नयाँ दिल्ली । भारतका स्वास्थ्य अधिकारीहरूले भनेका छन् त्यहाँको दक्षिणी राज्य केरलामा फैलिएको घातक निपा भाइरस संक्रमणका कारण मारिनेको संख्या १० पुगेको छ । उक्त संक्रमण भएको आशंकामा अन्य नौ जनाको रगत परीक्षण गरिँदैछ । अलग्याएर उपचार गर्न विशेष वार्डहरू स्थापना गरिएका छन् । केरला राज्यका स्वास्थ्य सचिव राजीव सदानन्दनका अनुसार निपा भाइरसबाट संक्रमितहरूको उपचारमा संलग्न एकजना नर्सको पनि मृत्यु भएको छ ।
के हो यो रोग ?
एनआईभी भनिने निपा भाइरसको संक्रमणले नयाँ किसिमको रोग हो । यो अरू पशुबाट मानिसमा सर्न सक्छ । यो भाइरस खासगरी ‘फ्रूट ब्याट’ भनिने एक प्रकारको चमेरोमा पाइन्छ । यो संक्रमणलाई सबभन्दा पहिले सन् १९९९ मा मलेसिया तथा सिंगापुरमा पहिचान गरिएको थियो ।
त्यतिखेर फैलिएको इन्सेफलाइटिस तथा श्वासप्रश्वाससम्बन्धी प्रकोपका बेला बंगुरपालक किसानहरूमा यो रोग भेटिएको थियो । सो प्रकोपमा झन्डै तीन सय जनाले ज्यान गुमाएका थिए । प्रकोप रोक्न दश लाखभन्दा धेरै बंगुर मारिएका थिए ।
कसरी बच्ने ?
रोग पाइने स्थानमा भएका बिरामी बंगुर तथा चमेराको सम्पर्कबाट टाढा रहेर यो रोगबाट बच्न सकिने बताइन्छ । यसका लक्षणमा ज्वरो, टाउको दुख्ने, श्वासप्रश्वासको समस्या, कमजोरी तथा मानसिक असन्तुलन पर्दछन् । लक्षण देखा परेको २४ देखि ४८ घण्टाभित्रै बिरामी कोमा मा जान सक्छ ।
७० प्रतिशतसम्म मृत्यु दर भएको उक्त भाइरस संक्रमणका विरुद्ध कुनै खोप उपलब्ध छैन । विश्व स्वास्थ्य संगठनले हुनसक्ने ठूलो महामारीको सम्भावित कारकका रूपमा सूचीकृत गरेका १० घातक रोगमा निपा भाइरस संक्रमण पनि पर्दछ ।
प्रतिक्रिया