कम्युनिस्ट शासनः भ्रम र यथार्थ

‘दलाल पुँजीवादको नेतृत्व नै कम्युनिस्ट पार्टीले गरेको देखिन्छ । यही नै सबैभन्दा ठूलो विरोधाभास हो । कम्युनिस्ट पार्टीका नेता, कार्यकर्ताको क्रियाकलाप नै समाजवाद उन्मुख छैन । किन ढाँटेर कुरा गर्नु पर्यो ? यस्तो पनि, कम्युनिस्ट सरकार हुन्छ ?

लेखकः रामप्रसाद गैरे

अहिले देशमा दुईतिहाइ बहुमतको हाराहारीमा कम्युनिस्टको नेतृत्वको सरकार छ । यो कम्युनिस्टको सरकार हो कि कम्युनिस्ट नामधारीको सरकार हो ? भन्ने प्रश्न पनि उठिरहेको छ। विरोधीहरूले भन्छन् यो कम्युनिस्टको सरकार होइन, देशमा कम्युनिस्टको सरकार आएको भए धेरै परिवर्तनको अनुभूति जनताले गर्न पाउँथे । हो, पाइरहेका छैनन् ।

कम्युनिस्टले स्थापनाकालदेखि उठाउँदै आएको माग र कार्यक्रम सरकारमा गएपछि किन समावेश गर्न सकेनन्। अब जनताले बुझ्नुपर्ने आवश्यकता देखिएको छ । वास्तवमा जनताले अहिले कम्युनिस्ट सरकार भएको अनुभूति गर्न पाएका छन् कि छैनन् ?  जनजीवीकाका सवालमा वर्तमान कम्युनिस्ट सरकारले के–के काम गर्यो ? आत्मसमीक्षा र मूल्याकंन गर्नुपर्ने वेला आएको छ ।

सरकार बनेको पनि धेरै भयो तर कुनै प्रगति, उन्नति देखिँदैन । कुरा मात्र गरेर हुन्छ ? सरकारको अहिलेसम्मको समयबिना अर्थ बितेको छ । यो वास्तवमा देश र जनताका लागि पटक्कै राम्रो संकेत होइन । जनताले वाम गठबन्धनको नारालाई मन पराएर बहुमत दिएका हुन् । त्यसै आएको होइन, यसको विशेष अर्थ छ ।

कम्युनिस्ट सरकारले चुनावका वेलामा बोलेका कुराहरूको एक एक गरेर व्यवहारमा लागू गर्नुपर्ने वेला थियो अहिले । तर, चुनावमा बोलेका सबै कुरा नेताहरूले भुली सकेका छन् । किनकि, सरकारमा गएपछि सबैको पारा एउटै हो । सरकारमा भएका वेलामा राम्रा काम गरेर मन जित्नुपर्ने हो कि होइन ? कुनै चासो नै छैन ।

यो सरकारबाट जनताले धेरै कुराको अपेक्षा गरेका थिए । जनता निराशामा छन् । कम्युनिस्ट भनेर मात्र हुन्न । व्यवहारमा देखाएर काम गरेको खै त ? राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गर्ने दिशातर्फ अघि बढेको खै त ? कुनै सुरसार नै छैन । राष्ट्रिय पुँजीको विकास र समाजवादको तयारी कम्युनिस्ट पार्टी भएको भए गर्नुपर्ने हो कि होइन ? यो कम्युनिस्टको सिद्धान्तमा उल्लेखित कुरा हो ।

राष्ट्रिय पुँजीको विकास र समाजवादको दिशातर्फ जाने कम्युनिस्टका नेताहरूको सोच र चिन्तन नै देखिँदैन । यो विषयमा घनिभूत रूपले कम्युनिस्ट पार्टीका नेताहरूमा छलफल नै हुन सकिरहेको छैन । कारण के हो ? के साँच्चै देशमा विकास समृद्धि र सुशासन होला ? अब सोच्नुपर्ने वेला आएको छ । सरकार बनेको यतिका महिनासम्म गरिब वर्गलाई सम्बोधन गर्ने ठोस कार्यक्रम नआउनु बडो दुःखको कुरा हो ।

सरकार कता जाँदै छ र के गर्दै छ ? यो नै चासोको विषय हो । निमूखा जनताको पक्षमा यो सरकारले काम गर्न नसकेको पक्कै हो । लुकाउनुपर्ने कुनै जरुरी नै छैन । विगतमा कांग्रेसले मुलुक वर्वाद पार्यो भन्दै हिँड्ने अहिले आएर कांग्रेसले गरे जति पनि राम्रा काम गर्न नसक्ने, कसरी यो सरकारलाई कम्युनिस्टको सरकार भन्ने ? हामी यथार्थताको धरातलमा भन्दा भ्रममा बढी छाैँ । हामी आफैँ बुझ्ने कोसिस कहिल्यै गरेनाैँ।

नेताका भाषण र आश्वासनमा बढी केन्द्रित भयाैँ। जसका कारण अहिले हामी गलत परिणाम भोग्दै छाैँ।  दलाल पुँजीवादको नेतृत्व नै कम्युनिस्ट पार्टीले गरेको देखिन्छ । यहि नै सबैभन्दा ठूलो विरोधाभास हो । कम्युनिस्ट पार्टीका नेता, कार्यकर्ताको क्रियाकलाप नै समाजवाद उन्मुख छैन । किन ढाँटेर कुरा गर्नु प¥यो । कम्युनिस्टका नेता, कार्यकर्ताहरूले कमाएर खान्छन कि खाँदैनन् ?

श्रम गर्छन् कि गर्दैनन् ? आत्मनिर्भर हुने त भन्छन्, त्यस्ता कार्यपक्रम खै ? जनताले बुझ्नुपर्ने आवश्यकता यो हो । संसद् र सडकमा समेत सरकारलाई चुनौती र अवरोध गर्ने र दिने कुनै राजनीतिक शक्ति छैन । यो कुरालाई सबैले स्वीकार गर्नसक्नु पर्छ । मुलुकमा संक्रमण कालको अन्त्य भएको छ । अहिले मुलुक नयाँ युगमा प्रवेश गरेको अवस्था छ । अहिले देशमा स्थिर सरकार छ।

यो मुलुकका लागि ठूलो अवसर पनि हो । अवसरसँगै चुनौती पनि आएका हुन्छन् तिनलाई सामना गर्दै अघि बढ्नुपर्ने आवश्यकता पनि देखिएको छ। मुलुकमा स्थिर सरकार भएपछि जनताले आशा र धेरै चिजको अपेक्षा राख्नु पनि स्वाभाविक कुरा हो । तर, अहिलेको वर्तमान सरकारको काम कारबाहीलाई लिएर विश्लेषण गर्ने हो भने कुनै पनि प्रगति र उन्नति भएको देखिँदैन। जनताले देशको उन्नति प्रगति चाहेका छन् ।

तर, सरकारले स्पष्ट मार्गचित्र कोर्न सकेको छैन । जनतामा प्रत्यक्ष अनुभूति हुने खालको काम सरकारले के गरेर देखायो यो कुरा बुझ्नुपर्ने आवश्यकता देखिएको छ। कम्युनिस्टको सरकारले देशमा के परिवर्तन र जनताको पक्षमा के राम्रा कामगर्न सक्यो भन्ने प्रश्न उठ्न थालेका छन्। यो स्वाभाविक पनि हो । कम्युनिस्टको आधारभूत सिद्धान्त भनेको समाजवाद हुँदै साम्यवादसम्म पुग्ने लक्ष्य हो ।

त्यो कुरा कम्युनिस्टले भुलेका छन् । अहिले त्यो स्थितिको मार्गचित्र देखिँदैन । समाजवाद भनेको वर्ग संघर्ष हो । समाजवाद भनेको वर्गीय उत्पीडनबाट मुक्ति पाउनु हो । जनताले मुक्ति पाउन सकेका छैनन् । संसारको इतिहास हेर्ने हो भने कम्युनिस्टको आन्दोलनले रुसमा, चीनमा, आल्वानियामा सामन्तवादलाई समाप्त पारेको थियो र आर्थिक क्रान्तिमा ती मुलुकअघि बढेका थिए ।

देश त्यसै बन्दैन । त्याग, तपस्या र इच्छा शक्तिको खाँचो हुन्छ। त्यो हाम्रा नेतामा कतै देखिँदैन । हामीले हरेक कुरा इतिहासबाट सिक्ने हो । इतिहास सधैँ साक्षी हुन्छ । पुँजीवादसँग लडाईं नलडेसम्म कुनै पनि देशको उन्नति प्रगति भएको छैन र हुँदैन । पुँजीवादको विरुद्ध लड्ने तागत कम्युनिस्ट पार्टीभित्र हुनुपर्छ । त्यो तागत अझै देखिएको छैन। अहिले सरकार परम्परागत ढंगले चलाइएको छ । यस्तो पनि कम्युनिस्टको सरकार हुन्छ ?

भन्न लाज लागि सक्यो । जनताका आवश्यकता बढ्दै छन् । समस्या झन्पछि झन् थपिँदै छन् । समस्याको समाधान हुन सकिरहेको छैन । यो पनि कम्युनिस्टको सरकार हुन्छ ? कम्युनिस्टका नेताहरूको जीवन शैली सोच, चिन्तन पुँजीवादी शक्तिसँग मेल खाँदै गएको छ । के आधारले मुलुकमा समाजवाद स्थापित हुन्छ ? यदि, मुलुकमा समाजवाद स्थापित गर्ने हो भने अब कम्युनिस्टहरू पुँजीवादसँग लडाईं लड्नुपर्छ ।

पुँजीवाद नै अहिले हाम्रो प्रमुख शत्रु बनेर खडा भएको छ । पुँजीवाद भिन्न खालको छ । नेपालको पुँजीवाद न त चीनको जस्तो छ नत, रुसको जस्तो । नेपालको सन्दर्भमा पुँजीवाद जरो गाडेर बसेको छ । जबसम्म नेपालको पुँजीवादलाई जरैदेखि उखेलेर फालिँदैन तबसम्म मुलुकमा प्रगति उन्नति सम्भव छैन । यो नेपालको यथार्थता हो । युरोपमा स्थापित भएको जस्तो शास्त्रीय किसिमको पुँजीवाद नेपालमा छैन ।

नेपालका कम्युनिस्टसँग समाजवादसम्म पुग्ने स्पष्ट बाटो छ कि छैन ? नेपाली कांग्रेससँग मिलेर नेपालका कम्युनिस्टहरूले राजतन्त्र त हटाए तर पुँजीवादलाई हटाउन किन सकिरहेका छैनन्। यो गम्भीर प्रश्न हो। अहिले दुई ठूला कम्युनिस्ट पार्टीहरू मिलेर एउटै कम्युनिस्ट पार्टी बनेको छ । यो भावनात्मक एकता हो कि, के हो अझै बुझ्न भने सकिएको छैन । तर, एकतालाई जनताले भने मन पराएका छन्।

यो एकता बलियो र दिगो हुनुपर्छ । अहिले समाजवादी क्रान्तिमा जान कम्युनिस्टहरू डराउनु हुँदैन र अलमलिनु पनि हुँदैन । समाजवादी व्यवस्था नआएसम्म जनताले मुक्ति पाउँदैनन् । यो ध्रुवसत्य कुरा हो । अहिलेको पाराले देशको विकास समृद्धि सम्भव छैन । कम्युनिस्टका नेता कार्यकर्तामा विलासिता र ऐसआरामको जिन्दगी बिताउने बानी परिसक्यो । यसले परिवर्तन सम्भव देखिँदैन। जसले गर्दा हामी भ्रममा छौँ कि, जस्तो भान भइरहेको छ ।

जनताले खोजेको कम्युनिस्टको सरकार कस्तो हुनुपर्छ । कम्युनिस्टको लक्ष्य के हो ? आदि इत्यादिका बारेमा बहस छलफल हुनु जरुरी छ । किनभने, कम्युनिस्टको नीति सिद्धान्त र लक्ष्यअनुसार सरकारले कामगर्न सकेको छैन । यो नै दुःखद पक्ष हो । जनतालाई उत्साह र ऊर्जा दिनसक्नु पर्दथ्यो तर सकेन । कम्युनिस्टको शासन, भ्रम र यथार्थता यही हो । (गैरे संवाद क्लव नेपालका अध्यक्ष हुन्)

प्रतिक्रिया