विश्वकै जेष्ठ व्यक्तिको निधन

टोक्यो । विश्वभरीका जीवित मानिसमध्ये सबैभन्दा जेष्ठ सदस्य जापानी नागरिकको १ सय १७ वर्षको उमेरमा शनिबार निधन भएको छ । स्थानीय अधिकारीले एएफपी समाचार समितिलाई आइतबार सो जानकारी दिएका छन् । जापानी महिला नाबी ताजिमाको १ सय १७ वर्षको उमेरमा शनिबार बेलुका झन्डै ८ बजेतिर निधन भएको स्थानीय सञ्चार माध्यमले आइतबार समाचार सम्प्रेषण गरेका छन् ।

उनको जन्म सन् १९०० को अगस्ट ४ का दिनमा भएको थियो । किकाइ द्विपको कागोसिमा क्षेत्रमा पर्ने अस्पतालमा उनको निधन भएको सरकारी स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् । सन् २०१५ को सेप्टेम्बर महिनामा ताजिमा जापानको सबैभन्दा जेष्ठ नागरिक बनेका थिए ।

‘गिनिज बुक अफ बल्ड रिकर्ड’का अनुसार यसअघि विश्वको नै जेष्ठ नागरिक जमाइकाका भोइलेन्ट ब्राउन सन् २०१७ को सेप्टेम्बरमा निधन भएपछि विश्वको सबैभन्दा जेष्ठ नागरिकको खोजी भएको र ताजिमा विश्वको सबैभन्दा जेष्ठ नागरिक बनेका थिए । ताजिमाको निधनपछि विश्वकै अर्का जेष्ठ सदस्य पनि जापान कै नागरिक भएका छन् ।

झण्डै १ सय १२ वर्षका मसाजो नोनाका अहिले जीवित नागरिकमध्ये सबैभन्दा जेष्ठ नागरिक बनेका हुन् । जापानमा धेरै नागरिक लामो उमेर बाँच्ने गर्दछन् । झण्डै ६८ हजार जापानी नागरिक १ सय वर्षभन्दा बढी उमेरका सरकारी स्रोतले गत वर्ष नै जानकारी दिएको थियो ।

प्रतिक्रिया