वातावरण संरक्षणमा देखिएका चुनौती र समाधानहरू

अधिवक्ता न्हुंछेनारायण श्रेष्ठ  विश्वजगत् २१आैँ शताब्दीमा प्रवेश गरे सँगसँगै वातावरण प्रदूषण बढ्दै गइरहेको छ र विश्व समुदायमा वातावरण प्रदूषण मुख्य चुनौतीको विषय बन्न पुगेको छ । आजको समयमा वातावरणीय मुद्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दा बन्न पुगेको छ ।

वातावरण स्वच्छता कायम राख्नका लागि मानव समुदाय जागरुक र सचेत हुनु आवश्यक रहेको छ। वातावरण संरक्षण गर्नु आज सबैको साझा दायित्व हो भन्ने भावना सबैमा जागृत हुनु आवश्यक रहेको छ । पछिल्लो समय वातावरण प्रदूषणकै कारण जलवायु परिवर्तनका विभिन्न समस्याहरू देखा परिरहेका छन्।

वातावरणीय प्रदूषण न्यूनीकरणका लागि सबै एकजुट हुनुपर्ने आवश्यकता रहेको छ। पछिल्लो समय जलवायु परिवर्तनका एजेन्डा विश्वव्यापीरूपमा उठेको छ र जलवायु परिवर्तनका मुद्दा विश्व जगत्को चासो र चिन्ताको विषय बन्न पुगेको छ । विश्वमा दिनप्रतिदिन औद्योगिक क्रान्ति भई विकासले नयाँ रूप लिँदै अघि बढिरहेको छ।

औद्योगिक क्रान्तिकै कारण वातावरणीय पक्ष बिग्रँदै गइरहेको छ भने वातावरण संरक्षणको नाममा वातावरणीय विनाश भइरहेका छन् जसका कारण आज वायुमण्डलमा हरितगृह ग्यास उत्सर्जन बढेर पृथ्वीमा जलवायु परिवर्तनको असरहरू देखिँदै गइरहेका छन्। विशेषगरी नेपालमा समेत वातावरणीय प्रभावका कारण समयमै वर्षा नहुने, हिमालहरूमा हिउँ कम हुँदै जानु, तापक्रम बढ्दै जानुलगायतका समस्याहरू बढ्दै गइरहेका छन्।

नेपालमा वातावरण संरक्षण तथा जलवायु परिवर्तन न्यूनीकरण र जलवायु परिवर्तन अनुकूलका कार्यक्रमहरू गरिँदै आइरहेका छन्। नेपालमा अन्तरनिकायबीच समन्वय हुन नसक्दा वातावरण संरक्षणका कार्यक्रमहरूले प्रभावकारी रूपमा कार्यान्वयन हुन सकिरहेको पाइँदैन।हरेक वर्ष ५ जुनमा विश्व वातावरण दिवस विश्वभर विभिन्न कार्यक्रमहरू गरी मनाइँदै आइरहेको छ। नेपालमा पनि विविध कार्यक्रमहरू गरी उक्त दिन वातावरण दिवस मनाइसकिएको छ ।

हालै केही दिन अगाडिदेखि भारतमा देखिएको वातावरण प्रदूषणका कारण नेपालमा धुलो माटो मिसिएको वर्षा हुनु अचम्मको विषय बन्न पुगेको छ वैज्ञानिकहरूले यसको सही कारण पता लगाई समाधान गर्नुपर्ने आवश्यकता रहेको छ । पृथ्वीमा पञ्चतत्व पृथ्वी, जल, वायु, जीव तथा वनस्पति, खनिज पदार्थको समष्टिगत स्वरूप नै वातावरण हो। समग्रमा पृथ्वीमा रहेको जैविक तथा अजैविक सम्पूर्ण वस्तुहरूको समष्टिगत रूप नै वातावरण हो।

आर्थिक तथा मानवीय क्रियाकलापहरू, प्राकृतिक, सांस्कृतिक तथा सामाजिक प्रणालीहरू र यिनका आवश्यक तथा ती अवयवहरूको बीचको अन्तरक्रिया या एवं अन्तरसम्बन्धमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपले परिवर्तन गरी वातावरणमा उल्लेख्य सुधार ल्याउने, क्षति पुर्याउने क्रियाकलापलाई वातावरण प्रदूषण भनिन्छ।

हाम्रो प्रकृतिमा रहेका प्राकृतिक वस्तुहरूको अस्तित्व एवं सन्तुलनमा आउने गडबढीले गर्दा पृथ्वीमा रहेका कुनै वस्तुहरूको अस्तित्व लोप हुने, कुनै लोप हुने अवस्थामा रहेको र कुनै भविष्यमा लोप हुने सम्भावनालाई सिर्जना हुने अवस्थालाई वातावरण प्रदूषण भनिन्छ ।

मानवीय क्रियाकलापबाट सिर्जित बढ्दो सहरीकरण, फोहोरमैला, आणविक भट्टीबाट निस्कने विषालु ग्यास, जनसंख्याको तीव्र वृद्घि, प्राकृतिक सम्पदामाथिको तीव्र दोहन आदि नै वातावरण प्रदूषणका प्रमुख कारक तत्व मानिन्छन् ।

वातावरण प्रदूषणबाट उत्पन्न हुने मूलभूत समस्याका रूपमा मरुभूमीकरण, अम्लीयवर्षा, ओजोनतह नष्ट, बाढीपहिरो, हरितगृह प्रभाव नै प्रमुख रूपमा रहेका छन् । विशेष गरेर मानवीय क्रियाकलापबाट हुने वातावरणीय प्रदूषणलाई वायु, जल, भू र खाद्य प्रदूषणमा विभाजन गर्न सकिन्छ। वातावरणीय सन्तुलन कायम गरिराख्नु र त्यसको संरक्षण गर्नुलाइ वातावरण संरक्षण भनिन्छ ।

वातावरणीय संरक्षणले वातावरणमा प्रत्यक्ष अप्रत्यक्ष रूपले ह्रास ल्याउने एवं क्षति पुर्याउने कार्य नगरी वातावरणमा विभिन्न अवयवहरू, तिनीहरूको अन्तरसम्बन्धमा समेत कुनै प्रतिकूल असर नपुर्याई तिनीहरूको मर्मत सम्भार, स्याहार, संवद्र्घन, व्यवस्थापन तथा सदुपयोग गर्ने कार्यलाई वातावरण संरक्षण भनिन्छ।

वातावरणको सिर्जना कुनै पनि मुलुकमा रहेको जीवजगत् र प्राकृतिक सम्पदाहरूको संयोगबाट हुने भएता पनि यसको संरक्षण र संवद्र्घनमा मनुष्यको महत्वपूर्ण भूमिका रहेको हुन्छ । वातावरण सफा राख्नु हामी सबैको कर्तव्य हो तर तिनको हेक्का हामीले समयमै राख्न नसक्दा विभिन्न डरलाग्दा परिणामहरू आइरहेका छन् ।

हावापानी दूषित भए मौसम परिवर्तन गई स्वास्थ्यमा प्रतिकूल असर पर्ने, हरिया वनजंगल नभए मरुभूमिकरण हुने, बाढीपहिरोले भूक्षय हुने बाटोघाटो बिग्रने र सम्पूर्ण जीवनलाई नै असर पर्ने, खेतीपातीमा लगाइएका बाली नष्ट हुने, वर्षा नभई अतिवृष्टि, खण्डवृष्टि भई उत्पादनमा प्रतिकूल असर पर्नेलगायतका विभिन्न प्रकोपहरू हुन गई मानव जीवन र सम्पूर्ण राज्य र विश्वलाई समेत नकारात्मक असर पार्दछ ।

वातावरण रहे मात्रै हामी बाँच्न सक्दछाैँ भन्ने हेक्का नराखी दिनानुदिन सहरीकरण, आणविक हातहतियारको प्रयोग, विषालु रसायनहरूको प्रयोगले गर्दा मानव जातिको मात्रै नभई पृथ्वीमा रहेका जीवजन्तु र वनस्पतिहरूको समेत नष्ट क्षणभरमै हुनसक्ने गम्भीरखालका परिवेशहरू हाम्रा अगाडि आइरहेका छन् ।

वातावरण प्रदूषणबाट उत्पन्न हुने समस्याहरूमा मुख्यतया मरुभूमीकरण, वायुमण्डलीय धुमिलता, कृषि उत्पादनमा ह्रास, जैविक विविधतामा प्रतिकूल प्रभाव, अम्लीय वर्षा, भूक्षय तथा बाढी पहिरो, वनजंगलको विनाश, हरित गृह प्रभावद्वारा पृथ्वीको तापक्रममा वृद्घि र आणविक हिउँद तथा विश्वव्यापी उष्णता नै प्रमुख रूपमा रहेका छन् । त्यसैगरी वातावरण असन्तुलनका विभिन्न कारणहरू रहेका छन् ।

विशेषतः जनसंख्याको तीव्र वृद्घि, बढ्ढो औद्योगिकीकरण, वनसम्पदाको विनाश, जैविक विविधतामा ह्रास आउनु, युद्घ तथा आणविक हातहतियारको होडबाजी, विज्ञान र प्रविधिको विकास, ऊर्जा एवं जलस्रोतको अत्यधिक खपत र विषादी रसायनहरूको बढ्दो प्रयोग नै हो ।

यस्ता समस्या समाधानका लागि विभिन्न उपायहरू अवलम्बन गर्नुपर्ने आजको आवश्यकता रहेको छ। पृथ्वी सबैको साझा फूलबारी हो यसलाई बचाउने भनेकै हामी मानव जातिले मात्रै हो ।

अतः पृथ्वीलाई दिगो रूपमा बचाउनका लागि हालसम्म विभिन्न नीति तथा कार्यक्रम विश्वजगत्बाट भई नै रहेका छन् । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा सम्मेलनबाट वातावरण संरक्षणका लागि विविध कार्यक्रमहरू गरिएका छन् । वातावरण प्रदूषण हुन नदिनु नै वातावरण संरक्षण गर्नु हो।

बढ्दो जनसंख्या नियन्त्रण एवं व्यवस्थापन, जैविक विविधताको संरक्षण गर्नुपर्ने, प्राकृतिक स्रोत–साधनको समुचित उपयोग गर्दै संरक्षण गर्ने, गरिबी उन्मूलन गर्न कदम चाल्नुपर्ने, आणविक तथा रासायनिक हातहतियारको होडबाजी तथा युद्घमा बन्देज लगाउनुपर्नेछ ।

वैकल्पिक ऊर्जाको विकास र प्रयोग गर्नुपर्ने, औद्योगिकीकरण तथा सहरीकरण विस्तार गर्दा वातावरणीय प्रभावलाई ध्यान दिनुपर्ने, क्लोरोफ्लोरो, कार्बन, मिथेनजस्ता विषालु ग्यासहरूको उत्पादनमा रोक लगाउनुपर्ने, कीटनाशक औषधि र रसायनको प्रयोग कमगर्दै जानुपर्नेछ ।

यातायातजन्य प्रदूषण कम गर्नुपर्ने र वातावरणीय शिक्षाको प्रचारप्रसार गरी जनचेतना वृद्घि गर्नुपर्ने, वातावरण संरक्षण गर्न तर्जुमा भएका कानुनी संरचनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्नु पर्नेछ ।

, स्थानीय स्वायत्त शासन ऐन ०५५ अनुरूप स्थानीय निकायलाई वातावरण संरक्षणका लागि सक्षम र जिम्मेवारी दिँदै कार्यान्वयनका लागि अग्रसर बनाउने हावा, पानी तथा ध्वनि प्रदूषणको राष्ट्रिय मापदण्ड निर्धारण गरी कार्यान्वयनमा ल्याउने, फोहोर मैला व्यवस्थापन गर्नेछ ।

वातावरण संरक्षण गर्न राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरबाट पारित सन्धि, महासन्धि तथा प्रस्तावहरूलाई कार्यान्वयन गर्ने, नगरपालिका, महानगरपालिकाहरूलाई अनिवार्य रूपमा भूउपयोग योजना, फोहोरमैला व्यवस्थापन योजना बनाउन लगाई कार्यान्वयनमा जोड दिने, स्थानीय निकायको प्रत्यक्ष संलग्नतामा धार्मिक, सांस्कृतिक र प्राकृतिक स्थलहरूको वातावरण सुधार, संरक्षण र व्यवस्थापनसम्बन्धी विविध कार्यक्रमहरू सञ्चालन गर्ने ।

जैविक विविधताको संरक्षण गर्ने, विद्युत् शक्तिको खपतमा विकास गर्ने, प्रयोग भइसकेका वस्तुहरू नवीकरण गरी पुनः प्रयोगमा ल्याउने व्यवसाय तथा संलग्न व्यवसायीहरूलाई प्रोत्साहित गर्ने, वातावरण संरक्षणलाई विकास निर्माणका कार्य तथा अन्य सम्बन्धित सबै कार्यहरूसँग आवद्घ गरी कार्यान्वयन गर्ने कार्यहरू गरी वातावरण संरक्षण गर्न सकिन्छ।

आजको २१आैँ शताब्दीमा विश्वजगत् नारा र भाषणमा मात्रै सीमित नरही व्यावहारिक तवरबाट कार्यान्वयन गर्दै जानुपर्नेलगायतका विषयहरूमा विश्वका सम्पूर्ण राष्ट्रहरू तन, मन र वचनका साथ समस्या समाधानका लागि लाग्नुपर्ने आजको आवश्यकता रहेको छ। वातावरण संरक्षणका लागि सन् १९८३ मा संयुक्त राष्ट्र संघीय विकास तथा वातावरणसम्बन्धी ब्रटल्यान्ड आयोग गठन गरिएको थियो ।

सो प्रतिवेदन कार्यान्वयनका लागि सन् १९९२ मा राष्ट्रसंघीय वातावरण कार्यक्रमको ब्राजिलको रियो दि जेनेरियोमा गरिएको वातावरण सम्मेलनमा हरित गृहको शुभाराम्भ र एक मात्र पृथ्वीको स्याहार र उपयोग गरौँ भन्ने नारा पारित गरेर रियो पृथ्वी शिखर सम्मेलनले जैविक विविधतता, एजेन्डा २१, मौसम परिवर्तन र वनजंगल संरक्षणका नीति समावेश गरी विश्व शिखर सम्मेलन सम्पन्न भएको थियो ।

त्यस्तै गरी अन्टार्टिका विश्व सम्मेलन सन् १९५९, अम्लीय वर्षाबारे प्रथम विश्व सम्मेलन सन् १९५०, जलवायु विषयक प्रथम विश्व सम्मेलन सन् १९९७ मा सम्पन्न भएको थियो । एलडिसी मुलुकमा भएका समस्या कोप २३ मा राख्ने इथियोपियामा भएका सम्मेलन, वातावरणसम्बन्धी हालसम्म विभिन्न बैठक, सभा सम्मेलनहरू विश्वभर भई नै रहेका छन् ।

ती कार्यक्रमहरूमा विश्वका सदस्य राष्ट्रहरू सम्मिलित भई वातावरण न्यूनीकरणका लागि साझा धारणाअगाडि बढाई संयुक्त हस्ताक्षर गरी सामूहिक रूपमा वातावरण प्रदूषण रोक्ने प्रतिवद्घता व्यक्त गर्ने गरेका छन्।

नेपाल अधिराज्यको संविधान ०७२ मा मौलिक हकअन्तर्गत धारा ३० मा स्वच्छ वातावरणको हकको व्यवस्था गरिएको छ। उक्त धाराको उपदफा (१) र (२) मा प्रत्येक नागरिकलाई स्वच्छ र सफा वातावरणमा बाँच्न पाउने हक हुनेछ ।

उपदफा (२) मा वातावरणीय प्रदूषण वा ह्रासबाट हुने क्षतिवापत् पीडितलाई प्रदूषणबाट कानुन बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ र उपधारा (३) मा राष्ट्रको विकाससम्बन्धी कार्यमा विकास र वातावरणबीच समुचित सन्तुलनका लागि आवश्यक कानुनी व्यवस्था गर्न यस धाराले बाधा पुरयाएको मानिने छैन भनी व्यवस्था गरेको छ। सो व्यवस्थाले नेपाल सरकार वातावरण संरक्षणप्रति सचेत रहेको मान्न सकिन्छ।

यसका अलावा सरकारले वातावरण संरक्षणका लागि नेपाल सरकारले वातावरण मन्त्रालयको स्थापना गरी वातावरणका विविध क्षेत्रहरूमा काम गर्दै अघि बढिरहेको छ। नेपाल सरकारले साताैँ पञ्चवर्षीय योजनादेखि वातावरणलाई प्रत्येक विकास आयोजनाअन्तर्गत विशेष ध्यान दिनुपर्ने अंगका रूपमा मान्यता दिन सुरु गरेको थियो ।

बढ्दो वातावरण प्रदूषण न्यूनीकरणका लागि नेपाल सरकारले वातावरण ऐन नियम बनाएर आम नागरिकहरूसामु पुर्याउने कार्यसमेत गरेको छ। ०५३ माघ १७ गते सरकारले वातावरण संरक्षण ऐन र ०५४ मा वातावरण संरक्षण नियमावली जारी गरिएको थियो।

त्यस्तै गरी सवारी साधनहरूबाट निस्कने धुवाँ परीक्षण गरी वातावरण प्रदूषण कम गर्नका लागि १ वैशाख ०५१ सालदेखि कार्य सुरु गरिएको थियो । नेपालले विश्व वातावरण दिवसलाई सन् १९७६ देखि नियमित रूपमा मनाउँदै आइरहेको छ । नेपालले जलवायु परिवर्तनसम्बन्धी महासन्धिलाई ०५० मा अनुमोदनसमेत गरिसकेको छ ।

त्यस्तै गरी नेपालले दुर्लभ वन्यजन्तु तथा पशुपंक्षीहरूको संरक्षण र सम्वद्र्घन गर्ने उद्देश्यले स्थापित अन्तर्राष्ट्रिय संस्था साइटिसको सदस्यसमेत लिई नेपालमा सोसम्बन्धी कार्यलाई महत्व दिई अगाडि बढी रहेको छ ।

नेपालले सन् २००९ मा राष्ट्रसंघीय जलवायुसम्बन्धी विश्वको ध्यानाकर्षण गराउनका लागि सगरमाथाको आधार शिविर नजिक कालापत्थरमा नेपाल सरकारको मन्त्रिपरिषद्को बैठक गरेको थियो भने माल्दिभ्सले पानीमुनि मन्त्रिपरिषद्को बैठक गरेको थियो र राष्ट्रसंघको सम्मेलनमा समेत भाग लिई वातावरण र जलवायुसम्बन्धी आफ्नो तार्किक दृष्टिकोण पेस गरेको थियो ।

नेपाल सरकारले हालसम्म पनि वातावरण र जलवायुसम्बन्धी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा नियमित रूपमा सहभागी हुँदै वातावरण संरक्षणमा आफ्नो भूमिका प्रस्तुत गरिरहेको छ । नेपालले बर्सेनि वातावरण दिवससमेत मनाउँदै वातावरणसम्बन्धी जनचेतना जगाउने कार्य अनवरत रूपमा गर्दै आइरहेको छ ।

नेपाल सरकारले संविधानको मौलिक हकमा वातावरण संरक्षण गर्ने विषय समावेश गरिनुले आमनागरिकहरू वातावरणप्रति सचेत र सर्तक हुनुपर्दछ । नेपाल सरकारले वातावरण संरक्षण गर्ने कार्यमा विद्यालयस्तरदेखि नै वातावरण प्रदूषणबारे पाठ्यपुस्तक तयारी गर्दै जनचेतना फैँलाउँदै जानुपर्दछ ।

वातावरण प्रदूषण गर्ने जो कोही किन नहुन्, वातावरणमा असर पार्ने चाहे त्यो सुन र हीराको खानी नै किन नहोस् तिनलाई बन्द गर्ने सरकारले आँट गर्नुपर्दछ । नेपाल संघीय संरचना अनुरूप चलिरहेको वर्तमान अवस्थामा वातावरण संरक्षणको विषय संघ र प्रदेश दुवैमा रहने वैकल्पिक ऊर्जाका कार्यक्रमहरू स्थानीय तहमा रहने व्यवस्था गरिएको छ ।

संविधानको अनुसूचीमा कार्बन व्यापार, जलवायु परिवर्तन, वातावरण संरक्षणलगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महासन्धिका विषयसँग सम्बन्धित नीति तथा कानुन बनाउने विषयहरू संघको कार्यक्षेत्रमा राखिएको छ । वातावरण स्वच्छ, सफा राख्नु हामी सबैको साझा कर्तव्य हो ।

आमनागरिक, बुद्घिजीवी, राजनीतिक दल, नागरिक समाज, विद्यार्थी, शिक्षक, कर्मचारीहरू सबै गोलबन्द भई वातावरण संरक्षण गर्ने कार्यमा सहभागी हुँदै प्रचारप्रसार गर्दै वातावरण प्रदूषण न्यूनीकरणका लागि जनचेतना जगाउँदै अघि बढ्नु आजको आवश्यकता रहेको छ। हालका दिनहरूमा वातावरण प्रदूषण दिनानुदिन बढ्दै गइरहेका छन् जसको मूलकारण हामी मानव नै हौँ ।

अव्यवस्थित सहरीकरण, चर्को ध्वनि, विभिन्न किसिमका केमिकलहरूको प्रयोग आदि कारणले गर्दा दिनानुदिन प्रदूषणहरू हुँदै गइरहेका छन् । जल, वायु, भूमि प्रदूषणका अलावा दृश्य प्रदूषणसमेत बढिरहेका छन् । अग्ला भवन निर्माण र ती भवनमाथि राखिएका होर्डिङ बोर्डहरूले गर्दा दुर्घटनाहरू निम्त्याइरहेका छन् भने अर्कातिर मनोरम दृश्यहरूसमेत छेकिरहेका छन्।

सरकारले भवन आचार संहितालाई कडाइका साथ लागू गर्न नसक्दा हाम्रा मौलिक सम्पदाहरू मासिने र ठूल्ठूला भवनहरूले मठ, मन्दिरहरू नै छेकिन पुगेका छन् । कुनै पनि वेला युनेस्कोले विश्वसम्पदा सूचीमा रहेका पशुपति, स्वयम्भू, चाँगुनारायण, भक्तपुर, पाटन र काठमाडौं दरबार स्क्वायरजस्ता क्षेत्रहरूलाई विश्वसम्पदा सूचीबाट हटाउन सक्ने हुँदा यसतर्फ ध्यान दिनु जरुरी रहेको छ ।

प्रतिक्रिया