स्वास्थ्यमा सुधारका कामहरू सुरु गरेकी छु-राज्यमन्त्री अर्याल


स्याङ्जा–२ बाट संघीय संसद्को प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठलाई भारी मतले पराजित गर्दै सांसद् बनेकी पद्मा अर्याल अहिले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको जिम्मेवारीमा छिन् । हेभीवेट नेता हराउने एमाले केन्द्रीय सदस्यसमेत रहेकी राज्यमन्त्री अर्याल यतिबेला हेभिवेट मन्त्रालयकै नेतृत्व गरिरहेकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफैँसँग राखेर स्वास्थ्य मन्त्रालय हाँक्ने जिम्मेवारी सुम्पिएका अर्यालले छोटो समयमै निकै महत्वपूर्ण काम अघि बढाएकी छन् । यही सन्दर्भमा राज्यमन्त्री अर्यालसँग स्वास्थ्य मन्त्रालयले गरेका काम, आगामी योजनालगायतका विषयमा सौर्यकर्मीले लामो कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीका मूल अंश ।

स्वास्थ्य मन्त्रालयमा सुधारका काम थाल्न निकै बाधा आयो रे नि ?
मैले बाहिरबाट स्वास्थ्य मन्त्रालयलाई जसरी बुझिरहेको थिएँ वा हेरिरहेको थिएँ । त्यो भन्दा बिल्कुलै फरक मन्त्रालयको रूपमा मैले पाएको छु । स्वास्थ्य मन्त्रालय भनेको प्रत्यक्ष जनतासँग सरकोकार राख्ने वा जनतासँग जोडिएको मन्त्रालय हो । मानिस–मानिसको जीवन रहने कि नरहने भन्ने विषयसँग पनि यो मन्त्रालय प्रत्यक्ष जोडिएको छ । त्यसैले पनि यो अत्यन्त संवेदनशील मन्त्रालयका रूपमा लिनुपर्छ भन्ने मेरो मान्यता छ ।

त्यसकारण पनि यहाँबाट प्राप्त हुने सेवालाई निकै गम्भीर भएर सेवा प्रवाह गर्नुपर्छ भन्ने पनि मैले अनुभूति गरेको छु ।  यही आधारमा सर्वसुलभ स्वास्थ्य र नागरिकको जीवन बचाउने मुख्य लक्ष्यसहित काम अघि बढाइरहेको छु । तैपनि, जति काम अहिलेसम्म गर्नुपर्ने हो, विविध कारणले अघि बढ्न सकिरहेको छैन । अब सबै बाधा अवरोध चिर्दै अघि बढ्ने निष्कर्षमा पुगेको छु ।

कर्मचारीबाट काम लिन केही असहज भएको त छैन नि ?
फुलमन्त्री र राज्यमन्त्रीको जिम्मेवारीमा केही भिन्नता अवश्य हुन्छ नै । यहाँ पनि मैले राज्यमन्त्रीकै हैसियतका काम गर्दा केही असजिलाहरू अवश्य भएका छन् । यद्यपि, नियमित कामका लागि अहिले त्यस्तो अप्ठ्यारो मैले महसुस गरेको छैन । सबै काम प्रणालीअन्तर्गत नै गर्ने भएकाले पनि त्यति धेरै असजिलो भएको छैन ।

तर, अब हामी केही महत्वपूर्ण काम गर्दै छौँ ।  नयाँ आर्थिक वर्षका लागि कसरी अघि बढ्ने भन्ने सन्दर्भमा स्वास्थ्य क्षेत्रमा जनताको पहुँच कसरी बढाउने भन्ने जस्ता केही नयाँ कुरा ल्याउने भन्ने विषयमा पनि हामी छलफलमा केन्द्रित भएका छौँ । यसमा चाहिँ केही असर गर्ने हो कि भन्ने मलाई चिन्ता छ । तर, अहिलेसम्म कर्मचारीबाट सकारात्मक नै सहयोग प्राप्त भएको छ ।

केही–केही कुरामा चाहिँ नभएका कुरा पनि भइसक्यो नि हजुर भन्दै हल्ला गरेर विवादमा ल्याउने प्रयासहरू पनि बेलाबखत भएका छन् । यस्तो बेलामा चाहिँ नराम्रो लाग्ने रहेछ । कतिपय कुरा त यो सरकार गठन हुनुभन्दा अघिकै निर्णयहरूलाई समेत पत्रपत्रिकामा हालिदएर नयाँ मन्त्रीले ‘यो गरिन्’ भनेर प्रचार गर्ने अभियान नै चलाएका छन् । त्यो अभियानमा कर्मचारीहरू नै संलग्न रहेको भन्दा मलाई पनि अनौठो लागेको छ ।

भनेपछि सुधारको काम गर्दा वाधाको सामना गरिसक्नुभयो ?
अलिअलि आएका छन् । तर, हामीले त्यस्ता कुराको खोजी सुरु गरेका छौँ । नभएका कुरा पनि भएका हुन् भन्दै हल्ला गर्ने, मन्त्रालयको गरिमा र विश्वासलाई कमजोर पार्ने, कुनै कुरामा सामेल नभएको व्यक्तिलाई सामेल भएको भन्दै अतिरञ्जना ढंगले प्रचार गर्ने, विवादमा ल्याउने जस्ता काम जसरी भइरहेका छन् । त्यस्ता कार्यलाई किमार्थ माफि दिइने छैन । मन्त्रालय यो सन्दर्भमा अति कठोर र अति निर्मम बन्छ ।

जनताले चाहेको परिवर्तन महसुस गर्नेगरी के गर्दै हुनुहुन्छ ?
असजिलो र चुनौतीलाई पार गर्ने व्यक्तिले नै सफलता प्राप्त गर्ने हो । मलाई पनि असजिला र चुनौतीपूर्ण कार्यमा हात हाल्न मन पर्छ । त्यसैले म त्यस्ता कुरासँग डराएर होइन, दृढताका साथ सामना गरेर अघि बढ्छु । केही गर्न सकिन्न भनेर हात बाँधेर बस्ने मेरो बानी छैन । यो प्राविधिक मन्त्रालय हो । यहाँ धेरै चुनौती र असजिला कुरा छन् । विगतका केही विकृति पनि यहाँ रहेछन् ।

स्वास्थ्य मन्त्रालयभित्रै केही सिस्टम बसाल्नुपर्ने चुनौती पनि रहेछ । एक ढंगले भन्ने हो भने यहाँ मन्त्रालयप्रतिको छबी बिगारेको अवस्था पनि रहेछ । म सजिलोबाट मात्र होइन, असजिलोबाट पनि काम गर्न सकिन्छ भन्ने विश्वासका साथ आएको हुनाले पनि धेरै गर्न सकिन्छ भन्नेमा विश्वस्त छु । यही दृढ मान्यताका साथ काम अघि बढाउने निर्णयमा पनि पुगिसकेको छु ।

चुनावी घोषणापत्रमा भएको एक पालिका एक अस्पतालको नाराको लक्ष्य पूर्तिका लागि के गर्दै हुनुहुन्छ ?
मैले यो मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि नै सुधारका कामहरू सुरु गरेकी छु । मैले सुरु मै अर्थात् मैले जिम्मेवारी पाएको तेस्रो दिनमै कर्मचारीहरूको बैठक राखेर धूममान निषेधित क्षेत्र भनेर हामीले घोषणा गरे पनि व्यवहारमा लागू नभएको अवस्थाको ख्याल गरेर त्यसको कार्यान्वयन आफूबाटै सुरु गर्ने भनेर यो मन्त्रालयमा आउने कर्मचारी र अन्य कसैले पनि सुर्तीजन्य पदार्थ बोकेर नआउने भनेर कडाइका साथ रोक्यौँ ।

हामीले गेटमै त्यसको चेक–जाँच गर्ने काम गर्यैँ । सुरुका दिनमा हामीले त्यसरी चेकजाँच गर्दा एक बाल्टी हुन्थ्यो । अहिले म मन्त्रालयबाट बाहिर निस्किँदा झुक्किएर दुई÷तीन पोका मात्र हुन्छ । यो मन्त्रालयमा भएको शुद्धीकरणको नमुना हो । हामीले सरसफाइमा पनि विशेष ध्यान दिएका छौँ । हामीले त्यसको थालनी शौचायलबाट सुरु गरेका छौँ । अहिले मन्त्रालयका शौचालय पहिलाको तुलनामा निकै सफा हुने गरेका छन् । यो पनि एउटा सकारात्मक थालनी हो भन्ने मैले ठानेकी छु ।

गाउँगाउँमा औषधि अभाव छ भन्ने पनि सुनिन्छ नि ? त्यसमाचाँहि के गर्नुभयो त ?
अहिले त्यस्तो अवस्था छैन । म यो मन्त्रालयमा आउँदाचाहिँ विकराल अवस्था रहेछ । त्यही आधारमा मैले नीति नभई केही गर्न सकिन्न भनेर मैले नीति बनाउने कुरालाई पनि ध्यानमा राखेर त्यो कुराको थालनी गरेकी छु । स्वास्थ्य सेवा विभागको महानिर्देशक (डिजी) नियुक्ति गर्ने, स्थानीय तहसम्म औषधिको सहज उपलब्धता गराउने, सुरक्षित मातृत्वलाई ध्यानमा राखेर प्रजननसँग जोडिएका कुरालाई पनि हामीले अभियानकै रूपमा अघि बढाउने कामको थालनी गरेका छौँ ।

र, त्यसमा देखिएका समस्याको समाधान गर्ने थालनी गरेका छौँ । हामी आकस्मिक मातृत्व कोष स्थापना गर्ने र प्रत्येक स्थानीय तहमा तीन महिनासम्म यो अभियान सञ्चालन गरेर प्रभावकारी बनाउने कामको पनि थालनी गर्ने तयारी गरेका छौँ । अस्पतालहरूको सरसफाई गर्ने, अस्पतालमा बिरामी लाइन बस्ने कुराको अन्त्य गर्नेजस्ता कुरामा पनि हामीले ध्यान दिएका छौँ । त्यसका लागि हामीले अस्पताल व्यवस्थापनसँग छलफल गर्ने, नीति बनाउने जस्ता कुरालाई पनि अघि बढाएका छौँ ।  जसको थालनी हामीले वीर अस्पतालबाट सुरु गरेका छौँ ।

अस्पताल सफा राख्ने अभियानको थालनी हामीले वीर अस्पतालबाटै सुरु गरिसकेका छौँ । एक महिनाभित्र वीर अस्पताल पूर्ण रूपमा सफा हुन्छ । सरकारी अस्पतालको सफाइ अभियानलाई हामी अघि बढाउँछौँ । जहाँसम्म एक पालिका एक अस्पताल भन्ने योजना छ । आगामी आर्थिक वर्षबाटै हामी त्यसको कार्यान्वयन सुरु गर्नेछौँ । यो हाम्रो मात्रै होइन, सरकारको पनि नारा हो, जनताको माग हो । त्यसैले हामी गम्भीर भएर यसको कार्यान्वयनमा लाग्नेछौँ ।

तपाईंको मन्त्रालयमा कर्मचारीको सहयोग कस्तो छ ?
केही–केही समस्या देखिएका छन् । हामीले त्यस्ता समस्या आएको खण्डमा कडाइका साथ अघि बढाउनेछौँ । स्वास्थ्य मन्त्रालय भनेको यस्तो मन्त्रालय हो । जहाँ खटाएको ठाउँमा कर्मचारीले जान्न भन्नै पाउँदैनन् । यहाँ अरू कर्मचारी पठाएर हुँदैन । त्यहाँ विज्ञ वा प्राविधिक व्यक्ति नै जानुपर्छ । त्यसैले खटाएका ठाउँमा कर्मचारी जान्न भन्छन् भने छाड्नुको अर्को विकल्प छैन । म यो मन्त्रालयमा रहुन्जेल केही परिवर्तनको अनुभूति दिएरै छाड्नेछु ।

प्रतिक्रिया