सेनामा धेरै खर्च गर्ने विश्वका १० देश


काठमाडौं । सन् २०१७ मा संसारभरी सैन्य खर्च १ हजार ७ सय अर्ब डलर पुगेको छ । जसमध्ये अमेरिकाले मात्रै ६ सय १० अर्ब डलर खर्च गरेको छ । अर्का दुई ठूला देश चीनले १२ अर्ब र रुसले १३ दशमलब ९ अर्ब डलर सेनामा खर्च गरेका छन् ।विश्वका ठूला आर्थिक शक्तिहरूले आफ्ना सेना र रक्षा मामिलामा सबैभन्दा बढी खर्च गर्ने गरेको बताइन्छ । तर, जानकारहरूका अनुसार कुल गार्हस्थ उत्पादन (जिडिपी) का आधारमा यी तीन वटा मुलुक सेनामा धेरै खर्च गर्ने त्यस्ता देशको सूचीमा अग्रस्थानमा छैनन् ।

जसले आफ्नो आयको धेरै रकम सुरक्षा बजेटमा खर्चेका छन् ।सुरक्षा खर्चसम्बन्धी विषय हेर्दै आएको स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युट (एसआइपिआरआई) को अध्ययन प्रतिवेदनअनुसार सन् २०१७ मा अमेरिकाले जिडिपीको ३ दशमलव १ प्रतिशत सेनामा खर्च गरेको छ । यसैगरी चीनले १ दशमलब ९ प्रतिशत र रुसले ४ दशमलब १ प्रतिशत रकम सेनामा खर्च गरेका छन् ।

यी हुन् सेनामा धेरै खर्च गर्ने १० मुलुक :
१०. बहराइन
बहराइन एउटा राजतन्त्रात्मक मुलुक हो जहाँ सुन्नी मुस्लिमको शासन छ र त्यहाँ सेनाको उच्चपदमा शाही परिवारका सदस्य छन् । १४ लाख शिया मुस्लिमहरू पनि रहेको बहराइनमा अहिले तनाव जारी छ । सन् २०११ मा भएको अरब आन्दोलनका क्रममा त्यहाँ प्रदर्शनकारीहरूले राज्य संयन्त्रमा नागरिकको प्रतिनिधित्व बढाइनुपर्ने माग गरेका थिए ।

सरकारी आग्रहमा प्रदर्शनकारीमाथि नियन्त्रण कायम गर्न गल्फ कर्पोरेसन काउन्सिलको फौज परिचालन गरिएको थियो ।सन् २०१७ मा बहराइनमा सेनामा १ दशमलब ३९६ अर्ब डलर खर्च गरिएको छ, जुन कुल जिडिपीको ४ दशमलब १ प्रतिशत हुन आउँछ ।

९. रुस
सन् १९९७ मा रुसले आफ्नो जिडिपीको ४ दशमलब ३ प्रतिशत सेनामा खर्च गरेको थियो । तर, सन् १९९८ मा उसले घटाएर तीन प्रतिशतमा झार्यो । त्यसपछि सेनामा गरिने खर्च बढ्दै सन् २०१६ आउँदा ५ दशमलव ५ प्रतिशत पुग्यो । तर, फेरि घटेर सन् २०१७ मा ४ दशमलव ३ प्रतिशत भयो ।

एसआइपिआरआइका प्रमुख अनुसन्धानकर्ता सिमोन वेगम्यानका अनुसार सन् २०१४ यता रुस आर्थिक समस्याबाट जुझिरहेको छ, जसका कारण उसले सैन्य खर्चमा कटौती गरेको हुनसक्छ । सेनाको आधुनिकीकरण अहिले उसको प्राथमिकतामा छ ।

८. लेबनान
मध्यपूर्वमा बढी सैन्य सामग्री भएका ६ वटा देशको सूचीमा लेबनान पनि पर्छ । सन् १९७५ देखि ९० को बीचमा यो देश लामो गृहयुद्धबाट गुज्रियो र त्यसयता त्यहाँ गहिरो मतभेद रहिआएको छ । सन् २०१७ मा लेबनानले २ दशमलब ४११ अर्ब डलर सेनामा खर्च गरेको छ, जुन उसको कुल जिडिपीको साढे चार प्रतिशत हुन आउँछ ।

७. इजरेल
सन् १९४८ यता इजरेलको सम्बन्ध उसका छिमेकी मुलुकहरूसँग तनावपूर्ण रहिआएको छ । उसको एकातर्फ सिरिया छ भने अर्कोतर्फ लेबननको हिज्बुल्लाह लडाकु समूह छ जसलाई सिरियाको समर्थन प्राप्त छ । इजरेल सिरियामाथि अमेरिकी हमलाको समर्थन गर्दछ तर बशर अल–असदको सरकारलाई समर्थन गर्दैन ।

६. जोर्डन
सन् १९४६ मा जोर्डन स्वतन्त्र भएपछि हालसम्म संघर्षपूर्ण अवस्थाबाट गुज्रिँदै आएको छ । सन् १९६७ मा इजरायलसँग ६ पटक लडाइँ गरेको जोर्डनले वेस्ट ब्यांक र पूर्वी जेरूसलेममाथिको नियन्त्रण गुमायो ।  सन् १९४८ मा भएको अरब–इजरेल युद्धपछि ती क्षेत्रमा जोर्डनको नियन्त्रण थियो ।सन् १९८४ मा जोर्डनले इजरेलसँग शान्ति सम्झौता गर्यो ।

तर, तथाकथित इस्लामिक स्टेटका कारण अहिले त्यहाँ तनाव छ । सन् २०१७ मा जोर्डनले आफ्नो जिडिपीको ४ दशमलब ८ प्रतिशत अर्थात् १ दशमलब ९३९ अर्ब डलर खर्च गरेको छ ।

५. अल्जेरिया
अल्जेरियामा फ्रान्सको उपनिवेश थियो । स्वतन्त्रताको लामो लडाइँपछि सन् १९६२ मा स्वतन्त्र भए पनि देशभित्रको हिंसा अझै चलिरहेको छ । हिंसाका एउटा प्रमुख कारण धर्म र समाजभित्रको मतभेद रहेको बताइन्छ । एसआइपिआरआइका अनुसार सन् २०१७ मा अल्जेरियाले सेनामा कुल जिडिपीको ५ दशमलब ७ प्रतिशत अर्थात् १० दशमलब ०७३ अर्ब डलर खर्च गरेको छ ।

४. कुवेत
साउदी अरब, इरान र इराकसँग सीमा जोडिएको कुवेतमा संवैधानिक राजतन्त्र छ । ३० लाख जनसंख्या भएको यो मुलुकमा अमेरिकी सेनाको कैयौँ अखडा छन् । सन् २०१७ मा कुवेतले ६ दशमलब ८३१ सेनामा अर्ब डलर खर्च गरेको छ जुन कुल जिडिपीको ५ दशमलब ८ प्रतिशत हो ।

३. प्रजातान्त्रिक गणतन्त्र कंगो
अफ्रिकी देश प्रजातान्त्रिक गणतन्त्र कंगो आन्तरिक संघर्षबाट गुज्रिरहेको छ । उसले सन् २०१७ मा कुल जिडिपीको ६ दशमलब २ प्रतिशत अर्थात् शून्य दशमलव ४८४ अर्ब डलर सेनामा खर्च गरेको छ ।

२. साउदी अरेबिया
साउदी अरेबियाले सन् २०१५ देखि यमनमा हुथी विद्रोहीविरूद्धको कारबाहीको नेतृत्व गर्दै आएको छ । सिरियाबाट तथाकथित इस्लामिक स्टेट समूहलाई धपाउने अन्तर्राष्ट्रिय कारबाहीमा पनि साउदी अरेबिया संलग्न रहिआएको छ ।एसआइपीआरआइका अनुसार सन् २०१७ मा उसले ६९ दशमलब ४१३ अर्ब डलर अर्थात् जिडिपीको १० प्रतिशत खर्च गरेको तथ्यांक छ ।

१. ओमान
इरान, साउदी अरेबिया र यमनको छिमेकी देश ओमानले एक दशकयता आफ्नो सैन्य खर्च बढाउँदै लगेको छ । आफ्नो आयको सबैभन्दा बढी रकम खर्च गर्ने देशको सूचीमा ओमान शीर्ष स्थानमा छ । सन् २०१७ मा उसले आफ्नो जिडिपीको १२ प्रतिशत अर्थात् ८ दशमलब ६८६ अर्ब डलर खर्च गरेको छ ।

प्रतिक्रिया