नेपाललगायत विश्वका कुनै पनि मुलुकको राजनीतिक परिवेशलाई नियालेर हेर्ने हो भने मौन अवस्था रहेका नागरिक समाज सशक्त मतदाताको रूपमा रूपान्तरित भएपश्चात् : लोकतान्त्रिक शक्तिहरूको वास्तविक अग्निपरीक्षा सुरु हुन्छ, तत्पश्चात् निर्वाचनको नतिजाले तहगत आधारमा सम्बद्ध समूहलाई अति उत्तम, मध्यम, निम्नमध्यम वा अयोग्य घोषित गरी जनमतले गर्ने सहि मूल्याकंन नै धाँधलीरहित निर्वाचन प्रणाली हो ।
यस गहन तथ्यलाई अध्ययन गर्दा हालै सम्पन्न निर्वाचनको नतिजाले वाम गठबन्धनको समूहलाई वर्तमान परिपेक्ष्यमा मुलुकमा रहेको अन्य लोकतान्त्रिक समूहको तुलनामा सत्ता आरोहणको लागि योग्य छौँ भनी प्रमाणित गरेको अवस्था मान्न सकिनेछ । जस्को प्रत्यक्ष ऋणात्मक प्रभाव प्रमुख लोकतान्त्रिक समूह नेपाली कांग्रेसलाई परेको छ । तद्अनुरूप सम्बद्ध पक्ष नेपाली कांग्रेसले आफ्नो राजनीतिक दर्शनको आत्मपरीक्षण गर्नुपर्ने अवस्था सिर्जना भएको देखिन्छ ।
समीक्षात्मक रूपमा निर्वाचनलाई हेर्ने हो भने धेरै हदसम्म नेपाली कांग्रेस पार्टीले सफलता प्राप्त गरेको मान्न सकिन्छ । किनकी मुलुकमा लामो समय देखिन कायम रहन आएको संक्रमणकालीन अवस्थालाई पार गर्दै तिनै तहको निर्वाचनहरू सफलतापूर्वक सम्पन्न गराई नेपाल राज्यको गणतन्त्रात्मक संविधान ०७२ लाई पूर्ण कार्यान्वयन गराउने क्रममा यो समूहलगायत शान्तिपूर्वक सहयोग गर्ने अन्य लोकतान्त्रिक समूहको योगदानलाई सरहाना गर्दै मुक्तकण्ठले प्रशंसा गर्नुपर्ने हुन्छ ।
यथार्थमा सम्पूर्ण पक्षको वास्तविक सदासयताको कारण मुलुकमा लोकतान्त्रीक गणतन्त्र पूर्णरूपमा स्थापित गराउन सम्भव भएको हो । यती हुँदाहुँदै पनि समयको वास्तविक मागलाई नेपाली कांग्रेसले सहजरूपमा पहिचान गर्न नसक्दाको परिणाम निर्वाचनको समयमा ऋणात्मक प्रभाव भोग्न बाध्य हुनुपरेको तितो यथार्थ हामीहरू कसैको सामु लुक्न सकेको छैन । यस गहन तथ्यलाई आत्मसाथ गर्दै भावी रणनीतिहरू तर्जुमा गर्नुपर्नेमा ठिक विपरीत अवस्था कायम राख्ने प्रत्यत्नस्वरूप सम्बद्ध लोकतान्त्रिक समूह नेपाली कांग्रेसभित्रै पराजयको वास्तविक भागिदारको लागि एक आपसमा आरोप प्रत्यारोपको राजनीतिक द्वन्द्व खडा भएको पाइयो ।
निश्चय पनि लोकतन्त्रमा आत्ममूल्यांकनको परिणामले राजनीतिमा निखारपन आउनुको साथै भावी राजनीतिको मार्ग दर्शन पहिल्याउने यथार्थपरक कार्यमा सकारात्मक सोचको अभिवृद्धि हुन जानेछ । यस प्रकारको आरोप–प्रत्यारोपको संस्कार कुनै पनि लोकतान्त्रिक छवि बोकेको समूहलाई त्यती शोभनीय पक्कै पनि देखिँदैन । प्रस्तुत अवस्था हावि हुने प्रवृत्तिले लोकतन्त्रको हित नगर्ने निश्चित छ ।
यस्को अतिरिक्त भावी निर्वाचनको सफलताको कसिमा समेत न्यूनताको प्रदर्शन हुने सम्भावना रहन्छ । किनकी प्रस्तुत व्यवहारले अन्तत : अराजकतालाई नै प्रोत्साहन दिने प्रष्टै छ । यस्मा विशेषगरी ध्यान दिनुपर्ने कुरा के छ भने लोकतन्त्रको हिमायती हौ भन्ने समूहभन्दा अग्रणी स्थानमा बहुसख्यत नागरिक समाज रहेका हुन्छन् भन्ने वास्तविक तथ्यलाई हेक्का राखी कार्य गर्नु नै लोकतान्त्रिक संस्कृतिको विकास गर्नु हो ।
लोकतन्त्रको उच्च छवि बोकेको अग्रणी लोकतान्त्रिक समूह भइकन पनि सत्यपरक तथ्यको भयबाट भयभित भई आर्थिक नाकाबन्दिको सन्दर्भमा नागरिक समाज समक्ष पार्टीको आधिकारीक धारणा सही समयमा उद्घोष गर्नमा कन्जुस्यार्इं गरेकै कारण निर्वाचनको समयमा विजयीको असली हकदार बन्नबाट विमुख हुनुपरेको हो ।निःसन्देश : नागरिक समाजसमक्ष यसै वास्तविक यथार्थलाई सहीरूपमा उच्चारण गर्न समक्ष भएकै कारण वाम गठबन्धनले वर्तमान राजनीतिमा सफलता प्राप्त गरेको हो ।
यस्को ठिक विपरीत नेपाली कांग्रेस सत्ता राजनीतिको खेलमा पृथक रही आरोप प्रत्यारोपको राजनीतिमा अग्रणी स्थान ओगटन समक्ष भएको पाइयो । लोकतन्त्रको वास्तविक मूल्य र मान्यतालाई मूलमन्त्र मान्दै आएको नेपाली कांग्रेसले आफ्नो आदर्श नीतिलाई लत्याउने प्रवृति नै अन्ततः वर्तमान राजनीतिक असहजताको प्रमुख कारक तत्व मान्न सकिन्छ ।अन्य समूहको तुलनामा सिद्धान्तविहिन धुलमुले रणनीति अवलम्बन गर्दै तौल भारी जता देखिन्छ त्यतै लाग्ने प्रवृत्तिगत विशेषताका कारण नेपाली जनताले चाहँदा–चाहँदै पनि राजनीतिको गणितीय खेलमा न्यून रहेको हुँदा पराजयको भान हुन पुगेको देखिएको मात्र हो ।
वास्तवमा लोकतन्त्रको हिमायती पक्ष रहेको नेपाली कांग्रेसको मतदाता संख्या नघटेको तथ्य निर्वाचनको समानुपातिक तर्फको नतिजाले प्रष्टाएको छ । यती हुँदाहुँदै पनि पराजय आफ्नो कारणले नभई बाह्य समूहको राजनीतिक चलखेलको प्रभावस्वरूप उत्पन्न भएको नतिजाको परिणाम हो भन्ने कुराको खोज तथा अन्वेषण नेपाली कांग्रेस पार्टीभित्रै हुने गरेको पाइयो । जसको लागि आफ्नै राजनीतिक सगोत्री भाइ–भाइको बीचमा द्वन्द्व सिर्जना भएको छ । यस्ता कदमहरू क्षणिक परिवेशमा पक्ष–विपक्षमा लाग्ने समूहको लागि राजनीतिक छेडखानी गर्ने अवसरहरू पक्कै पनि प्राप्त हुन सक्लान् ।
तर मुलुकको जेठो लोकतान्त्रिक समूहभित्रै प्रस्तुत अवस्था कायम रहने हो भने अन्य राजनीतिक समूहबीच कस्तो अवस्था रहला सहजै अनुमान गर्न सकिनेछ । तसर्थ यस प्रकारको राजनीतिक चरित्रको विकासले एक आपसमा कटुटा पैदा गर्ने निश्चित छ ।यस्ता आरोपित व्यवहारले अन्तत : लोकतन्त्रको समृद्धिमा बाधा उत्पन्न हुन गई जनमतबाट तिरस्कृत हुने परिस्थिती सिर्जना हुने भएको हुँदा यस प्रकारको गलत व्यवहारलाई सुधार गर्दै समूहगत भएको गुण एवं अवगुणलाई समूहकै नाफा नोक्सानको रूपमा लिई हिसाब–मिलान गर्नुपर्ने हुन्छ ।
जसले लोकतन्त्रको संस्थागत विकासमा नयॉ पिल्लर स्थापित भई गलत प्रवित्तिबाट प्राप्त भएको दुष्परिणामलाई पाठको रूपमा लिन सकियो भने सम्बद्ध राजनीतिक समूहको उचाई जनस्तरमा झन्–झन् माथि उठ्न जाने देखिन्छ । यसको अभावमा सम्बद्ध पक्षको राजनीतिक भविष्य नै अन्योलको भुमरीमा फस्न जाने स्वयमसिद्ध तथ्यलाई अन्यथा लिन मिल्दैन । किनकी नराम्रा कुरालाई पनि आत्मसाथ गर्ने व्यवहारले नै नौलो राजनीतिक अन्वेषणको सुत्रपात हुने निश्चित छ । वर्तमान अवस्थामा आफ्नो समूहलाई सहज विजय प्राप्ति भएन, अन्य कुनै समूहलाई यस्को श्रेय प्राप्ति भयो भन्दैमा ईष्र्यामूलक अराजक परिस्थितिलाई व्यवहारमा ल्याउने चेष्टा गरियो भने निश्चय पनि नागरिक समाज समक्ष लज्जाबोध कायम रहन जानेछ ।
प्रस्तुत तथ्यले दिर्घकालीन एवं दुरगामी छाप छोड्ने भएको हुदा लोकतन्त्रको सुदृढीकरण तथा विकासको लागि भए पनि विचारमा संयमता, व्यवहारमा न्यायोपन तथा मृदुभाषित्वबाट अभिप्रेरित भई जनमानषमा अमूल्य छाप छोड्न सक्ने आधार स्थम्भ तयार गर्नु आजको सन्दर्भमा ज्यादै सान्दर्भिक देखिन्छ ।
परिणामत : भविष्यप्रति आशावादी हुँदै धैर्यपूर्वक राजनीतिको क्षेत्रमा आफ्नो सत्व्यवहार प्रस्तुत गर्नु नै दुरदर्शी राजनेता एवंं अब्बल प्रजातान्त्रिक व्यवहार हुन् भन्ने तथ्यलाई सम्बद्ध पक्षले नभुली कार्य गर्नु नै लोककल्याणकारी कार्य मान्न सकिनेछ । यस कार्यलाई पूर्ण कार्यान्वयन गराउन स्वच्छ राजनीतिक चरित्र आवश्यक पर्ने कुरालाई अन्यथा लिन मिल्दैन ।
प्रतिक्रिया