जीवन र मृत्यु एउटै सिक्काको दुई पाटा भएता पनि जीवनपश्चात् मृत्यु अवस्यम्यभावी भएको हुँदा निरन्तर आफ्नो कार्यमा व्यस्तता रहने वातावरण तयार हुने हो भने धेरै हदसम्म दीर्घजिवी रहन सहयोग पुग्नुको साथै मृत्युको भयबाट मुक्त रहनसमेत राहत मिल्ने देखिन्छ ।
लेखक : प्रदीप उप्रेती
संसारमा रहेका अन्य प्राणीको तुलनामा बौद्धिकता प्रखर भएकै कारण मानव ब्यक्तित्वलाई सामाजिक प्राणीको उपमा प्रदान गरिएको हो । सार्थकरूपमा हेर्दा प्रस्तुत तथ्य चरितार्थ हुन्छ । मानव समुदाय आफ्नो सन्तति, पारिवारिक एवं सामाजिक पृष्ठभूमिभित्र आबद्ध रहँदै सघर्षमय जीवन व्यतित गर्ने क्रममा बालक, युवा, हुँदै बुढ्यौली उन्मुख पथमा लिन हुनु जीवनको वास्तविक यथार्थता हो ।
यो नै मानव समुदाय लगायत सम्पूर्ण प्राणीजनको जीवनचक्र समेत हो । संघर्षमय जीवन व्यतित गर्ने क्रममा मानव सम्प्रदायले आफ्नो जीवन संगी वा संगीनीसँग केही अपवादबाहेक विछोडको परिस्थिति निश्चित रूपमा सहन गर्नुपर्ने हुदा अन्य अवस्थाको तुलनामा विशेष गरी वृद्धावस्थामा एक्लोपनको आभाष महसुस गर्ने परिस्थिति खडा हुन्छ ।
यस्को अतिरिक्त परिस्थितिजन्य विविध प्रभाव स्वरूप परिवारका अन्य सदस्यँंग अलग्गिएर रहनुपर्ने बाध्यात्मक अवस्था बहुसख्यत नेपालीजनको आजको व्यथा हो । उनिहरूको योग्यता अनुसारको सम्मानित कार्य राज्यपक्षबाट सहजै उपलब्ध हुन नसकेको कारण अत्यधिक मात्रामा बौद्धिक जमातलगायत अन्य समूह विदेश पलायन हुने अवस्था सिर्जना भएको छ । उपरोक्त पृष्ठभूमि नै सामाजिक समस्याको रूपमा रहेको बुढ्यौलीको प्रमुख कारक तत्व बन्न पुगेको छ ।
यसका अलावा एकल परिवारको अवधारणा कारण पुरानो पुस्ताले एक्लोपनको पिडा निक्कै मार्मिक ढंगबाट सहन गर्दै आएको पाइन्छ । नयॉ तथा पुरानो पुस्ताको बीचमा समयान्तरको प्रभावले निम्त्याएको प्रमुुख सामाजिक समस्याको रूपमा रहेको बुढ्यौलीको पिडा सहन गर्न पुरानो पुस्ता बाध्य छ । युवा पुस्ताले चाहँदा–चाहँदै पनि आफ्ना अग्रजहरूलाई सहजरूपमा आत्मसात् गर्न सक्दैन । जसलाई युवा समूहको प्रमुख सामाजिक समस्याको रूपमा लिन सकिन्छ ।
नेपाली समाजमा कायम रहेको यस प्रकारको व्यवहारले अन्तत: नयॉ तथा पुरानो पुस्ताबीच अघोषितरूपमा सामाजिक द्वन्द्वात्मक अवस्था सिर्जना भएको छ । जसका कारण पारिवारिक विखण्डनको अवस्था पैदा भई सामाजिक एवं घरेलु हिंसा हिजोको तुलनामा निक्कै वृद्धि भएको पाइन्छ । नेपाली सामाजिक परिवेशमा पाश्चात्य संस्कृतिको बढ्दो प्रभावको कारण आधुनिक युवा पिंढी आफू–आफैँमा रमाउने संस्कृतिको अत्यधिक विकासले पुरानो पुस्ताको बुढ्यौली निक्कै कष्टपूर्ण एवं ओझेलमा पर्न गई एक्लोपनको आभाष हुन सक्ने देखिन्छ ।
तसर्थ : सहजै समाधान हुन नसक्ने सामाजिक समस्याको अभिवृद्धि कारण पुरानो पुस्तामा मनोवैज्ञानिक प्रभाव स्वरूप बिरक्तिने, एकोहोरिने तथा झर्किनेजस्ता समस्या अत्यधिक मात्रामा वृद्धि भई अन्तमा दिर्घकालिनरूपमा नै मानसिक रोगको शिकार बन्न सक्ने प्रबल सम्भावनाहरू रहन्छ । यस्तो असहज अवस्थामा पनि आफ्नो सन्ततिले हासिल गरेको प्रगतितर्फ पुरानो पिंढी गर्व गर्दै पीडालाई भुल्ने चेष्टा गर्छ । यद्यपि समयचक्रले प्राप्त बुढ्यौलीको पीडालाई उक्त समूहले भुल्न नसक्ने निश्चित छ ।
उमेरका कारण सेवा–निवृत भई आर्थिक संकटलगायत चुनौतीमय वृद्धपनको आभाषले जीवीकोपार्जनको लागि आवश्यक पर्ने न्यूनतम रकमसमेत सहजरूपमा आर्जन गर्न असहज हुनेछ । धेरथोररूपमा भए पनि तिनै सन्ततिले प्रदान गर्ने आर्थिक सहयोग नै जीवनोपयोगीको आधार बन्न सक्नेछ । यसका अतिरिक्त राज्यपक्षबाट प्राप्त हुने सहयोगको राशीले पनि सम्बद्ध पक्षलाई केही हदसम्म राहत व्यवस्थापन गरेको मान्न सकिनेछ ।
यसको बाबजूद पनि आधुनिक युवा पुस्ता विविध कार्यगत व्यस्तताले गर्दा अग्रज समूहसँग सह–सम्बन्ध विस्तार गर्नमा अपवादबाहेक धेरै हदसम्म असफल रहेको मान्न सकिन्छ । सामाजिक समस्याको रूपमा रहेको बुढ्यौली नेपाल गणराज्यको अधिकांश भू–भागमा दिनहुँ चरमरूपमा फैलिँदै गएको पाइन्छ । जेष्ठ नागरिकको पीडालाई समाधानार्थ आवश्यक व्यवस्थापन गर्नु राज्यपक्षको नैतिक दायित्व हो । जसको लागि आधुनिक सुख–सुविधा सम्पन्न वृद्धाश्रमको विकास एउटा समाधानको विन्दुु बन्न सक्नेछ ।
तर, पूर्णरूपमा पाश्चात्य व्यवहारलाई आत्मसात् गर्न नसकेको आधुनिक युवा समूहले सहजरूपमा वृद्धाश्रमसम्बन्धी अवधारणालाई स्वीकार गर्न सक्ने परिस्थितिको विकास हालसम्म भई नसकेको हँुदा समस्या समाधानमा भन्दा पनि जटिलता थपिने सम्भावना रहन्छ । नेपाली समाजमा राज्यले बुढ्यौलीमा सहयोग गर्ने विषयलाई आत्म अभिमानको रूपमा लिइने प्रवृतिले समस्या समाधानमा भन्दा व्यवधान सिर्जना हुने देखिन्छ । साथै कष्टै सहेर भए पनि आश्रितसँगै रमाउने पुरानो पिंढीको सोचाइमा सकारात्मक प्रभावको अभिवृद्धि गर्नु अत्यन्त जरुरी भइसकेको छ ।
यस प्रकारको अस्वाभाविक व्यवहारले राज्यपक्ष, पुरानो तथा नयॉ पिंढी विलखबन्दमा पर्ने देखिन्छ । समस्या समाधानमा भन्दा पनि गतिरोध उत्पन्न हुने यस प्रकारको गतिविधिको विकासले बुढ्यौलीलाई पीडादायी बनाउन सक्ने भएको हुँदा सम्बद्ध सबैपक्ष संयमित भएर कार्य गर्नुपर्ने हुन्छ । वृद्ध–वृद्धाको समूहलाई सहयोग पुगोस् भन्ने उद्देश्यले अभिप्रेरित भई धेर–थोर रूपमा भए पनि आत्मनिर्भर बनाउने हेतु अवस्था हेरी उपयुक्त वासस्थानको पहिचान गरी सम्बद्ध समूहलाई आर्थिकरूपमा सबल बनाउँदै उनिहरूको एक्लोपनलाई राहत उपलब्धताको सहयोग गर्नु नितान्त जरुरी भइसकेको छ ।
राज्यपक्षबाट जेष्ठ नागरिक मैत्री अवधारणाको विकास गर्नु अति नै आवश्यक भइसकेको छ । राज्यको तर्फबाट अवलम्बन गरिने यस्ता कार्यले उनिहरूको बॉच्न पाउने न्यूनतम मानव–अधिकारको रक्षा गर्दै जेष्ठ नागरिकको जीवन रक्षा गर्ने कार्यमा महत्वपूर्ण योगदान प्रदान गर्नेछ । यस प्रकारको सकारात्मक क्रियाकलापले जेष्ठ नागरिक समूहमा आत्मसम्मानको उजागरण भई जीवन सुखमय उन्मुख पथमा अग्रसर हुनेछ । हुनत : राज्यले न्यूनरूपमा भए पनि यस्ता समूह लक्षित केही भत्ताको व्यवस्थापन गराएको छ ।
यद्यपि उक्त समूहको आत्मसम्मानको लागि अतिरिक्त आय–आर्जनको मार्ग पहिल्याउने कार्यलाई निरन्तरता प्रदान गर्नु नै यथोचितरूपमा सच्चा सम्मानको अनुभूती गराउनु हो । जीवन र मृत्यु एउटै सिक्काको दुई पाटा भएता पनि जीवन पश्चात् मृत्यु अवस्यम्यभावी भएको हँुदा निरन्तर आफ्नो कार्यमा व्यस्तता रहने वातावरण तयार हुने हो भने धेरै हदसम्म दीर्घजिवी रहन सहयोग पुग्नुको साथै मृत्युको भयबाट मुक्त रहनसमेत राहत मिल्ने देखिन्छ ।
प्रतिक्रिया