२०७५ सालमा कस्तो होला नेपालमा ?

‘यस वर्षका राजा सूर्य तथा मन्त्री शनि ग्रह हुन् । राजा सूर्य र मन्त्री शनिले आपसमा शत्रुत्वको भाव राख्नाले वर्ष व्यवस्था उत्कृष्ठ हुन मुस्किल पर्दछ । राष्ट्रिय समस्या समाधानतर्फ उदाशीनता कायम रहन्छ । जनहितार्थका कार्यक्रमहरूमा खासै ध्यान पुग्न सक्दैन ।‘

 

श्रीशाके १९४०, विक्रम २०७५ सम्वत्को विरोधकृत्नामक संवत्सर हो । यो प्रभवादि ६० संवत्सरमध्येको ४५औँ संवत्सर हो । यस वर्षका राजा सूर्य तथा मन्त्री शनि ग्रह हुन् । राजा सूर्य र मन्त्री शनिले आपसमा शत्रुत्वको भाव राख्नाले वर्ष व्यवस्था उत्कृष्ट हुन मुस्किल पर्दछ । राष्ट्रिय समस्या समाधानतर्फ उदाशीनता कायम रहन्छ । जनहितार्थका कार्यक्रमहरूमा खासै ध्यान पुग्न सक्दैन । कहिलेकाहीँ उच्छृंखल र अमानवीय गतिविधिले ताण्डव मच्चाउन नखोज्लान् भन्न सकिन्न ।

समस्याहरूले निकास पाउन सक्ने स्थिति देखिँदैन भने विकास–निर्माणका कार्यक्रमहरूले मान्यता पाए पनि आर्थिक अभावले निरन्तरता पाउन मुस्किल पर्ने देखिन्छ । राज्य शक्ति बलियो देखिए पनि राजनीतिक शक्तिहरूबीच समन्वयको अभावले राजनीति मध्यमार्गमा अग्रसर हुनेछ । महत्वपूर्ण उपलब्धि नदेखिए पनि सामान्य सुधारको परिस्थिति आउन सक्छ ।  समाजमा चोरी–डकैती–लुटपाट, हत्या, बलात्कार आदि अशोभनीय घटनाहरूमा नियन्त्रणको अनुभूति होला ।

लुच्चा–लफंगाहरूको बाहुल्यतामा पनि कमी आउला । धार्मिक कार्यक्रमहरूको बाहुल्यताले समाज सु–संस्कृत हुँदै जाला । स्वास्थ्य–विज्ञानको क्षेत्रमा आधुनिक प्रविधिको विकासले भने निरन्तरता पाए पनि संक्रामक तथा प्राणघातक रोग–व्याध नियन्त्रण सफल हुने देखिन्न । आशाप्रद उद्योगधन्दाको विकासले बेरोजगारी समाधानार्थ नयाँ कामको थालनी भए पनि कार्यान्वयन पक्ष आर्थिक अभावले सफल होलाजस्तो देखिन्न । वैदेशिक सहयोग प्रचुर मात्रामा भइरहे पनि त्यसले ठूलो परिवर्तन गर्ने सम्भावना देखिँदैन ।

व्यापार–व्यवसायको क्षेत्रमा ठूलो प्रगति हुन नसके पनि सामान्य जीवनयापनमा सहजता ल्याउला । जग्गा–जमिनको कारोबारले आर्थिक स्थिति मजबुत बनाउला । कृषि कार्य, पशु–पंक्षीपालन र जलचर प्राणीको व्यवसायबाट सन्तोष मिल्नेछ भने प्रमुख खाद्यान्नमा धान, गहुँ, मकै, जौ आदिको उचित उत्पादन भए पनि बजार साँघुरिनाले भाऊ अनियन्त्रित बन्ने लक्षण देखिन्छ । सुन–चाँदी आदि धातु र हिरा, मोती, पन्ना, मणी–माणिक्यादिको भाऊ सामान्य रहला । भौतिक पूर्वाधारको अभावमा प्रायशः सामुदायिक शैक्षिक संस्था गम्भीर प्रवृत्तिको होला ।

सरकारी सहयोगले मात्रै शैक्षिक जगत उपलब्धिमूलक बन्न सक्दैन । पत्रकारको सुरक्षामा ध्यान नपुगे पनि पेस्शालाई मर्यादित बनाउने प्रयत्न हुनेछ । श्रमजीवीको सुविधामा ध्यान पुग्ने देखिन्न भने कलाकार र साहित्यकारहरूको प्रगतिमा पनि अवरोध आउनेछ । व्यापारी वर्गको उन्नतिमा समस्या आउनेछ भने कर्मचारीहरूमा सम्मानको आशा पलाउन सक्छ ।

जलवायु परिवर्तनको कुप्रभावले विद्यमान तापक्रममा प्रतिकूलताले अशान्ति आउने र भूक्षय, भूस्खलन, भूकम्प आदि दैवीय विपत्ति, स्थल तथा हवाई दुर्घटना हुने स्थिति छ भने कुनै भू–भागमा अनावृष्टिले खाद्य उत्पादनमा कटौती, कतै खण्डवृष्टिले सुख्खा–खडेरीको प्रधानता र कहीँ अतिवृष्टिले बाढी–पहिरोको समस्या निम्तिने स्थिति देखिन्छ । ०७५ मा अन्नप्राशन (पास्नी) वैशाख ७, १४ र १९ गते, जेठ ३, १० र २३ गते, असार ८, ११ गते, साउन ३, १४ र १६ गते, भदौ १, १३ र २७ गते, अशौज ११, २५ गते, कात्तिक २, ५ र १९ गते, मंसिर ५, २८ गते, पुस २, १६, १९ र २५ गते, माघ १६ र २३ गते, फागुन ९ र २० र चैत ११ गते रहेको छ ।

गृहारम्भ (घर निर्माण गर्ने) मुहूर्तमा वैशाख १४, १७ र १९ गते, साउन ४ र १४ गते, मंसिर २८ गते, पुस २ र ३० गते, फागुन ९ गते रहेको छ । गृहप्रवेश (घर भित्रिने) मुहूर्तमा वैशाख १४ र २९ गते, माघ ४ र १६, फागुन २, २९ गते रहेको छ । ध्यान्यच्छेदन (मुठ्ठी लिने) मुहूर्तमा अशौजमा १९ र २४ गते, कात्तिकमा २, ५, ९ गते रहेको छ । व्यापारिक प्रतिष्ठानारम्भ (पसल खोल्ने साइत) मुहूर्तमा वैशाख ७, १४, १५, १९ र ३० गते, असार ८ र २१ गते, साउन ४ र १७ गते, भदौ २५ र ३० गते, अशौज २४ गते, पुस २, १४, १६ र १९ गते, माघ ४, ७, १२ र २७ गते, फागुन २५, १५ र २९ गते र चैत ७, ९ र २४ गते रहेको छ ।

०७५ आषाढ शुक्ल १५ (पूर्णिमा) तिथि, साउन ११ गते शुक्रबार खग्रास चन्द्र ग्रहण लाग्नेछ, जसमा ग्रहणको समय स्पर्श राती १२ः९ बजे, मध्य राती २ः०९ बजे, र मोक्ष राती ४ः०६ बजे, सर्वपर्व ३ घण्टा ५७ मिनेट लाग्नेछ । उत्तरफाल्गुनी नक्षत्र र मकर राशिकाहरूलाई अतिकष्ट बताइएको छ । ०७५ मा व्रतबन्धको साइत असार ८ र ३१ गते, माघ २७ गते र फागुन ९ गते रहेको छ भने विवाहको साइत वैशाख ५, ६, १६ र २८ गते, असार ६, ७, ९, ११, १५ र १६ गते, मंसिर २९ गते, माघ ३, ४, ८, ९, ११, १३, १४, १५, २६ र २७ गते, फागुन १, २, ७, ८, ९, १०, १३, १४, २३, २४, २५, २८ र २९ गते रहेको छ ।

गुरु–शुक्रको उदय–अस्त आश्विन ३१ गते बुधबार शुक्र पश्चिममा अस्त, कात्तिक १४ गते बुधबार शुक्र पूर्वमा उदय, कात्तिक २६ गते सोमबार गुरु पश्चिममा अस्त, मार्ग शीर्ष २१ गते शुक्रबार गुरु पूर्वमा उदय हुनेछ । ०७५ मा २ जेठ बुधबारदेखि ३० जेठ गते बुधबारसम्म अधिक मास (पुरुषोत्तम–महिना) परेको छ । यसवर्ष शनिदेव वर्षान्तसम्मै धनु राशिमा रहने भएकाले कन्या र वृष राशिलाई अढैया शनिको दशा लाग्दछ भने वृश्चिकलाई अन्त्य, धनुलाई मध्य र मकर राशिलाई आद्य साढेसाती दशा रहेको छ ।

०७५ मा मेष राशिलाई शुभाशुभ फलप्रदायक, वृषलाई शनिको अढैयाले केही नराम्रो र दैनिक कार्यमा झै–झमेला, मिथुनलाई अनुकूल र प्रतिकूलमा मिश्रित अवस्था, कर्कटलाई शुभाशुभ फलसहित हानी पनि हुनेछ, सिंहलाई सामान्यदेखि उच्चफल प्राप्त, कन्यालाई शनि अढैया अशुभप्रद, तर सम्पन्नशील कार्यमा अवरोध, तुलालाई सुखद् वातावरण, वृश्चिकलाई शनिको अन्त्यले केही अशुभ, तर सुखद् अवस्था ल्याउनेछ, धनुलाई मध्य साढे सातीले अशुभ भए पनि सुखद् स्थिति, मकरलाई आद्य साढे सातीले अशान्त वातावरण, कुम्भलाई मिश्रित फल र मीनलाई सुख–दुःख सामान्य रहला ।

वैशाखमा अशुभादी घटनाको बाहुल्यता र महँगी, जेष्ठमा अशुभ र अनिष्ठ, असारमा सुखद् फल, महँगी अनियन्त्रित, साउनमा अशुभ संकेत, अनिष्ट, भदौमा सन्त्रास, महँगी अनियन्त्रित र असन्तोष, अशोजमा मिश्रित फल, कात्तिकमा अन्नपात सरल र अशुभादी घटना, मंसिरमा महँगी, तर आँटेको काममा सफलता, पुसमा शासकमा अनिष्टता, रोगव्याध तथा शिथिलता, माघमा शासक वर्गमा अनिष्ठ, फागुनमा सुखद् वातावरण र सफलता, चैतमा महँगी, तर सफलताको दिन हुनेछ ।
०७५ सालमा श्री शालिबाहनीय शाके १९४०, नेपाल सम्वत् ११३८–११३९, २०१८–२०१९ इ.सम्वत्, गत कली सम्वत् ५११९, सृष्टितोगताब्दा १ अर्ब ९५ करोड ५८ लाख, ८५ हजार १ सय १९, विरोधकृत नामक संवत्सर रहेको छ भने घर निर्माणमा वास्तुशास्त्रीय विचारलाई मुख्यरूपमा ध्यान दिनुपर्नेछ ।

प्रतिक्रिया