आङ नै सिरिंग गर्ने विश्वका एयरपोर्ट

तपाईंले आन्तरिक तथा वाह्य उडान त पक्कै गर्नुभएकै होला ? यसरी यात्राको क्रममा तपाईंले पक्कै पनि हवाइजहाज तथा एयरपोर्टका कुनै न कुनै खास कुराको ध्यान पनि गर्नुभएकै हुनुपर्छ । लामो उडान, एयरहोस्टेजको स्वागत, खानाको परिकार, भित्री सजावट तथा एयरपोर्टका जहाजको लाइन, एअरपोर्टमा हुने सुरक्षाजस्ता कुराको त पक्कै ध्यान दिनुभएकै होला । तर, कहिल्यै तपार्ईले एयरपोर्टको भौगोलिक अवस्थाको बारेमा ध्यान दिनुभएको छ त ? ती कतिको खतरनाक भनेर ? प्रायः एयरपोर्टको रन वे १ हजार ८ देखि २ हजार ४ सय मिटरसम्मको हुन्छ । तर, केही एयरपोर्ट योभन्दा कम मिटरको छ जुन भौगोलिक अवस्थाले पनि आङ नै सिरिंग हुने खालका छन् । आउनुहोस् यस्तै विश्वका केही खतरनाक एअरपोर्टको बारेमा जानकारी हामी पनि राखौँ ।

लुक्ला एयरपोर्ट–नेपाल

यो एयरपोर्ट नेपालको सगरमाथा अञ्चल सोलुखुम्बु जिल्लाको नाम्चेमा अवस्थित छ । ०६४ साल पुसमा एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाको सम्मानमा उनीहरूकै नामबाट यस विमानस्थलको नामाकरण गरिएको थियो । हिस्ट्री च्यानलको ‘मस्ट एक्स्ट्रिम एयरपोर्ट र्यांकिङ’ मा यस विमानस्थल विश्कै सबैभन्दा डरलाग्दो विमानस्थलमा गनिएको छ

वेबसाइटका अनुसार यो रोमाञ्चक अनुभूति दिने विश्वभरका विमानस्थलमध्ये आठौँ स्थानमा पर्छ । ‘लुक्ला विमानस्थलका लागि उडान गर्दा १० मिनेटमा देखिने दृश्य र अनुभवले निकै रोमाञ्च सिर्जना गर्छ’ उक्त वेबसाइटमा लेखिएको छ ।

यो विमानस्थल समुद्री सतहदेखि ९ हजार १ सय फिटमा अवस्थित छ ।यसको रन वेको लम्बाइ ४ सय ६० मिटर छ । रन वे सकिनासाथ उत्तरतिर सय मिटर अग्लो ढुंगाको पहाड छ भने दक्षिणतर्फ ६ सय मिटर गहिरो खाडल छ ।  कुनै असावधानी वा गल्तिका लागि यहाँ कुनै छुट छैन ।

यो विमानस्थल सर एडमन्ड हिलारीको सहयोगमा सन् १९६० निर्माण भएको हो । यस विमानस्थलमा साना विमान तथा हेलीकोप्टर मात्र अवतरण गर्न सकिन्छ । सगरमाथा चढ्न तथा हिमाली दृश्यावलोकनका लागि पर्यटन यसै विमानस्थलको प्रयोग गर्छन् ।

बारा एयरपोर्ट : स्कटल्यान्ड


यो एयरपोर्ट समुद्रको किनारमा अवस्थित रहेको छ । अचम्म त यो कुराको छ कि समुद्रमा आउने ज्वार–भाटाले यो एयरपोर्टलाई डुबाउने गर्दछ । स्कटल्यान्डको रमणीय बारा द्वीपमा बनाइएको यो एयरपोर्ट कैयौँचोटी पानीमा डुब्ने गर्दछ । यस्तो अवस्थामा हवाइजहाजको उडानको तालिका धेरैचोटी फेरबदल भइरहन्छ ।

रातको समयमा इमरजेन्सी ल्यान्डिङ गर्नुपरेमा गाडीको बत्तीको उज्यालो प्रयोग गरिन्छ । सन् १९३६ देखि यो एयरपोर्ट सञ्चालनमा आएको थियो । यो एयरपोर्ट ट्रेग मोर समद्री किनारमा अवस्थित यसको रन वे त्रिकोणीय आकारमा बनाइएको छ । यहाँ यात्रुको सहायताको लागि काठको पोल लगाएको छ ।

माले एयरपोर्ट : माल्दिभ्स


भेलना एयरपोर्टबाट चिनिने यो समद्रबाट मात्र दुई मिटरको उचाइमा रहेको छ । यहाँबाट उडान भर्नु पाइलटका लागि एकदम चुनौतीपूर्ण रहेको छ । कालोपत्रे गरिएको यो एयरपोर्ट समुद्रको एक किनारबाट सुरु भएर अर्काे किनारसम्म फैलिएको छ । पायलटको सानो गल्तीले पनि हवाइजहाज सोझैँ हिन्द महासागरमा पुग्दछ । यो द्वीप एयरपोर्टका लागि मात्र प्रयोगमा ल्याइएको छ । यहाँबाट उत्रेका यात्री पानीजहाजको मद्दतले आफ्नो गन्तव्यतर्फ लाग्दछन् ।

साबा एयरपोर्ट : नेदरल्यान्ड


नेदरल्यान्डबाट करिब २८ किलोमिटर दक्षिणमा अवस्थित यो अन्तर्राष्ट्रिय विमानस्थल विश्वकै सबैभन्दा छोटो रन वे भएको विमानस्थल हो । यसको कुल लम्बाइ मात्र ३ सय ९६ मिटर रहेको छ । जुन विमानको आकार सानो तथा स्पिड चाँडै कम हुने विमान मात्र यहाँ अवतरण गर्न सक्छन् । यहाँ ठूला जेट विमान अवतरण गर्न सक्दैनन् । यो विमानस्थल हेर्दा ज्यादै मनमोहक देखिन्छ । मनमोहक भए पनि ज्यादै खतरनाकभित्र पर्दछ । यो विमानस्थलको तीनतिर समुद्र रहेको छ भने एकातिर पहाड छ ।

कोलोराडो एयरपोर्ट :अमेरिका


अमेरिकाको कोलोराडोस्थित यो रिजनल एयरपोर्ट २ हजार ७ सय ६७ मिटर उचाइमा रहेको छ । यो अमेरिको सबैभन्दा उचाइमा रहेको व्यावसायिक एयरपोर्टमा गनिन्छ । आङ नै सिरिंग गर्ने भएता पनि यो एयरपार्ट ज्यादै राम्रो ठाउँमा रहेको छ । यसको नजिकै तीन सय मिटर गहिराइमा सान मिगुल नदी बग्दछ ।

सन् २००९ मा यसको स्तरोन्नति गरेर सुरक्षित रन वे बनाइएको छ भने ठूला जहाज पनि अवतरण गर्न सक्नेछन् । एयरपोर्टका अधिकारीका अनुसार सिंगल तथा लाइट ट्विन इन्जन भएका विमान यहाँ रातमा अवतरण गर्नका लागि अनुमति छैन । यहाँ ३० नटभन्दा बढीको हावा तथा १५ माइल्सभन्दा कम भिजिबिलिटमा उडान भर्न पाइँदैन ।

कइ टक एयरपोर्ट : हङकङ


हङकङमा रहेको यो एयरपोर्ट ज्यादै खतरनाकभित्र पर्दछ । यहाँ उत्रने यात्रीको मुटु जोडले धड्कन थाल्दछ मानौ हृदयघात हुँदै छ । हाल यो विमानस्थल प्रयोगमा छैन । सन् १९२५ मा खोलिएको यो एयरपोर्ट सन् १९८८ सम्म चलनमा आएको थियो । यहाँबाट विमानको उडान भर्नु वा ल्यान्ड गर्न् विश्वकै आश्चर्यभित्र पर्दथ्यो । यसका दुवैतर्फ ठुल्ठूला भवनहरू थिए ।

विशेष गरेर ७४७ बोइङ विमान उत्रने तथा उड्ने बेलामा यात्रीको अनुभवअनुसार ज्यादै डरलाग्दो छ । ल्यान्ड गर्दा होस् वा उडानभर्दा जहाजको झ्यालबाट भवनभित्र हरेक गतिविधि राम्रैसँग देख्न सकिन्थ्यो । यो रन वे पनि ठूला जहाजका लागि छोटो नै थियो ।

प्रतिक्रिया