मेरो पुनर्जन्मको तेश्रो वार्षिकोत्सव

लेखक : सञ्जिता आचार्य 

 जब वैशाख १२ आउँछ म सम्झन्छु ‘अँ साच्चै म त नाफाको जिन्दगी पो बाँच्दैछु है ?’ अनि म टोलाउन पुग्छु । मेरा आँखा अगाडि त्यो कहालीलाग्दो दिनका दृश्य सिनेमाका रिलझैँ फनफनी घुम्न थाल्छन् । वैशाखको महिना गर्मीले हपहप भएको शरीरलाई शीतलता मिलोस् भनेर घरको बार्दलीमा थिएँ । भर्खर मात्र एक घण्टाको उकाली ओरोली गरेको शरीरलाई बार्दलीमा आएको चिसो हावाले केही आराम दिँदै थियो ।

त्यति नै बेला आफू बसेको बार्दली हल्लिएको अनुभव भयो । बिस्तार बिस्तार पूरै घर नै हल्लिन थाल्यो । बार्दलीबाट तलतिर जाने कुनै हिम्मत नै आएन तर आमालाई भने बाहिर जानोस् बाहिर जानोस् भन्न भ्याएछु । त्यसपछिको घटनाक्रम के भयो थाहा छैन । करिब दुई घण्टापछि बारीको पाटामा अर्धचेत अवस्थामा म पल्टिरहेको थिएँ । अहिले उतिबेलाको घटनाक्रम मानसपटलमा आइरहन्छ । सानो छँदा हजुरआमाले ९० सालमा आएको भूकम्पको कुरा सुनाउनुहुथ्यो ।

मलाई एकादेशको कथाजस्तो लागेर आनन्द मानी सुनिरहन्थे । यो साँचो हो त हजुरआमा जिज्ञासा राख्थेँ । हजुरआमा भन्नुहुन्थ्यो, ‘यो मेरो जीवनको भोगाइ हो । यो सबै सत्य हो ।’ सायद यस्तै भोगाइ मेरै जीवनमै आइपर्यो । यही कुरा मैले पछिका पिँढीलाई सुनाउँदा उनीहरू पनि कथा नै सम्झन पुग्लान् । आखिर वास्तविकता त वास्तविकता नै हुन्छ । १२ वैशाख २०७२ को त्यो दिन । एक घण्टाको हिँडाइले लखतरान परेको शरीर । कहिले घर पुगौँला र आराम गरौँला भनेर छिटोछिटो हिँडेकी थिएँ ।

घर पुग्ने बित्तिकै आमाले खाना खान बोलाउँदा पनि नखाइकन बार्दलीमा उक्लेकी थिएँ । हातमा मोबाइल खेलाउँदै आराम गर्दै थिएँ । कोक्रो हल्लाएजस्तो हुन थाल्यो । एकछिन त के भएको पत्तो नै लगाउन सकिनँ । हल्लाई थामिनुको सट्टा बढ्दै गयो । पुरै घर थर्किन थाल्यो । अत्तालिएर मुखबाट आमा आमा शव्द निस्कन थाल्यो । आमा बाहिर बाहिर भाग्नोस् भन्न भ्याएछु । त्यसपछि मेरो श्वास, आँखा बन्द भएझैँ हुन थाल्यो । शरीरले कुनै काम गर्न नै सकेन ।

नदीको भेलले बगाएर ल्याएका सामानलाई किनारमा ढुंगामा बज्राए जस्तै घरमा भएका सामानले मलाई हिर्काइरहेका थिए । भण्डार गरिएका अन्नका दानाले मलाई पुरिरहेको थियो । पिता पुर्खाले बनाएको त्यो ढुंगा माटाले बनाएको वास पनि मै माथि आइरहेको थियो । चारैतिर भत्केका भवनहरूको धुलोले मेरो आँखा देख्नै नसक्ने भएका थिए । म घरभित्रै पुरिएछु । करिब दुई घण्टापछि अर्धचेत अवस्थामा म बारीको पाटामा सुतिरहेको थिएँ ।कता कताबाट आमाको चित्कार कानमा ठोक्कियो, ‘मेरी छोरी मरी ।

आँखै अगाडि घरले पुरिँदा पनि केही गर्न सकिनँ ।’ बन्द आँखा अर्धचेत अवस्थामा आमाको आवाजले म ज्युँदै भएको आभास मिलिरहेको थियो । अरूहरूको गाइँगुइँ आवाज पनि विस्तारै विस्तारै सुनिन थाले । विद्यालय पढ्ने बेलामा शिक्षकले भनेको र रेडियोमा आउने विज्ञापनले भूकम्प आउँदा सिकाएको सावधानीका कुरा मैले बेहोसी हालतमा पनि गर्न पुगेकी हुन सक्छ । धुलो माटोले पुरिएको शरिरलाई अन्य चिजले हिर्काउँदा पनि टाउको जोगाउन पुगेछु ।

होस खुल्दा मेरो अगाडि आमा, बुबा र दादा बसिरहनुभएको थियो । केही समयसम्म भएका घटनाक्रमको कुनै अत्तोपत्तो नै भएन । उठ्न प्रयास गरेँ तर सफल भइनँ ।हातखुट्टा चलाउन कोसिस गरेँ, सकिनँ । करिब एक घण्टापछि बल्ल उठ्न सफल भएँ । चारैतिर आँखा दौडाएँ कोलाहलबाहेक केही देखिनँ । अघि आराम गरेको बार्दली भएको घर खोजे तर त्यहाँ कतै थिएन ।

 एघार कक्षाको परीक्षाको तयारीमा रहेको वेलामा आएको यो कहालीलाग्दो क्षण आज पनि ताजै छ । केही समय ढिलो उद्धार भएको भए सायद मलाई पनि लान्थ्यो होला । तर, हजुरआमालाई भने त्यही घरले थिचेर मृत्यु भयो । आज पनि त्यो कहालीलाग्दो घट्ना सम्झँदा मेरो मानसिक, शारीरिक अवस्था शून्य हुन पुग्छ । जे होस् त्यस कालरुपी भूकम्पलाई जितेर आएको हुनाले मेरो यो पुनर्जन्म हो । तेस्रो जन्मोत्सव हो । ०००

प्रतिक्रिया