ट्रम्पकै भूमिमा ट्रम्पलाई टक्कर


फ्रान्स । राष्ट्रपति एमानुएल माक्राेनले अमेरिकाका दुइटै सदनमा गरेको सम्बोधनमा आफ्ना समकक्षी डोनाल्ड ट्रम्पका केही नीतिहरूलाई चुनौती दिएका छन् । विशेषगरी राष्ट्रवाद र ‘पहिला अमेरिका’ भन्ने ट्रम्पका नीतिहरूप्रति सांकेतिकरूपमा उनले असन्तुष्टि व्यक्त गरे । बिबिसीका उत्तर अमेरिका सम्पादक जोन सोपेलको विश्लेषण ।

राष्ट्रपति माक्रोनले विश्वका अन्य नेताहरूलाई डोनाल्ड ट्रम्पलाई कसरी सामना गर्ने भन्ने शिक्षा उत्कृष्ट शैलीमा दिएका छन् । एकदमै नजिक हुने, आवश्यक पर्दा ठट्टा गर्ने तर आफ्ना अडानहरू सशक्त ढंगले राख्ने नेताका रूपमा उनले आफूलाई उभ्याएका छन् । एकदमै चलाखीपूर्णरूपमा तयार गरिएको सम्बोधनमा उनले आफू र अमेरिकी राष्ट्रपतिबीचको निकटता कतिपयका लागि एकदमै हार्दिकतापूर्ण रहेको उल्लेख गरे ।

उनले फ्रान्स र अमेरिकाबीच रहेको एकदमै विशेष सम्बन्धको चर्चा गरेका थिए । तर, त्यसपछि उनले ट्रम्पका नीतिहरूको आलोचना गरे । उनले खुल्ला व्यापार, विज्ञानको महत्व र समानताको कुरा गरे र ट्रम्पको ’पहिला अमेरिका’ भन्ने नीतिबारे पनि बोले । माक्रोँले ट्रम्पको ‘अमेरिकालाई पुनः महान् बनाऔँ’ नारालाई वातावरणको संरक्षण र अमेरिका अलग भएको जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौतासँग जोडेका थिए ।

त्यसक्रममा उनले पृथ्वीलाई फेरि महान् बनाउने समय आएको बताए । भाषणका क्रममा ताली र समर्थन गुञ्जिएका थिए । त्यो अमेरिकी संसद्का लागि अक्षण थियो । ट्रम्पसँग निकट सम्बन्ध कायम राखेका माक्रों विश्वलाई अमेरिकी राष्ट्रपतिको भन्दा एकदमै फरक र प्रतिस्पर्धी दृष्टिकोण दिने विश्व नेताका रूपमा उदाएका छन् । यो उनको महत्वपूर्ण राजनीतिक उपलब्धि हो ।

प्रतिक्रिया