यस्ता कलंक कहिले हट्छन ?

लेखकः गोकुल निरौला 

मुलुकको सुदूरपश्चिममा पर्ने प्रदेश–७ विकट मात्र होइन गरिबी, अशिक्षा र रूढीवादीबाट मुक्त हुन नपाउँदै दिनानुदिन बलात्कार र हत्याको चक्रव्युमा फस्दै गएको छ । एक महिनाको अन्तरालमा १० जनाभन्दा बढीको हत्या भइसकेको छ । हत्या हुनेमा सबैभन्दा बढी २० वर्षभन्दा कम उमेरका छन् ।

बलात्कारपछि हत्या गरिएका कलिला बालिका छन् भने एकजना आफ्नै पतिले हत्या गरिएकी सरस्वती कार्की भने ३० वर्ष पार भइसकेकी हुुन् । विकासका पूर्वाधारको सुरुआत नहुँदा र यस क्षेत्रमा विद्यालय नखोलिँदा विकट मात्र होइन कुप्रथाले गाँजिएको यस क्षेत्रमा महिलाहरूलाई देवीको रूपमा पूज्ने गरेका थिए ।

तर, देवीका रूपमा पूज्ने गरे पनि मन्दिरमा देउकी चढाएकी देवी महिला कुनै न कुनै बहानामा यौन पेसामा प्रयोग हुँदै बारम्बार बलात्कार हुँदै आएका समाचार मिडियामा सार्वजनिक भइरहेका छन् । डोटी, बैतडी, बझाङलगायतका जिल्लामा देवी, (देउकी) का रूपमा देवी मन्दिरमा बालिका चढाइने गरिन्थ्यो ।

उसो त हिन्दू धर्म ग्रन्थमा भनिएको छ, ‘जहाँ नारीको पूजा हुन्छ त्यहाँ देवताको वास हुन्छ ।’ यो भावार्थलाई पुष्टि गर्न हाम्रा वेद, पुराणलगायतका धर्मग्रन्थ कहीँ चुकेका छैनन् । यस प्रथालाई महिला अधिकारवादीहरूले कुप्रथा माने पनि यो न त्यो रूपमा महिलालाई देवीको रूपमा पूज्ने गरेको मान्न सकिन्छ ।

अर्काे उदाहरण पनि लिन सकिन्छ कुनै पनि देवीथान (मन्दिरमा) पूजा सुरु गर्नुभन्दा पहिले नै पञ्चकन्याहरूलाई तयार पारिन्छ र पञ्चकन्यालाई पूज्ने गरिन्छ यो हिन्दू संस्काकरभित्रै पर्ने गर्दछ । माथि उल्लेखित देउकी प्रथा र पञ्चकन्या फरक हुन् तर दुवै थरी एउटै मन्दिरमा पूजा गर्ने गर्दछन् ।

बंगलादेश, भारतमा दाइजो नल्याएको निहुँमा दैनिक रूपमा महिलाहरूलाई हत्या गरेको समाचार आएपछि ‘बेटी बचाऊ’ अभियान सुरु गरियो । भारत र बंगलादेशमा ‘बेटी बचाऊ’ अभियान सुरु गरिँदा नेपालमा छोरीहरूलाई कन्यादान गरी विहे गर्ने चलन थियो ।

नेपालमा प्रायः दाइजोप्रथा लागू भएको थिएन। तराई क्षेत्रमा पनि पछिल्लो समयमा भारतको सिको गरेर दाइजो प्रथा भित्रिएको हो । दाइजो प्रथा सुरु भएपछि नेपालको तराईका जिल्लाहरूमा धेरै महिलाहरूले हिंसा सहनु पर्यो र केही महिलाहरूको ज्यान नै गयो । हाल आएर प्रदेश नं.–२ मा समेत ‘बेटी बचाऊ’ र ‘बेटी पढाऊ’ अभियान सुरु गरिएको छ ।

माथि उल्लेखित कुरा उहिलेका कुरीतितिर हाल आएर सुधारिएका रीतिहरू मात्रै हुन् । प्रदेश–७ को तराईका जिल्लामा केही महिनादेखि घटेका घटनाका बारेमा विगत दुई महिनाको अन्तरालमा कैलाली र कञ्चनपुरमा गरेर १० जनाको हत्या भएको छ । छुटपुटका घटनाबाहेक बलात्कारपछि हत्या गरिएका छन् भने कतिपय प्रेमिकासँग मिलेर आफ्नै पतिको हत्या गरिएको छ ।

यसरी, दिनका दिन हत्या हुनुमा दोषी को हो भनेर यस क्षेत्रका जनप्रतिनिधिहरू वा पुलिस प्रशासनको समेत चासो देखिँदैन । असारको पहिलो साता कैलालीमा २१ वर्षीया माया विकको सामूहिक बलात्कारपछि हत्या गरियो भने असार १२ गते नै कञ्चनपुरमा आफ्नै पतिले पत्नी सरस्वती कार्कीको हत्या गरे ।

कैलालीमै साउन चार गते ३५ वर्षीया नन्दु वादीको पत्नी र पत्नीका प्रेमी मिलेर हत्या गरियो भने असार आठ गते कञ्चनपुरबाट कैलालीको गोदावरी नगरपालिकामा ससुराली आएका २४ वर्षीया तेजबहादुर विष्टका पत्नी र उनका प्रेमी मिलेर हत्यागरी भासुभिरमा फालेको अवस्थामा चार दिनपछि शव फेला पर्यो । असारको अन्तिम साता अछाममा आठ वर्षीया बालिका बलात्कृत भइन भने साउनको पहिलो साता कञ्चनपुरमा नौ वर्षीया बालिका बलात्कार भइन् ।

साउन ११ गते कञ्चनपुरमा १३ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको अवस्थामा फेला परिन् भने १४ गते नै कैलालीमा २१ वर्षीया सीतादेवी डगौराले साढे चार वर्षीया छोराको हत्यापछि आफूले आत्महत्या गरेको अवस्थामा फेला परिन् । असारमै सुर्खेतमा पनि छाउगोठमा साथीसँग सुत्न गएकी बालिका सामूहिक बलात्कारमा परिन् ।

सुदूरपश्चिममा यति धेरै हत्याको कारण अहिलेसम्म पत्ता लगाउन प्रहरी प्रशासनले सकेको छैन न त हत्या र बलात्कारका घटनाहरूमा कमी आएको छ । महिला हिंसाविरुद्धका थुप्रै कानुनहरू बनेका छन् । हामी प्रत्येकवर्ष मार्च १८ का दिन अन्तर्राष्ट्रिय महिला दिवस मनाउछाैँ।

महिला हिंसा कम गर्न महिलाप्रतिको शोषण, उत्पीडन, हिंसा, अत्याचार, दुव्र्यवहार अन्त्यका निमित्त थुप्रै कानुन बनेका छन् । तर, महिला हिंसामा कमी आउन सकेको छैन न त महिलाको जीवन स्तर नै माथि उठेको देखिन्छ । नेपालमा कार्यरत धेरै एनजिओ र आइएनजिओका कार्यक्रम पनि प्रायः महिला अधिकारसम्बन्धी नै छन् ।

यति हुँदा पनि नेपालमा महिलामाथि हुने हिंसामा कमी आउन सकेन तर हिंसाका विभिन्न स्वरूपहरू छन् । बहुविवाह, बालविवाह, दाइजो प्रथा, कुटपिट, सम्बन्ध विच्छेद, यातना, बोक्सीको आरोप, जबरजस्ती करणी, वैवाहिक करणी, विधवा प्रथा, छाउपडी प्रथा, वादी प्रथा, देउकी प्रथा आदि महिला हिंसाका केही रूप हुन् ।

नेपालको सन्दर्भमा हरेक समुदाय, समाज, संस्कृति र धर्ममा महिलामाथि हिंसा हुने गरेका छन् । महिलाहरूलाई बोक्सीको आरोपमा यातना दिने क्रम रोकिएको छैन । एकमहिना पहिले मात्रै कैलालीमा एकजना अवोध नारीलाई गाउँलेहरू मुक दर्शक बनी बोक्सीको आरोपमा कुटपिट गरियो ।

बालविवाहका घटना केही मात्रामा कमी आए पनि बहुविवाहका घटना तथा महिला बेचबिखन तथा ओसारपसारका घटनाहरू वृद्धि भइरहेका छन् । महिलालाई बेचबिखनका लागि सुदूरपश्चिमका नाका प्रयोग गरेरै भारत पुर्याउने गरिएको छ । स्थानीय प्रशासनले नाकामा कडाइसमेत गर्न नसक्नु लाजमर्दो कुरा भएको छ ।

महिलाहरू माथि नै हजारौँको संख्यामा घरेलु हिंसाका घटना भइरहेका छन् । महिला हिंसा र दुव्र्यवहार अन्त्य गर्नका लागि विभिन्न क्षेत्रबाट प्रयास गरिए पनि महिलाप्रतिको उत्पीडन अन्त्य भएको छैन । नेपालमै महिलाको अवस्था दयनीय भए पनि सुदूरपश्चिममा भने अरूको तुलनामा झन् बढी दयनीय छ । विभिन्न प्रथाले गाँजेको सुदूरपश्चिममा महिलाहरूले पीडामाथि पीडा खप्नु परेको छ ।

यस क्षेत्रमा कार्यरत एनजिओ आइएनजिओहरूले गरिबीको र कुप्रथाको फाइदा उठाउँदै आफूले आर्थिक लाभ उठाउने काम मात्रै गरे तर संस्थाले सराकारवाला निकायलाई महिला हिंसासम्बन्धी कानुन बनाउन कहिल्यै पहल गरेको देखिएन । जसले गर्दा इन्टरनेटको बढ्दो दुरुपयोगसँगै सुदूरपश्चिमका सहरी जिल्ला मानिने कैलाली कञ्चनपुरमा बलात्कार र हत्याका घटना बढ्दै गएका छन् ।

यसरी दैनिक रूपमा बलात्कारपछि हत्याका घटना बढ्दै जाने हो भने प्रदेश नं.–२ कोजस्तै यस क्षेत्रमा पनि ‘बेटी बचाऊ’ र ‘बेटी पढाऊ’ अभियान सुरु गर्नु जरुरी देखिन्छ । सरकारले बलात्कारीलाई कडा कानुन बनाउन त जरुरी नै भए पनि अभिभावकले समेत सचेत हुन आवश्यक छ ।

नेपाल अविकसित र अशिक्षित देशको पिछडिएको क्षेत्रमा सुदूरपश्चिममा भइरहेका घटनाका विषयमा छनविन र दोषीलाई कडा सजाएको कठघरामा उभ्याउन सक्नुपर्छ। नेपाल पुरातनवादी सोच र पुरुषवादी मानासिकतामा शुद्धीकरण नभएसम्म नारी मुक्तिको सम्भव छैन।

महिलामाथि हुने यातना, हिंसा, बालिका भ्रुण हत्या, बलात्कार, बालविवाह, बहुविवाह, अपहरण, तस्करी, बेचबिखन, महिलाहरूमा आइपर्ने कठिनाइबारे चेतना जगाउन, महिला मानव अधिकारलाई विश्वव्यापी बनाउन, संयुक्त राष्ट्र संघीय महासभाद्वारा महिलाविरुद्ध भेदभाव उन्मूलन महासन्धि पारित गरिएको छ । तर, यसले मात्र समस्याको समाधान गर्न सक्दैन ।

पुरातनवादी सोचमा परिवर्तन र पुरुषवादी मानसिकतामा शुद्धीकरण हुनसके मात्र समानताको व्यवहार देख्न सकिन्छ र महिलामाथि हुने घटनामा कमी आउन सक्छ । बलात्कारका घटनामा संलग्न भएका पुरुषको जुन छवि समाजमा स्थापित हुँदै गएको छ, त्यो शंकास्पद छ ।

साँच्चिकै कुनै वर्गको मानिस बढी संलग्नता छ भने त्यस विषयमा सरकारले नै गम्भीर भएर अनुसन्धान गरी दोषीलाई कानुनको कठघरामा ल्याउन जरुरी छ । कडा कानुन र मानिसको सोचमा परिर्वतन गर्न सके मात्र महिला सुरक्षित रहलान् ।

प्रतिक्रिया