मीन ठकुरी धनगढी । कैलालीको गोदावरी नगरपालिका—१२ ओलानीका वासिन्दा भटाभट बसाइँ सर्न थालेपछि स्थानीय चन्द्रसिंह बडैला चिन्तित छन् । ५१ वर्षअघि डोटीबाट उनको परिवार यहाँ आएको हो । अब उनीहरू एउटै पुस्तामा दोस्रो बसाइसराइका लागि तयार छन् । भन्छन्, ‘हेर्दाहेर्दै धेरै जनाले ओलानी छाडेर गए कतिपय जाँदैछन् ।’
चन्द्रसिंहसहित दुई सय जनाले चुरेको ओलानीमा जंगल फाँडेरै बस्ती बसालेका थिए । त्यो समय पहाडतिर भोकमरी लाग्यो । हाट जाने वेला उनीहरू ओलानीकै बाटो ओहोरदोहोर गर्दथे । भोकमरीले च्यापेका उनीहरूलाई मछेली खोलाको पानी र यहाँको चरिचरन क्षेत्रले मोहित पारेको थियो । तर, त्यो आकर्षण अब बाँकी छैन ।
पानीको चरम अभाव हुन थालेपछि अब बाँकी जिन्दगानी यहाँ नचल्ने निष्कर्षमा उनीहरू पुगेका छन्। उहिले मछेली खोलामा सिँचाइ र पिउनका लागि छेलोखेलो पानी थियो । गोदावरी—१२ का ८२ वर्षीय उदयसिंह बडैला भन्छन्, खानेपानीको हाहाकार छ । पानीका स्रोत सुकेपछि स्थानीयको जीविकोपार्जनमा समेत व्यापक असर परेकोे छ । पानी नहुँदा बालीनाली पनि प्रभावित छ ।
मछेली खोलामा गेग्रान भरिएर भएको पानी पनि भित्रभित्रै बगेर जान थालेको छ । चुरे फेदीमा बस्ती बसाउँदा डा.केआई सिंहले भनेका कुरा सम्झँदै उनी भन्छन्, चुरे पहाडको फेदीमा नबस, अरू ठाउँमा म जग्गाको व्यवस्था गरिदिन्छु, भविष्यमा तिमीहरूलाई पानीको संकट पर्नेछ, भनेकै हुन् त्यो साँच्चिकै रहेछ ।
आर्थिक व्यवस्थापन गर्न सक्नेहरू बसाइ सरिसके । कमजोर आर्थिक अवस्थाका परिवारहरू विषम अवस्थासँग जुध्दै यही बस्न बाध्य छन् । खानेपानी नै नपाइने ओलानीको जग्गा कसैले किन्दैन । गोदावरी ११ र १२ मा बस्नेहरूसित धेरै जमिन छैन ।
जंगल फाडेर बस्ती बसेकाले प्रतिपरिवार ५ कठ्ठा देखि डेढ बिघासम्म जमिन रहेको स्थानीय बताउँछन् । ओलानीवासी अहिले खोलाको धमिलो पानी पिउँछन् । प्रदूषित पानीका कारण विभिन्न रोग लाग्ने गरेको मालाखेती स्वास्थ्य केन्द्रका सिनियर अहेब सत्यराज फुलारा बताउँछन् ।
उनका अनुसार दूषित पानीका कारण झाडापखाला, आउँ, टाइफाइड, छालासम्बन्धी लुतो, खटिराका बिरामीहरू अस्पताल आउने गरेका छन्। उदयसिंह भन्छन्, ‘अब त ओलानीमा कसैले छोरीबेटी दिन मान्दैनन् । उनीहरूलाई छोराको बिहे गर्न ओलानीभन्दा बाहिर पनि घर छ भन्नुपर्ने भएको छ ।
गोदावरी ११ र १२ मा धेरै व्यक्तिको दोहोरो बस्ती छ, केटाकेटी पढाउन र सेवासुविधाका हिसाबले धेरैले अत्तरिया बजार, धनगढी र राजमार्ग छेउछाउमा घर बनाएर बस्न थालेका छन् । गोदावरीको चुरे फेदीका बस्ती वर्षौदेखि तिर्खाएको छ । सुख्खायाममा मूलहरू सुके यहाँका वासिन्दाको कठिन दिन सुरु हुन्छ।
एक घैंटो पानीका लागि २÷३ घण्टा पैदल । गोदावरीको सबै वडामा खानेपानीको अभाव छ। पानीको हाहाकार हुने गोदावरीका ४, ६, ७, १०, ११, र १२ नम्बर वडा चुरे फेदीमा पर्छन् । ती वडामा खानेपानीका मूल पछिल्ला वर्षमा सुक्दै गएकोले स्थानीयहरू पनि त्यहाँबाट बाहिरिँदैछन्।
गोदावरी–११ ओलानीका तुलाराम बडैला दुई वर्षअघि गोदावरी नगरपालिका–३ चौकीडाँडामा बस्दै आएका छन् ।पानी नहुँदा ३० वर्षदेखि बस्दै आएको घर छोडेर खडकसिंह बडैला पनि चौकीडाँडामा सरे । ७ वर्षदेखि ओलानीमा बस्दै आएका लालवीर कोली दुई महिनाअघि बसाइसराई गरी धनगढी उपमहानगरपालिका १३ गेटामा आएका छन् ।
अन्नबालीले वर्षभरी खान नपुगेपछि डोटीबाटै बसाइँसराइ गरी ओलानी आएका साउद र कडायत परिवार अत्तरिया नजिक बसेका छन् । तुलाराम, खडकसिंह र लालवीर प्रतिनिधि पात्र मात्र हुन् । गोदावरी ११ र १२ बाट गोदावरी कै अत्तरिया, चौकीडाँडा, झन्झटपुर, धनगढी घर बनाएर बस्नेको संख्या धेरै भएको गोदावरी ११ का वडाध्यक्ष शिव बिक बताउँछन् ।
गाउँमा बनाएका घर र जमिन कति बाँझा छन् त्यसैबाट बसाइसराइको तथ्यांक आउने उनी बताउँछन् । ओलानीबाट बस्ती सार्नेमध्ये थोरैले मात्र बसाइसराइसम्बन्धी कागजात बनाएको पाइन्छ । यसले गर्दा रेकर्डमा उनीहरू बसाइँ सरेका छैनन, तर वास्तविकता भिन्नै छ । गोदावरी ११ र १२ बाट सात महिनायता ३५ जनाले मात्र बसाइसराइ गरेका छन् ।
नगरपालिकाको पञ्जीकरण शाखाका गोविन्दराज जोशीका अनुसार आउनेभन्दा बसाइसराइ गर्नेको क्रम बढी देखिन्छ । वडाध्यक्ष विकका अनुसार ०६८ सालको जनगणनाअनुसार वडा नं. ११ मा ९ सय ९१ र वडा नं. १२ मा एक हजार ६ घरधुरी छन् । तीमध्ये अधिकांश दलित परिवार छन् ।
परिवारका प्रायः सबै रोजगारीका लागि भारत गएका छन्। ओलानीमा ‘पानी दिने विश्वास जसले दिलाउँछ, उही चुनाव जित्छ । तर, पनि यहाँका वासिन्दाले जहिलेसुकै पानीकै माग गरिरहेकै छन् । चुनावका वेला पनि उनीहरूले थुप्रै आश्वासन पाएको बताए ।
तर, त्यो दिन उनीहरूको जीवनमा आउने नआउने थाहा छैन। स्थानीय सरकार बनेपछि जनताका समस्या सम्वोधन हुनेमा बढी आशावादी थियौँ,’ गोदावरी–११ का पठानसिं विकले भने, ‘जनप्रतिनिधिले ल्याएको पहिलो आर्थिक वर्षको बजेटमा समेत खानेपानीका योजनालाई प्राथमिकतामा राखिएन ।’
सबैलाई पुग्ने गरी पानीको व्यवस्थापन गर्न सके स्थानीयको अनुहारमा खुसी छाउँथ्यो,’ वर्षाैंदेखिको पानीको समस्या टथ्र्यो र बसाइ सर्ने क्रम रोकिन्थ्यो विकले भने ।’ गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनी यो वर्ष खानेपानीतर्फ पूरै नगरपालिकाका लागि ६० लाख बजेट रहेको बताउँछन्।
सडक कल्भर्ट निर्माण नगरको प्राथमिकतामा परेको देखिन्छ यसका लागि ३६ करोड खर्च हुँदैछ। अर्को वर्ष खानेपानीलाई प्राथमिकतामा राखेर बजेट छुट्याउने मरासिनी बताउँछन् । नगरले आफ्नो बजेटमध्ये ६० लाख डिप बोरिङ र कुवा मर्मतका लागि छुट्टाइएको छ । जसअन्तर्गत वडा नम्बर ४, ६, ७ र १२ मा पर्ने चार ठाउँमा डिप बोरिङ गरिने छ ।
एउटा डिप बोरिङको लागत १० देखि १५ लाख अनुमान गरिएको मरासिनीले बताए । बाँकी रकम परम्परागत कुवाहरूको मर्मत–सम्भार र अन्य सम्भाव्यता अध्ययनमा खर्चिने अधिकृत मरासिनीले बताए । पानी अभावमा छट्पटिएको ओलानीमा डिप ट्युबेल जडान गर्दा २४ लाखसम्म खर्च हुने अनुमान छ ।
इनारमा वर्सेनी पानी सुक्दै गएकाले यस क्षेत्रमा खानेपानीको ठूलो योजना आवश्यक रहेको गोदावरी गाविसका पूर्व अध्यक्ष भानसिंह विकले बताए । चुरे वन विनास, जलवायु परिवर्तन र मानवीय गतिविधिका कारणले पानीका स्रोत सुक्न थाले उनले भने ‘खानेपानीको दीर्घकालीन समस्या समाधानका लागि चुरे गाउँपालिका र डोटीको सीमा भएर बग्ने ठूली गाडको पानीलाई सुरुङ मार्ग खनेर ल्याउन सक्नुपर्छ ।’
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धनगढीले गोदावरी नगरपालिका चुरेफेदीको बस्ती ओलानीमा खानेपानी व्यवस्थापनका लागि गत वर्ष दुई वटा डिप ट्युबेल निर्माण गरे पनि नियमित खानेपानी आउँदैन । दुई वटा डिप ट्युबेलमार्फत २१ धारा जडान गरिएको डिभिजन प्रमुख नारायणप्रसाद काफ्ले बताउँछन् ।
खानेपानीको चरम अभाव देखिए पनि समस्या लिएर कार्यालय कोही नआएको काफ्लेको भनाइ छ। ओलानीमा डिप ट्युबेल गाड्दा ३ सय फिटमा पानी आउँछ, तर विद्युत् आपूर्तिमा अनिश्चितता हुँदा त्यहाँका उपभोक्ताले नियमित खानेपानीको जोहो गर्न सकेका छैनन् ।
आगामी आर्थिक वर्षमा गोदावरी १० र ११ मा नयाँ योजना सर्भे गर्ने तयारी रहेको डिभिजन प्रमुख काफ्ले बताउँछन् । भूमिगत जलस्रोत विज्ञ नवराज श्रेष्ठका अनुसार चुरेफेदीको समथर फाँटमा पानी तल प्रशस्त रहेकोले पानी निकाल्न मिल्छ। चुरेफेदीमा छिद्र धेरै हुँदा वर्षात्को पानी रसिएर तल बस्छ त्यही पानीलाई डिप ट्युबेलमार्फत निकालेर पानीको प्रयोग गर्न सकिने र त्यसका लागि विद्युत् आपूर्तिको व्यवस्थापन गर्नुपर्ने श्रेष्ठ बताउँछन् ।
विद्युत् प्राधिकरणसँग मिलेर ठाउँ–ठाउँमा ट्रान्समिटर राखेर विद्युत् आपूर्तिलाई निरन्तरता दिँदै डिप ट्युबेलमार्फत पानी वितरण गर्न सकिने उनको भनाइ छ । विज्ञहरू यसरी पानी संकट आइपर्नुमा चुरे क्षेत्रको भूगोल र त्यहाँ भइरहेको अनियन्त्रित विकासलाई जिम्मेवार ठान्छन् ।
त्रिभुवन विश्वविद्यालयका इन्जिनियरिङ भूगर्भविद डा. सुवोध ढकालका अनुसार अति नै कमजोर र सूक्ष्म माटोका कणहरूबाट बनेका मडस्टोन, बालुवाबाट बनेका स्यान्डस्टोन र विभिन्न आकारका ग्राभेलहरूबाट बनेका कोङलोमेरेटजस्ता चट्टानहरू चुरे क्षेत्रको भूगर्भको मुख्य संरचना हो ।
उनका अनुसार अहिले चुरे क्षेत्रमा पनि विभिन्न विकास निर्माण र पूर्वाधार विकासका काम भइरहेकाले सडक निर्माण प्रक्रियाले चट्टान टुक्रिने, खिइने र भूक्षय हुने प्रक्रिया झन् बढेर गएको छ । चुरे क्षेत्रको चट्टानी भिरमा खनिएका सडक मार्गका अनेक ठाउँमा पहिरो र भूक्षयको समस्या विकराल छ । वनजंगल फँडानी र उक्त स्थानहरूमा गरिएका अनियन्त्रित र अवैज्ञानिक बस्तीका कारण पानीका स्रोत सुक्ने गरेको डा. ढकालको भनाइ छ ।
प्राकृतिक वातावरण, जैविक विविधता चुरेको महत्व भएको बताउँदै डा. ढकाल भन्छन्, ‘पानीको स्रोत नै चुरे भएकोले संरक्षण जरुरी छ ।’ चुरे अतिक्रमण गरी नयाँ बस्ती बसाउने चलन, वन फँडानी तथा जथाभाबी खोलाहरूमा अतिक्रमण अनि चट्टानी भिरहरूबाट र खोलाहरूबाट जथाभाबी ढुंगा गिट्टी निकाल्ने चलनले चुरेमाथि प्रहार भइरहेको भूमिगत जलस्रोत विज्ञ ढकाल बताउँछन् ।
अनियन्त्रित र अवैज्ञानिक रूपमा यसरी भइरहेको बालुवा गिट्टी दोहनलाई तुरुन्तै रोकी यसलाई वैज्ञानिक ढंगबाट चलाउन सकिएमा चुरे विनाशलाई धेरै हदसम्म नियन्त्रण गर्न सकिने उनको धारणा छ । चुरे क्षेत्र भावर र तराईको लागि पानीको महत्वपूर्ण रिचार्ज जोनको रूपमा रहेको छ । चुरेको पहिरो र भूक्षयको कारणले चुरेबाट बग्ने खोलाहरू अनियन्त्रित भएर बग्ने र बाढीको थप समस्या निम्त्याउने सम्भावना बढ्दै गएको छ ।
चुरे विज्ञ डा. दिनेश भुजु चुरेको महत्व बताउँदै भन्छन्, चुरे नेपालमा खण्डित नभएको पर्वत माला हो । चुरेले नेपालको समथर तराई र पहाडलाई जोडेको छ । चुरे जैविक विविधताको वासस्थान भएको बताउँदै भुजुले भने आदिकालका वनस्पति साइकस, रुख उन्यू, रामाकेतिकलगायत अन्य थुप्रै जन्तुजनावर आदिम मानवप्रजातिका अवशेष चुरेमै पाइन्छन् । चुरेको महत्वबारे अझ जानकारी दिँदै भुजु भन्छन् नेपालका लोपोन्मुख जाति राउटे, चेपाङ पनि चुरेमै आश्रित रहेका छन् ।
तर, यस्तो महत्वपूर्ण चुरे क्षेत्र ‘पानी विनाकी रानी’ बनेको छ । भावर क्षेत्रमा ग्रावेल प्रकारको माटो भएकोले पानी छिरेर तल पुग्छ । चुरेको तटीय क्षेत्रमा पानी अड्किने ठाउँ नहुँदा पानी अभाव देखिने ढा. ढकालको भनाइ छ । आकाशे पानी जमिनमुनि छिर्न नपाई भूमिगत जलमा पनि प्रतिकूल प्रभाव पर्दैछ ।
पानीको बचावटका लागि पनि भूक्षय नियन्त्रण र वन जोगाउनु जरुरी रहेको विज्ञहरू बताउँछन् । चुरेमा रहेका ताल तालतलैयाहरूको संरक्षण गर्न सके पानी संकटबाट बच्न सकिने उनीहरूको सुझाव छ । चुरेको प्राकृतिक बनोट पानी नअड्किने हो । पानी नअड्किनु चुरेको दोष होइन प्राकृतिक कारण भएको डा. भुजुको भनाइ छ ।
उनी भन्छन् चुरेलाई प्राकृतिक अवस्थामा छाडिदिने, मानवबस्ती नराख्ने हो भने चुरे संरक्षण गर्नुपर्दैन आफैँ संरक्षण भइहाल्छ । चुरेमा गेग्रान, बलौटे बालुवाबाट बनेकोले पानी थामिदैन, त्यही पानी चुहिएर भूमिभित्र जान्छ, त्यही पानी तराईलाई उपलब्ध हुने भुजुले बताए । चुरे नभए तराईलाई खानेपानी उपलब्ध नहुने भएकोले त्यसको संरक्षण गर्नुको विकल्प नभएको उनी बताउँछन् ।
दुईपटक विफल सिँचाइ आयोजना तेस्रोपटक बन्दै
ओलानीमा सिँचाइ आयोजना सरकारको लागि भारी पर्न गएको छ । दुईपटक यहाँको सिँचाइ आयोजना विफल भयो । ०४२ मा मछेली खोलामा एसियाली विकास बैंकको सहयोगमा बाँध निर्माण सम्पन्न भयोे । त्यो बाँध ०४६ सालमा बाढीले भत्कायो । ०५८ सालमा तीन करोडमा पुनः अर्को बाँध बन्यो । तर, तीन महिना पनि टिकेन ।
यी बाँधका लागि हालसम्म १३ करोड बढी रकम खर्च भयो तर पनि सिँचाइको कार्य पूरा भएन। बाँध भत्किएपछि स्थानीयले स्याउलाले थुनेर केही भागमा सिँचाइ गर्ने प्रयास गरेका छन् । तर, यसबाट आउने पानीबाट करिब २० प्रतिशत भागमा पनि सिँचाइ सुविधा पुग्न सकेको छैन । हिउँदमा खोलामा पानी कम हुँदा सिँचाइको सुविधा हुँदैन ।
मोहना सिँचाइअन्तर्गत मछली खोलादेखि पूर्व–पश्चिम राजमार्गसम्म १३ किलोमिटर लामो नहर भए पनि खोलामा पानी बढी हुने वर्षायाममा पनि ५ किलोमिटरसम्म मात्र पानी पुग्ने गरेको छ । मछली खोलामा मोहना सिँचाइ आयोजनाको काम निर्माणाधीन काममा पनि बजेट कमि भएकोले निर्माण कार्य सुस्त भएको क्षेत्रीय सिँचाइ निर्देशनालय धनगढीका सिनियर डिभिजन इन्जिनियर गणेश मरासिनीले बताउँछन्।
‘गत असारमै सम्पन्न भइसक्नुपर्ने सम्झौता हो, तर बजेट अभावलगायत कारणले आयोजनाको अवधि लम्बिएको हो ।’ २५ करोड ७६ लाखमा यो कार्य भइरहेको छ। आयोजनाले कैलाली र कञ्चनपुरको उर्वर ३ हजार ३ सय हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य लिएको छ ।
कैलालीका साविकका गोदावरी र मालाखेती गाविसको १ हजार ८ सय र कञ्चनपुरको गुलरिया र कृष्णपुर गाविसको १ हजार ५ सय हेक्टरमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य रहेको इन्जिनियर मरासिनीले बताए । आयोजना निर्माणले सिँचाइँ सुविधा विस्तार भएपछि हिउँदे तथा वर्षे बालीको उत्पादकत्व वृद्धि हुने प्रक्षेपण गरिएको छ ।
यसअघि दुई पटक निर्माण सम्पन्न भएका आयोजना असफल भएपछि एकै ठाउँमा तेस्रोपटक आयोजना निर्माण हुन लागेको हो । यो आयोजना पनि दीर्घकालीन रूपमा टिक्न सक्छ भन्ने विश्वास स्थानीयलाई छैन । वर्षेयाममा चुरे पहाडबाट बगेर आउने ढुंगा, बालुवा र गेग्रान भरिएर बाँध भत्काउने डर स्थानीयवासीको छ ।
प्रतिक्रिया