दुर्गमका वासिन्दा स्वास्थ्य सेवाबाट वञ्चित

राजेन्द्र बहादुर सिंह   बझाङ । सरकारले प्रत्येक नागरिकलाई स्वास्थ्य अधिकार सुनिश्चित गरेको भए पनि बझाङस्थित दुर्गाथली गाउँपालिका– ६ चुवावन गाउँका वासिन्दा भने अझै स्वास्थ्य सेवाबाट वञ्चित भएका छन् । गाउँमा स्वास्थ्यसंस्था नभएपछि औषधि नपाउँदा यतिखेर चुवावनवासी स्वास्थ्य सेवाबाट वञ्चित भएका हुन् । सामान्य बिरामी पर्दा तथा बच्चालाई खोप लगाउनुपर्दा चुवावनवासीले ३ घण्टा पैदल हिँडेर ठाँटा स्वास्थ्य चौकी पुग्नुपर्ने बाध्यता रहेको छ ।

गाउँबाट ३ घण्टाको दूरीमा स्वास्थ्य संस्था भएकाले सुत्केरी महिलालाई स्टे«क्चरमा बोकेर लैजानुपर्ने बाध्यता चुवावनवासीले झेल्दै आएका छन् । औषधिको नाममा सिटामोल पनि उपलब्ध नभएपछि चुवावन गाउँका कतिपय बिरामीले अकालमै ज्यान गुमाउनुपरेको स्थानीय शान्ति महतले बताइन् । उनले भनिन् ‘स्वास्थ्य संस्था लैजाँदै गर्दा गाउँका दुई महिलाले बाटोमै बच्चा जन्माइन् ।’

स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका चुवावनवासी गाउँमा स्वास्थ्य संस्था स्थापना गरिनुपर्ने माग गर्दै आएका छन् । सडक बत्ती र खानेपानीसमेत उपभोग गर्न नपाएका चुवावनवासीलाई देशमा सरकार भए नभएको समेत भान छैन । सरकारले सिंहदरबारको अधिकार गाउँमा उपलब्ध गर्ने भने पनि अधिकांश बझाङका दुर्गम गाउँहरूमा भने अझै स्वास्थ्य सेवाको पहुच पुग्न सकेको छैन् । चुवावनवासी जस्तै छबिस पाथिभरा गाउँपालिका– ७ बुडखोरी गाउँमा पनि स्वास्थ्य संस्था छैन ।

उनिहरूले स्वास्थ्य सेवा लिन २ घण्टा पैदल हिँड्दै बिसौना स्वास्थ्यचौकी पुग्नुपर्ने बाध्यता रहेको छ । स्थानीय सरकार बने पनि बझाङका दुर्गम बस्तीहरूमा स्वास्थ्य शिक्षा बिजुली सडक लगाएतका थुप्रै अभावहरू रहेका छन् । बझाङको अर्को दुर्गम साइपाल गाउँपालिकास्थित धुली र बलौडी गाउँमा पनि स्वास्थ्य संस्थाको अभाव रहेको छ ।

साइपालका स्थानीयवासीले स्वास्थ्य सेवा लिन ४ घण्टा पैदल हिँड्नुपर्ने अवस्था रहेको छ । गतवर्ष मात्र धुली गाउँकी एक महिलाको सुत्केरी गराउन सदरमुकाम ल्याउँदै गर्दा बाटोमा मुत्यु भएको थियो । अशिक्षा गरिबी र बेरोजगार व्याप्त भएकै कारण बझाङका दुर्गम गाउँका महिला तथा केटाकेटीहरूमा स्वास्थ्य सेवाको पहुँच अझै पुग्न सकेको छैन् । सामान्य औषधी उपचार पनि गाउँमा हुन नसक्दा दुर्गमका कतिपय वासिन्दाले अकालमै ज्यान गुमाउनुपरेको अवस्था छ ।

दक्ष स्वास्थ्यकर्मीको अभाव भएकाले दुर्गमका गाउँहरूमा अझै स्वास्थ्य सेवा पुर्याउन समस्या रहेको जिल्ला अस्पताल बझाङले जनाएको छ ।गाउँपालिकाहरूलाई औषधी खरिदको जिम्मा दिएको भएता पनि दुर्गमका स्वास्थ्य संस्थामा हालसम्म पनि औषधी परिपुर्ति हुन नसकेको जानकारी प्राप्त भएको छ ।

जसका कारण सामान्य औषधि पनि निजी क्लिनिकहरूबाट किन्नुपर्ने स्थानीयको बिडम्बना रहेको छ । प्रत्येक बस्तीमा स्वास्थ्य सेवा विस्तार गरी सहज र सुलभ रूपमा औषधी उपचार गरिनुपर्ने बझाङका दुर्गम बस्तीका वासिन्दाहरूले माग गर्दै आएका छन् ।

प्रतिक्रिया