देश र जनताको भाग्य चम्कने अवसर

‘प्रधानमन्त्री ओलीले राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय, शान्ति तथा स्थायित्व र विकास तथा समृद्धलाई आफनो सरकारले मूल एजेन्डा बनाएर अघि बढने उद्घोष गर्दै आएका छन् । उनी राष्ट्रवादी नेता हुन् । अडानका पनि पक्का छन् । त्यसैले आमजनताले उनीबाट धेरै नै आश गरेका छन् ‘

-डा. डिआर उपाध्याय  अहिलेको यो समय भनेको धेरै महत्वपूर्ण छ । किनभने वाम गठबन्धनले झन्डै दुईतिहाइ बहुमत ल्याएका छन् । विकास समृद्धि र सुशासन कायम गरी देश र जनताको भाग्य र भविष्य चम्काउँन अब कतैबाट अवरोध छैन । त्यसकारणले पनि यो समय महत्वपूर्ण छ ।

०७४ साल हामीबाट भर्खरै बिदा भएको छ । ०७४ सालमा ठुल्ठूला राजनीतिक उपलब्धिहरू हासिल भएका छन् । संविधान कार्यान्वयनका क्रममा संघीय संसद्, प्रदेशसभा र स्थानीय तह गरी तिनै तहका निर्वाचन ०७४ सालभित्र सम्पन्न भएका छन् । हाम्रालागि ०७४ साल धेरै नै महत्वपूर्ण साल रह्यो ।

निर्वाचन सम्पन्नसँगै संविधान कार्यान्वयन पनि भएको छ । राज्यका तिनै तहमा वामगठबन्धनको राम्रो पकड रहेको छ । यस्तो अवसरमा वाम गठबन्धनले देश र जनताको पक्षमा राम्रो काम गर्न सकेन भने कहिले गर्न सक्ने छैन । यो धेरै महत्वपूर्ण अवसर हो । तिनै तहमा वाम गठबन्धनको दुईतिहाइभन्दा बढी बहुमत छ । ०७४ साल वाम गठबन्धनका लागि महत्वपूर्ण वर्ष हो । एक हिसाबले भन्ने हो भने ०७४ साल निर्वाचनमय वर्ष बन्यो ।

सबै तहका निर्वाचन परिणामले मुलुक स्थिर शासन, विकास र समृद्धिको मार्गमा जाने संकेत देखिएको छ । अहिले केपी ओली नेतृत्वको वाम सरकार इतिहास कै बलियो सरकार हो ।अस्थिर राजनीतिबाट जनता वाक्कदिक्क भइरहेका वेला यो स्थिर सरकारबाट आमजनताले धेरै कुराको आशा र भरोशा गरेका छन् । सरकार पनि जनताको समस्या हल गर्दै अघि बढ्नुपर्छ । स्थाीनय र प्रदेश जनप्रतिनिधिहरू कताकता अलमल परेजस्तो देखिन्छ ।

हिजो कै सोच चिन्तन र प्रवृति कायम रह्यो भने मुलुकको भविष्य निर्माण गर्न सकिँदैन । संघीयता हाम्रो देशको लागि नितान्त नौलो अभ्यास हो । संघीयता सफल बनाउन पनि धेरै चुनौति देखिन्छ । जनप्रतिनिधि इमानदारीका साथ काम गरेको देखिँदैन । आफ् नो तलबभत्ता बढाउनेबाहेक अरू कुरै गर्न खोज्दैनन् । यसरी देश बनाउन सकिँदैन ।

गलत संस्कृतिलाई निरन्तरणता दिने काम गर्नु हुँदैन । बास्तवमा भन्ने हो भने प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरूकै क्रियाकलापबाटै संघीयताको भविष्य निर्धारण हुन्छ । स्थानीय तहका जनप्रतिनिधिहरू पनि इमानदारीपूर्वक जनताको सेवा गर्न जुट्नुपर्छ । जनतालाई निराश हुन दिनु हुँदैन । विगत वर्षले मुलुकमा एउटा बलियो आधार खडा गरेको छ ।

त्यो आधारमाथि टेकेर विकास र समृद्धिको मार्गचित्र कोर्नुपर्ने आवश्यकता देखिएको छ ।  अब हाम्रासामु राजनीतिक मुद्दा सकिएका छन् । अबको मुद्दा भनेको आर्थिक मुद्दा नै हो । देशको विकास गर्न अर्थतन्त्रलाई बलियो बनाउनुपर्छ । मुलुकको अर्थतन्त्र बलियो नबनेसम्म देश विकास सम्भव छैन । अब सबैको ध्यान अर्थतन्त्र बलियो बनाउनेतिर जानुपर्छ । इतिहासकै सबैभन्दा बलियो सरकारले खुट्टा कमाउनुपर्ने कुनै आवश्यकता छैन ।

अब सरकार देश र जनताको भाग्य र भविष्य चम्काउन दृढतापूर्वक अघि बढनुपर्छ । प्रधानमन्त्री ओलीले राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय, शान्ति तथा स्थायित्व र विकास तथा समृद्धलाई आफनो सरकारले मूल एजेन्डा बनाएर अघि बढने उद्घोष गदै आएका छन् । उनी राष्ट्रवादी नेता हुन् । अडानका पनि पक्का छन् । त्यसैले आमजनताले उनीबाट धेरै नै आश गरेका छन् । ओली सरकारले जनताको काम गर्नुपर्छ ।

सरकारले राष्ट्रिय एकतालाई बलियो बनाउँदै लैजानुपर्छ । राष्ट्रिय एकता नै अहिलेको आवश्यकता हो । मुलुक राजनीतिक धु्रवीकरणतिर उन्मुख छ । वामपन्थी दलहरू नै मिल्न सकेको अवस्था छैन । एमाले र माओवादी केन्द्र मिल्ने कुरा नि भ्यागुताको धार्नी भएको छ । चुनावपछि लगत्तै पार्टी एकता गर्ने उद्घोष गरेका दुबै दलका शीर्ष नेताहरूले चुनाव भएको यति धेरै महिना बितिसक्दा पनि पार्टी एकता गर्न सकिरहेका छैनन् ।

जनतालाई आश्वासन दिएर चुनावमा बहुमत ल्याएको वाम गठबन्धनले अब सोच्नुपर्ने वेला आएको छ । एमाले र माओवादी केन्द्र अहिलेसम्म एउटै धारमा छन् । अरू संसद्देखि बाहिरका साना कम्युनिस्ट पार्टीहरू अर्को धारमा छन् । कांग्रेसले अर्को धार लिएर हिँडेको छ । यस्तो अवस्थामा मुलुक चलेको छ । अब सबैलाई मिलाएर लैजाने गरी यो बलियो सरकारले देश विकासको खाका कोर्नुपर्छ ।

देश बनाउनका लागि सबै पार्टी मिलेर जानुपर्ने आवश्यकता हुन्छ । विकास र समृद्धिका लागि अहिलेको जस्तो अनुकूल स्थिति फेरि फेरि नआउन पनि सक्छ । यो ठूलो अवसर र वाम गठबन्धनका लागि अग्निपरीक्षा पनि हो । यो परीक्षाबाट ओली सरकार पास हुनुपर्छ । यो जनताको भनाइ हो । राष्ट्रिय एकता कायम गर्न सबै दलहरू मिल्नुको विकल्प छैन । दलगत स्वार्थबाट माथि नउठी राष्ट्रिय एकता बलियो हुन सक्दैन ।

त्यसकारणले गर्दा सरकार फराकिलो सोचका साथ प्रस्तुत हुनु जरुरी छ । स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनसँगै संघीयता कार्यान्वयनले तीव्रता पाएपछि जनतामा आशा जागेको छ । जनताले परिवर्तनबाट प्राप्त उपलब्धि खोजेका हुन्छन् । मुलुकले लामो समयसम्म संक्रमणकाल बेहोर्नुपर्यो । बहुदलीय व्यवस्था आएदेखि मुलुकमा पटकपटक सरकार बदलिने गरे । स्थिर सरकार बन्न सकेनन् ।

बितेका २७ वर्षको अवधिमा मुलुकले २६ वटाभन्दा बढी सरकार बेहोर्नु प¥यो । यो भन्दा लाजमर्दो कुरा अरू के हुन्छ ? गरिब देशमा राजनीति गर्ने धेरै नेता र कार्यकर्ता भए, काम गर्ने मान्छे नै भएनन् । अनि देश कसरी बन्छ ? यो दुर्दशा नेपाली जनताले भोग्नुपरेको छ । विगतमा अस्थिर सरकारको बहानामा देश विकास हुन सकेन । अब स्थिर सरकारले के गर्छ ? त्यो भने हेर्न बाँकी छ । जुनसुकै सरकार आउँदा पनि जनताका निम्ति ‘बेल पाक्यो कागलाई हर्ष न विस्मात’ नहोस् ।

अब मुलुकमा स्थिर र बलियो सरकार छ । अब कुनै बहाना गरेर उम्कने छुट यो सरकारलाई छैन । लामो समयको अस्थिरतापछि मुलुक स्थायित्वको दिशातर्फ अग्रसर छ । विधिसम्मत शासन प्रणाली, दण्डहीनताको अन्त्य, भ्रष्टाचारप्रति शून्य सहिष्णुता, लगायतका विषयमा सरकारको ध्यान पुग्न जरुरी छ ।  अहिले मुलुक पुरानो संरचनामा छैन ।

त्यसैले नयाँ संरचनाअनुसार मुलुकलाई अघि बढाउनु पर्ने आवश्यकता देखिएको छ । मुलुकको भाग्य र भविश्य निर्माण गर्नेतिर सबैको जिम्मेबारी छ । अहिले सबैभन्दा पहिला संघीयताको अभ्यासलाई सबै नेपाली जनता मिलेर विकसित र समृद्धि बनाउँदै जानुपर्ने आवश्यकता देखिएको छ । संघीयता सफल नभए मुलुक असफल हुने खतरा हुन सक्छ । हुन त यो संघीयता हचुवा र विनाअध्ययन ल्याइएको हो ।

संघीयता सफल बनाउन धेरै चुनौती छ । तर, जे भए पनि अब मुलुकलाई पछाडि धकेल्नु हुँदैन । मुलुक अगाडि बढ्ने क्रममा छ । सबैले राष्ट्रलाई हितमा राखेर हिँड्नुपर्ने आवश्यकता छ । अब नेतामा इच्छाशक्ति हुने हो भने मुलुक बनाउने यो उपयुक्त अवसर हो । यो अवसर गुम्न दिनु हुँदैन । अब नेता बन्ने होइन, देश बन्नुपर्छ । अब नेताका निजी महल बन्ने होइन, सरकारी भवन बन्नुपर्छ । प्रदेशका कार्यालय नभएर भाडामा काम चलाइरहेका छन् ।

देशको अवस्था यस्तो विकराल र चौपट छ । मुलुक विकास र समृद्धिको कठिन यात्रामा छ । यो यात्रा पूरा गर्न सबै नेपाली एक ढिक्का भएर लाग्नुपर्छ । एक्लो प्रयासले विकास समृद्धि र सुशासन कायम गर्न कठिन हुन्छ । त्यसैले सरकारले जनतालाई आह्वान गर्नुपर्छ । जनताको प्रयासबाट नै विकास र समृद्धि सम्भव हुन्छ । मुलुकसामु धेरै चुनौती र चुनौतीसँगै अवसर पनि छन् ।नयाँ संविधान कार्यान्वयनमा आएसँगै मुलुकले अग्रगतिको दिशा छोपेको छ ।

अब सरकारले चुनौतीका पहाडहरू छिचोल्दै देश र जनताको भाग्य चम्काउन अवसरहरूको खोजीमा खट्नुपर्छ । इतिहासकै शक्तिशाली प्रधानमन्त्री ओलीले आफूले चाहेको अवस्थामा मुलुकको भाग्य चम्काउन कतैबाट बाधा र अवरोध आउने अवस्था छैन । अब प्रधानमन्त्रीले आप्mनो शक्ति देश र जनताको भाग्य र भविश्य चम्काउने काममा खर्चिनुपर्छ ।

प्रतिक्रिया