किम र सिआइए प्रमुखबीच ‘गोप्य भेटघाट’

प्योङयाङ । अमेरिकी गुप्तचर निकाय सिआइएका निर्देशक माइक पोम्पेओले उत्तर कोरियाली नेता किम जङ–अनसँग एउटा गोप्य भेटवार्ताका लागि प्योङयाङको भ्रमण गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । नाम नखुलाएका अधिकारीहरूले वासिंगटन पोस्ट पत्रिका र समाचार संस्था रोयटर्सलाई बताएअनुसार ट्रम्प र किमबीच हुने प्रत्यक्ष वार्ताको तयारीका लागि इस्टर सप्ताहन्ततिर पोम्पेओ प्योङयाङ गएका थिए ।

यसअघि ट्रम्पले अमेरिका र उत्तर कोरियाबीच उच्चस्तरमा प्रत्यक्ष वार्ताहरू भएको स्वीकारेका थिए । फ्लोरिडामा जापानी प्रधानमन्त्री शिन्जो आबेसँगको दुई दिने बैठकको सुरूआतमा बोल्दै ट्रम्पले वार्ताहरूबारे खुलासा गरेका हुन् । उनले भने, ‘हामीले एकदमै उच्चस्तरीय वार्ताहरू गरेका छौँ ।’ किमसँग हुने बैठकका लागि पाँच वटा स्थानबारे विचारविमर्श भइरहेको समेत ट्रम्पले बताए ।

उनले सन् १९५० देखि ५३ सम्म चलेको कोरियाली युद्ध औपचारिक रूपमा समाप्त भएको घोषणा गर्ने शान्ति सन्धिबारेको दुई कोरियाबीचको छलफलका लागि आफूले शुभकामना पठाएको पनि बताएका छन् । विदेशमन्त्रीका लागि ट्रम्पले अघि सारेका पोम्पेओले किमसँग गोप्य भेटवार्ताका लागि उत्तर कोरियाको यात्रा गरेकोबारे सबैभन्दा पहिला वासिंगटन पोस्ट पत्रिकाले समाचार लेखेको हो ।

ट्रम्प र किमबीच हुने शिखर बैठकको लागि उक्त भ्रमण गरिएको बाहेक भेटवार्ताबारे खासै केही थाहा हुन सकेको छैन । उक्त पत्रिका अनुसार विदेशमन्त्रीका लागि नाम प्रस्ताव गरिए लगत्तै भेटवार्ता भएको हो । र, ‘यात्राबारे प्रत्यक्ष जानकार नाम नखुलाएका दुई वटा स्रोत’ लाई समाचारमा उद्धृत गरिएको छ । पछि समाचार संस्था रोयटर्सले उच्च अधिकारीहरूबाट त्यसको पुष्टि गरिएको बताएको हो ।

प्रतिक्रिया