विश्व नेता: जाे भ्रष्टाचारको खाडलमा जाकिए

विश्व जति सभ्य र विकसित हुँदै गइरहेको छ, भ्रष्टाचारका नमिठा खबर पनि उत्तिकै आइरहेका छन् । हुन त अहिले सूचना र सञ्चारको प्रभाव बढी भएर पनि यस्ता खबरहरू बढी सार्वजनिक भएका र बढी फैलिएका होलान्, तर यस्ता घटनामा कमी नआउनु भने अवश्य दुर्भाग्य हो । विश्व बैंकको एक तथ्यांकअनुसार हरेक वर्ष एक खर्ब अमेरिकी डलर भ्रष्टाचारका कारण अपचलन हुने गरेको छ । अझ जर्मनीको पसाओ विश्वविद्यालयको तथ्यांकले त यस अवस्थालाई थप भयावह देखाएको छ ।

सो विश्वविद्यालयका अनुसार हरेक वर्ष संसारको कुल गार्हस्थ उत्पादनको १२ प्रतिशत अर्थात् चार खर्ब डलर भ्रष्टाचारका कारण अपचलन भइरहेको छ । त्यसैगरी, ट्रान्सपरेन्सी इन्टरनेसनलका अनुसार संसारका सरकारहरूको सार्वजनिक खरिदको प्रक्रियामा हरेक वर्ष चार सय बिलियन अमेरिकी डलर भ्रष्टाचार भइरहेको छ ।

यसरी भ्रष्टाचार बढ्दै जानुको पछि परिवार तथा नातेदार र आफ्नो व्यवसायको प्रभाव, देशको राज्य संयन्त्रको अवस्था, राजनीतिक प्रतिशोध र सामाजिक मूल्य मान्यताजस्ता कारण शक्तिशाली हुने गरेको पाइएको छ । दण्ड सजाय भोगेका अधिकांश विशिष्ट वास्तवमै दोषी होलान् भने केही व्यक्तिमाथि राजनीतिक प्रतिशोध साँधिएको पनि हुन सक्ने देखिन्छ ।

भ्रष्टाचारका कारण राष्ट्रपति र प्रधानमन्त्री अपदस्थ हुनेमा अधिकांश अल्पविकसित तथा विकासशील देश रहेका छन् । भ्रष्टाचारी मानिएका विश्वका सबै शक्तिशाली व्यक्तिको विवरण पेस गर्न सम्भव नभए पनि पछिल्ला केही वर्षमा भ्रष्टाचारको अभियोगमा जेलजीवन बिताउन वा पदत्याग्न गर्न बाध्य केही शक्तिशाली पात्रको यहाँ चर्चा गरिएको छ ।

पार्क गेउन हाई

दक्षिण कोरियाकी पहिलो महिला राष्ट्रपति पार्क गेउन हाइलाई भ्रष्टाचार गरेको र शक्तिको दुरुपयोग गरेको आरोपमा महाअभियोग लगाइयो र पछि अदालतले दोषी ठहर गर्दै २४ वर्षको जेल सजाय भएको छ । केही दिन अगाडिदेखि उनको २४ वर्षे जेल जीवन सुरु भएको छ । ६५ वर्षीया पार्कलाई अदालतले दोषी ठहर गरेपछि गत सन् २०१७ को मार्चमा हिरासतमा लिइएको थियो ।

अदालतले पार्कमाथि लागेका १८ मध्ये घुसखोरी, शक्तिको दुरुपयोग, राज्यको गोप्य सूचना चुहावटलगायत १६ वटा अभियोगमा दोषी ठहर गरेको छ । अदालतले पार्कलाई १ करोड ६८ लाख अमेरिकी डलर जरिवाना पनि तोकेको छ । तर, उनले भने अदालत पूर्वाग्रही भएको भन्दै सुनुवाइ बहिस्कार गर्दै आफूमाथि लागेका सबै आरोप अस्वीकार गर्दै आएका छन् ।

दक्षिण कोरियामा राष्ट्रपति पदमा चुनिने पार्क गुउन हाइ पहिलो महिला भए पनि दक्षिण कोरियामा अपराधमा तानिएर हिरासतमा पर्नेमा भने उनी तेस्रो राष्ट्रपति हुन् । उनीपछि, अर्का पूर्वराष्ट्रपति ली म्युङ बाकलाई पनि भ्रष्टाचार, कर छली र सार्वजनिक स्रोत, साधन र शक्तिको दुरुपयोगको अभियोगमा पक्राउ गरिएको छ । यस विषयमा अनुुसन्धान सुरु भएको छ ।

ज्याकोब जुमा


सन् २००९ देखि भ्रष्टाचारको आरोप खेपिरहेका दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति ज्याकोब जुमाले अन्ततः सन् २०१८ मा पदत्याग गर्नुपरेको छ । ६ जनासँग विवाह गरी २१ छोराछोरीका पितासमेत रहेका जुमाले १४ फेब्रुअरी २०१८ मा राष्ट्रका नाममा टेलिभिजनमार्फत सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका हुन् ।

आफ्नै पार्टी अफ्रिकन नेसनल कंग्रेस (एनएसी) ले भ्रष्टाचारको आरोप लागेपछि पद छाड्न वा अविश्वासको प्रस्ताव सामना गर्न दबाब दिएपछि उनले पद त्याग्नुपरेको थियो । आफ्नै कार्यकालका उपराष्ट्रपति सिरिल रामाफोसालाई राष्ट्रपति बनाउन आफ्नै दलका नेताहरूले आफूलाई भ्रष्टाचारको आरोप लगाएर पद त्याग्न बाध्य पारेको जुमाले बताउँदै आएका छन् । ७५ वर्षीय जुमाले आफू भ्रष्टाचारी नभएको दाबी भने गरिरहेका छन् ।

नवाज सरिफ

झन्डै चार वर्षअघि तेस्रोपटक प्रधानमन्त्री पद सम्हाल्दै पाकिस्तानलाई ‘एसियाको टाइगर’ बनाउने घोषणा गरेका नवाज सरिफ आफैँ भ्रष्टाचारको आरोपमा निकालिएका थिए । आर्थिक रूपमा सबल पारी एसियाकै उत्कृष्ट मुलुक बनाउने योजना पूरा गर्न ‘भ्रष्टाचार’ मुख्य बाधक रहेको बताउने सरिफ आफैँ भ्रष्टाचारको महाअभियोगमा परे ।

पाकिस्तानको ठूलो स्टिल कम्पनी ‘इत्तेफाक’ का मालिकसमेत रहेका सरिफमाथि पदीय दुरुपयोग गर्दै आफ्नो कम्पनीलाई फाइदा दिलाएको र सरकारी स्रोतमा अनियमितता गरेको आरोप थियो । पानामा पेपर्स नामक एक विश्वचर्चित भ्रष्टाचारसम्बन्धी खोजले उनलाई पनि दोषी देखाएको थियो ।

पछि, अदालतले नै उनलाई दोषी ठहर्याएपछि उनले २८ जुलाई २०१७ मा प्रधानमन्त्री पदबाट राजीनामा दिए । ६७ वर्षीय सरिफलाई पाकिस्तानको सर्वोच्च अदालतले केही दिनअघि मात्रै आजीवन निर्वाचन लड्न नपाउने फैसला सुनाएको छ ।

खालिदा जिया

बंगलादेशकी विपक्षी नेत्री खालिदा जियालाई भ्रष्टाचारको अभियोगमा पाँच वर्षको जेल सजाय सुनाइएको छ । ७२ वर्षिया जियाले अनाथ बच्चाका लागि विश्वभरबाट उठेको रकममध्ये झन्डै साढे दुई करोड रुपैयाँ भ्रष्टाचार गरेको ठहर गरिएको छ । उनले आफूविरुद्धका आरोपहरू राजनीतिक रूपमा प्रेरित रहेको दाबी गरेकी छन् । उनलाई यही वर्ष हुने संसदीय चुनावमा लड्न प्रतिबन्ध लागेको छ ।

प्रधानमन्त्री सेख हसिना वाजेदसँग दशकौँदेखि राजनीतिक प्रतिद्वन्द्वीका रूपमा रहेकी जिया सन् १९९१ देखि १९९६ र २००१ देखि २००६ सम्म गरी १० वर्ष बंगलादेशी प्रधानमन्त्री बनेकी थिइन् । अहिले बंगलादेशको प्रतिपक्षी दल बंगलादेश नेसनालिस्ट पार्टीकी नेता रहेकी जियालाई अदालतको फैसलालगत्तै पक्राउ गरी जेल चलान गरिएको छ ।

लुइन इनासियो लुला दा सिल्भा

ब्राजिलको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति लुइन इनासियो लुला दा सिल्भालाई भ्रष्टाचारको अभियोगमा १२ वर्षको कैद सजाय सुनाएको छ । लुलाले चाहिँ आफूविरुद्धको फैसला पुनरावलोकन नभएसम्म आफू कैदमा नबस्ने दलिल पेस गरेका छन् । अदालतको फैसलाले आगामी अक्टोबरमा हुने राष्ट्रपतीय चुनावलाई नै प्रभावित पारेको छ ।

चुनावबाट वञ्चित गर्न आफूविरुद्ध राजनीतिक प्रतिशोधले मुद्दा लगाइएको ७२ वर्षीय लुलाले दाबी गर्दै आएका छन् । ब्राजिलमा उनको सहभागिता वा सहमतिविना निर्वाचन असम्भवजस्तै रहेको बताउने गरिएको छ ।

पेड्रो पाब्लो कुज्यन्स्की

पेरुका पूर्वराष्ट्रपति पेड्रो पाब्लो कुज्यन्स्कीलाई कम्तीमा १८ महिना देश छोड्न प्रतिबन्ध लगाइएको छ । भ्रष्टाचारको अभियोग लागेका पूर्वराष्ट्रपति पेड्रोलाई अनुसन्धनका लागि देश छोड्न प्रतिबन्ध लगाइएको हो । ब्राजिलको एक निर्माण कम्पनी ओडेब्रेचसँग घुस लिएको र अनियमितता गरेको आरोपमा उनीमाथि अनुसन्धान भइरहेको छ ।

पूर्वराष्ट्रपति पेड्रोलाई लिमामा रहेको उनको निवासस्थल र देशको ग्रामीण क्षेत्रमा पर्ने सिएनेगुल्लामा नै नजरबन्द गरिएको छ । पेरुको संसद्मा आफूविरुद्धको महाअभियोग प्रस्तावमा मतदान हुन लागेपछि ७९ वर्षीय पेड्रोले पदबाट राजीनामा दिएका थिए ।

अरू कैयौँ नेता पनि भ्रष्टाचारी ठहर

अरू धेरै देशमा पनि शक्तिशाली पात्रले भ्रष्टाचारको आरोप लगेर राजनीतिक जीवनबाट हात धुनुपरेको छ । क्रोएसियामा सन् २००३ देखि २००९ सम्म प्रधानमन्त्री बनेका इभो सानाडर सन् २०१० मा भ्रष्टाचारको आरोपमा गिरफ्तार भए । सन् २००५ देखि २०११ सम्म प्रधानमन्त्री बनेका पोर्चुगलका समाजवादी नेता जोसे सोक्रेटले पनि जीवनको अन्तिम समयमा आएर भ्रष्टाचारी कहलिनुपर्यो । लामो समयको अनुसन्धानपछि सन् २०१७ को अक्टोबरमा उनीविरुद्ध अपराध, सम्पत्तिको अपचलन, कर छली, कागजपत्रहरूको दुरुपयोग लगायतका ३१ वटा मुद्दा लगाइयो ।

रोमानियाका पूर्वप्रधानमन्त्री अड्रिन नास्तासलाई सन् २०१२ मा साढे चार वर्षको जेल सजाय तोकिएको थियो । उनी सन् २००० देखि २००४ सम्म प्रधानमन्त्री बनेका थिए । त्यसैगरी, पेरुका अल्बेरर्टो फुजिमोरी र ओल्लान्ता हुमाला, इजरायलका इहुड अल्मर्टले पनि भ्रष्टाचारको अभियोगमा सजाय भोगेका छन् । सर्बिया, मन्टेनेग्रो, मोल्डोभा, ग्वाटेमाला लगायतका देशका पूर्वप्रधानमन्त्री वा राष्ट्रपति पनि भ्रष्टाचारको सजायमा छन् ।

प्रतिक्रिया