-बाबुराम बास्तोला संखुवासभा । जिल्ला अस्पतालको क्वार्टरमा को बस्छ ? सबैले आँकलन गर्छन्, जिल्ला अस्पतालमा आकस्मिक तथा चौबिसै घण्टा कार्यरत रहुनुपर्ने कर्मचारी । तर, संखुवासभाका जिल्ला अस्पतालले स्टाफ नर्स, चिकित्सक र पारामेडिकल स्वास्थ्यकर्मीलाई उपलव्ध गराएको क्वार्टरमा जनस्वास्थ्यका कर्मचारी बस्छन् ।
अत्यावश्यक कर्मचारीलाई निःशुल्क आवासका लागि अस्पताल खाँदबारीले क्वार्टरको व्यवस्था गरेको छ । तर, खाँदबारी अस्पतालमा अत्यावश्यक सेवामा खटिने २४ घन्टे चिकित्सक, नर्स र पारामेडिकल स्वास्थ्यकर्मीको सट्टा जिल्ला स्वास्थ्यका कर्मचारी बस्ने गरेका छन् ।
जसका कारण अस्पतालका कर्मचारी भाडामा बस्न बाध्य छन् । क्वार्टर अस्पतालका कर्मचारीका लागि भए पनि स्वास्थ्यका कर्मचारी बसेको अस्पतालका कर्मचारीको आरोप छ । हरेक अस्पतालमा अत्यावश्यक सेवामा खटिने कर्मचारीका लागि निःशुल्क आवासका लागि क्वार्टरको व्यवस्था गरिएको हुन्छ । ती मध्येका कोही पनि कर्मचारी क्वार्टरमा बस्न पाएका छैनन् ।
१६ जना अट्न सक्ने क्षमता भएको क्वार्टरमा जनस्वास्थ्य कार्यालयका कर्मचारी र अस्पतालका कार्यालय सहयोगी बस्दै आएका छन् । उनीहरू क्वार्टरमा बसेपछि अस्पतालका २४ घन्टे चिकित्सक तथा नर्सहरू अन्यत्रै महँगो भाडा तिरेर बस्न बाध्य छन् । ‘हामीले पाएको सुविधाको क्वार्टरमा अरूले मस्ती गरेका छन्,’ एक कर्मचारीले भने, ‘हामी खनखनी व्यक्तिगत रूपमा पैसा तिरेर महँगोमा घर भाडामा बसेका छौँ । पटकपटक क्वार्टरको माग गरे पनि उपलव्ध भएन ।’
अस्पतालका कर्मचारीले पाउने सुविधायुक्त क्वार्टरमा जनस्वास्थ्यका पब्लिक हेल्थ नर्स भवानी बत्स्याल, वरिष्ठ ल्याब टेक्निसियन निरीक्षक उपेन्द्रप्रसाद शाह, एम्बुलेन्सका चालकहरू र कार्यालय सहयोगीसहित करिब २० जना बस्दै आएका छन् ।
तर, स्टाफ नर्स गंगा खत्री, अनमी रीता थापा, स्टाप नर्स शर्मिला घलान, इमरजेन्सी इन्चार्ज लक्ष्मीप्रसाद वनेम र रेडियो ग्राफर अनेशकुमार सिंह महँगो भाडा तिरेर अन्यत्रै बस्न बाध्य भएका छन् । अन्य कर्मचारीले क्वार्टर प्रयोग गरेपपछि २४ घन्टे चिकित्सक र कर्मचारीहरू अस्पताल परिसरभन्दा बाहिर भाडामा बस्ने गरेकाले सेवा प्रवाहमा समेत समस्या हुने गरेको छ ।
पब्लिक हेल्थ नर्स भवानी बस्याल स्थानीय हुन् । बस्यालले वर्षौंदेखि पतिसहित क्वार्टर प्रयोग गरिरहेकी छन् । अस्पतालका कर्मचारीलाई आवासका लागि समस्या भएको भन्दै बस्याललाई तत्कालीन जिल्ला स्वास्थ्य प्रमुख सुशीलनाथ प्याकुरेलले ०६४ सालमा नै क्वार्टर खाली गर्न पत्र थमाएका थिए । अन्ततः प्याकुरेल सोही विषयलाई लिएर सरुवा भए ।
यही विषयमा पहुँचका आधारमा प्याकुरेललाई स्वास्थ्य मन्त्रालयले तानेको थियो । त्यसयता पनि बस्याललाई अस्पतालले पटकपटक क्वार्टर खाली गर्न सुझाव दिँदा पनि सुनुवाइ नभएको अस्पताल स्रोतले जनाएको छ । पछिल्लो समय क्वार्टरकै विषयमा विवाद उत्पन्न हुने र कार्यालयमा तालाबन्दीसमेत हुने गरेको छ । यसले अस्पतालका कर्मचारी र जनस्वास्थ्यका कर्मचारीबीच मनमुटाब उत्पन्न भएको छ ।
प्रतिक्रिया