रुस टु कतार फुटबल यात्रा

– कुमार चौलागार्इं काठमाडौं । २१आैँ संस्करणको विश्वकप फुटबल प्रतियोगिता आइतबार राती सम्पन्न भएको छ । फाइनल खेलमा फ्रान्सले क्रोएसियालाई ४–२ गोलअन्तरले पराजित गर्दै उपाधि चुम्यो । फ्रान्सले दोस्रो पटक विश्वकपको उपाधि जितेको हो । सन् १९९८ मा फ्रान्सले आफ्नै भूमिमा ब्राजिललाई ३–० गोलअन्तरले हराउँदै पहिलोपटक विश्वकपको उपाधि हात पारेको थियो।

२० वर्षअघि क्रोएसिया विश्वकपको सेमिफाइनलमा आयोजक फ्रान्ससँग क्रोएसिया २–१ ले पराजित भएको थियो । क्रोएसिया पहिलोपटक विश्वकपको फाइनलमा पुगेको हो । सन् १९९८ मा विश्वकपको सेमिफाइनलमा क्रोएसियाको यात्रा डिडिएर डेसच्याम्प (हालका फ्रान्सेली प्रशिक्षक) को कप्तानीमा रहेको फ्रान्सले अन्त्य गरिदिएको थियो ।

सन् १९९८ विश्वकपमा फ्रान्सका कप्तान रहेका डेसच्याम्प दुई फरक भूमिकामा विश्वकप जित्ने तेस्रो व्यक्ति बनेका छन् । यसअघि ब्राजिलका मारियो जगाल्लो र जर्मनीका फ्रान्ज बेकेनबाउरले खेलाडी र प्रशिक्षकको रूपमा विश्वकपको ट्रफी उचालेर इतिहास बनाएका थिए । मारियोले ब्राजिलबाट सन् १९५८ र १९६२ मा खेलाडी तथा १९७० मा प्रशिक्षकको रूपमा विश्वकपको उपाधि दिलाएका थिए ।

जर्मनीले सन् १९७४ मा खेलाडी र १९९० मा प्रशिक्षकको रूपमा विश्वकपको उपाधि जिताएका थिए । उपाधिसँगै फ्रान्सले सुनको ट्रफीसँगै ४ अर्ब १० करोड रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । उपविजेता क्रोएसियाले ३ अर्ब २ करोड, तेस्रो भएको बेल्जियमले २ अर्ब ९८ करोड तथा चौथो भएको इंग्ल्यान्डले २ अर्ब ३७ करोड रुपैयाँ पुरस्कार पाएको छ ।

क्वार्टरफाइनलबाट बाहिरिएका उरुग्वे, ब्राजिल, रुस र स्वीडेन प्रत्येकले १ अर्ब ७२ करोड, प्री–क्वार्टरफाइनलबाट बाहिरिएका पोर्चुगल, अर्जेन्टिना, मेक्सिको, जापान, स्पेन, डेनमार्क, स्विट्जरल्यान्ड र कोलम्बिया प्रत्येकले १ अर्ब २९ करोड तथा समूह चरणबाट बाहिरिने १६ वटा टोली प्रत्येकले ८६ करोड ३२ लाख पुरस्कार प्राप्त गरेका छन् । विश्वकप फुटबल २०१८ को कुल पुरस्कार राशि ४३ अर्ब रहेको थियो ।

गत जेठ ३१ गते रुसको राजधानी मस्कोस्थित लुजनिकी रंगशालामा आयोजक रुस र साउदी अरेबियाबीचको खेलमा पहिलो सिठी फुकेसँगै सुरु भएको विश्वकप गएराति सेन्ट मस्कोस्थित लुजनिकी रंगशालामा फ्रान्स र क्रोएसियाबीच सम्पन्न फाइनल खेलसँगै विधिवत् रूपमा सम्पन्न भएको छ ।

करिब ८८ वर्षको इतिहास बोकेको विश्वकप फुटबल प्रतियोगिताको २१औँ संस्करणसम्म आइपुग्दा आठवटा मुलुकले मात्र विश्वकपको ट्रफी चुमेका छन् । सन् १९३० मा पहिलो विश्वकपको उपाधि आयोजक उरुग्वेले जितेको थियो ।

सन् १९३४ र १९३८ मा लगातार इटाली, १९५० मा उरुग्वे, १९५४ मा तत्कालीन पश्चिम जर्मनी, १९५८ र १९६२ मा ब्राजिल, १९६६ मा इंल्यान्ड, १९७० मा ब्राजिल, १९७४ मा पश्चिम जर्मनी, १९७८ मा अर्जेन्टिना, १९८२ मा इटली, १९८४ मा अर्जेन्टिना, १९९० मा पश्चिम जर्मनी, १९९४ मा ब्राजिल, १९९८ मा फ्रान्स, २००२ मा ब्राजिल, सन् २००६ मा इटली, २०१० मा स्पेन तथा २०१४ मा जर्मनीले विश्वकपको उपाधि चुमिसकेका छन् ।

विश्वकप उपाधिको नजिक पुगेर पनि नेदरल्यान्ड तीन पटक, चेकोस्लोभाकिया र हंगेरी २÷२ तथा स्वीडेन र क्रोएसियाले १÷१ पटक उपविजेताका रूपमा चित्त बुझाएका छन् । रुसका ११ सहरका १२ वटा रंगशालामा ६४ वटा खेल सञ्चालन भएका थिए। एक महिनासम्म चलेको प्रतियोगितामा ३२ टोलीका कुल ७ सय ३६ खेलाडी प्रतियोगितामा सहभागी बनेका थिए ।

प्रतियोगिताभर १ सय १० खेलाडीले गोल गरे भने सहभागी सबै ३२ टोली गोल गर्न सफल भए । प्रतियोगिताभर १ सय ६९ गोल भएका थिए । चार खेलाडीले रातो कार्ड, २ सय १९ खेलाडीले पहेँलो कार्ड, १२ खेलाडीले आत्मघाती गोल तथा २२ खेलाडी पेनाल्टीमार्फत गोल गर्न सफल भएका थिए ।

प्रतियोगितामा सर्वाधिक गोलकर्ता इंग्ल्यान्डका ह्यारी केन (६ गोल), बढी गोल गर्ने टोली, बेल्जियम (१६ गोल), बढीपटक आक्रमण गर्ने टोली क्रोएसिया (३ सय ५२ पटक), बढी पास खेल्ने इंग्ल्यान्ड (३ हजार ३६ पास) तथा राम्रो रक्षापंक्ति भएको टोलीको रूपमा क्रोएसिया चिनिएको छ ।

मोड्रिक सर्वोत्कृष्ट खेलाडी

क्रोएसियाका कप्तान लुका मोड्रिक फिफा विश्वकप २०१८ को सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । उनले गोल्डेन बलको ट्रफी उचाले । फ्रान्सका केलियन एमबाप्पेले फिफा उत्कृष्ट युवा खेलाडीको अवार्ड पाए । १९ वर्षीय एमबाप्पेले विश्वकपमा चार गोल गरेका थिए । गोल्डेन बुटको अवार्ड इंग्ल्यान्डका कप्तान ह्यारी केनले पाए । उनले प्रतियोगितामा ६ गोल गरे ।

बेल्जिमयका गोलकिपर थिबाउट कोउटिइसले उत्कृष्ट गोलकिपरको अवार्ड हात पारे । स्पेन फिफा फेयर प्लेको अवार्ड जित्न सफल भयो। प्रतियोगितामा विश्वकपको दाबेदार मानिएका ब्राजिल, जर्मनी, अर्जेन्टिना, पोर्चुगल, स्पेन, मेक्सिकोजस्ता टोली घर फर्किए भने थुप्रै उत्कृष्ट खेलाडीको प्रदर्शन निराशाजनक रह्यो ।

अघिल्लो विश्वकपको विजेता जर्मनी समूह चरणको अन्तिम खेलमा कोरियासँग पराजित भयो भने उपविजेता अर्जेन्टिना प्रिक्वार्टर फाइलनमा फ्रान्ससँग पराजित हुन पुग्यो। यस्तै, स्पेन आयोजक रुससँग, पोर्चुगल उरुग्वेसँग र मेक्सिको ब्राजिलसँग पराजित हुँदै प्रिक्वार्टर फाइलनबाट बाहिरिए ।

प्रतियोगितामा पाँचपटकको विजेता ब्राजिल क्वार्टर फाइलनमा बेल्जियमसँग पराजित भयो। प्रतियोगितामा उत्कृष्ट मानिएका अर्जेन्टिनाका लियोनल मेस्सी, इजिप्टका मोहमद सलाह, कोलम्बियाका जेम्स रोड्रिगेज, जर्मनीका थोमस मुलर, स्पेनका मार्को एसेन्सियो र आन्द्रे इनिस्टाजस्ता खेलाडीको प्रदर्शन निराशाजनक रह्यो ।

इंग्ल्यान्डका ह्यारी केन, स्विडेनका भिक्टर लिन्डेलोफ, रुसका गोलकिपर इगोर अकिनफेभ, रुसकै मारियो फर्नान्डेज, उरुग्वेका डियगो लाक्साल्ट, फ्रान्सका एन्टेनियो ग्रिजम्यान, पाउल पोग्बा, कलियन एमबाप्पे, राफेल भरान, जापानका ताकासी इनुई, उरुग्वेका एडिन्सन काभानी, पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, ब्राजिलका नेयमार जुनियरलगायतको प्रदर्शन लोभलाग्दो रह्यो ।

फिफा विश्वकपको २२ औँ संस्करण सन् २०२२ नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म एसियाली मुलुक कतारमा हुनेछ । कतारले प्रतियोगिताका लागि व्यापक रूपमा तयारी गरिरहेको छ ।

प्रतिक्रिया