प्राकृतिक प्रकोपबाट बँच्न बेलैमा सजग बनौँ

लेखकः फणीन्द्र फुयाल ज्वाला

यस वर्षको वर्षायाम सुरु भइसकेको छ । नेपालमा पश्चिमी वायु र बंगालको खाडीबाट आउने वायुको प्रभावका कारण मौसममा परिवर्तन हुने गरेको मौसमविद्हरूले भन्ने गरेका छन् । हरेक वर्ष नेपालमा भारी वर्षाका कारण लाखौँ धनजनको क्षति हुने गरेको छ ।

गतवर्ष मात्र भारी वर्षा हुँदा देशको प्रमुख राजधानी काठमाडौं, भक्तपुर, पूर्वी तथा पश्चिम तराईका धेरै मानिसहरूको उठीवास भयो । घर र झुपडीहरू डुबानमा परे भने हजारौँ बिघामा लगाइएको धान र तरकारीबाली नष्ट भयो ।

पहाडी जिल्लाका धेरै स्थानमा भूकम्पले पीडित नेपाली पहिरोको चपेटामा परे । नेपालजस्तो विकासोन्मुख र हिमाल, पहाड अनि तराईको भौगोलिक उपहार प्राप्त देशमा बर्सेनि प्राकृतिक प्रकोपका कारण धेरै क्षति हुने गरेको छ । सुख्खा याममा डढेलो र आगलागीबाट पीडित हुने नेपालीहरू वर्षौँदेखि यस्ता प्राकृतिक प्रकोपको सिकार हुँदै आएका छन् ।

देश यतिवेला संघीय प्रणालीमा गइसकेको छ। सिंहदरबारको अधिकार गाउँ गाउँमा प्रत्यायोजन भइसकेको यस परिप्रेक्षमा प्राकृतक प्रकोपका लागि आर्थिक र भौतिक रूपमा सहयोग गर्न सबै गाउँपालिका, नगरपालिका, स्थानीय सरकार, प्रदेश सरकार र समग्रमा केन्द्रीय सरकार तयारी अवस्थामा रहनु पर्दछ ।

सबै जिल्लाका दैवीप्रकोप व्यवस्थापन समिति, रेडक्रस, सामाजिक संघ÷संस्था र विशेष गरी नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना पनि तम्तयार अवस्थामा बसिरहनुपर्छ । दैवीप्रकोपमा परेका नेपालीहरूको समयमै उद्धार र राहत वितरण गर्न सरकारले गाउँगाउँमा टोली खटाउन सक्ने गरी वेलैमा व्यवस्था मिलाई रहनुपर्छ ।

यातायातको पहुँच नपुगेका स्थानमा उद्धार र राहत वितरण गर्न सरकारले पर्याप्त मात्रामा हेलिकोप्टर, पहिरोले सडक अवरुद्ध पुर्याउन सक्ने सम्भावित स्थानमा वेलैमा डोजर र पर्याप्त बजेटको पनि व्यवस्था मिलाइराख्न जरुरी छ । दुर्घटना र दैवीप्रकोपले कतिवेला कस्तो रूप धारण गरेर प्रस्तुत हुन्छ त्यसको पूर्ण रूपमा पूर्व जानकारी नहुने भएकाले क्षति कमगर्न भने वेलैमा सचेत भएको खण्डमा ठूलो दुर्घटनाबाट जोगिन सकिन्छ ।

खासगरी नेपालमा कतिवेला कुन समस्या देखापर्छ ? कति क्षति हुन्छ अनि मात्र त्यससम्बन्धी नीतिनियम बनाउने कार्यले गर्दा यो देश प्रयोगशालाको रूपमा धेरै वर्षदेखि चल्दै आयो । राजनीतिक रूपमा जसरी देश लामो समयदेखि तरल अवस्थामा बहदै आयो देशका अन्य निकायहरू पनि त्यसको सिकार बन्दै गए । यतिवेला देशले बल्ल एउटा मूर्त रूप लिन खोज्दै छ।

देशमा स्थायी सरकार निर्माण भइसकेको छ । राजनीतिक तरलताको अन्त्य भएको छ । बिगतका कमी कमजोरीहरूबाट पाठ सिक्दै, वैदेशिक सहायता लिँदै सरकारअगाडि बढिरहेको छ ।

सरकारले गरेका हरेक कामको विरोध गर्ने मात्र होइन देश निर्माणमा हरेक क्षेत्र र वर्गका नागरिकले आफ्नो दायित्व पनि पूरा गर्दै जाने हो भने आगामी दिनमा आउन सक्ने हरेक प्रकारका प्राकृतिक, राजनीतिक, आर्थिक, सांकृितक र मानवनिर्मित समस्याहरूको सहजै समाधान गर्दै देशलाई संविधानमा उल्लेख गरिए जस्तै समाजवाद सम्म पुर्याउन सकिने थियो ।

यसमा सरकारको मात्र मुख ताकेर नभई हरेक नेपालीले आफ्नो तर्फबाट पनि केही समाजसेवी भावले काम गर्न जरुरी छ । नेपाललाई प्रकृतिले दिएको वरदानमध्ये मनसुनी वर्षा सबैभन्दा अमूल्य हो नेपालको जनजीवन मनसुनी वर्षाकै भरमा बाँचेको छ ।

गर्मी मौसम सुरु भएसँगै हिन्द महासागरबाट वाफ उठ्न सुरु गर्छ उक्तवाफ न्यून चापीय उत्तरी क्षेत्रतर्फ सर्दै जाँदा हिमालय पर्वत शृंखलामा ठोक्किने भएकाले पानीमा परिणत हुन्छ । त्यही पानी वर्षाका रूपमा जमिनमा झर्छ । जसलाई मनसुनी वर्षा भनिन्छ ।

नेपालमा वर्षभरि जति वर्षाबाट जति पानी प्राप्त हुन्छ त्यसमध्ये मनसुनी वर्षाबाट प्राप्त हुने पानीको हिस्सा ९० प्रतिशतभन्दा बढी हुन्छ । नेपालमा उत्पादन हुने बालीनालीमध्ये ८० प्रतिशतभन्दा बढी मौसमी वर्षाकै उपज हो । जलस्रोतमा नेपाललाई विश्वकै दोस्रो धनी मुलुकका रूपमा लिइन्छ ।

जलस्रोत रूपी यो धन पनि नेपालले मनसुनी वर्षाका कारण नै प्राप्त गरेको हो । यदि मनसुनी वर्षा हुँदैनथ्यो भने नेपालमा सहज जनजीवन सम्भव थिएन । तर, उचित व्यवस्थापन गर्न नसक्दा प्रकृतिले दिएको यो वरदानले हरेकसाल विपत्ति निम्त्याउने गरेको छ । यसवर्षको मनसुनी वर्षा पनि गत असारको दोस्रो सातादेखि सक्रिय भएको छ ।

मनसुनी वर्षाको यो सक्रियताको सुरुवाती लक्षण राम्रो देखिएको छैन । सुरुवाती चरणमै मुलुकका विभिन्न भू–भागमा बाढी पहिरोले ११ जनाको ज्यान गएको छ । कैयौँँ घर डुबानमा परेका छन् । कैयौँँ परिवार विस्थापित भएका छन् । गतवर्ष पनि तराईको अधिकांश भू–भाग भीषण बाढीको चपेटामा र पहाडी क्षेत्रको कैयौँ ठाउँमा पहिरो जाँदा निकै ठूलो धनजनको क्षति भएको थियो ।

बाढी पहिरोको विगत ७ वर्षको तथ्यांक हेर्ने हो भने हरेक मनसुनी वर्षाको सिजनमा २ सयभन्दा बढीको ज्यान जाने गरेको छ । अन्य आर्थिक क्षतिको तथ्यांक पनि यस्तै कहाली लाग्दो छ । जब मनुसनी वर्षा सक्रिय हुन्छ, तब हरेकदिन जनधनको क्षतिका घटना मिडियाहरूमा मुख्य समाचार बनेर आउने गर्दछन् । उद्धार र राहतका लागि राज्यकोषबाट अर्बाैं रुपैयाँ खर्च हुन्छ ।

यो नियतिले सधैँ निरन्तरता पाउनुमा दोष मनसुनी वर्षाको हो कि ? मानवीय गल्तीको हो ? त्यसको छिनोफानो गरेर नीति निर्माण गर्न नसक्नु राज्यको कमजोरी हो। कहिलेकाहीँ एकैचोटि कल्पना गरेभन्दा बढी पानी पर्दा नसोचेका ठाउँमा समेत क्षति पु¥याउँछ । जस्तो कि गतवर्ष चुरे क्षेत्रमा अहिलेसम्म मापन गरिएको भन्दा दोब्बर पानी प¥यो । जसले गर्दा अकल्पनीय क्षती भयो ।

वर्षा मानिसको नियन्त्रणमा छैन । अहिलेसम्म मापन गरिए भन्दा दोब्बर पानी परेको अवस्थामा कसैको केही लाग्दैन । तर, औसत पानी परेको अवस्थामा समेत ठूलो धनजनको क्षति हुनु भनेको मानवीय लापरबाही नै हो । जस्तो गत आइतबार परेको पानीले पुर्याएको क्षति । आइतबार औसतभन्दा बढी पानी परेको थिएन ।

ठूलो पानी पर्दै छ है, भनेर जल तथा मौसम पूर्वानुमान महाशाखाले सचेत गराएको पनि हो । तर, जोखिमयुक्त ठाउँमा बस्नेहरूले ध्यान पु¥याउन सकेनन् । जोखिमयुक्त ठाउँमा मानवीय बसोवास नगराउने गुरुयोजना अहिलेसम्म कार्यान्वयन भएको छैन । खासगरी अधिकांश विपन्न जनताको बसोवास जोखिमयुक्त ठाउँमा छ ।

त्यसैगरी पछिल्लो समयमा पहाडी तथा हिमाली क्षेत्रमा निर्माण गरिएका सडकहरूले पनि बाढी पहिरो निम्त्याएका छन् । कमजोर र भिरालो पहाडमा भौगर्भिक अध्ययनविना नै डोजर चलाएर सडक निर्माण गरिएको छ । पहाडी क्षेत्रमा जब वन विनाश हुन्छ, तब पहिरो निश्चित हुन्छ । पछिल्लो समयमा पहाडी क्षेत्रमा वन विनाश तीव्र भएको छ ।

औसत वर्षा हुँदासमेत तराई क्षेत्रमा बाढी तथा डुबानको समस्या बढ्नुको मुख्य कारण चुरे क्षेत्रको वन फडाँनी तथा गिटी बालुवा उत्खनन् हो भन्ने प्रमाणित भइसकेको छ । तर, पनि राज्यका नीति निर्माण तहमा बस्नेहरूको ध्यान गम्भीरता पूर्वक जान सकिरहेको छैन ।

प्रतिक्रिया