‘ट्रम्प राष्ट्रपति पदका लागि अयोग्य’

वासिंगटन । अमेरिकी संघीय अनुसन्धान निकाय एफबिआइका पूर्वनिर्देशक जेम्स कोमीले महिलाहरूलाई अपमानजनक व्यवहार गर्ने डोनल्ड ट्रम्प राष्ट्रपति पदका लागि नैतिक रूपमा योग्य नभएको बताएका छन् । एबिसी न्युजलाई दिएको एउटा अन्तर्वार्तामा उनले रुससँग ट्रम्पलाई तर्साउन प्रयोग गर्न मिल्ने सामग्री भएको हुन सक्ने बताए । उनले राष्ट्रपति ट्रम्पले न्यायलाई अवरोध गरिरहेका केही प्रमाण निश्चित रूपमा रहेको उल्लेख गरेका छन् ।

ट्रम्पले ट्विटरमा कोमीको आलोचना गर्दै उनलाई ‘ठग’ र ‘नराम्रो व्यक्ति’ भनेका छन् । कोमीले ट्रम्प राष्ट्रपतिको जिम्मेवारी सम्हाल्न मानसिक रूपमा आयोग्य नभए पनि निरन्तरको झुठोपन र महिलाबारेका धारणाका कारण उनी अक्षम रहेको उल्लेख गरे । अघिल्लो वर्ष ट्रम्पले पदबाट बर्खास्त गरेपछि दिएको पहिलो टेलिभिजन अन्तर्वार्तामा कोमीले यी धारणाहरू राखेका हुन् । उनले ट्रम्पका लागि साँचो कुराले खासै महत्व नराख्ने टिप्पणी गरे ।

उक्त अन्तर्वार्ता प्रसारण हुनुभन्दा घण्टौँअघि कोमीविरुद्ध आक्रामक रूपमा प्रस्तुत भएका ट्रम्पले उनले ‘धरै ढाँटेको’ उल्लेख गरेका थिए । उनले भने, ‘हाम्रा राष्ट्रपतिले यो देशका आधारभूत मान्यतालाई सम्मान र पालना गर्नैपर्छ । सबै भन्दा मूल कुरा सत्य हो । तर, राष्ट्रपतिले त्यसो गर्न सकिरहेका छैनन् ।’ ट्रम्प र कोमीबीच लामो समयदेखि द्वन्द्व चलिरहेको छ ।

कोमीले आफ्नो आत्मकथा प्रकाशनमा ल्याउन लागेपछि दुईबीचको विवाद अझ चुलिएको छ । एफबिआईका पूर्वप्रमुख हाल आफ्नो पुस्तकको प्रचारप्रसारमा व्यस्त छन् । ट्रम्पले ‘नराम्ररी समीक्षा गरिएको पुस्तक’ ले ठूला सवालहरू खडा गर्ने बताएका छन् । त्यसबाहेक उनले कोमीलाई थुनामा राखिनुपर्ने धारणासमेत राखेका छन् ।

प्रतिक्रिया