स्वदेश फर्कदा न पत्नी, न सम्पत्ति

तस्बीर : गुगलबाट

–सुरेन्द्र भण्डारी  झापा । विदेशमा आफैँले कमाएर पठाएको सम्पत्तिले घर त बन्यो तर फर्किएर आउँदा त्यही घरबाट आफू स्वयं निकालिएँ । आफ्नै घरबाट निकालिँदा ती पुरुष झस्किए । कारण थियो, उनलाई थाहै नदिई पत्नीले ‘सम्बन्ध विच्छेद’ गरिसकेकी रहिछिन् ।

घटना हो झापाको बिर्तामोड नगरपालिका–५ को ।  चर्काे घाम–गर्मी, भोक–तिर्खा सबै सहेर बाध्यतावश परिवारबाट टाढिएर सात समुन्द्रपारि ती पुरुषले बिताएका १९ वर्ष बेकार मात्र भएन जवानी ढल्कियो, रोगले सतायो, जीविकोपार्जनको आधार सारा सम्पत्ति गुम्यो ।

त्यही पीडाले अन्ततः उनको मृत्यु नै भयो ।  १९ वर्षअघि रोजगारीको सिलसिलामा उनी मलेसिया गएका थिए । केही वर्ष मलेसियामा बिताएर घर फर्किएका उनी थप धन कमाउन र परिवारलाई सुखसयलसँग पाल्न भन्दै पुनः इराक पुगे । पछि अफगानिस्तानमा रोजगारीमै रहेका वेला बिरामी परेपछि उनी घर फर्किएका थिए । तर, पत्नीले उनलाई आठ वर्षअघि नै ‘सबन्ध विच्छेद’ दिएकी रहिछन् । भएको चलअचल सम्पत्ति पत्नीकै नाममा थियो । पतिसँग ‘सबन्ध विच्छेद’ गरे पनि उनले पनिलाई त्यो कुरा सुनाइनन् ।

पतिले विदेशबाट पठाएको सबै सम्पत्ति हात पारेपछि बिरामी अवस्थामा फर्किएका ती पुरुषलाई उनले गलहत्याउँदै घरबाट निकालिन् । त्यो वेला मात्र उनले थाहा पाए पतिले थाहै नदिई ‘सबन्ध विच्छेद’ गरेकी रहिछन् । उनका एक छोरी छन्न् । उनी आमासँगै बस्दै आएकी छिन् ।  पत्नीले गलहत्याएर घरबाट निकालेपछि न्यायको खोजीमा केही दिनअघि उनी बिर्तामोड नगरपालिका आएको नगरपालिकाका उपप्रमुख पवित्रा महतरा प्रसाईले बताइन् ।

उनले भनिन्, ‘पत्नीका कारण आफू पीडित बनेको भन्दै नगरपालिकाको न्यायिक समितिमा निवेदन दिएपछि हामीले सबै कुरा बुझ्यौँ ।  वास्तबमै उनी पीडित रहेछन् ।’ न्यायिक समिति संयोजकसमेत रहेकी प्रसाईंले भनिन्, ‘यो विषयमा छलफलका लागि प्रक्रिया अघि बढाउनुपूर्व ती पुरुष बिरामी भएकाले उपचारका लागि पठाइएको थियो । उनको त्यही क्रममा मृत्यु भयो ।’ बिर्तामोड नगरपालिका–९ निवासी रिजाल थरका अर्का एक व्यक्तिको पीडा पनि उस्तै छ ।

वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरबमा रहेका वेला पतिलाई थाहै नदिई पत्नी अर्कैसँग गएपछि उनको पनि घर भाँडियो । भएको अचल सम्पत्ति पनि पत्नीको नाममा रहेछ । बिर्तामोड नगरपालिकाका उपप्रमुख प्रसाईंले भनिन्, ‘पतिले पठाएको सबै पैसा लिएर उनी सशस्त्र प्रहरीका एक व्यक्तिसँग गएकी रहिछन् । उजुरी परेपछि उनलाई पक्राउ गरेर आधा सम्पत्ति ती पुरुषलाई दिलायौँ ।’ ‘खोटाङमा कार्यरत सशस्त्र प्रहरीलाई समेत इलाका प्रहरी कार्यालय बिर्तामोडको सहयोगमा पक्राउ गरी छलफलबाटै यो समस्याको समाधान गरेका छौँ’, उपप्रमुख प्रसाईंले भनिन्, ‘मैले भनेका दुई वटा केस प्रतिनिधि घटना मात्रै हुन् ।

यस्ता उजुरी धमाधम न्यायिक समितिमा आउन थालेका छन् ।’ बिर्तामोडमा मात्र होइन यस्ता उजुरी दमक नगरपालिकामा पनि अधिक मात्रामा परेका छन् । दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीका अनुसार पुरुष हिंसाका उजुरी झन्डै दुई दर्जनको हाराहारीमा न्यायिक समितिमा परेका छन् । अधिकांश उजुरी विदेश जाने पुरुषका छन् । कतिपयले मौखिक सल्लाह लिएर विवाद समाधान गरेका छन् भने कतिपयले न्यायिक समितिमै उजुरी दर्ता गराएका छन् ।

उपप्रमुख अधिकारीले भनिन्, ‘वैदेशिक रोजगारीले समाजमा एकातर्फ राम्रो गरेको छ भने अर्कातर्फ घर परिवार बिगारेको पनि छ ।’  दमक नगरपालिकामा पत्नीको नाममा जग्गा भएकाहरू धेरै अर्कैसँग हिँडेका उजुरी परेका छन् । ‘वैदेशिक रोजगारीमा रहेका पुरुष घर फर्किंदा पत्नी बेपत्ता बनेका र धनसम्पत्तिसमेत लिएर हिँडेका उजुरी पर्न थालेसँगै दमकमा पुरुष पनि हिंसामा परेको हामीले पाएका छौँ’, उपप्रमुख अधिकारीले भनिन् । पत्नी विदेश गएपछि नफर्किने र उतै अर्कैसँग विवाह गरेर घरजम गरेका र पतिपत्नीको संयुक्त नाममा रहेको अचल सम्पत्ति रोकिएकाले फुकुवा गरी पाउँ भनेर नगरपालिकामा केही उजुरी परेको बताइएको छ ।

दमक नगरपालिकामा अधिकांश उजुरी अंश, साँधसिमाना, छोराछोरीले बुबाआमाको हेरचाह नगरेको र पुरुष हिंसाका उजुरी पनि धमाधम परिरहेको न्यायिक समिति संयोजक समेत रहेकी अधिकारीले बताइन् । उनले भनिन्, ‘पुरुष पनि हिंसामा परेर न्याय माग्दै आएकामा दुई जनाको सम्बन्ध विच्छेदको सिफारिस नै गरिसकेका छौँ ।’

साँध सिमानाका बढी उजुरी
स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा व्यवस्था भएअनुसार स्थानीय तहले स्थानीयस्तरमा न्यायिक समितिमार्फत विवाद समाधानका वैकल्पिक उपाय अवलम्बन गर्न सुरु गरेसँगै स्थानीय तहमा उजुरीको चाङ लाग्न थालेको छ ।  अधिकांश उजुरी साँध सिमाना र पतिपत्नीका विवादका पर्ने गरेको मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेतीले बताइन् । उनले भनिन्, ‘मेचीनगरमा ९० वटाभन्दा बढी न्यायिक समितिमा उजुरी परेका छन् ।

त्यसमा अधिकांश साँध सिमानाका छन् । त्यसपछि पतिपत्नीका विवादका उजुरी छन् ।’  उपप्रमुख उप्रेतीले भनिन्, ‘हामीले परेका उजुरीमध्ये ५५ वटामा मेलमिलाप गराइसकेका छौँ । १३ वर्षसम्म नमिलेको मुद्दा पनि हामीले मिलायौँ । मुद्दा नमिलेर अदालतसम्म जानुपर्ने अवस्था आएको छैन ।’  मेचीनगरमा मात्रै होइन दमक नगरपालिकामा पनि अंश, साँध सिमाना मिचिएका उजुरी नै बढी परेका छन् । यता, बिर्तामोड नगरपालिकामा पनि जग्गा साँध सिमाना सँगसँगै महिला हिंसाका उजुरी बढी पर्ने गरेका छन् ।

कस्ता उजुरी हेर्छ स्थानीय तहले
न्याय सम्पादनका लागि नेपालको संविधानको धारा १२७ मा सर्वाेच्च अदालत, उच्च अदालत र जिल्ला अदालत गरी तीन तहको अदालतको व्यवस्था भए पनि संविधान, अन्य कानून र न्याय मान्य सिद्धान्त बमोजिम नेपालको न्यायसम्बन्धी अधिकार प्रयोगका लागि कानुनबमोजिम मुद्दा हेर्न स्थानीयस्तरमा न्यायिक निकाय वा विवाद समाधानका वैकल्पिक उपाय अवलम्बन गर्न अन्य निकाय गठन गर्न सकिने व्यवस्था छ ।

सोहीअनुसार नेपालको परिवर्तित व्यवस्थामा नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तथा गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समिति रहने व्यवस्था छ । हालै प्रमाणीकरण भएको स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा पनि सर्वमान्यतामा प्रतिकूल असर नपर्ने गरी गाउँसभा, नगरसभा, मेलमिलाप र मध्यस्थताको व्यवस्थापन गर्नुपर्ने नीतिगत व्यवस्था छ ।

स्थानीय तहमा रहेका न्यायिक समितिलाई आलीधुर, बाँध पैनी, कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोग, अर्काको बाली नोक्सानी गरेको, चरन, घाँस, दाउरा, ज्याला मजदुरी नदिएको, घरपालुवा पशुपन्छी हराएको वा पाएको, जेष्ठ नागरिकको पालनपोषण तथा हेरचाह नगरेको, नाबालक छोराछोरी, पतिपत्नीलाई इज्जत आमद अनुसार खानलाउन वा शिक्षादीक्षा नदिएको, वार्षिक २५ लाख रुपैयाँसम्मको बिगो भएको घरबहाल र घरबहाल सुविधासम्बन्धी विवादको निरुपण गर्ने अधिकार छ ।

त्यसैगरी, अन्य व्यक्तिको घरजग्गा, सम्पत्तिलाई असर पर्ने गरी रुखविरुवा लगाएको, आफ्नो घर वा बलेँसीबाट अर्काको घरजग्गा वा सार्वजनिक बाटोमा पानी झारेको, सँधियारको जग्गातर्फ झ्याल राखी घर बनाउँदा कानुन बमोजिम छाड्नुपर्ने जग्गा नछोडेको, कसैको स्वामित्वमा भए पनि परापूर्व कालदेखि सार्वजनिक रूपमा प्रयोग हुँदै आएको बाटो, बस्तुभाउ निकाल्ने निकास, बस्तुभाउ चराउने चौर, कुलो, नहर, पोखरी, पाटी पौवा, अन्त्येष्टिस्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्याएको र संघीय वा प्रदेश कानुनले स्थानीय तहबाट निरुपण हुने भनी तोकेका विवादहरू स्थानीय तहमा गठित न्यायिक समितिले निरुपण गर्न सक्नेछन् ।

यसबाहेक सरकारी, सार्वजनिक वा सामुदायिकबाहेक एकाहकको जग्गा अर्काले च्यापी मिची वा घुसाई खाएको, सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बनाएको, पतिपत्नीबीचको सम्बन्ध विच्छेद, अंगभंग बाहेकको बढीमा एक वर्षसम्म कैद हुनसक्ने कुटपिट, गाली बेइज्जतीसम्बन्धी परेका उजुरीको छानबिन गरी विवाद मिलाउने अधिकार स्थानीय तहलाई भएको बाह्रदशी गाउँपालिका उपाध्यक्ष रत्नाकुमार राजवंशीले बताए ।

त्यस्तै, लुटपिट, पशुपन्छी छाडा छोडेको वा पशुपन्छी राख्दा वा पाल्दा लापरबाही गरी अरूलाई असर पारेको, अरूको आवासमा अनधिकृत प्रवेश गरेको, अर्काको हकभोगमा रहेको जग्गा आवाद वा भोगचलन गरेको, ध्वनि प्रदूषण गरी वा फोहरमैला फाली छिमेकीलाई असर पुर्याएको लगायतका विवादमा न्यायिक समितिले मेलमिलापको माध्यमबाट विवाद निरुपण गर्न सक्ने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया