राजकुमार ह्यारी र मार्कलको विवाह सम्पन्न


विन्डसोर । बेलायतका राजकुमार ह्यारी शनिबार अमेरिकी पूर्वअभिनेत्री मेगन मार्कलसँग विवाह बन्धनमा बाँधिएका छन् ।
राजधानी लण्डनभन्दा झण्डै ३० किलोमिटर पश्चिममा रहेको विन्डसोर क्यास्टल (दरबार) को सेन्ट जोर्जेज च्यापलमा आयोजना गरिएको वैवाहिक समारोहमा विश्वभरका करिब ६ सय विशिष्ट पाहुना सहभागी भए भने वैवाहिक समारोह भएको दरबार बाहिर हजारौँ दर्शकहरूले सडकका दुई किनारामा रहेर समारोहमा खुसी साटासाट गरेका थिए ।

उनीहरूको विवाहलाई टेलिभिजनमार्फत गरिएको प्रत्यक्ष प्रसारणलाई विश्वभर विशेष उत्लासका साथ अवलोकन गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । विवाह समारोहमा ३३ वर्षीय राजकुमार ह्यारी र ३६ वर्षीया मार्कलले एकापसमा सँगै जिउने वाचा गर्दै औँठी साटासाट गरेपछि परम्पराअनुसार केनटनबरीका आर्कसिसप जस्टिन वेल्बीले उनीहरू श्रीमान् र श्रीमती भएको घोषणा गरेका थिए ।

यसलाई एउटा ऐतिहासिक घटनाको रूपमा लिइएको छ । मार्कल आफ्नी आमासहित रोल्सरोयस गाडीमा विवाहस्थल पुगेका थिए भने सेन्ट जोर्जेज च्यापलमा पुगेसँगै ह्यारीका पिता युवराज चाल्र्सले मार्कलको हातमा समाएर वैवाहिक समारोहमा लगेका थिए । यसैगरी, ह्यारी विवाह समारोह स्थलमा आफ्ना दाजु विलियमसँगै पुगेका थिए ।

विवाहको खुसियालीमा देशभर चियापान कार्यक्रमको आयोजना गरिएको समाचारमा जनाइएको छ । उनीहरू सन् २०१६को जुलाई महिनादेखि प्रेम सम्बन्धमा रहेको बताइएको छ । राजगद्दीको उत्तराधिकारीको पाँचौँ रोल क्रममा रहेका राजकुमार ह्यारीको प्रेमी जोडी गत सेप्टेम्बर महिनामा पहिलोपटक सार्वजनिकरूपमा देखापरेकी थिइन् ।

अमेरिकी टेलिभिजनको टेलिशृङ्खलामा काम गर्दा चर्चित भएकी मार्कल परोपकारी कार्यमा पनि संलग्न छिन् ।

प्रतिक्रिया