झाडापखाला, लक्षण र उपचार


डा. शेरबहादुर पुन डापखाला सामान्यतया गर्मी मौसममा फैलने रोग हो । दैनिक दुई÷तीनपटक वा त्यसभन्दा बढी पानीजस्तो पातलो दिसा लाग्नु झाडापखाला हो । हाम्रो नांगो आँखाले देख्न नसकिने जीवाणुबाट खाना र पानी संक्रमित हुन्छ त्यो खाना, पानी हाम्रो फोहोर हातको माध्यमबाट निरोगी मानिसमा सर्छ । झाडापखाला विषाणु, जीवाणु र परजीवीका कारणबाट लाग्छ ।

भाइरसभन्दा ब्याक्टेरिया र ब्याक्टेरियाभन्दा परजीवीबाट हुने झाडापखाला लामो समयसम्म रहने र उपयुक्त औषधि प्रयोग नगरे बेहोस हुने हुन्छ । झाडापखालाको धेरै समयसम्म उपचार नगरे मृत्युसमेत हुन्छ । शरीरका प्रणालीका रोग, एन्टिबायोटिक औषधि र अन्य केही औषधिले पनि पखाला गराउन सक्छ ।

झाडापखालाले प्रकोपको रूप लिनु र महामारी बनेर फैलिनु राम्रो होइन । हामी सबै नागरिकले स्वच्छ खानेपानी पिउने र सरसफाइमा विशेष ध्यान पुर्याउनु पर्छ । झाडापखाला सबै उमेर समूहका मानिसलाई लाग्दछ ।  विशेषगरी बालबालिकालाई यसले बढी सताउँछ । पटकपटक पानीजस्तो पातलो दिसा लाग्नुको साथै वाकवाकी लाग्ने र वान्तासमेत आउने हुन्छ ।

झाडापखाला हुँदा के हुन्छ ?
झाडापखाला हुँदा दिसामा नपचेको खानाका टुक्रा आउने, दिसा धेरै गन्हाउने, पेट गड्याङगुडुङ गर्ने र दुख्ने, हातखुट्टा र मांसपेशी दुख्ने, बाउँडिने र गल्ने, बच्चा हो भने झर्को मान्ने, तिर्खा बढी लाग्ने, रिंगटा लाग्ने, कमजोरीको महसुस हुने, मुख सुख्खा र फोहोरी हुने, आँखा गाडिने, पिसाब कम हुने, रुँदा आँसु नै नआउने, बच्चाहरूमा आँखा सुख्खा हुन्छ, शरीर चिसो हुन्छ । पेटको छाला तन्काएर छोड्दा मुजा परिराख्ने समस्या हुन्छ । नाडीको गति कम, मन्द र पत्ता लगाउन गाह्रो हुने, रक्तचाप कम, श्वासप्रश्वास तीव्र र आलस्य हुने पनि झाडा पखालाका लक्षण हुन् ।

झाडापखाला हुँदा घरमा नै उपचार गर्न पनि सकिन्छ । प्रशस्त मात्रामा घरेलु झोल पदार्थका खानेकुराहरू खुवाउने गर्नुपर्छ । यदि आमाको दूध खान बच्चा हो भने अरू समयमा भन्दा बढीपटक खुवाउनुपर्छ । अलिकति ठूलो बच्चा भए प्रशस्त मात्रामा झोलिलो खानेकुराहरू (दालको झोल, मसला कम भएको तरकारी, गेडागुडीको झोल, केरा, माछामासु, फलफूलको रस, भातको माड, अन्न पातलो लिटो) खुवाउनुपर्छ ।

यस्तो समयमा पानी प्रशस्त मात्रामा खानुपर्छ । झाडापखाला हुँदा हाम्रो शरीरबाट नुन र पानी खेर गएको हुन्छ त्यसैले यसको लागि पुनर्जलीय झोल बनाएर प्रशस्त खानुपर्छ । झाडापखाला मात्रै नभएर शरिर स्वस्थ राख्नका लागि पनि हामीले सधैँ राम्रो खानेकुरा खानुपर्छ । सधैँ साबुन पानीले राम्रोसँग हात धोई सफा गरेर मात्रै खानेकुरा खानुपर्दछ । पखाला लाग्दा पुनर्जलीय झोल एकदमै महत्वपूर्ण हुन्छ ।

जतिपटक पखाला लाग्छ, त्यति नै पटक खाँदा यसले राम्रो हुन्छ ।  घरेलु उपचार गर्दा झाडापखालाको अवस्था सुध्रिँदै जान्छ र ठीक हुन्छ । यदि दुई÷तीन दिनसम्म राम्रो भएन भने, दिसा धेरै पातलो गरे, तारन्तार वान्ता गरे, ज्यादै तिर्खाए, खाना खान नसके, ज्वरो आयो वा कम्पन हुन थाले, मुख खुट्टा सुन्निए, नाडी कमजोर र छिटो–छिटो चलिरह्यो भने तुरुन्त चिकित्सकलाई देखाउनु पर्दछ ।

रक्तचाप कम भएमा र दिसामा रगत देखिएमा, नजिकको स्वास्थ्य संस्था वा चिकित्सककहाँ लैजानुपर्छ ।सरुवा रोग मध्येको एक रोग हो झाडापखाला यो गर्मीमा हुन्छ । झाडापखालाको प्रमुख कारण खानेकुरा हो र यससँगसँगै पानीको कारण पनि झाडापखाला लाग्दछ । हरेक वर्ष झाडापखाला लाग्ने भनेको खानेपानी र खानेकुरामा भएको संक्रमणले गर्दा हो । झाडापखालाको बिरामीहरू धेरै टाढाबाट आउँदैनन् ।

काठमाडौंका कालिमाटी, कुलेश्वर, कलंकी, टेकुतिरका मानिसहरू सरुवा रोग अस्पताल टेकुमा नजिक भएकाले बिरामी हुँदा उपचारका लागि आउने गरेका छन् ।  अस्पतालमा दिनहुँ झाडापखालाका बिरामी आउने जाने क्रम चलिरहेको छ । डिस्चार्ज भएर जाने र भर्ना हुन आउने बिरामीको संख्या लगभग उस्तै–उस्तै देखिन्छ तर कुनै ठाउँमा धेरै बिरामी भएर २०÷३० जना भर्ना भएका भने होइनन् ।

झाडापखालाबाट बच्न हाम्रो बानी परिवर्तन गनु जरुरी छ । पानी र खानेकुराबाट नै झाडापखाला हुने भएकाले पानीलाई राम्रोसँग उमालेर मात्रै खानुपर्दछ । त्यस्तै बासी खानेकुरा खानुहुँदैन यो नै झाडापखालाबाट बच्ने मुख्य उपाय हो । गर्मीमा खानेकुरालाई फ्रिजमा राखेर खानु उपयुक्त हुन्छ । धेरै समयसम्म बाहिर राखेर खाँदा असर गर्छ, यसले गर्दा (फुटप्वाइजिङ) झाडापखाला हुन्छ ।

कसै–कसैलाई धेरै चिसो पानी खाँदा पनि घाँटी दुख्ने समस्या हुन्छ तर सबैलाई यस्तो हुन्छ भन्ने हुँदैन । झाडापखाला बढी भएर बेहोस हुन सक्ने र अझ उपचार ढिलो गर्यो भने मृत्युसमेत हुने भएकाले यसलाई सामान्य रूपमा लिनुहुँदैन ।  खानेपानीमा समस्या, प्रदूषण र सरसफाइमा समस्याका कारण झाडापखाला निम्तिने गर्दछ । झाडापखालाकै कारण बर्सेनि हजारौँ बच्चाको अकालमै मृत्यु पनि हुने गरेको छ ।

नेपालका लागि चुनौतीको रूपमा रहेको झाडापखाला गर्मी मौसमको सुरुआतसँगै गर्मी र वर्षातको समयमा झिंगाहरू धेरै हुने हुँदा झाडापखालाको सम्भावना बढी हुन्छ । आफ्नो शरीर र वातावरणीय सरसफाइमा पर्याप्त ध्यान नपुग्दा झाडापखाला हुने हुनाले यसमा ध्यान दिनुपर्दछ । अहिले वर्षात्को समय छ, पानी परिरहन्छ यसले गर्दा ठाउठाउँमा बाढी आउने हुन्छ । बाढीले जीवजन्तुहरू मर्ने र पानी प्रदूषित भई वातावरणसमेत फोहोर हुन्छ त्यसले झाडापखालाको महामारीसमेत फैलिन्छ ।

भाइरल–रोटा, ब्याक्टेरिया–भी कोलेरी, सालमोनेला, क्लोस्ट्रोडियम आदि, प्रोटोजोबल–इ.हिस्टोलाइटिका, जियारडिया लाम्बलिया आदि र विषाक्त खाना (फुड प्वाइजनिङ) बाट हुने पखाला एक्कासि हुने झाडापखालामा हो ।दीर्घकालीन हुने झाडापखाला मधुमेह, पाकस्थली वा ठूलो आन्द्रामा सुजन, पित्तशयमा सुजन, पित्तथैलीमा पत्थरी, शरीरमा भिटामिन ‘बी’ को कमी, क्षयरोग, क्यान्सर आदिमा देखिन्छ ।

काठमाडौंमा पानीको एकदमै समस्या छ । जारको पानी राम्रो मानिँदैन । जारको पानीमा समेत धेरै समस्या आइरहेको हुन्छ । एउटा मिनिरल वाटर किन्नको लागि २० देखि २५ रुपैँया लाग्छ तर जारको पानी ३० रुपैयाँमा नै आउँछ यति सस्तो कसरी भयो ? यसको बारेमा जानकारी लिन जरुरी छ । एक बोतल पानी र एक जार पानीमा धेरै फरक हुन्छ त्यसैले जारको पानी पनि कतै ट्यांकरको त होइन ? शंकाको विषय पनि हो । अस्ति मात्रै वीर अस्पतालमा जारको पानीमा फोहोर भेटिएको थियो ।

यस्तो त कति भएको छ कति लेखाजोखा नै छैन । त्यसैले हामीले पानी उमालेर मात्रै पिउनुपर्दछ । बाहिर धुलोमा हिँड्दा माक्सको अनिवार्य प्रयोग गर्नुपर्दछ । गर्मीको समय छ जहाँपायो त्यहि र जे पायो त्यहि खान हुँदैन । गर्मी भयो भनेर धेरै कोल्ड ड्रिंक्स खानु हुँदैन । त्यसले घाँटीमा समस्या ल्याउँछ । हामीले आफ्नो शरीरलाई स्वस्थ राख्न मीठो होइन राम्रो र पौष्टिक खानेकुरा खानुपर्दछ ।  (शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. पुनसँग सौर्य दैनिकका लागि यसिमा महतले गरेको कुराकानीको सम्पादित अंश)

प्रतिक्रिया