संसारका लागि खलनायक बन्दै छ अमेरिका

-ईश्वरी काफ्ले  काठमाडौं । अमेरिका निरन्तर संसारका कतिपय देशका लागि आँखाको कसिँगर बन्दै गएको छ । अवस्था यस्तो छ की इरानसँग परमाणु सम्झौता तोडेपछि अमेरिका युरोपेली देशहरूको पनि आँखामा बिझाउन थालेको छ । जर्मनका चान्सलर एन्जेला मार्केलले पनि अमेरिकाले यो सम्झौता तोडेर मध्यपूर्वको स्थिति बिगारेको बताउँछिन् । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटमा यस्तो कुरा गरेकी बताइएको छ ।

यी दुई नेताबीच मध्यपूर्वका अन्य देशका समस्याको साथै परमाणु सम्झौतासँग जोडिएका विषयमा रुसको सोची सहरमा छलफल भएको हो । इरानसँग यो सम्झौता परमाणु कार्यक्रमलाई पारदर्शी बनाउनुका साथै त्यसलाई नियन्त्रणमा राख्न महत्वपूर्ण रहेको मार्केलको धारणा छ । युरोपका अन्य देशजस्तै जर्मनी पनि यो सम्झौताबाट पछि हट्न चाहँदैन । उनले यो सम्झौतामा कायम रहने र यसको समर्थन गरिरहेने प्रतिबद्धता जनाएकी छन् ।

बदलिँदो परिस्थितिमा जर्मन नागरिकहरूमा पनि अमेरिकालाई हेर्ने दृष्टिकोषमा परिवर्तन हुँदै छ । यो एक सर्भेबाट सार्वजनिक भएको हो । जर्मनको सरकारी प्रसारणको सर्भेअनुसार ८२ प्रतिशत जर्मन अमेरिका अब भरोसा योग्य नरहेको बताउँछन् । केवल १४ प्रतिशत जर्मन नागरिक भने अहिले पनि अमेरिकालाई भरोसायोग्य साझेदार मान्दछन् । सर्भेमा भाग लिने ३६ प्रतिशतले रुसलाई जर्मनको बलियो सहयोगी भनेका छन् ।

४३ प्रतिशत नागरिकलाई नयाँ बलियो सहयोगी चीन हुन सक्ने भन्ने लाग्दछ । तपाईंलाई थाहा नहुन सक्छ जर्मन र अमेरिका १९४५ मा द्वितीय विश्वयुद्ध समाप्त भए लगत्तैदेखिका महत्वपूर्ण सहयोगी हुन् । तर, अब यो नाताको डोरी झिनो बन्दै गएको छ अमेरिकाप्रति यहाँका नागरिकको भरोसा टुट्दै गएको छ । ट्रम्प राष्ट्रपति भएको १६ महिनापछि भएको यो सर्भेमा ९४ प्रतिशत जर्मन नागरिक अमेरिकाको बदलिँदो मुडले युरोपियन युनियनले आन्तरिक सहयोगलाई अझै कस्नुपर्ने ठान्दछन् ।
मार्केलभन्दा पहिले युरोपियन युनियनका अध्यक्ष डोनाल्ड टस्कले पनि इरानसँगको परमाणु सम्झौताबाट पछाडि हट्ने अमेरिकी निर्णयप्रति तिखो प्रतिक्रिया दिएका थिए । उनले ट्रम्पले मित्रता होइन शत्रुकोजस्तो व्यवहार गरेको बताएका थिए । जोसँग ट्रम्पजस्तो मित्र हुन्छन् त्यसलाई शत्रुको आवश्यकता पर्दैन । उनले ट्रम्पको यस्तो निर्णयविरुद्ध युरोपियन युनियनले संयुक्त मोर्चा बनाउन अपिल गरेका थिए ।

उनले यतिसम्म भनेका थिए की युरोपले ट्रम्पप्रति आभारी हुनुपर्छ किनभने उनले हाम्रो सबै भ्रम तोडिदिए । अमेरिकी निर्णयपछि इरानको भ्रमण गरेका युरोपियन कमिस्नर अफ इनर्जी एन्ड क्लाइमेटका मिगुल एरियासले ‘युरोपियन संघका २८ देश सम्झाैता अन्तर्गत अहिले पनि इरानसँग व्यापार जारी राख्नेछन्’ भनेका थिए ‘यी सबै देश सम्झौताप्रति प्रतिबद्ध छन् र विश्वास छ इरानले पनि यसलाई प्रमाणित गर्नेछ ।’

एरियाससँगको भेटपछि इरानका परमाणु उर्जासम्बन्धी प्रमुख अली अकबर सालेहीले अन्तर्राष्ट्रिय सम्झौताका लागि अब अमेरिका भरोसा योग्य नरहेको बताएका थिए । उनले भनेका थिए ‘म आशा गर्छु इयुको प्रयत्नले रंग ल्याउनेछ ।’ उनले युरोपियन युनियनका देशलाई याद दिलाउँदै भने ‘युरोपियन युनियनका देशले आफ्नो वाचा पूरा गर्न अब केही समय मात्र बचेको छ । उसले आफ्नो प्रतिबद्धता पूरा गरे इरान पनि पछाडि हट्ने छैन ।’

थाहा पाउनुपर्ने कुरा के हो भने सन् २०१५ मा इरानसँग अमेरिकाबाहेक रुस, चीन, फ्रान्स, बेलायत र जर्मनले परमाणु सम्झौता गरेका थिए । हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो सम्झौताबाट हात झिक्ने निर्णय गर्दै उल्टो उसमाथि प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले गरेको यो सम्झौताको ट्रम्पले सधैँ विरोध गर्दै आएका थिए । सम्झौता भंग गर्दै ट्रम्पले भनेका थिए ‘ इरानको परमाणु बमलाई रोक्न सकिँदैन, त्यसैले यो सम्झौता तर्कसंगत छैन ।’

त्यही अर्कोतर्फ युरोपियन देश फ्रान्स, बेलायत र जर्मनले यो सम्झौताबाट पछि नहट्ने प्रतिबद्धता जनाइसकेका छन् । इयु अमेरिकाविरुद्ध उभिएको यो पहिलोपटक भने होइन् । उत्तर कोरियाका विषयमा पनि कतिपय इयुका देशले अमेरिकी मुडको विपरीत कुराकानीबाट समाधान खोज्न मध्यस्तताको प्रस्ताव गरेका थिए । यसमा जर्मन चान्सलर एन्जेला मार्केल र फ्रान्स सामेल थिए । यो मात्र होइन जेरुसेलमलाई इजरायलको राजधानी मान्ने अमेरिकी निर्णयको पनि इयुले विरोध गरेको छ ।

जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता दिने अमेरिकी निर्णयपछि भएको संयुक्त राष्ट्र संघको सुरक्षा परिषद बैठकमा ट्रम्पको यो कदमको विश्लेषण गरिएको थियो । इजरायल र प्यालेस्टाइनबीचको विवाद कुराकानीको माध्यमबाट समाधान खोजिनुपर्ने इयुले बताउँदै आएको छ ।
(विभिन्न एजेन्सीको सहयोगमा )

प्रतिक्रिया