पौभा कलाका क्षेत्रमा क्रियाशील रितेश

विगत एक दशकदेखि पौभा कलाका क्षेत्रमा निरन्तर क्रियाशील रितेश स्कुले जीवनदेखि नै कला क्षेत्रमा लागेका हुन् । उनलाई बुबा देवरत्न र आमा रुक्मणी शाहीले यस क्षेत्रमा लाग्ने हौसला र प्रेरणा दिए । स्कुल पढ्नेबेला उनका प्रायः सबै साथी खेल्न जान्थे, उनी भने कापीकलम लिएर चित्र कोर्थे । साथै उनले विभिन्न क्यालेन्डरमा छापिएका चित्रको नक्कल उतारेको बताए ।  बुबाले घरमा प्रोट्रेट बनाउने भएकाले उनमा त्यसको प्रभाव सानैदेखि पर्यो ।

बुबाको सहयोगमा उनले चित्रमा आफूलाई निखार्दै लगे ।  एसएलसी दिएपछि सानैदेखिका साथी रामप्रकाश श्रेष्ठसँग कला सिक्ने विचार राखे । रामप्रकाशले मोर्डन कलाभन्दा पौभा कला सिक्दा राम्रो हुने बताएपछि श्रेष्ठकै सल्लाहमा रितेशले पौभा सिक्न थाले । उनले कलाकार रामप्रकाशसँग पौभा कला सिक्न थाले । उनले हिन्दू र बौद्ध दर्शनमा आधारित दर्जनौँ पौभा कला बनाइसकेका छन् ।

उनले विशेषगरी हिन्दू बौद्ध दर्शनका विभिन्न कथा र मिथकलाई कलात्मक बान्कीका साथ प्रस्तुत गर्दै आएका छन् । उनका चित्रमा विषय संयोजन, रङ र प्रस्तुति निकै सबल र प्रभावकारी रहेको पाइन्छ । उनले बज्रयोगिनी, मञ्जुश्री, लोकेश्वर, भैरव, पद्मसंभवलगायत दर्जनौँ पौभा चित्र बनाएका छन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले गरेको आठौँ राष्ट्रिय कला प्रदर्शनीमा पुरस्कार पाउन सफल रितेशसँग सौर्य दैनिकका लागि देवेन्द्र थुम्केलीले गरेको संक्षिप्त कुराकानी :

० ललितकला राष्ट्रिय पुरस्कार पाउनुभयो कस्तो महसुस भएको छ ?
–अवश्य पनि खुसी लाग्ने नै भयो । राष्ट्रियस्तरको प्रतिस्पर्धामा पहिलो हुनु मेरो लागि गौरवको विषय पनि हो । नेसनल एक्जिविसनमा भाग लिएपछि सबैको लक्ष्य राष्ट्रिय ललितकला पुरस्कार प्राप्त गर्ने हुन्छ । मैले यसपटक यो पुरस्कार प्राप्त गर्न सकेँ । त्यो मेरो लागि निकै खुसीको कुरा हो ।

० प्रदर्शनीमा अरू अग्रज कलाकारका कलाकृति पनि थिए तर, तपार्इंले नै पुरस्कार जित्नुभयो ?
त्यहाँको सिस्टम नै त्यस्तो रहेछ । पहिले अवार्ड डे भएकाले नपाउने नियम भएकाले पनि यस्तो भएको हुनुपर्दछ । त्यस्तै मैले बनाएको काममा पनि सन्दर्भ र प्रस्तुतिप्रति जजको ध्यान गएको होला ।

० राष्ट्रिय कला प्रदर्शनीलाई कसरी हेरिरहनुभएको छ ?
–राष्ट्रिय स्तरमा हुने प्रदर्शनी भएकाले यसले राष्ट्रको गौरवलाई प्रतिनिधित्व गर्नुपर्दछ भन्ने मेरो धारणा हो । यसमा अझै काम गर्न बाँकी छ । साथै जसरी कला कलाकारले प्रतिष्ठानको यो प्रयासलाई प्रवद्र्धन र प्रोत्साहित गर्ने हिसाबले राम्रो ढंगले हेर्नुपर्दछ ।

हाम्रो सापेक्षतामा यो प्रयासलाई सकारात्मक रूपमा हेर्दै कमीकमजोरी हटाउँदै अझै समृद्ध गर्दै अगाडि बढ्नुपर्दछ । अवार्ड दिनु र प्रदर्शनी गर्नु राम्रो काम हो । यसलाई भविष्यमा अझ राम्रो र भव्य बनाउँदै लग्नुपर्दछ । साथै स्वस्थ्य प्रतिस्पर्धामार्फत नेपाली कलालाई समृद्धिको दिशातिर लैजानुपर्दछ ।

० राष्ट्रिय कला प्रदर्शनी कस्तो हुनुपर्दछ भन्ने लाग्छ तपाईं ?
खासमा कलाकारलाई आरक्षणभन्दा पनि स्वस्थ्य प्रतिस्पर्धामा उतारेर पुरस्कृत गर्दा राम्रो हुन्छ । यसमा भविष्यमा ध्यान दिनुपर्दछ । जसको काम राम्रो छ, उसलाई पुरस्कृत गरिनुपर्दछ । झट्ट अहिले हेर्दा पुरस्कार पनि आरक्षणमा बाँडिएजस्तो लाग्छ यसमा प्रतिष्ठानले सचेत हुँदै स्वस्थ्य प्रतिस्पर्धा हुने वातावरण निर्माण गरिनुपर्दछ । त्यस्तै क्याटलग छाप्ने ढिलासुस्ती हटाउनुपर्दछ । प्रदर्शनीको सुरुमै क्याटलग ल्याउन सके र डिस्प्लेमा ध्यान दिन सके प्रदर्शनी बेटर हुने थियो ।

० तपाईंले पुरस्कार पाएको चित्रका बारेमा बताइदिनुस् न ?
‘पद्मसंभव र शाक्यदेवी’ शीर्षकको यो परम्परागत पौभा चित्रमा पद्मसम्भवले फर्पिङमा आएर तपस्या, ध्यान÷साधना गरेको दृश्य र शाक्यदेवी (शक्ति) लाई देखाइएको छ । शाक्यदेवी साँखुको राजकन्या हुन् । उनी सानै हुँदा आमा बितिन् । आमा खाएको भन्दै उनलाई अलच्छिनीको आरोप लगाएर आमालाई जलाएको स्थानमा लगेर छोडिन्छ । उनलाई बाँदरले लगेर पाल्छ ।

पद्मसंभवले उनमा योगिनीमा हुनुपर्ने ३२ लक्षण भएको देखेर शक्तिको रूपमा स्वीकार गर्छन् । चित्रमा पद्मसंभवले फर्पिङमा तपस्या गर्दा भूतप्रेतले बाधा पुर्याउनुका साथै त्यहाँका मानिसलाई दुःख दिने काम गर्दछ । यसबाट मुक्ति पाउन पद्मसंभवले ओडियानमा रहेका आफ्ना गुरुहरूसँग तन्त्रबलका माध्यमबाट सम्पर्क गरेर बज्रकिलाको साधना गर्यो भने भूतप्रेतलाई आफ्नो वशमा ल्याउन सकिने सन्देश पठाउँछन् ।

यो चित्रमा पद्मसंभव र शाक्यदेवीले बज्रकिलाको तन्त्र साधना गरेको दृश्य राखिएको छ । उनीहरूले बज्रकिलाको माध्यमबाट भूतप्रेत आफ्नो वशमा लिएका छन् । चित्रमा गुफामा बसेर साधना गरेको दृश्यसमेत छ । गुफालाई असुर गुफा अथवा तिब्बती भाषमा याङलेसो गुफा पनि भनिन्छ । यो गुफाको भित्तामा अहिले पनि पद्मसंभवको हातको छाप छ ।

० यो चित्रको शैलीका बारेमा ?
नेवारी र तिब्बती शैलीको फ्युजन गरी यो चित्र बनाएको छु । नेवारी पौभा कलामा पद्मसंभव कमै मात्रामा बनाएको पाइन्छ । तिब्बती र नेवारी दुवै शैलीलाई मिलाएर यो चित्र बनाइएको छ । तिब्बेतन लामा, अक्षर, बादल, पहाड आदिको प्रयोग यो चित्रमा छ ।

० पछिल्लो समय पौभाप्रति युवापुस्ताको रुचि बढ्दै गएको छ’ नि ?
नेपाली मौलिक कलाको रूपमा विश्वमा परिचित पौभा कलाप्रति युवापुस्ताको आकर्षण बढ्दै गएको छ । यसको समय लोकप्रियता बढेसँगै आर्थिक तथा सामाजिक रूपमा समेत कलाकारको माग र सम्मान बढेको छ ।

कलाको बढ्दो लोकप्रियतासँगै कलाकारको संख्या पनि बढ्दै गएको छ । यसले पौभा कलाको मौलिकता र महत्वलाई बढाएको रूपमा हामीले बुझ्नुपर्छ । नेवारी सभ्यता र संस्कृतिको पहिचान पौभा कला नै हो ।

कतैबाट प्रभावित नभई आफ्नै मौलिक संस्कृतिको जगमा बनेको पौभा कला विश्वमै परिचित छ । नेपाललाई कला र संस्कृतिमार्फत चिनाउन विश्वमा यस कलाले भूमिका खेल्न सकेको छ । यस कलाको मौलिकता र ऐतिहासिक विरासतलाई राज्य र कलाकारले संरक्षण गर्नुपर्दछ ।

० पौभाको बजार पनि बढ्दै गएको छ नि ?
पौभा कला संकलनको संस्कृति नेपालमा पनि पछिल्लो समय बढ्दै गएको छ । नेपाली मात्रै नभएर विदेशी संकलकले नेपाली पौभा कलाप्रति देखाएको अभिरुचीका कारण यसको बजार फैलिँदै गएको छ ।

० कपि संस्कृतिप्रति यहाँको धारणा के छ ?
नेपालमा नजानिँदो गरी यो संस्कृति विकास भएको छ । यसमा कलाकार चनाखो हुनुपर्दछ । सिक्नेबेलाको फरक कुरा भयो । त्यसपछि कलाकारले आफ्नो पहिचान निर्माण गरेर काम गर्नुपर्दछ भन्ने लाग्छ । पौभा कला नेपाली मौलिक पहिचान भएकाले यसमा हाम्रा विषय र परम्परालाई अझ परिमार्जित र कलात्मक रूपले प्रस्तुत गरिनुपर्दछ ।

प्रतिक्रिया