पुटिनको सत्ता यात्रा ः जासुसदेखि राष्ट्रपतिसम्म


मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चौथो कार्यकालका लागि सोमबार शपथ ग्रहण गरेका छन् । गत मार्चमा सम्पन्न चुनावबाट उनी चौथोपटक राष्ट्रपति पदमा निर्वाचित भएका थिए । विगत १८ वर्षदेखि राष्ट्रपति वा प्रधानमन्त्रीका रूपमा पुटिन सत्तामा रहिआएका छन् र विरोधीहरूले उनको कार्यकाललाई सम्राटको शासनसँग जोडेर हेर्ने गरेका छन् ।

उनको शासनविरूद्ध शनिबार मस्को तथा अन्य सहरहरूमा उत्रिएका प्रदर्शनकारी र दंगा प्रहरीबीच झडपहरू भएका थिए । चौथो कार्यकालको उनले औपचारिक थालनी गर्दा सोमबार रुसमा तनाव उत्पन्न हुनसक्ने आशंका गरिएको थियो ।सन् २०१२ को तुलनामा राष्ट्रपति कार्यालय क्रेम्लिनमा कम तामझामका साथ पुटिनले शपथ ग्रहण गर्न सक्ने समाचार संस्था एएफपीले जनाएको थियो ।

उनले चुनावी अभियानमा सहभागिता जनाएका स्वयंसेवकहरूलाई मात्रै भेट्न सक्ने अपेक्षासमेत गरिएको थियो । सन् २००० मा पहिलोपल्ट राष्ट्रपतिमा निर्वाचित पुटिन दोस्रोपटक २००४ मा निर्वाचित भए । तर, सन् २००८ मा आफ्नै शिष्य दिमित्री मेदभेदेभअन्तर्गत प्रधानमन्त्रीका रूपमा काम गर्न पनि उनी तयार भए किनभने दुई कार्यकाल मात्र राष्ट्रपति बन्न पाउने कानुनी प्रावधान थियो ।

त्यतिखेर वास्तविक रूपमा को भूमिकामा छन् भन्नेबारे केहीमा द्विविधा थियो र सन् २०१२ मा राष्ट्रपतिका रूपमा उनी ६ वर्षे कार्यकालसहित फर्किए । यदि सन् २०२४ सम्म आफ्नो चौथो कार्यकालको अन्त्यसम्म पुगे ६५ वर्षीय पुटिन सत्तामा भएको २५ वर्ष हुनेछ ।

यद्यपि, त्यो तत्कालीन सोभियत संघका शासक स्टालिन र केही रुसी शासकहरूले सत्ता सम्हालेको समयभन्दा कम हुनेछ । स्टालिनले ३१ वर्षसम्म शासन गरेका थिए भने एलेक्जेन्डर द्वितीयले २६ वर्ष र निकोलास प्रथमले ३० वर्ष लामो शासन गरेका थिए ।

जासुस हुँदै राष्ट्रपति
सन् १९५२ अक्टोबर ७ मा रुसको दोस्रो ठूलो सहर लेनिनग्राड (अहिलेको सेन्ट पिटर्सबर्ग) मा जन्मिएका पुटिनले कानुन पढे र केजिबी भनिने राष्ट्रिय सुरक्षा समितिमा भर्ती भएर साम्यवादी पूर्वी जर्मनीमा जासुसका रूपमा काम गरे । सन् १९९० को दशक : सेन्ट पिटर्सबर्गका मेयर बोरिस यल्त्सिनका उच्च सहयोगीका रूपमा काम गरे, उनलाई केजिबीको उत्तराधिकारी एफएसबीको प्रमुख (प्रधानमन्त्री) बनाइयो ।

सन् १९९९ : यल्त्सिनको राजीनामापछि प्रधानमन्त्रीमा नियुक्त ।

सन् २००० : राष्ट्रपतिका रूपमा निर्वाचित भए र दुई वटा चार वर्षे कार्यकाल पूरा गरे ।

सन् २००८ : संवैधानिक प्रावधानका कारण लगातार तेस्रोपटक राष्ट्रपति हुन पाएनन्, आफ्ना शिष्य दिमित्री मेदभेदेभ राष्ट्रपति हुँदा प्रधानमन्त्री बन्ने पुटिनको कदमबाट धेरै विश्लेषकहरू आश्चर्यमा परे ।

सन् २०१२ : नयाँ कानुनअन्तर्गत ६ वर्षे कार्यकालका लागि राष्ट्रपतिमा पुनः निर्वाचित ।

सन् २०१८ : चौथो कार्यकालका लागि निर्वाचित । लामो समयदेखि शासन गरिरहेको भए पनि जनताले पुटिनलाई रूचाएको देखिन्छ । रुसी सञ्चारमाध्यमका अनुसार उनको लोकप्रियता यस्तो छ कि जसबारे पश्चिमा नेताहरू कल्पना मात्र गर्न सक्छन् ।

प्रतिक्रिया