यसिमा महत
काठमाडौं । यसवर्षदेखि पुरुषले पनि नर्सिङ विषय पढ्न पाउने भएका छन् । विगतमा पढाइ भएर पुरुषका लागि रोकिएको नर्सिङ विषयको पढाइ पुरुषका लागि पुनः खोलिएको हो । नेपाल नर्सिङ काउन्सिलले यस वर्षदेखि लागू हुने गरी नर्सिङ अध्ययनका लागि १५ प्रतिशत कोटा पुरुषलाई छुट्याएको छ । पिसिएल र बिएस्सी नर्सिङका लागि सो कोटा खुलाइएको हो । यसअघि पनि तीन ब्याचसम्म कुल नर्सिङ कोटामध्ये १० प्रतिशत पुरुष नर्स उत्पादन भए पनि पछि उक्त कार्यक्रम रोकिएको थियो ।
काउन्सिलले शैक्षिक सत्र ०७५÷७६ देखि लागू हुने गरी कूल नर्सिङ कोटाको १५ प्रतिशत कोटा पुरुषहरूले पनि अध्ययन गर्न पाउने गरी बाटो खोलिदिएको हो । ५ असारमा बसेको काउन्सिलको बैठकले पुरुषलाई समावेश गर्ने यस्तो निर्णय गरेको रजिस्ट्रार लक्ष्मी राईले बताइन् । उक्त निर्णय कार्यान्वयन गर्न सबै विश्वविद्यालय, प्रतिष्ठान र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गतका नर्सिङ शैक्षिक संस्थालाई जानकारी गराइसकेको उनले बताइन् । अब नर्सिङ कलेजहरूले कुल विद्यार्थी भर्ना मध्ये १५ प्रतिशत पुरुषलाई अनिवार्य भर्ना लिनुपर्ने हुन्छ । अन्य देशमा नर्सिङ पढ्न पुरुषहरू प्रत्येक वर्ष बाहिरिरहेको सन्र्दभ उल्लेख गर्दै राईले भनिन्, ‘हाम्रो देशमा पनि पुरुष नर्स उत्पादन गर्न सकिन्छ र पुरुष पनि महिलासरह पढ्न पाउनुपर्छ भन्ने उद्देश्य राखेर पुनः भर्ना खोलिएको हो ।’ उनले बिरामी पुरुषले महिला नर्ससँग उपचार गर्न हिचकिचाउने समस्या भएकाले यसको समधानका लागि पनि पुरुषको कोटा खोलेको बताइन् ।
नर्सिङ पढ्ने इच्छा हुँदाहुँदै पनि कतिपय पुरुषले पढ्न नपाएको र पढ्न चाहे पनि देश बाहिर जानुपर्ने अवस्था थियो अब यसको अन्त्य भएको काउन्सिलको भनाइ छ । त्यस्तै विदेशमा पढ्न जाँदा आर्थिक रूपमा पनि धेरै खर्च हुने भएकाले त्यो खर्च कम हुने बताएको छ । यस शैक्षिक वर्षदेखि पुनः सुचारु गरिएको पुरुष नर्सिङ कोटा अहिले १५ प्रतिशत भए पनि यसमा पुरुषको आकर्षण बढेमा भने अगामी वर्षबाट कोटा थप गरिन सक्ने काउन्सिलको भनाइ छ । हाल नेपालमा पुरुष नर्सको संख्या भने अत्यन्तै न्यून रहेको छ । सरकारी अस्पतालमा काम गर्ने पुरुषको नर्सको संख्या भने केबल पाँच जना रहेको काउन्सिलले जानकारी दिएको छ । नेपालभरमा भने करिब ३५ को सख्यामा पुरुष नर्स रहेको हुनसक्ने बताइएको छ ।
महिलामा हुने विभिन्न रोगका समस्या पहिचान र उपचारमा सहज हुने गरेका कारण पुरुषभन्दा महिला नर्स बढी रहेका छन् । यद्यपि, पछिल्लो समय पुरुषमा देखिएका रोग र समस्या पहिचान गर्न एंव त्यसमा सहयोग गर्न महिला नर्ससामु पुरुष हिचकिचाउने हुनाले पुरुष नर्सको उत्पादन गर्न लागिएको राजिस्ट्रारले जानकारी दिइन् । ‘हाडजोर्नीको बिरामीलाई उपचार गर्दा बिरामीको गोडा उठाउन प¥यो भने एउटा महिला नर्सले सक्दिनन्, कुनै पनि पुरुषलाई नै बोलाउनपर्ने हुन्छ । यसको ब्यालेन्स मिलाउन पनि यस व्यवस्थाले राम्रो गर्छ’, उनले भनिन् । पुरुष र महिला एक रथका दुई पांग्रा भएकाले दुबैले पढ्दा स्वास्थ्य सेवामा सहज हुने राईको भनाइ छ । हाल नेपालमा १ सय १६ पिसिएल नर्सिङ कलेज र ४५ वटा बिएस्सी नर्सिङ कलेज रहेका छन् । त्यसबाट उत्पादन भएका ८० हजार बढी नर्स अहिले देश र विदेशका विभिन्न अस्पतालमा काम गरिरहेको काउन्सिलले जानकारी दिएको छ ।
प्रतिक्रिया