‘समृद्धिका योजनामा रचनात्मक सहयोग गछौँ‘

मीन विश्वकर्मा -सांसद,केन्द्रीय सदस्य नेपाली कांग्रेस)

नेपाली कांग्रेसले पछिल्लो समय सम्पन्न तीनै तहको निर्वाचनमा अपेक्षाकृत जनमत पाउन सकेन । यो परिणामले पार्टीभित्र र बाहिर दुवै क्षेत्रमा आश्चर्यजनक परिस्थितिको निर्माण भएको छ । त्यसैले नेपाली कांग्रेसले अहिले पार्टी निर्माणको कामलाई तीव्ररूपमा अघि बढाएको छ ।

पार्टीलाई सशक्त बनाउन एकातिर केन्द्रीय समितिको बैठक चलिरहेको छ भने, अर्कोतिर भ्रातृ संस्थाहरू तरुण दल, नेविसंघ, महिला संघ, दलित संघ, किसानसंघलगायत सम्पूर्ण कांग्रेसका भ्रातृ संगठनहरूले पनि आफूलाई सशक्त बनाउनका लागि विभिन्न कार्यक्रम लिएर जनस्तरमा परिचालन भइरहेको अवस्था छ ।
‘म पनि अहिले प्रदेश–१ मा तरुण दललाई व्यवस्थित बनाउने गरी तरुण दलले आयोजना गरेको प्रशिक्षण कार्यक्रमका लागि पूर्व क्षेत्रमा परिचालन भएको छु । यो पार्टीको निर्णयअनुसार भ्रातृ संगठनलाई मजबुत बनाउन एउटा संगठनले गरेको काम हो । यसै गरी हाम्रा सम्पूर्ण नेताहरू यति बेला देश दौडाहामै रहनुभएको छ । उहाँहरूले पार्टीका नेतृत्व तहमा रहेका नेता तथा कार्यकर्ता साथै जनस्थरमा रहेका आम नेपाली नागरिकसँग कांग्रेसका भावी योजना र कार्यक्रमका विषयमा साक्षात्कार गर्नेगरी काम लिएर जानुभएको छ ।

सुरुमा हामी हाम्रा कार्यक्रमलाई संगठनात्मक रूपमा प्रयोग गछौँ । संगठनका प्रत्येक सदस्यले यसको मर्म बुझेपछि यसलाई जनस्थरसम्म लैजानुहुनेछ । कांग्रेसको पछिल्लो समयको नतिजाको विश्लेषणलाई मैले आश्चर्यजनकरूपमा नै लिएको छु । नेपाली कांग्रेसको जनमत घटेको छैन । तर, प्रतिनिधिमूलक संख्या ठूलो अन्तरले घटेको छ । कांग्रेसले विगतमा प्राप्त गरेको मतको समीक्षा गर्दा ०१५ सालमा ३७ प्रतिशत मत ल्याएको थियो । संसदमा दुई तिहाइ सिट थियो । ०४८ सालमा हामीले ३६ प्रतिशत मत प्राप्त गरेका थियाैँ ।

हामीले साधारण बहुमत पायौँ । दुई सय पाँचमा हामीले एक सय १४ सिट जित्यौँ । ०५१ सालमा हामीले ३३ प्रतिशत मत लिएर तेस्रो पार्टी बन्यौँ । ०५६ सालमा पनि हामीले ३६ प्रतिशत मत ल्याएर एक सय १२ सिट पायौँ । यो पनि आरामदायी बहुमत नै हो । ०६४ सालमा हामी नराम्ररी पराजित भयौँ हाम्रो मत घटेर २१ प्रतिशतमा पुग्यो । अनि संसदमा पनि हामी १९ प्रतिशतमा कायम भयौँ । त्यसैगरी, ०७० सालमा आउँदा हाम्रो मत प्रतिशत पनि बढ्यो हामी २९ प्रतिशतको जनमत पाउन सफल भयौँ । संसदमा पनि हाम्रो प्रतिनिधित्व झण्डै ३५ प्रतिशत पुग्यो ।

र, अहिले अर्थात् ०७४ को निर्वाचनमा परिणाम केही उल्टो हुन पुग्यो । समग्रमा हेर्दा विगतको भन्दा धेरै मत पाएका छौँ । हामीले पाएको मत प्रतिशत ३७ छ । तर, प्रतिनिधि संख्या भने हाम्रो २२ प्रतिशत मै सीमित भएको छ । यसरी हेर्दा मैले भन्ने गरेकोजस्तो आश्चयजनक परिणाम छ । यसको विषयमा व्यक्ति नै पिच्छे फरक फरक दृष्टिकोण र विचार पनि छ । एकथरी केन्द्रीय सदस्यहरूले जनमत गुमेको छैन, हामी प्राविधिकरूपले हारेका हौँ भन्ने विचार पनि राखेका छन् । अर्कोथरीले पनि जनमत हामीसँग भए पनि नेतृत्वले उचित रणनीति अपनाउन नसकेका कारण जनमत भएर पनि हाम्रो प्रतिनिधित्व संख्या कम भयो ।

संसदमा हामी हार्न पुग्यौँ, त्यसैले नेतृत्वले यसको जिम्मेवारी लिनुपर्छ भन्नुभएको छ । यी दुवैको बीचबाट पार्टीलाई कसरी मजबुद बनाउने र पार्टीलाई कसरी संगठित बनाउने, जनताको बीचको पुनः सम्बन्ध विस्तार कसरी गरेर लैजाने र वाम गठबन्धन मिल्दा तीन पार्टीमध्ये दोस्रो र तेस्रो पार्टी मिल्दा जसरी हाम्रो परिणाम दोस्रो हुने आयो । यो कांग्रेसका लागि ठूलो चुनौती हो । यो चुनौतीलाई पनि टकराव दिनेगरी कांग्रेसको पुर्ननिर्माण कसरी हुने भन्ने विषयमा केन्द्रीय समितिमा पनि बहस चलिरहेको छ ।

सार्वजनिकरूपमा हुने कार्यक्रममा पनि हाम्रो यही अभिव्यक्तिहरू आइरहेको छ । त्यस्तै कांग्रेसकै विभिन्न भ्रातृ संगठनको कार्यक्रममा पनि नेताहरूको भाषण, शैली र प्रस्तुती कांग्रेसलाई मजबुत बनाउन चाल्नुपर्ने कदमका विषयमा नै केन्द्रित छ । यसरी हेर्दा कांग्रेस जनबाट आएको अहिलेको अभियव्यक्ति कहीकही कठोर ढंगको पनि छ । कहिँकहिँ वैचारिक ढंगको पनि छ र, कहिँकहीँचाँही पार्टीलाई अब उठाउन मध्यममार्गी बाटो चाहिन्छ पनि भन्नुभएको छ ।

समग्रमा हेर्दा कांग्रेसको अवको निकास केहो भन्ने विषयको उत्तर निकाल्न नै सिंगो कांग्रेसपार्टी, त्यसभित्रका नेता कार्यकर्ता जुटेका छन् । यो नै अहिलेको वास्तविक अवस्थिति हो । नेपाल तरुण दल केन्द्रीय कार्यसमितिले मेची–महाकाली तरुण जागरण अभियान भनेर कार्यक्रम बनाएको छ । यो जागरणका क्रममा जिल्लाका कार्यकर्तालाई दिइने केन्द्रको सन्देश केहो भनेर केही साथीहरू परिचालित हुनुभएको छ ।

यसैको जिम्मेवारी मैले पनि पाएको छु । म अहिले पूर्व झापामा छु । अरु साथीहरू पनि देशका विभिन्न क्षेत्रमा तरुण दललाई मजबुद बनाउने अभियानमा नै लाग्नुभएको छ । हामीले केन्द्रीय समितिमा उठेका विभिन्न सवालको जानकारी पनि स्थानीय तहमा गराइरहेका छौँ । यो अभियानमा आफ्नो क्षेत्रमा पर्ने सबै केन्द्रीय सदस्यहरूले जिम्मेवारी पाउनुभएको छ । यहाँ गुट समुह भन्ने कुनै पनि कुरा उठेको छैन ।

जस अपसज सबैको भागमा पर्छ
१२ औँ महाधिवेशनपछि नेपाली कांग्रेस सामूहिक नेतृत्वमा विश्वास राख्दै काम गरिरहेको छ । सभापति एक्लैले कुनै पनि निर्णय ग छैन । सभापति ए्क्लै केही पनि होइन । त्यसैले सामूहिक नेतृत्व भएका कारणले निर्वाचन परिचालन समितिको संयोजक ‘चिफ अफ कमान्डर’ वरिष्ठ नेता रामचन्द्र पौडेललाई बनाउनुभयो । त्यस्तै पार्टीको प्रचारप्रसार समितिमा पनि रमेश लेखक, गगन थापालगायतका प्रखर वक्ता र असल नेताहरूलाई जिम्मेवारी दिनुभयो ।

यसरी सबै जिम्मेवारी बाँडफाँट भैसकेको अवस्थामा कुनै राम्रो काम भएको रहेछ भने पनि नेतृत्वले जसलाई बाँडेर लिनुपर्छ । कमजोरी नै भयो परिणाम उल्टै आयो भने पनि त्यसको अपजस बाँडेरै लिनुपर्छ । म पनि सभापतिलाई सहयोग गर्नुपर्छ भन्ने पक्षको मान्छे हो । त्यसैले मैले पनि मेरो जिम्मेवारीभित्र परेको जस अपजसलाई बाँडेर नै लिनुपर्ने हुन्छ । अहिलेको निर्वाचनमा नेपाली कांग्रेसको मत घटेको भए, पहिलेका उम्मेद्वारले भन्दा अहिलेका उम्मेद्वारले कम मत पाएको भए, सरासरी पार्टीको कार्यक्रम खराब भएर भन्ने हुन्थ्यो होला ।

पार्टीको नीति नै नराम्रो भन्ने कुरा पनि हुन्थ्यो होला । पार्टीको विचार तथा नेतृत्व खराब भन्ने प्रश्न पनि उठ्ने थिए होलान् । रणनीति खराब भयो भनेर दोष लगाउने ठाउँ हुन्थ्यो । तर, विगतमा हामी २९ प्रतिशत मतमा थियौँ । अहिले हामी ३७ प्रतिशत मतमा छौँ । आठ प्रतिशत मत बढेको छ । एक सय ६५ वटा निर्वाचन क्षेत्रमध्ये एक सय सात वटा निर्वाचन क्षेत्रमा त कांग्रेसले स्पष्टरूपमा पाँच प्रतिशत मत बढाएर आएको छ । योसँगै कांग्रेस विगतमाभन्दा आठ प्रतिशत मत बढाएर आएको छ । यो राम्रो मत परिणाम हो ।

त्यसैले अहिले कांग्रेसको जनमत घटेको भए नेतृत्व असफल हुन्थ्यो होला । नीति असफल हुन्थ्यो होला । जनमत घटेको छैन । परिणाममात्रै प्राविधिक कारणले पछि परेको हुनाले नीति र नेतृत्व असफल होइन । अरूको गठजोडका कारणले हामी पछाडि पर्न गएका छौँ । त्यसैले अब हामी संयमित हुनुपर्छ । अब हामीले धैर्यता अपनाउनुपर्छ । पार्टीभित्रका विचार र चिन्तनको मनन गर्नुपर्छ । नयाँ नीति र रणनीति अवलम्बन गरेर अघि बढ्नुपर्छ ।

न की कसैलाई दोष लगाउने, कसैका विरुद्धमा मोर्चाबन्दी गर्ने, यस्तो मोर्चाबन्दी र विरुद्धमा सञ्चालन गरिएका अभियानहरूले पार्टीलाई अझै कमजोर बनाउँछ, पार्टीलाई विभाजित गर्छ । पार्टीका नेतृत्वहरूबीच मनमुटाव सिर्जना गर्छ । त्यसैले अब संगठन भनेर मात्रै पुग्दैन । सिंगो नेपाली कांग्रेस र पार्टी निर्माणको अभियान जारी भएको छ । सबै केन्द्रीय सदस्यहरूको विचारलाई केन्द्रीय समिति बैठकमा राखिनुपर्छ ।

असन्तुष्टिको सम्बोधनका लागि पार्टीले कदम चाल्नुपर्छ । नेताका सुझाव र असन्तुष्टिलाई पनि मार्ग दर्शनका रूपमा लिएर सिंगो पार्टी निर्माणको अभियानमा लाग्नुपर्छ । उहाँहरूले धारणा राख्न पाउने अधिकार हो । यो स्वभाविक पनि हो । तर, सडकमा छताछुल्ल हुने गरी नेतृत्वको चरित्र, नेतृत्वको कार्यशैलीका बारेमा टिकाटिप्पणी गर्नु त्यो अनुशासनहिनता नै हुन्छ । थप बुझ्न आवश्यक पर्छ भने बुझ्नका लागि पनि अनुरोध गर्दछु ।

प्रधानमन्त्रीका केही कदम तानाशाही प्रवृत्तिका छन्
सरकार गठनभन्दा अघि नै प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम गठबन्धनको अभियान थाल्नुभयो । धेरै राजनीतिक दलका नेताहरू, विश्लेषकहरूलाई लागेको थियो कि उहाँहरू तत्कालीन अवस्थामा बहुमत प्राप्त गर्नका लागि मात्र जुट्नुभएको हो भनेर । प्रचण्डजीले आफ्नो अस्तित्व जोगाउनका लागि र एमालेले आफूलाई बहुमतमा लैजानका लागि राजनीतिक खेल खेल्नुभयो भन्ने हामीलाई पनि लागेको थियो ।

तर, हाम्रो पार्टी सभापतिले भन्दै हुनुहुन्थ्यो यो वाम गठबन्धनले बहुमत ल्यायो भने, वा सरकार बनायो भने निरंकुशता लाद्ने प्रयन्त गर्छ अथवा रुन पनि नपाइने अवस्था आउन सक्छ । त्यसो भएको हुनाले सजग हुनुपर्छ भन्ने सन्देश दिँदै हिँड्नुभयो । तर, त्यो सन्देशले बजारमा त्यति धेरै काम गरेन । जसका कारण कांग्रेस दोस्रो पार्टी बन्न पुग्यो ।

उहाँहरू बहुमतमा आउनुभयो । उहाँहरूले माग्नुभएको दुईतिहाइ मत प्राप्त हुन सकेन । दुई तिहाइ मतको नजिक नजिक पुग्नेबित्तिकै संसदबाट बन्नुपर्ने प्रधानमन्त्री प्रधानमन्त्री बनेपछि संसदमा आउनुभयो । एउटा उदाहरण बहुमत प्राप्त दलको संसदीय दलको नेताले आफ्नो यति सदस्यहरूको समर्थन छ है भनेर नामावली राष्ट्रपतिकहाँ प्रस्तुत गरेपछि राष्ट्रपतिले प्रधानमन्त्री बन्न आह्वान गर्ने प्रचलन छ । मेरो र प्रधानमन्त्री केपी शर्मा ओलीबीचकै उदाहरण भन्छु ।

म २२ फागुनमा शपथग्रहण गरेर सांसद बने, तर उहाँ २ फागुनमै सांसदहरूको समर्थनबाट प्रधानमन्त्री बन्नुभयो । यो उदाहरणबाट प्रधानमन्त्रीका चार कमजोरी मैले देखेको छु र भन्ने गरेको पनि छु ।  पहिलोः संवैधानिक कानुनविपरीत नै उहाँ प्रधानमन्त्री बन्नुभयो । त्यहीबाट उहाँले कानुन मिच्न थाल्नुभयो । दोस्रोः संसदबाट प्रधानमन्त्री बन्नुपर्ने प्रावधान भए पनि उहाँ राष्ट्रपतिबाट प्रधानमन्त्री बन्न थाल्नुभयो ।

तेस्रोः प्रधानमन्त्री बनेपछि पहिलेको सरकारले गरेका निर्णय उल्टाउन थाल्नुभयो । निरंकुशताको झलक दिने यो एउटा काम हो । चौथोः उहाँले राष्ट्रिय अनुसन्धान, राजश्व अनुसन्धानजस्ता महत्वपूर्ण अंगहरू प्रधानमन्त्रीको मातहतमा खिचेर लिनुभयो । यो अर्को एउटा निरंकुशता र तानाशाही प्रवृत्ति हो ।

भ्रमण सन्तोषजनक मात्रै
प्रधानमन्त्रीको भारत भ्रमण दुई छिमेकी राष्ट्रसँगको सम्बन्ध सन्तुलित बनाउन नसकेर अतालिएको हो की भन्ने अनुभूति मलाई भइरहेको छ । विगतमा पनि उहाँले भारतसँगको सम्बन्धमा अखण्ड राष्ट्रवादको नारा लगाउनु, कहिले चीनको नजिकजस्तो कहिले भारतको नजिकजस्तो देखिन खोज्नुले उहाँ असन्तुलित होकी जस्तो देखिन्छ । अर्को कुरा उहाँ प्रधानमन्त्री हुने सुनिश्चित भएपछि बिना सूचना भारतका विदेशमन्त्रीलाई बोलाएर बधाई तथा शुभकामना प्राप्त गर्ने काम गर्नुभएको थियो ।

यो कामले अर्को मित्रराष्ट्रलाई ससंकित पार्ने काम गरिरहेको थियो । शंका निवारणका लागि उहाँले पाकिस्तानका राष्ट्रपतिलाई बोलाएर स्वागत गर्नुभयो । त्यो स्वागतले दक्षिणको मित्रराष्ट्रलाई अर्को शंका उत्पन्न भयो । यो दुईटा कुराबाट उहाँ असन्तुलित परराष्ट्रनीतिबाट रमाइरहेका बेला पहिलो विदेश भ्रमण चीन भन्दै गर्दा फेरि भारतलाई नै रोज्नुभयो । अरुण तेस्रोको शिलान्यास पनि भारतबाट गर्ने भनिएको भए पनि नेपालकै तयारी नपुगेकाले यो कार्यक्रम स्थगत भयो ।

यसरी समग्रमा हेर्दा नेपालको विकास र समृद्धिका लागि पाँच वर्षे स्थायी सरकारको नेतृत्व गरेर जानुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले चाहेजस्तो उपलब्धिमूलक काम गरेर आउनुभएको छ भन्ने चाँही मलाई लागेको छैन ।  यी यावत् कुरा भइरहे पनि नेपाली कांग्रेस प्रतिपक्षमा रहेर सरकारले गरेका कामको समीक्षा गरिरहे पनि नेपाली जनताको हितका पक्षमा भने सधैँ अग्रसर भएर सबैसँग सहकार्य गर्न तयार छ ।

यो पार्टी नेपाली जनताको स्वतन्त्रताका लागि नेपाली जनताको अधिकारको रक्षाका लागि स्थापना भएकाले विकास निर्माण, शान्ति, सुरक्षा र पार्टीको घोषणा पत्रमा उल्लेख भएअनुसारको समग्र समृद्धिका लागि सरकारले चाल्ने जुनसुकै कदमका लागि पनि अघि बढ्न तयार नै छ । सरकारका राम्रा कामका लागि सँधै हामी रचनात्मक सहयोगका साथ अघि बढ्न तयार छौँ । तर, विकास र समृद्धिका नाममा बाहनाबाजी गरेर जनताका अधिकार कटौती गर्ने काम गरे हामी कडा प्रतिकार गर्नेछौँ ।नेपाली कांग्रेसका कन्द्रीय सदस्य तथा सांसद मीन विश्वकर्मासँग सौर्यकर्मी टंक खनालले गरेको कुराकानीमा आधारित ।

प्रतिक्रिया