भियतनाममा हिन्दू धर्म किन संकटमा ?


जुबैर अहमद  दक्षिण–पूर्वी एसियाली मुलुक भियतनाममा केही परम्परागत कुरा बाँकी रहे पनि धेरै थोक बदलिसकेको छ । दुई हजार वर्ष लामो इतिहास भएको चम समुदाय बाँकी छ । तर, त्यहाँ हिन्दू धर्म सकिने संघारमा पुगेको छ । चम्पा क्षेत्र प्राचीन समयमा हिन्दू राज्य र हिन्दू धर्मको केन्द्र थियो । चम्पा क्षेत्रमा बाँकी रहेका केही मन्दिरहरू यो कुराको प्रमाण हुन् कि त्यहाँ कुनै समय हिन्दू धर्मको वर्चस्व थियो । त्यहाँको स्थानीय चम समुदायको शासन दोस्रो शताब्दीदेखि १८औँ शताब्दीसम्म थियो । चम समुदायका अधिकांश मानिस हिन्दू थिए ।

कालान्तरमा उनीहरूमध्ये कतिपयले बौद्ध धर्म र कतिपयले इस्लाम धर्म अपनाए । यहाँको हिन्दू समुदाय खुम्चिँदै गएको देखिन्छ । हामी सो समुदायका मानिसहरूलाई भेट्न मिन्गेप गाउँ पुग्यौँ । जहाँ हिन्दू र शिखले मस्जिद बनाउँदैछन् । राजमार्गदेखि केही किलोमिटरभित्र पर्ने उक्त गाउँ निकै सानो थियो । दिउँसोको समय थियो । एउटा घरबाहिर टाउकोमा कपडा बाँधेका र कुर्ता लगाएका एकजना युवा इनरा जाका फोनमा कसैसँग कुरा गरिरहेका थिए । भान्सामा खाना पाकिरहेको थियो । उनको भाषा भियतनामी भाषाभन्दा फरक थियो ।

फोनमा कुराकानी सकेपछि ती युवकले हाम्रो स्वागत गरे । उनले आफ्ना बुबासँग चम भाषामा कुराकानी गरिरहेको बताए । घरबाहिर खाना खाने तयारी थियो । ढोकामा एक÷दुई वटा मूर्ति थिए । इनरा जाका र उनका बुवा इनरा सारा हिन्दू धर्मावलम्बी हुन्, जसका पूर्वजहरू सदियौँ पहिलेदेखि त्यहाँ बसेको उनीहरू बताउँछन् । यी बुबा–छोराको काम हिन्दू धर्मलाई बाहिरी प्रभावबाट बचाउनु र चम संस्कृतिलाई जोगाउनु मात्रै होइन, यो प्रक्रियामा चम समुदायको गुमेको कला र साहित्यको खोज गर्नु पनि हो । इनरा सारा चम भाषाका कवि र उपन्यासकार पनि हुन् ।

उनले निकै मिहिनेतका साथ चम साहित्यका पुराना कविहरूको खोजी गरेका छन् र उनीहरूका कविता छपाएका छन् । उनी भन्छन्, ‘मैले आफ्नो समुदायको स्वर्णिम कालबारे निकै सुनेको छु, जसमा केही वास्तविकता छ भने केही कल्पना । बाल्यकालमा मैले मेरा शिक्षक तथा आफन्तबाट धेरै कुरा सुनेको छु । ठूलो हुँदै गएपछि मेरा सम्झनाका दुईथरिका दुनियाँ समानान्तर रूपमा अघि बढे, एउटा कल्पनामा आधारित र अर्को तथ्यमा आधारित ।’ बुबा चम समुदायको साहित्यलाई पुनर्जीवित गर्न लागिपरेका छन् भने छोराचाहिँ हिन्दू धर्म बचाउने अभियानमा जुटेका छन् ।

यो प्रयासमा उनीहरूले कैयौँपटक छिमेकी मुलक भारतको भ्रमणसमेत गरिसकेका छन् र एकपटक विश्व हिन्दू सम्मेलनमा भाग पनि लिइसकेका छन् । इनरा जाका भन्छन्, ‘भारतबाट प्रेरणा लिएर म हिन्दू धर्मबारे यहाँ जानकारी दिने काम गर्छु । तर, यहाँको हिन्दू धर्म भारतमा भन्दा फरक छ ।’ हिन्दू धर्मका कुन कुन परम्परा र रीतिरिवाज त्यहाँ अझै बाँकी छन् त भन्ने जिज्ञासामा इनरा जाकाले भने, ‘हामीले शिवलिंग आकारको चट्टानको पूजा गथ्र्याैं भन्ने कुरा हजुरआमाबुबा र आमाबुबाबाट सुनेको हो । हामी अहिले पनि शिवभक्त हौँ । हाम्रो मन्दिर शिव मन्दिर नै हो ।’

भियतनामका तीनवटा प्रान्तमा गरी चम समुदायको जनसंख्या १ लाख ७० हजार छ र त्यसमध्ये एक लाखभन्दा बढी हिन्दू छन् । चम्पा क्षेत्रमा जम्मा चार वटा मन्दिर छन्, जसमध्ये दुइटामा अझै पूजाआजा हुने गर्छ । रामायण, भागवतगीता वा महाभारत पढ्नुभएको छ भन्ने जिज्ञासामा इनरा जाकाले भने, ‘हाम्रो समुदायमा ती धार्मिक ग्रन्थहरू अहिले पाइँदैनन् । तपाईं भन्न सक्नुहुन्छ हामीले ती ग्रन्थहरू गुमाइसक्यौँ । ती ग्रन्थहरू हाम्रा पूजारीहरूसँग पनि छैनन् ।’ उनले थपे, ‘हाम्रो समुदायको युवा पुस्ता हिन्दू धर्मको अस्तित्वसँग खासै परिचित छैन ।’

एउटा जमाना थियो मिन्हजस्तो भियतनामको दक्षिणी सहरमा हिन्दूहरूको ठूलो संख्या थियो । त्यहाँ केही पुराना र केही फरक समुदायका आमा वा बुबाबाट जन्मिएका हिन्दूहरू अहिले पनि छन् । १८औँ शताब्दीमा निर्मित मन्दिरको रेखदेख गर्दै आएका मुतैय्याका पूर्वजहरू भारतको तमिलनाडुबाट भियतनाम गएका थिए र त्यतै बिहेवारी गरे । उनको परिवार अहिले पनि हिन्दू धर्म मान्छ । मुतैय्याले भने, ‘मलाई मेरो बुबाले पूजा गर्न सिकाउनुभएको हो । उहाँले मलाई श्लोकहरू पनि कण्ठ गराउनुभयो । मलाई मन्दिरबारे सबैकुरा थाहा छ ।’

यो सहरमा अरू पनि दुइटा मन्दिर छन्, जहाँ भारतबाट आएका मानिसहरू पूजा गर्छन् । उनीहरूमध्ये कतिपय चम हिन्दूबारे आफूहरूले सुनेको बताउँछन् । चम समुदायका मानिसहरू अहिले आफ्नो धर्म र संस्कृतिलाई बचाउन प्रयासरत छन् ।

प्रतिक्रिया