त्यही माटो रुखो गेगरमा परिणत भई तराईका फाँटहरू पुरिँदै जाने स्थिति अर्को रहेको छ।

यसैले मध्य पहाडी क्षेत्रको अनुपयुक्त भूउपयोग नै नेपलको प्रमुख भूक्षयको कारण बनेको छ। चुरे तथा भावर क्षेत्रमा अनपेक्षित रूपमा बढ्दै गएको ढुंगा, रोडा, बालुवाजस्ता निर्माण सामग्रीहरूको अत्यधिक दोहनका कारण पनि यो क्षेत्र तीव्र भूक्षयबाट प्रभावित हुन पुगेको छ । त्यसैगरी वायुमण्डलमा कार्बन डाइअक्साइड तथा अन्य हानिकारक ग्यासहरूको मात्रा बढ्दै गइरहेको छ।

त्यसैले यस्ता समस्याहरूको न्यूनीकरणका लागि पनि भूसंरक्षणले प्रमुख भूमिका निर्वाह गरेको हुन्छ । अर्को कुरा हाम्रो देशको अधिकांश भूभाग भिरालो पहाड पर्वतले ढाकेको छ । यी क्षेत्रहरू अत्यन्त निर्वल, कमलो र अस्थिर छन् । यसैले, यस्ता क्षेत्रमा बर्सेनि बाढी पहिरोको पीडा खप्न त्यहाँका बासिन्दाहरू विवश छन् ।

तसर्थ, भूसंरक्षण अर्थात् माटोको संरक्षण गरेर माटोमा प्राकृतिक गुणहरू कायम राखेमा कम भूमिमा खेती गरे पनि माटोमा प्राकृतिक तत्वहरू प्रशस्त हुने भएकाले खाद्यान्न बढी प्राप्त गर्न सकिन्छ जसले गर्दा बढ्दो जनसंख्याको खाद्यान्नको माग पनि पूरा गर्न सकिन्छ । भूसंरक्षण गरी जमिनमा वनजंगल र बोट बिरुवाका जराहरूले माटोलाई राम्रोसँग समातेर पहिरो, भूक्षयजस्ता प्राकृतिक प्रकोपहरू न्यून गर्न सकिन्छ ।

यसका साथै बोट बिरुवाको कारणले वर्षात्को भल पनि नियन्त्रित हुन पुग्दछ । जसले गर्दा बाढीले बालुवा, गेगर आदि थुपार्न पाउँदैन । र, यसबाट मरुभूमीकरण हुनबाट पनि हाम्रो भूभाग जोगिन्छ । यस्तै, भूसंरक्षण गरेर जमिनको प्राकृतिक गुण कायम गरेमा माटोमा बस्ने सूक्ष्म जीवहरूले आफ्नो खाद्य पदार्थ पाउँछन् र तिनीहरूको विनाश हुन पाउँदैन ।

यसले गर्दा पारिस्थितिकीय पद्धति पनि सन्तुलित एवं संरक्षित रहन्छ । त्यति मात्र नभई भूसंरक्षण गर्न सकिएमा हाम्रा वरिपरिका भूस्वरूप अर्थात् प्राकृतिक वातावरणको पनि संरक्षण हुन्छ । भूसंरक्षणबाट जमिनमा विद्यमान अम्लीयपना तथा विकिरणयुक्त माटो पानीतिर बगेर जान पाउँदैन । जल प्रदूषण पनि केही हदसम्म रोकिन्छ र वातावरणमा सकारात्मक प्रभाव पर्दछ ।

भूसंरक्षणको सम्बन्धमा हामीले बुझ्नुपर्ने महत्वपूर्ण कुरा के हो भने अधिकांश समस्याहरू प्रकृतिजन्य भए पनि मानवद्वारा निर्मित समस्याले भूसंरक्षण कार्यमा अवरोध पुर्याएको हुन्छ, । उदाहरणका लागि व्यापक वनजंगल फँडानी र अति चरिचरनले भूक्षयमा तीव्रता ल्याएको छ । प्राकृतिक प्रकोपबाट उत्पन्न समस्यालाई हामीले पूरा नियन्त्रण गर्न नसकिए पनि केही हदसम्म न्यूनीकरण गर्न सकिन्छ ।

मुख्य कुरा अवैज्ञानिक र अव्यवहारिक ढंगबाट भिरालो तथा अति भिराला जग्गाहरूमा खेती कार्य गर्नु उपयुक्त हुँदैन । त्यसपछि नांगा, डाँडापाखा र खेर गइरहेको जग्गा तथा घर छेउछाउ र आली कान्लाहरूमा वृक्षरोपण गरी माटो संरक्षण गर्ने र, सम्भव भएसम्म भूसंरक्षणसम्बन्धी घर दैलो कार्यक्रम, सडक–नाटक, पर्चा, पोस्टर र पोस्टरहरूबाट भूसंरक्षणको महत्व झल्किने गरी बन्दोबस्तका कार्यक्रमहरू सञ्चालन गर्नु वान्छनीय हुने देखिन्छ।

त्यसैगरी, उपयुक्त भूउपयोग र प्रविधि (जस्तैः गह्रा सुधार, जैविक मलको प्रयोग आदि) को विकास गरी धेरै भिरालो नभएको जग्गामा कृषि कार्य गर्ने । साथै खेती कार्य सम्भव नभएका क्षेत्रहरूमा माटोलाई अड्याई राख्ने खालका प्रजाति–जस्तैः दुबो, बाँस, विभिन्न जातका घाँस आदि) हरूको वृक्षरोपण गर्ने साथै खेर गइरहेको खाली क्षेत्रमा हावापानी सुहाउँदो र मौसम अनुसारका फलफूल र जडीबुटी खेतीगरी माटोको क्षमता र उर्वरतालाई कायम राख्ने गर्नु पर्दछ ।

वास्तवमा दिगो विकासको सिद्धान्त अनुरूप प्राकृतिक वातावरण र सामाजिक आर्थिक विकासबीच सन्तुलन कायम रहने गरी भू तथा जलाधार क्षेत्रको व्यवस्थापन एवं संरक्षणजस्ता कार्यक्रमहरूलाई आधुनिकीकरण गर्दै जैविक विविधता संरक्षण र संवर्धन गरी उपयुक्त भूउपयोगमा टेवा दिनु वर्तमान समयमा प्रमुख आवश्यकता हुन पुगेको छ ।

त्यसो त वातावरण संरक्षण र संवर्धन गर्न तथा पृथ्वीलाई प्रदूषणरहित बनाई जीवित प्राणीहरूको भौतिक अस्तित्व कायम राख्न पनि भूसंरक्षणको गहन महत्व रहन्छ। नेपालमा हाल प्रमुख समस्याको रूपमा देखा परिरहेको भूक्षयको समस्यालाई रोकथाम गरी भूसंरक्षणसम्बन्धी विविध कार्यक्रमहरूलाई प्राथमिकताका साथअघि बढाउनु आजको प्रमुख आवश्यकता हो । भूसंरक्षण दिवस मनाउनुको सार्थकता पनि यसैमा निहित रहने देखिन्छ ।

प्रतिक्रिया