शीतयुद्धभन्दा खराब स्थिति : रुसी विदेशमन्त्री


मस्को । रुस र पश्चिमा शक्तिहरूले शीतयुद्धताकाभन्दा पनि खराब परिस्थितिको सामना गरिरहेका रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभले बिबिसीलाई बताएका छन् । वर्तमान समयमा दुई पक्षबीच कुराकानीका माध्यमको अभाव हुनुले यस्तो अवस्था निम्तिएको लाभरोभको टिप्पणी छ । सिरियामा रासायनिक अस्त्रहरू प्रयोग गरी हमला गरिएको भनिएको स्थानमा प्रमाण मेट्न रुसले हस्तक्षेप गरेका आरोपहरू उनले अस्वीकार गरेका छन् ।

ब्रिटेनसहितका पश्चिमा शक्तिहरूले सम्पर्कको माध्यम बन्द गराएको आरोप उनले लगाएका छन् । साथै परिस्थिति निकै खतरनाक रहेको पनि लाभरोभले स्वीकार गरेका छन् ।  सिरियाविरुद्ध हालै गरिएका क्षेप्यास्त्र हमलाहरू, उनकै शब्दमा, आक्रोशपूर्ण कार्य भएको बताउँदै लाभरोभले संयुक्त राज्य अमेरिका, ब्रिटेन तथा फ्रान्सको कडा रूपमा निन्दा गरेका छन् । रुसले आफ्ना पश्चिमा मित्रहरूप्रति बाँकी रहेको विश्वास पनि गुमाउँदै गएको लाभरोभले बताए ।

७ अप्रिलमा डुमा नगरमा भएको भनिएको रासायनिक हमलामा सिरियाको संलग्नता रहेको भन्ने आरोपहरू लाभरोभले पुनः अस्वीकार गरेका छन् । उक्त घटना हुँदै नभएको र रासायनिक अस्त्र प्रयोग गरिएको भन्ने विषय बनावटी भएको उनले बताए । बिबिसीको हार्डटक कार्यक्रमलाई दिएको अन्तरवार्तामा लाभरोभले रासायनिक हमला भएको स्थानमा प्रमाण नष्ट गर्न लक्षित कुनै काम रुसले नगरेको जोडदार रूपमा बताए ।

‘रासायनिक हमला भएको स्थानमा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरू पुग्ने भनिएको अघिल्लो दिन अमेरिका तथा उसका साझेदारहरूले किन क्षेप्यास्त्र हमलाहरू गरे ?’ लाभरोभले प्रश्न गरेका छन् । रासायनिक अस्त्रको प्रयोग निषेध गर्ने संगठन (ओपिसिडब्ल्यु) को आपत्कालीन बैठक बस्दै गर्दा उनले त्यस्तो बताएका हुन् । सिरियास्थित अनुगमनकर्ताहरूले अझै पनि रासायनिक हमला भएको भनिएको डुमा नगरमा प्रवेश नपाएको बताइएको छ ।

प्रतिक्रिया