साउन महिना र यसको महत्व

सुभानु आचार्य  साउन महिना जताततै हरियालीले भरिने समय हो । समाजमा उखानै छ ‘साउनमा आँखा पुटेको गोरुले सधैँ हरियो देख्छ ।’ समाजमा हरेक चिजको सकारात्मक र नकारात्मक बुझाइ हुन्छ । त्यसै गरी साउन महिनाको महिमा भल्काउन मानिसले उखानलाई नकारात्मक बुझाइमा ढाली अघि बढाएका हुन् । वास्तवमा साउन महिना विशेष गरी नीलकण्ठ नारायण र नीलकण्ठ शिवजीलाई पूज्ने महिना हो ।

विशेष गरी हिन्दू नारीले साउन महिनाको महत्व समाजमा झल्काउँदै आएका छन् । सोमबार शिवजीको व्रत बस्नुपर्छ भन्ने चलन विगतदेखि नै थियो तर साउनको सोमबार व्रत बस्नुपर्छ भन्ने चलन केही वर्ष पहिलादेखि मात्र चलेको हिन्दू महिलाहरू बताउँछन् । साउन महिनामा शिवजीको व्रत बस्ने हरिया र पहेँला कपडा लगाउने गर्छन हाम्रा चलीहरू ।

कपडालाई सेट मिलाउन त्यसैअनुसारका हरिया, पहेँला चुरा, धागो, पोते, टीका र पालिस लगाउने चलन भनेपछि मात्र भित्रिएको बृद्ध महिलाले विगत सम्झँदै बताइन् । उनीहरूले भने, साउन महिनामा मेहेन्दी लगाउने चलन भने पहिलादेखि नै थियो ।’ हामीले चिउरीको पात कुटी त्यसको लेपन रातभरि हातमा राखी सुत्थ्याैँ । गणतान्त्रिक नेपालका लोकतान्त्रिक हिन्दू महिलाले साउने सोमबारको व्रतलाई यसरी परिभाषा गरेका छन् । ‘व्रत भनेको आस्था र श्रद्धाले बस्ने चिज हो ।’

दिनभरि भोकै बसेर धर्म हुन्छ, भन्ने कुरा एक गलत मानसिकता हो। मानव सेवा गर्नु र उनीहरूको पिरमर्का र आपत्बिपत्मा सहयोग गर्नु ठूलो कुरा हो । भोकै बसेर धर्म हुन्छ भन्ने कुरा एक गलत बुझाइ हो । तर, हिन्दूू भएपछि आफ्नो मान्दै आएको सबै सनातन् धर्मलाई पालना गरेर अघि बढ्नु नै पर्छ । ललितपुरका केही जनप्रतिनिधि महिलाहरू भने, आफ्नो संस्कार र संस्कृतिको जगेर्ना गर्नुपर्छ ।

तर, फेसनको रूपमा प्रयोग गर्ने गरेका वस्त्र र श्रृंगारको साधनलाई भने धर्मको नाम दिएर अघि बढाउनु राम्रो होइन् । साउनको महिमाबारे कुनै ज्ञानबिना अघि बढेका हिन्दू नारीले अर्काको भरमा हरिया र पहेँला वस्तुको प्रयोग गर्नु भनेको व्यापारीलाई मौलाउने अवसर प्रदान गर्नु हो भनी, आआफ्ना विचारहरू यसरी अभिव्यक्त गरेका छन् ।

ललितपुर महानगरपालिकाकी उप– प्रमुख गीता सत्याल
म युवा हुँदासम्म पनि हाम्रो घर तथा छिमेकमा साउनको सोमबार भनी व्रत गर्ने चलन थिएन् । समय परिवर्तनसँगै मानिसमा विलासिता र फुर्सदको समय आयो त्यसपछि सुनिन् थाल्यो पुसको आइतबार सूर्यको व्रत गर्नुपर्छ रे ! माघको मंगलबार गणेशजीको व्रत बस्दा बिघ्न हट्छ रे ! आदि । वैज्ञानिकले भन्छन्, ‘हप्तामा एक दिन व्रत बस्दा शरीरलाई राम्रो हुन्छ ।’ कसैले आफ्नो इच्छाले व्रत गर्नुहुन्छ भने उहाँहरूले आफ्नो आत्मसन्तुष्टिका लागि गर्नुहोस् ।

व्रत बस्नु भनेको आत्मसन्तुष्टि पूर्ण गर्नु हो । भोकै बसेर धर्म हुन्छ भन्ने यो गलत बुझाइ हो । मानिसले दैनिक पूजा, ध्यान, जपतप गरी नैतिकतामा बस्न सकेन भने त्यसको कुनै अर्थ हुँदैन । अर्काको देखासिखीले पनि समाज परिवर्तन भइरहको हुन्छ । उसले गर्यो अब म पनि गर्छु भन्ने मानसिकताका कारण समाजमा अनेक किसिमका रवैया भित्रिएका हुन् ।

काम नहुने सहर बजारका महिलाले व्रत बस्ने र अनेक चलन अपनाउन सक्छन् र मन्दिर धाउँछन् । तर, साउनमा सबैले यसै गर्नुपर्छ भन्ने बाध्यकारी नियम शास्त्रमा पनि उल्लेख छैन् । आफ्नो संस्कार, संस्कृति, परम्परा र चाडपर्व हामीले सबै हिन्दू नारीले मान्नपर्छ तर व्रत बसेर धर्म हुँदैन् ।

महालक्ष्मी नगरपालिकाकी उप– प्रमुख निर्मला थापा
साउन हरियालीको महिना हो । साउनमा व्रत बस्नैपर्छ भन्ने कुरा कतै उल्लेख छैन् । तर, पूूर्वजले अपनाएका परम्परालाई भने अपनाउनै पर्ने हुन्छ । भगवान्को नाममा व्रत बस्नु भनेको इच्छाले गर्ने हो । व्रत करकाप र दबाबले गर्दा राम्रो हुँदैन् । विज्ञानले दिएको शिक्षा पालना गर्नु राम्रो हुन्छ । साउनमा हरिया र पहेँला कपडा लगाउने र हरिया र पहँेला श्रृंगार गर्ने भनेको मानिसमा भरपर्ने कुरा हो ।

फेसनको नाममा होस् या अरूको सिकोमा होस् हिन्दू महिलाले अपनाउने चलन भनेको उनीहरूको आर्थिक अवस्थामा भरपर्छ । हरियो प्रकृतिको स्वरूप हो भने पहेँलो रंगलाई मिठास र पूर्णताको रूपमा मानिन्छ । हरियोले उत्पादन र वृद्धिको संकेत दिन्छ । पहेँलोले स्वादमा मिठास प्रदान गर्छ । फलफूलका नाममा चिनिने केरा, आँप, हलुवावेद, अम्बा, मेवा, सुन्तला, लप्सी, ज्यामीर, कागतीले भान्छालगायत शुभकार्यको रौनक बढाउँछ । माता लक्ष्मीको प्रिय रंगमा पहेँलो र हरियोलाई मानिन्छ ।

माता लक्ष्मीको पूजा गर्दा एक टुक्रा बेसार वा सुनको वस्तु थालीमा राखी पूजा गर्नुपर्छ भन्ने मान्यता छ । हिन्दू समाजले अपनाउँदै आएको रीतिरिवाज र संस्कार जोगाउनुपर्छ । तर, अन्य कुरा भने मान्दा पनि हुन्छ र नमाने फरक पनि पर्दैन । भगवान्को नाम अंकित कपडा शिरमा धारण गर्दा राम्रो हुन्छ तर त्यसलाई स्कट बनाउँदा समाजले पचाउँदैन । सनातन् धर्म मान्नुपर्छ । मानिस जति नै आस्थावान् होस् या नास्तिक उसले आपत् परेको समयमा भगवान्को नाम नै जप्ने गर्छ ।

मन लागेको धर्म संस्कार मान्नुपर्छ । कुनै धर्मले प्राणीको अहित चिताउँदैन । हरेकधर्मको हरेक मान्यता होला त्यसलाई होच्याउने र फछार्ने गर्नुहुन्न । धर्मले मानिसलाई मास्ने काम कहिल्यै गर्दैन । हरेक व्यक्तिले धर्म अपनाउने तरिकामा फरक पर्दा समाजमा अनेकौँ रूप देखिएका हुन् । एक÷दुई जना व्यक्तिले समाजमा नराम्रो काम गरे भन्दैमा सबै धर्म गलत भन्नु हुँदैन् ।

गोदावरी नगरपालिकाकी उप– प्रमुख मुना अधिकारी

तराईका महिलाहरूले निकै लामो समयदेखि साउनमा हरिया र पहेँला वस्तुको प्रयोग गर्दै आएका हुन् । १० देखि १२ वर्ष पहिलादेखि मात्र उपत्यकाका हिन्दू महिलाले साउनमा हरिया र पहेँला चिज प्रयोग गर्न थाले । साउन हरियालीको महिना हो । असारमा किसानले खेतमा धान रोपीसकेपछि साउनलाई पर्वको रूपमा मनाउन थालेका हुन् । खेतको काम सकेर फुर्सदको समय हुँदा हरिहर स्वरूप शिवको व्रत बस्ने भन्ने चलन समाजमा छ ।

अनेकौँ नखरा गर्न जान्ने भगवान् कृष्ण एक किसानका पुत्र हुन् । उनी गाई चराउन जंगल जाने र त्यहाँ बढी रमाउने भएकाले साउनमा हिन्दू महिलाले राधा र कृष्णको नाममा झुला अर्थात् सजिलो भाषामा भगवान्लाई सटियामा बसाली पिङ खेलाउने चलन छ । वैज्ञानिक तवरलाई आधारमान्दा मानिस आँखाको उपचार गर्ने चिकित्सकले हरियो वस्तुमा हेर्न आग्रह पनि गर्ने गरेका छन् । शारीरिक हिसाबमा हरिया र पहेँला वस्तुले मानिसको शरीरलाई तन्दुरुस्त बनाउँछ ।

हिन्दू संस्कारमा जन्मे वा हुर्के पछि भगवान्प्रति आस्था गर्नुपर्छ भन्ने मेरो धारणा छ । म साउन महिना भनी शिवजीको व्रत बस्दिन तर शाकाहारी भोजनको भने अवश्य सेवन गर्छु । साउनमा हरिया र पहेँला रंगको वस्तु धारण गर्नु भनेको साउनको महिमा बढाउनु मात्र हो । साउने संक्रान्तीमा मेहेन्दी लगाउने चलन धेरै वर्ष पहिले पनि थियो । बजारमा मेहेन्दी नआउँदा पहिला हामीले चिउरी कुटेर त्यसमा परेवाको बिष्टा मिसाएर लगाउने चलन थियो ।

भोलिपल्ट हात रातै हुन्थ्यो र हामी साथीभाइबीच कसको हात रातो भनी देखाउँदै हिड्थ्यौँ । साउनमा मेहेन्दी लगाउने चलन परापूर्वकालदेखि चलेको हो यसलाई विकृतिको रूपमा लिन मिल्दैन् । हरिया र पहेँला चुरा, पोते र टीका बजारमा भित्रिनुले कपडाको सेट मिलाउन सहयोग हुन्छ । तर, भगवान्को भक्ति गर्दा हिन्दू महिलाले विशेषगरी रातो र पहँेलो कपडा बढी प्रयोग गर्ने गरेका छन् ।

वडा नं १ कि महिला सदस्य सुशिला सिंजापती

हामीले परापूर्वकालदेखि मान्दै आएको सनातन् धर्मलाई मान्नुपर्छ तर खालिपेट बसेर धर्म हुन्छ भन्ने कुरा चाँहि गलत बिचार हो । हामीले दुःखमा परेका व्यक्तिलाई सहयोग गर्नु नै मानिसको जीवनमा पाएको ठूलो उपलब्धि हो । व्रत बसेर धर्म हँुदैन् मानिसमा आत्मासन्तुिष्ट हुनुपर्छ । भगवान्लाई आत्माले पूज्दा पनि धर्म हुन्छ । जुनसुकै प्राणी वा मानिसलाई आत्मादेखि पूजेर उसको सहयोग र सहकार्य गर्दा पनि धर्म हुन्छ ।

मानिसमा चेतना जगाउनु पनि धर्म हो । मानिसको सानो मागलाई पूर्ति गरिदिनु पनि एक किसिमको धर्म हो निधारभरि ठूलो टीका लगाएर हिँड्दैमा धर्म हुन्छ भन्ने मानसिकता भने गलत हो । ठूलो अभाव र आवश्यकताबिना एक मानिसले अर्काे मानिससँग जीवनमा अपेच्छा राखेको हुँदैन । हरिया र पहेँला वस्तु लगाउने र व्रत बस्ने चलन मेरो पनि छ । तर, भोको बसेर मात्र धर्म हुन्छ भन्ने मेरो मानसिकता होइन ।

राम कुमारी लिम्बू १३ नं वडाकी महिला सदस्य

भोको बसेर कसैको पनि उन्नति हुँदैन । दीन दुःखीको सेवा गर्दा धर्म त्यहीँबाट प्राप्त हुन्छ । साउनमा चलेको चलनअनुसार हरिया र पहेँला वस्तु धारण गर्नु राम्रो हो । धर्मको नाममा हरिया र पहेँला वस्तुलाई अघि सारी बजारमा व्यापार बढाउनु राम्रो होइन । हरिया र पहेँला वस्तु लगाई भोको बस्दा समाजमा राम्रो काम गर्ने व्यक्ति पनि फेसनको रूपमा भड्किन सक्छ । धर्मको नाममा रंगीविरंगी पहिरिनु हुँदैन ।

सानो कामको उपलब्धिले पनि ईश्वर प्रसन्न हुन सक्छन् । हरेक धर्मको सम्मान गर्नुपर्छ तर भोको नबस्दा पनि केही फरक पर्दैन । अर्काको भावनालाई कदर गर्ने तर ठेस नपुर्याउने, अर्काको अहित नचिताउने तर भलो गर्नु पनि व्रत हो । दैनिक घरमा बसी घन्टी बजाउने तर अर्काको मर्कामा ताली बजाउनु मानवीय धर्म होइन । राम्रा काम गरेर समाजमा अघि बढ्न चाहने व्यक्तिले भोको बस्नु पर्दैन तर म पनि कहिले काहीँ बस्ने गर्छु ।

इन्द्र देवी महर्जन ललितपुर वडा नं २९ की महिला सदस्य

नेवारहरूमा खासगरी साउनमा व्रत बस्नुपर्छ भन्ने चलन छैन । धर्म भनेको मानिसले अपनाउने परम्परा मात्र हो । मानिसले मनमा लिने सन्तुष्टिलाई व्रत वा धर्म भनिन्छ । चोखो मनले पूजा र अर्चना गर्दा भगवान् त्यसै खुसी हुन्छन् । मानिसले एक महिना व्रत बस्छ तर उसको मनमा चोखो छैन भने त्यस व्रतको कुनै अर्थ हुँदैन ।

समाजअनुसार हरेक महिलाले चल्नुपर्ने हुन्छ । म समाजमा भित्रिएका चलन र परम्परालाई भने सकेसम्म पालना गर्ने गर्छु तर सधैँ व्रत र पूजा गर्नुपर्छ भन्ने मेरो बुझाइ भने छैन ।

सानु अवाले वडा नं १२ कि महिला सदस्य
हप्तामा एकदिन व्रत बस्नु शरीरलाई राम्रो हुन्छ । पहिलाको मानिसले विद्यालय शिक्षा नलिए पनि आजको मानिसभन्दा बढी चेतना थियो त्यसैले धर्मको नाममा अघि बढेका हुन् जस्तो मलाई लाग्छ । पहिलाका मानिस बढी ज्ञानी थिए उनीहरूले पढाइको अभावमा विज्ञानको नाम लिन सकेनन् त्यसैले यस्तो किसिमको नियम बनाएका हुन् ।

भोकै बसेर धर्म हुन्छ भन्ने कुरामा खासै मलाई विश्वास लाग्दैन तर शरीरको लागि कहिले काहीँ व्रत बस्नुपर्छ। मानव कल्याण गर्नु आजको समयमा जरुरी छ । तर, भोको बस्नु भनेको केवल आफ्नो शरीरका लागि मात्र हो । ‘स्वास्थ्य नै धन हो’ भन्ने मान्यताको साथ हाल समाजमा योगा भित्रिएको छ । योगाका गुरु पनि भन्छन् हप्तामा एकदिन भोको रहनु जरुरी छ ।

जमुना तामाङ वडा नं २२ कि महिला सदस्य

शरीर स्वस्थ राख्न कहिले काहीँ भोको बस्नुपर्छ । शरीरको मेसिनले कहिले काहीँ आराम पाउँदा हाम्रो स्वास्थ्य राम्रो हुन्छ । दिनभरि भोको बसेर धर्म हुन्छ भन्ने विश्वास मलाई लाग्दैन । किनकि आत्माले राम्रो काम गर्नुपर्छ । जसले राम्रो काम गर्छ जसको मन चोखो छ उसलाई भगवान्ले अवश्य हेर्नुहुन्छ र हेर्नु पनि भएको छ । भोको बस्ने भनेर पानीसम्म पनि नखानु चाँहि ठूलो मूर्खता हो ।

दैनिक शरीर सफा राख्नु र भगवान्को उपासना गर्नुमा पनि भगवान् खुसी हुन्छन् । महिलाको शरीरमा विशेषतः आइरन कमी हुने हुन्छ । हरेक महिलाले व्रत गर्दा आफ्नो शरीरलाई विचार गरी गर्नुपर्छ । भोको बस्दा भगवान् खसी हुन्छन् भन्ने कुुरा म मान्दिन । समाजमा राम्रो काम गर त्यसै ईश्वर प्रसन्न हुन्छन् ।

रुकमणी केसी महर्जन कार्यापालिका सदस्य वडा नं २२ भैँसेपाटी
व्रत बस्नु भनेको एउटा इच्छाले गर्ने काम हो । व्रत नबसी पूजापाठ गर्नेले पनि समाजमा कर्म गरेका छन् । साउनमा आफ्नो इच्छाले हरिया र पहँेला रंगको कपडा धारण गर्न सकिन्छ तर गर्नैपर्छ भन्ने छैन । साउनको व्रत बसी पतिको दीर्घायु हुन्छ भन्ने कुरामा मलाई विश्वास लाग्दैन । भगवान् हरेक मानिसको मनमा हुन्छन् ।

मानिसले मनको कुरा सुनीअघि बढ त्यसैले सबैको कल्याण हुन्छ । म पनि हरिया र पहेँला वस्त्र र श्रृंगारको चिज साउनमा लगाउँछु । मैले फेसनको रूपमा नै हरिया र पहेँला वस्तु प्रयोग गरेकी हुँ । संसारमा चोखो भनेको मानिसको मन हो । लसुन, प्याज र माछामासु नखाँदैमा धर्म हुन्छ भन्ने कुरा म मान्दिन । आत्मा चोखो छ भने हरेकचिज चोखो हुन्छ ।

ललितपुर महानगरपालिका वडा नं १६ कि कार्यापालिका सदस्य सुप्रभा शाक्य
नेपालको संस्कृति र परम्परा वैज्ञानिक तबरको छ । व्रत बस्नु भनेको शरीरलाई आराम दिनु पनि हो । २१आँै शताब्दीमा समय सान्दर्भिक भएरअघि बढ्नुपर्छ भन्ने मेरो बुझाइ छ तर व्रत बस्नु हुन्न भन्न मैले खोजेको होइन । हाम्रा हजुरआमा र आमा घरमा मात्र सीमित हुनुुहुन्थ्यो र व्रत तीर्थ गर्नु हुन्थ्यो त्यो कुरा हाम्रो पालामा सम्भव छैन । व्रत बस्नुपर्छ तर पहिलाको जस्तो कट्टर रूढीवादी परम्परा अनुसार बस्न भने अबका मानिसले सक्दैनन् ।

अपुलु शाक्य वडा नं ११ कि महिला सदस्य

म शाक्य बृद्धधर्मावलम्बी परिवारकी हुँ । बृद्धधर्म मान्ने मानिसलाई कुनै पनि रंगको चुरा, पोते र टीकाको महत्व हुँदैन । तर, बृद्धधर्ममा लाग्ने अरू दिदीबहिनीले भने हरिया र पहेँला चुरा, पोते र टीका लगाउनु भएको पनि छ । मान्छेले मान्छेलाई सहयोग गर्नु र बुझ्नु ठूलो धर्म हो । मान्छेले मान्छेलाई दबाब दिनु, आफू मात्र असल ठान्नु र अरूको बेवास्था गर्नु मानव धर्म होइन ।

आफूभन्दा जेठोलाई मान गर्नु र कान्छोलाई माया गर्नु पनि व्रत बस्नु र तीर्थ जानुजस्तै पुण्य काम हो । मानिसको शरीर पञ्चतत्वले बनेको हुन्छ त्यसैले, कहिले हावा आउँछ त कहिले पानी पर्छ भन्ने कुरालाई मनमा राखी अघि बढ्न सक्नु पनि व्रत नै हो । मानिस मर्ने वेलामा भगवान्को आकृति सम्झन सकोस् भनी मन्दिर जाने चलन चलाएको मलाई लाग्छ नत्र मन्दिरमा मूर्तिले के बोल्छ र । मानिसले जीवनको अन्तिम समयमा लोभ मोह बिर्सियोस् भनी भगवान् र व्रतलाई अघि सारेका हुन् ।

मिना महर्जन वडा नं २८ कि कार्यापालिका सदस्य

जनताको सेवा गर्न जनप्रतिनिधि भएर आए । मानव सेवा नै ठूलोे व्रत र धर्म हो जस्तो मलाई लाग्छ । सधैँ सत्य बोल्नु पनि मानव धर्म हो । आचरणमा रहनु, सही मार्गमा सही विवेकको प्रयोग गर्नु पनि पनि मानवको गुण हो त्यसैले, साउन महिना भन्दैमा व्रत बसी पूजा पाठ गर्नु जरुरी छैन् ।

साउन महिनाको महिमा

साउन महिना भगवान् नीलकण्ठ अर्थात् हरिहर स्वरूपको पूजा र आराधना गर्ने महिना हो । समुद्र मन्थन हँुदा देवता र दानवबीच समुद्रबाट निस्केको कालकुट हलाहल विषले संसार ध्वस्त गर्न लागेपछि भगवान् शिवजीको स्तुति संसार जगत्ले गर्यो । त्यसपछि साउन महिनामा भगवान् शिवजीले त्यस कालकुट विष पिई संसारलाई विषको प्रभावले बचाए भन्ने बुझाइ शिव पुराणमा रहेको छ। भगवान् शिवजीले निलेको विष सहन गर्न नसकी छट्पटिँदै समुद्रमा बसे ।

समुद्रमा बस्दा पनि विषले पोलेपछि छट्पटिँदै गोसाईंकुण्ड पुग्दा बल्ल विष शान्त भयो भन्ने कुरा शिव पुराणले बताउँछ ।  साउन महिनामा शिवजीले विष ग्रहणगरी जगत्को कल्याण गर्दा व्रत बस्ने चलन रह्यो । भनिन्छ कालकुट विष सेवन गरेपश्चात् भगवान् शिवजीको नाम नीलकण्ठ हुन गयो । विभिन्न देवी देवता र ऋषिपत्नीले पनि त्यस समयदेखि साउनको व्रत बस्ने परम्परा रह्यो भन्ने कथन छ ।

पृथ्वी लोकमा बस्ने मानिसले शिवजीले विष सेवनगरी उनीहरूको रक्षा गरेवापत् खुुुसीका साथ पूजा र आराधना गरे । समाजमा कहीँ कतै भनिन्छ । विशेषतः पृथ्वी लोकमा सौभाग्यवती हिन्दू महिलाले साउने सोमबारको व्रत बस्ने गरेका छन् । देवका पनि देव महादेव भएकाले भगवान् शिव चाँडै खुसी हुने देवता भन्ने परम्परा रही आएको छ । भगवान् शिवजीको पूजा आराधना गर्दा सबै किसिमको कष्ट र संकटको नाश भई मृत्युको विजय हुन्छ भन्ने गरिन्छ । शिवजीको व्रत गर्दा मनले चिताएका कुराहरू पुग्छ, सौभाग्य अटल रहन्छ, सन्तानको वृद्धि अनि उन्नति हुन्छ, भन्ने ठूलो मान्यता छ ।

प्रतिक्रिया