हत्या र बलात्कार समाजको प्रमुख समस्या बन्दै

वीरेन्द्र रावल असार १२ गतेदेखि तीन दिनसम्म बेपत्ता पारिएकी कैलाली गौरीगंगा नगरपालिका ११ स्थित जहरी कटानकी २१ वर्षिया माया विकको १५ गते नगरपालिका चपरथली सामुदायिक वनमा दुवै हात पिठ्युँमा बाँधेर हत्या गरेको अवस्थामा जब मृत्त शरीर फेला पर्यो ।

त्यसैगरी असार ८ गतेका दिन प्रेमिकासँग मिलेर आफ्नै पतिको हत्या गरी भासु भिरमा फालेको गोदावरी नगरपालिका ११ का लक्ष्मी बडैला र उनका प्रेमी दिपक खत्री, लम्की चुहा नगरपालिका ९ का इन्द्र बहादुर चौधरी मदिरा सेवनगरी असार २० गते आफ्नै पत्नी गर्भीदेवी चौधरीलाई सामान्य विवादमा फलामको कुटोले हानेर ज्यान मारेको घटनादेखि लिएर खेतमा काम गरिरहेकी आफ्नै पत्नीलाई कञ्चनपुर जिल्ला भिमदत्त नगरपालिका–८ तिलाचौरका ३७ वर्षका केशव कार्कीले ३६ वर्षकी सरस्वती कार्कीको गत मंगलबार बिहान खेतमा फरुवाले हानेर हत्या गरेका थिए ।

प्रहरीले पत्नीको हत्या गर्ने केशव सशस्त्र प्रहरीको हवल्दार रहेको र उनी दाङमा रहेको सीमा सुरक्षा बल लमहीमा कार्यरत थिए भने केही दिनअघि मात्रै रोपाइँ गर्नका लागि घर आएका थिए। एक दुई हप्ताभित्रै कैलाली र कञ्चनपुर जिल्लामा मात्रै अति नै अनौठा र दर्दनाक तरिकाका घटनाहरू भएका छन्। ती घटनाले समाजमा बस्ने जो कोही मानिसलाई पनि सोच्न बाध्य बनाइ दिएको छ ।

यी घटनाहरू सिलसिलाबद्ध रूपमा एकपछि अर्कोगरी लगातार रूपले दुई हप्ताभित्र भएका घटनाहरू हुन् । एउटा निर्दोष महिलालाई निष्पट्ट जंगलभित्र लगेर यौन आवेशमा पुगेका ५ जनाले पशुवत् व्यवहार प्रदर्शन गर्दै यौन तृष्णालाई पूरा गर्नका लागि चिच्याहट, चीत्कार र निष्सासहको बीचमा कुनै अवोला नारीको दानवीय तरिकाले ज्यान नै लेलान भनेर कमैले कल्पना गरेका हुन्छन्।

दुवै हात पिठ्यूँमा बाँधेर, मुखमा स्याउला र पात कोचेर श्वास प्रश्वास नै थुनेर अरूलाई तड्पाई तड्पाई मरेको लाशमाथि पनि यौन तृष्णालाई पूरा गर्नका लागि उद्यत् बलात्कारमा संलग्न ती पाँच जना कलियुगका रावणहरूमध्ये एक जनाले पनि कमसेकम सोचेन होलाकि, मेरो घरमा पनि ती अवोला नारीजस्तै दिदी बहिनी र आमा छन् भनेर ? क्रुरताको पनि त सीमा हुन्छ होला ।

एकजना क्रूर हिंस्रक निस्के पनि ती पाँच जनामध्ये एक न एक जनाको मन मस्तिष्कमा दया र माया हुनुपर्ने होइन र ? असार १२ गतेदेखि तीन दिनसम्म बेपत्ता पारिएकी कैलाली गौरीगंगा नगरपालिका–११ स्थित जहरी कटानकी २१ वर्षीया माया विकको १५ गते नगरपालिका चपरथली सामुदायिक वनमा दुवै हात पिठ्युँमा बाँधेर हत्या गरेको अवस्थामा जब मृत शरीर फेला पर्यो ।

तब यसले कैलाली जिल्लामा मात्रै नभएर यस्ता यौन पिपाशुहरूको संख्याले हरेक बस्ती, टोल र छिमेकलाई गाँजिरहेको छ भन्ने तथ्यलाई प्रमाणित गरिदिएको छ। कैलालीको गौरीगंगा नगरपालिका ११ कटानकी २१ वर्षीया माया विक नगरपालिकाको सामाजिक परिचालिकामा असार ५ गतेदेखि कार्यरत थिइन् ।

उनीसँगै सोही नगरपालिका ११ शिवपुरका ३० वर्षका गणेश बडुवाल र वर्ष २१ का सुरज चौधरी पनि सोही पदमा कार्यरत थिए । दुई हप्ताभित्र भएका घटनाहरूमा माया विकको घटना भने दानवीय पराकाष्टाको पछिल्लो रूप हो । यस घटनाको सिलसिला हेर्दा निर्दोष चेलीहरूमाथिको बर्बरताको रूपमा लिन सकिन्छ । यौन भन्ने शब्द र प्रेम भन्ने शब्द सायद एक अर्काका परिपूरक हुन् ।

प्रेमपछि महिला र पुरुषबीचको दोहोरो सहमतिमा गरिने प्राकृतिक एवं व्यवहारिक कुरा नै हो यौनसम्पर्क । यौन सम्पर्क भन्ने कुरा प्रेममा लिप्त भएपछि गरिने मायाको प्रगाढ सम्बन्धको सूचक पनि हो । तर, आवेग, आवेश र उन्मादमा गरिने कुरा यौन शोषणभित्र पर्दछन् । यौन शोषण महिलाको इच्छा विपरीत हुने भएकाले त्यो एक अपराध हो ।

माया विकको हत्या यौन प्रस्तावसँगै पहिलोपटक मुख्य योजनाकार गणेश बडुवालले उनीमाथि गरेको बलात्कारको भयले नै मार्ने योजना बनाइएको देखिन्छ । यौन प्रस्ताव नमानेपछि विवाहित गणेशले कार्यालय समयका वेला असार ८ गते यौन प्रस्ताव राखे । तर, मायाले तपाईं विवाहित मान्छे, म दलितकी छोरी यस्तो कुरा गर्ने भनेर जवाफ दिइन् ।

मायाको मुखमा बिरुवाका पात कोचियो, हात दोपट्टाले पछाडि बाँधियो र बलात्कार गर्न सुरु गरियो । मुखमा पात कोचिएकी र हात बाँधिएकी मायाले न बोल्न सकिन् न त प्रतिकार नै । त्यसको तीन दिनपछि ११ गते फेरि गणेशले मायालाई जबरजस्ती गर्न खोजेपछि मायाले तँलाई देखाउँछु भन्दै धम्की दिइन् ।

निडर स्वभाव, आफ्ना कुरा ढुक्कसँग राख्ने मायाको धम्कीपछि गणेश आत्तिए । उनले गौरीगंगा नगरपालिका–११ का २७ वर्षीय मनोज बोगटीलाई प्रलोभनमा पार्दै मायाको हत्या योजना बनाए ।

त्यसपछि बन्यो हत्या योजना
मायाले समाज वा प्रहरीलाई खबर गरिदएको खण्डमा फसिने पो हो कि भन्ने डरले हतास मनस्थितिमा मायाको हत्यापछि मायाले पाउने पैसा र काम आफूले पाउने भन्दै मनोजलाई ८० हजार रुपैयाँ दिने प्रभोलन देखाए । मनोजपछि राजी भए र हत्या योजना बनाए । गणेशले मायाको हत्याका लागि गौरीगंगा–११ शिवपुरकै भुवन खाती र तपेन्द्र बोगटीलाई बोलाए भने मनोजले सामाजिक परिचालक सुरजलाई ।

पाँचैजना बसेर सामूहिक बलात्कारपछि हत्या गर्ने र शवको ठेगान लगाउने उनीहरूको योजनाअनुसार असार १२ गते बिहान ९ बजेदेखि नै उनीहरू मायालाई कुरेर बसे । तीन जनाले बलात्कार गरेपछि चौथो जनाले बलात्कार गर्ने योजना सफल हुन नपाउँदै मायाले भने संसारबाट बिदा लिइसकेकी थिइन्।

माया आउने बित्तिकै दुई जनाले मुख छोपेर हातपछाडि बाँधेर जंगलमा लगे र बलात्कार गर्न सुरु गरे । मायाको मुखमा बिरुवाका पात कोचियो, हात दोपट्टाले पछाडि बाँधियो र बलात्कार गर्न सुरु गरियो । मुखमा पात कोचिएकी र हात बाँधिएकी मायाले न बोल्न सकिन न त प्रतिकार नै । सुरुमा गणेश बडुवाल, भुवन खाती र सुरज चौधरीले बलात्कार गरे ।

पाँचै जनाले बलात्कार गरिसकेपछि मार्ने उनीहरूको योजना थियो । सोही अनुरूप उनीहरूले सेल्फी पनि सँगै लिएका थिए । तर, तीन जनाले बलात्कार गरेपछि चौथो जनाले बलात्कार गर्न नपाउँदै मायाले भने संसारबाट बिदा लिइसकेकी थिइन्। ‘यी यौन पिपासुले अति दर्दनाक र घिनलाग्दो तरिकाले हत्या योजना बनाए कि, यसले सारा निर्दोष दिदी बहिनीहरू पनि त्रसित बन्न पुगेका छन् ।

यसरी भयो प्रहरी सफल
घटनापछि असार १२ गतेको थियो । १२ गतेदेखि माया बेपत्ता भएपछि आफन्तले दुई दिन आफैँ खोजी गरे तर, कहीँ पनि फेला पारेनन् । माया कहीँ पनि फेला नपरेपछि परिवारले असार १४ गते इलाका प्रहरी कार्यालय मसुरीयामा उजुरी दिए । त्यसपछि प्रहरी निरीक्षकको टोलीले खोजतलास गर्दा मायाको शव जेठ १५ गते जंगलमा सडेको, अर्धनग्न र हात पछाडि बाँधिएको अवस्थामा फेला पर्यो।

सोही स्थानमा मायाको साइकल र मोबाइलको खोल फेला पर्यो । प्रहरीले मायाको बलात्कारपछि हत्या भएको आशंकामा अनुसन्धान थाल्यो । १६ गते प्रहरी निरीक्षकको नेतृत्वमा अनुसन्धान समिति गठन गरियो भने १७ गते जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षकको टोली गठन गरी शून्यबाट छानबिन गरियो।

‘घटना भएको ४ दिनपछि शव फेला पारेका थियाैँ। त्यसैले शून्यबाट अनुसन्धान गर्नुपर्ने थियो ।’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले भने,‘ ‘इलाका प्रहरी कार्यालयमा परेका उजुरीका आधारमा छानबिन थालेका हाैँ। एक हप्तापछि सफल भयौँ।’

इलाका प्रहरी कार्यालयमा यसअघि परेका उजुरीका आधारमा स्थानीयलाई पक्राउ गर्न थालेपछि मनोज बोगटी गाउँबाट
फरार भएको सूचना प्रहरीलाई प्राप्त भयो । मुख्य योजनाकार गणेश बडुवाललाई अगाडि नै पक्राउ गरे पनि घटनाबारे अन्य तथ्य र व्यक्ति प्रहरीले पत्ता लगाउन सकेको थिएन। फरार भएका मनोजले आफन्तकोमा मायाको मोबाइल छोडेका थिए ।

मनोजका आफन्तमार्फत फोन गरी मनोजलाई दिल्लीबाट बोलाएर पक्राउ गरेपछि घटनामा संलग्न सबै पक्राउ परे र प्रहरीले शुक्रबार उनीहरूलाई सार्वजनिकसमेत गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले विकको घटनामा संलग्न पाँच जना व्यक्तिलाई अनुसन्धानका लागि पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएको थियो ।

पक्राउ पर्ने गौरीगंगा नगरपालिका–११ शिवपुरका ३० वर्षीय गणेश बडुवाल, २७ वर्षीय मनोज बोगटी, २१ वर्षीय सुरज चौधरी, २० वर्षीय भुवन खाती र १९, वर्षीय तपेन्द्र बोगटी रहेका थिए ।

सर्वस्वसहित जन्मकैदको सजाय
मायाको घटनामा संलग्नलाई कर्तव्य ज्यान तथा जबरजस्ती करणीअन्तर्गत मुद्दा चलाइने भएको छ । ‘मुलुकी ऐनको दफा १ को १३ बमोजिम कर्तव्य ज्यानअन्तर्गत सर्वस्वसहित जन्मकैद हुने व्यवस्था छ ।’ उनले भने, जबरजस्ती करणीमा ५ देखि ७ वर्ष कैदको व्यवस्था छ ।

यो घटनामा सामूहिक बलात्कार भएकाले कैद सजाय दोब्बर हुने व्यवस्था छ । पछिल्लो समयमा नेपालमा बढ्दै गइरहेका अधिकांश आपराधिक घटनाहरूका पछाडि कि, सम्पत्ति कि महिला र पुरुषहरूका बीचमा लसपस वा महिलामाथिका हिंसाका शृंखला नै प्रमुख कारक तत्वका रूपमा लिन सकिन्छ ।

सजायको प्रकृति र कानुनलाई अब बदल्न जरुरी छ
एकजना व्यक्तिले ज्यान मार्यो भने घटनाको ५ देखि ७ वर्षभित्रमा अपराधी जेलमुक्त हुने गर्दछ । उसले जेल बस्दाखेरी आफूलाई आमूल रूपले परिवर्तन नगरेको पाइएको छ भने कतिपय व्यक्तिहरू जेलबाट निस्कनेवित्तिकै संगठित अपराधमा लाग्ने गरेको थुप्रै उदाहरणहरू देखिने गरेका छन् । त्यसकारण अपराध गर्ने व्यक्तिलाई अब सरकारले नयाँ ढंगबाट कानुन ल्याएर नीतिगत तहमा लागू गर्नुपर्ने जरुरी भइसकेको छ ।

समाजमा अपराध गर्ने मानवीयता नै नभएका दानवहरूका लागि कारागारमा राखेर भत्ता दिने, सरकारले मानो मुठो दिने नभई त्यस्ता अपराधीलाई कडाभन्दा कडा श्रम शिविरहरूमा जीवनभर पछुताउने गरी राख्ने व्यवस्था हुन जरुरी छ । मानिसको हत्या गरे जेलमा रासन र दैनिक ३५ देखि ४० रुपैयाँसम्म पाइहालिन्छ ।

घरका मानिस र आपराधिक समूहसँग लगातार भेट भई नै रहन्छ । जेलभित्रैबाट आपराधिक गतिविधि सञ्चालन पाई नै हालिन्छ भन्ने जस्ता सोचले पनि अपराध नियन्त्रण नभई झन्–झन् बढ्दै जान थालेका देखिन्छन् ।

प्रतिक्रिया