पारमाणविक कार्यक्रमको आर्थिक स्रोत के ?

सोल । एकपछि अर्को क्षेप्यास्त्र बनाउनका लागि उत्तर कोरियालाई कहाँबाट पैसा आउँछ ? झण्डै दुई वर्षयता विभिन्न देशहरूमा जारी एउटा अनुसन्धानात्मक रिपोर्टिङका अनुसार करिब डेढ लाख उत्तर कोरियालीहरू विदेशमा काम गर्छन् । उनीहरूले पठाएको रेमिट्यान्स किम जङ–अनको पारमाणविक कार्यक्रममा प्रयोग हुन्छ । गोप्यरूपमा फरक–फरक देशका केही पत्रकारहरूले एउटा अन्तर्राष्ट्रिय समूह बनाएर त्यस्तो रिपोर्टिङ गरेका हुन् ।

त्यस क्रममा उनीहरूले रुस, चीन र पोल्यान्डमा काम गरिरहेका उत्तर कोरियाली नागरिकहरूसँग कुरा गरेको बताएका छन् । ती उत्तर कोरियालीहरूले गर्दै आएको काम २१ औँ शताब्दीमा दासत्वजस्तै भएको बताएका छन् । प्रत्येक वर्ष एक अर्ब पाउन्ड कमाउनका लागि उनीहरूलाई विदेश पठाइएको बुझिएको छ ।

ब्रिटेनका लागि उत्तर कोरियाका उपराजदूत रहिसकेका थे यङ–हो भन्छन्, ‘यदि त्यो रकम विकासमा खर्च गरिएको भए अर्थतन्त्रमा निकै सुधार आउने थियो । विदेशबाट आउने रकम किम र उनका परिवारको सुखसयल, पारमाणविक कार्यक्रम र सेनामाथि खर्च हुन्छ । यो एउटा तथ्य हो ।’ रिपोर्टिङमा संलग्न पत्रकारहरूको एउटा गोप्य टोली रुसको भ्लादिभोस्तोक सहरमा बस्नका लागि कोठा खोजिरहेका मानिसहरूतर्फ गयो र काम गर्ने उत्तर कोरियालीहरूलाई भेट्यो ।
पत्रकारः तपाईँले यहाँ काम गर्दा कति पैसा पाउनुहुन्छ ?
उत्तर कोरियालीः सबै रकम हाम्रा टोली नाइकेले बुझ्छन् ।
पत्रकारः टोली नाइके ? जो तपाईंहरूसँग छन्, ती रुसी व्यक्ति ?
उत्तर कोरियालीः होइन, एकजना उत्तर कोरियाली व्यक्ति ।

ती उत्तर कोरियालीहरू अपरिचित मान्छेसँग कुरा गर्न अप्ठ्यारो मानिरहेका थिए । तर नाम उल्लेख नगर्ने शर्तमा एकजना उत्तर कोरियाली कामदार कुरा गर्न तयार भए । उत्तर कोरियाली कामदारः ‘यहाँ हामीहरूसित कुकुरलाई जस्तो गरिने व्यवहार गरिन्छ र राम्रोसँग खाना पनि दिइँदैन । यहाँ बसेर तपाईं आफूलाई मान्छे ठान्न छोड्नुहुन्छ ।’ आफ्नो अधिकांश आम्दानी अरू ले नै बुझ्ने गरेको उनले बताए ।

उत्तर कोरियाली कामदारः ‘केही मानिसहरू यसलाई पार्टीप्रतिको हाम्रो जिम्मेवारी ठान्दछन् भने केही मानिसहरू क्रान्तिप्रतिको हाम्रो जिम्मेवारीका रूपमा लिन्छन् ।’ पोल्यान्डमा ८ सय जना उत्तर कोरियालीहरू कार्यरत छन् । पत्रकारहरूको गोप्य टोलीले पोल्यान्डको स्टेटीन सहरमा जागिर दिने एउटा कम्पनीका प्रतिनिधिका रूपमा एकजना सुरक्षागार्डलाई भेट्यो ।

सुरक्षागार्डः ‘उत्तर कोरियालीहरू स्टेटीन सहरमा जताततै भेटिन सक्छन् । उनीहरूको अवस्था हाम्रो यहाँ साम्यवाद भएको बेलाको जस्तै छ ।  तपाईंलाई थाहा छ उनीहरूलाई अरूसँग बोल्न किन अनुमति छैन ? त्यो यसकारणले कि कतै पश्चिमाले उनीहरूलाई लोभ्याइन देओस् ।’ ती सुरक्षागार्डले पत्रकारहरूको टोलीलाई उत्तर कोरियाली मजदुरका नाइकेसँग भेट गराए ।

नाइके : ‘हाम्रा मान्छेहरू पोल्याण्डमा काम गर्न आएका छन् । हामी पोल्यान्डका मानिसहरू जस्तै प्रत्येक दिन ८ घण्टा काम गर्ने र घर जाने गर्न सक्दैनौँ । आवश्यकता अनुसार हामी काम गछौँ ।’ बार्सास्थित उत्तर कोरियाली दूतावासले आफ्नो देशका नागरिकहरूले पोल्यान्डको कानुन र युरोपेली संघको नियम अनुसार काम गरिरहेको जनाएको छ ।पोल्यान्डको सरकारले उत्तर कोरियाली कामदारहरूको पैसा त्यसरी पठाउने गरिएको भन्नेबारे कुनै प्रमाण नभेटिएको बताएको छ ।
जेएमए नामक एउटा कम्पनीले उत्तर कोरियालीहरूलाई जागिर नदिएको र आफ्ना सबै कर्मचारीहरू कानुनी रूपमा काम गरिरहेको जनाएको छ । संयुक्त राष्ट्रसंघले गत डिसेम्बरमा उत्तर कोरियामाथि लगाएको प्रतिबन्धअनुसार उत्तर कोरियाली नागरिकहरूलाई विदेशमा काम गर्न रोक लगाइएको छ ।तर, त्यसभन्दा पहिल्यैदेखि उत्तर कोरियालीहरूलाई काम दिएका देशहरूको हकमा दुई वर्षपछि मात्रै त्यो प्रतिबन्ध लागू हुनेछ ।

प्रतिक्रिया