पत्रकारितामा बाल संवेदनशीलता

फणीन्द्र फुयाल (ज्वाला)  नेपालको संविधानले बाल अधिकारलाई मौलिक हकअन्तर्गत समेटेको छ भने बालबालिकाको सर्वोत्तम हितलाई ध्यान दिनु राज्यको नीति हुने कुरासमेत स्पष्ट पारेको छ । बालबालिका समाजका संवेदनशील समुदाय हुन् र यिनी सम्बद्ध विषय बहुआयामिक र बहुपक्षीय हुनेगर्छ ।

तसर्थ, बालबालिकासँग सरोकार राख्ने सबै निकाय र तहमा बाल संवेदनशीलता हुनु अपरिहार्य छ। अझ राज्यको चौथो अंग सञ्चार माध्यम बाल संवेदनशीलता भएमा बालमैत्री समाज निर्माणमा महत्वपूर्ण योगदान हुनेछ ।

तसर्थ, बालबालिकासँग सम्बन्धित रिपोर्टिङ गर्ने सन्दर्भमा सबैको अवधारणात्मक स्पष्टतासहितको निश्चित स्तर कायम गर्न, बाल अधिकारको सम्मान, संरक्षण तथा प्रवद्र्धनमा सञ्चार माध्यमको प्रभावकारी भूमिका निर्वाहमा थप सहयोग पुर्याउन सरकारले बालमैत्री सञ्चार निर्देशिका ०७३ समेत जारी गरेको छ ।

उक्त निर्देशिकाको अपेक्षा पत्रपत्रिका, रेडियो, टेलिभिजन, समाचार एजेन्सी, तथा इन्टरनेटका माध्यमबाट समाचार, सूचना, विज्ञापन, तथा विचारमूलक लेख वा कार्यक्रम उत्पादन, वितरण, एवं सम्प्रेषण गर्ने संघ÷संस्था, निकाय, कम्पनीलगायत सेवा प्रदायक र सोबाट प्रदान गरिने सेवालाई समेत बाल संवेदनशील बनाउन मद्दत गर्ने र बालबालिकासँग सम्बन्धित विषयहरूलाई सही ढंगले सम्प्रेषण गर्न र उनीहरूलाई थप हानि हुनबाट जोगाउने रहेको छ ।

बाल संवेदनशीलता किन ?
बालबालिकाले अनुभव गर्ने कुनै पनि जोखिम र गरिबी, अभाव, तनावका असर बहुआयामिक हुन्छन् । ती वयस्कभन्दा निकै अलग र भिन्न हुन्छन् त्यसैले, बाल संवेदनशीलतालाई ध्यान दिनु निकै अपरिहार्य छ । बालबालिकाको जटिल शारीरिक, मनोवैज्ञानिक र बौद्धिक विकासमा कुपोषण, रोग, दुव्र्यवहार, हिंसा, शोषणजस्ता कुराले चाँडै नै वयस्कभन्दा भिन्न र गम्भीर असर पुर्याउने भएकाले पनि बालबालिकालाई विशेष रूपले हेर्न, बुझ्न र व्यवहार गर्न जरुरी छ ।

यसै पनि बालबालिकाहरू वयस्कका अगाडि कम महत्व दिइएको समूहभित्र पर्दछन् । बालबालिका सहयोग र संरक्षणका लागि वयस्कमा निर्भर हुन्छन् र खासगरी अभिभावक, परिवारविहीनताले अझ बढी जोखिम बढाउँछ ।

पत्रकारितामा बाल संवेदनशीलता किन ?
विभिन्न सञ्चारका माध्यमहरू रेडियो, टेलिभिजन, छापा र अनलाइनमा क्रियाशील पत्रकारहरू तथा प्रकाशन तथा प्रसारण हुने समाचार माध्यमहरू शिष्ट, जवाफेदेही भई उच्च व्यावसायिक धर्म निर्वाह गर्न बाल संवेदनशील हुनु अत्यावश्यक छ ।
बालबालिकाको हितलाई अक्षुण राखी उनीहरूको सहभागिता सम्बन्धी अधिकारको सम्मान गर्नका लागि बाल संवेदनशीलताको पत्रकारिताकामा आवश्कयता छ ।

त्यसैगरी, बालबालिका सम्बन्धी सूचनामूलक, सन्देशमूलक वा अन्य सामग्रीको उत्पादन, प्रकाशन वा प्रसारणका सन्दर्भमा विद्यमान कानुनअनुसार बालबालिकाको सर्वोत्तम हितलाई सर्वोपरी ठान्दै उनीहरूको संरक्षण र संवद्र्धनमा विशेष ध्यान दिनका लागि पनि पत्रकारितामा बाल संवेदनशीलता ख्याल राख्नु जरुरी छ ।

कुनै पनि प्रकाशित वा प्रसारित सामग्रीले बालबालिकामा हानि नपुगोस् र थप पीडित नबनाओस् भन्ने ध्येका साथ उच्चतम व्यावसायिक अभ्यासका निम्ति पत्रकार र सञ्चारमाध्यलाई अझ अभिपे्ररित र जिम्मेवार बनाउनका निम्ति बाल संवेदनशीलताको आवश्यकता रहेको छ ।

बाल संवेदनशील आमसञ्चारका क्षेत्र
समाजमा बालबालिका सम्बन्धी विशेष प्रकारका घटना हुने गर्दछन् । निश्चित बालबालिका माथि घटनाहरूजस्तै यौन दुव्र्यवहार, विद्यालयमा सजाय, अलपत्र बालबालिका, श्रमशोषण, दुव्र्यवहार आदिका समाचार प्रकाशन, प्रसारण तथा सम्प्रेषणमा बाल संवेदनशीलतालाई विशेष ध्यान दिनु पत्रकार तथा सञ्चारकर्मीको प्रमुख दायित्व हो ।

बालबालिकालाई असर पार्ने सामग्रीहरू आमसञ्चारका माध्यमहरूमा सहजै पहुँच हुने भएकाले प्रस्तुत सामग्रीले उनीहरूलाई नकारात्मक असर नगरोस् भन्नका लागि बाल संवेदनशीलता अपनाउनु पर्दछ । यसभित्र आमसञ्चारमा प्रकाशन वा प्रसारण गरिने विज्ञापन, टेली शृंखला, रियालिटी ‘शो’ लगायत पर्दछन् ।

त्यसैगरी, बालबालिकाका लागि लक्षित गरी बनाइएका सामग्रीहरू जस्तैः बालकार्यक्रम, कार्टुन, पत्रपत्रिकाका बालपृष्ठ आदिमा पनि बाल संवेदनशीलता अपनाउनु जरुरी छ । बालबालिकाकै सहभागितामा उत्पादित रेडियो, टिभी तथा छापाका सामग्रीहरूको विषयवस्तु, प्रस्तुती र सहभागी बालबालिकासँगको व्यवहारमा पनि बाल संवेदनशीलताको ख्याल गर्नु आमसञ्चारको दायित्व हो ।

बालबालिकासम्बन्धी ऐन, ०४८ ले के भन्छ ?
बालबालिका सम्बन्धी ऐन, ०४८ मा बालमैत्री सञ्चारसम्बन्धी भएको व्यवस्थाअनुसार कुनैपनि बालकको चरित्रमा आघात पर्ने किसिमको निजको व्यक्तिगत घटना, विवरण वा फोटो प्रकाशन, मुद्रण, प्रदर्शन गर्न नहुने उल्लेख छ । दफा १६ को (३) यदि, बालबालिकाको गोप्य विवरण प्रयोगमा ल्याइएमा वा प्रकाशित गरेमा तीन हजार रूपैयाँसम्म जरिवाना वा तीन महिनासम्म कैद वा दुवै सजाय हुने र कसुरसँग सम्बन्धित पत्रपत्रिका तथा पुस्तकसमेत सबै जफत गर्ने कानुनी व्यवस्था छ ।

दफा ५३ को (९)

त्यसैगरी, बालबालिका सम्बन्धी राष्ट्रिय नीतिको उद्देश्य ७.१ सँग सम्बन्धित नीतिअनुसार इन्टरनेट, इमेल, मोबाइलजस्ता विद्युतीय सेवा प्रदायकले बाल यौन दुव्र्यवहार नहुने गरी मात्र सूचना प्रवाह गर्ने व्यवस्था उल्लेख गरेको छ । एचआइभी÷एड्स संक्रमित बालबालिकाको पहिचान खुल्ने विवरणलाई गोप्य राख्ने व्यवस्था पनि ऐनमा उल्लेख छ ।

पत्रकार आचारसंहिताले के भन्छ ?
नेपाल पत्रकार महासंघसमेतको सहमतिमा प्रेस काउन्सिल ऐनबमोजिम ०६० सालमा जारी गरी लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि ०६४ सालमा परिमार्जित पत्रकार आचारसंहिताको बुँदा नं १० मा बाल संवेदनशीलताका दृष्टिले उल्लेखनीय छ । जसमा भनिएको छ, ‘अशक्त, असहाय, अपांगता भएका व्यक्ति तथा पिछडिएका क्षेत्र, वर्ग भाषाभाषी, र अल्पसंख्यक समुदायजस्तै गरी महिला तथा बालबालिकाको पनि उत्थान र विकासमा सूचना र विचार प्रवाहद्वारा विशेष सहयोग पुर्याउनु पत्रकार र सञ्चारमाध्यमको सामाजिक दायित्व हुनेछ ।’

पत्रकार आचारसंहिता ०७३ को दफा ५ को बुँदा नं १४ मा बालबालिकालाई तत्कालीन र दीर्घकालीन हानि हुनेगरी समाचार संकलन तथा सम्प्रेषण गर्न नहुने उल्लेख छ । त्यसैगरी, कानुनविपरीत कार्य वा बालबुझाईंमा संलग्न बालबालिका सम्बन्धी समाचार सामग्री सम्प्रेषण गर्दा बालन्यायको सिद्धान्त विपरीत गोपनीयता खोल्न नहुने उल्लेख छ ।

सोही दफामा आपराधिक गतिविधिमा संलग्न बाबुआमा वा परिवारका सदस्यहरूको समाचार दिँदा बालबालिकालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मुछ्नु हुँदैन भनी उल्लेख छ । त्यसैगरी, १६ वर्ष उमेर पूरा नभएका बालबालिकाको अन्तर्वार्ता वा तस्बिर अभिभावक, संरक्षक वा परिवारको अनुमतिविना लिनुहुँदैन भन्ने उल्लेख छ ।

प्रतिक्रिया