वीरेन्द्र रावल गत वर्षको भन्दा २० प्रतिशत वृद्धिभई यो वर्ष विदेशी पर्यटकको आगमन १० लाख पुगेको छ । अब दुई वर्षभित्र १५ लाख पर्यटक पु¥याउने लक्ष्य सरकारले राखेको छ । यो लक्ष्य पूर्तिका लागि पर्यटकीय गन्तव्य वृद्धि मुख्य आवश्यकता हो । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरिसकेको छ ।
जिल्ला समन्वय समिति कैलालीको आयोजना र जिल्लास्थित स्थानीय निकायको सहकार्यमा आगामी १५–१६ वैशाखमा कैलाली भ्रमण वर्षको आयोजना गरिँदै छ । विगतमा पनि सरकारले नेपाल भ्रमण वर्ष भनेर आयोजना गरेको पनि थियो । नेपाल भ्रमण वर्ष आयोजनाले स्वदेशी तथा विदेशी पर्यटकहरू नेपालमा आएर त्यसले एकखालको पर्यटन प्रवद्र्धनमा टेवा पनि पूर्वाञ्चल, हुँदै लुम्बिनीसम्म आएर टुंगिने परम्परा रह्यो र त्यसको निरन्तरता अझैसम्म पनि देख्न सकिन्छ ।
तर, प्राकृतिक रूपले निकै आकर्षक अनि सम्पदाको धनी हालको प्रदेश–७ र कर्लाणी प्रदेशसम्म पर्यटक पुर्याउनका लागि राज्यले जुन खालको मार्गदर्शकको भूमिकामा आउन सक्नुपर्दथ्यो त्यो भने हुन सकेन । जसका कारण प्रदेश–७ मा रहेका पर्यटनका सम्भावनाहरूले स्थान पाएनन् र प्राकृतिक सौन्दर्यता गर्भमै रहन पुग्यो । वेलाबखत विभिन्न खालका महोत्सव र मेलामार्फत प्रदेश–७ मा रहेका पर्यटनका सम्भावनाहरूलाई स्थानीय स्तरमा उजागर गर्ने कार्यहरू भइरहेका भएता पनि त्यसले राष्ट्रिय रूप भने लिन सकेन । जसका कारण यस क्षेत्रको पर्यटनमा सोचे अनुरुप विकास पनि हुन सकिरहेको छैन ।
प्रदेश–७ प्राकृतिक रूपले मात्र सम्पन्न नभई यस क्षेत्रका वेशभूषा, रहनसहन, कला, धर्म संस्कृति प्राकृतिक सम्पदाका नीधि र हस्ताक्षर पनि हुन् । यस क्षेत्रमा रहेको सामाजिक एकता र सद्भावले पनि प्रदेश–७ लाई अटल प्रदेशको रूपले चिनाइरहेको छ ।प्रदेश–७ क्षेत्रमा रहेका धार्मिक पर्यटनका सम्भावनालाई राज्यले बेलैमा उकास्ने र त्यस्को संरक्षण गर्ने विषयमा चासो देखाउन सकेको भए पनि पर्यटन विकासमा निकै ठूलो उन्नति हुने सम्भावना रहन्थ्यो ।
तर, राज्य, स्थानीय तहले बेलैमा पनि उचित खासै चासो देखाउन सकेको भए पनि आज प्रदेश–७ ले देशका अन्य प्रदेशभन्दा पर्यटनका क्षेत्रमा निकै ठूलो प्रगति गरिसकेको हुन्थ्यो । ढिलै भएता पनि जिल्ला समन्वय समितिका संयोजक सूर्यबहादुर थापाले सोच पुर्याएका छन् । पर्यटन विकासका लागि कैलाली जिल्ला लगायत प्रदेश–७ का अन्य पर्यटनका सम्भावना बोकेका स्थानहरूलाई प्रचारमा ल्याउने र पर्यटन क्षेत्रको विकासका लागि राज्यको ध्यानाकर्षण गराउने सम्बन्धमा कैलाली भ्रमण वर्षको आयोजना गरेको छ ।
यो निकै सराहनीय कार्य हो । जबसम्म कैलाली जिल्लाबाट प्रदेश–७ मा रहेका प्राकृतिक, सांस्कृतिक एवं धार्मिक पर्यटनका सम्भावनाको बारेमा प्रचारप्रसार गर्ने र त्यसलाई राज्यसमक्ष पुर्याउन सकिँदैन तबसम्म यस क्षेत्रको पर्यटन विकासमा पनि खासै पहल होला भन्ने आधार अगाडि देखिँदैन । त्यहि प्रयोजनका लागि जिल्ला समन्वय समितिले चालेको कदम निकै समय सान्दर्भिक छ । कैलाली जिल्ला आफैँ पनि धार्मिक, सांस्कृतिक एवं प्राकृतिक रूपले सम्भावना भएको जिल्ला हो ।
कैलाली जिल्लामार्फत प्रदेश–७ मा रहेका पर्यटनका सम्भावनाको बारेमा आन्तिरक एवं बाह्य पर्यटकहरूलाई जानकारी दिन सक्ने सूचनाबोर्ड स्थापना गरी प्रदेश–७ का पर्यटनका सम्भावना भएका र पर्यटकीय क्षेत्रहरूका बारेमा जानकारी आदानप्रदान गर्न सक्ने क्षेत्रको रूपमा विकास गर्न पनि सकिन्छ । कैलाली जिल्ला यस्तो जिल्ला हो जहाँ फागुनदेखि वैशाख महिनासम्म लालीगुराँस फूलेको हेर्न सकिन्छ । कैलाली जिल्लामा नेपालकै सबैभन्दा अग्लो चुरे पर्वतमाला पनि छ ।
प्रदेश–७ को प्रवेशद्वार कर्णाली चिसापानीदेखि उत्तरमा त्रिवेणीधाम क्षेत्र, दक्षिणमा टीकापुर बंगला पार्क उत्तरपश्चिममा राजकाँडा क्षेत्रबाट सूर्य उदाएको हेर्न सकिने मालिका मन्दिर क्षेत्र, मध्यवर्ति क्षेत्रमा अवस्थित घोडाघोडी ताल, घोडाघोडी मन्दिर, बेहेडाबाबा मन्दिर, गोदावरी धाम, बर्दगोरिया, कम्पासेधुरा डाँडा, खानीडाँडा, बुढीतोला क्षेत्र, नैनादेवी वनदेवीजस्ता प्राचीन मन्दिर, जाखोर ताल, बेहेडा बाबा क्षेत्र, कोइलीहवा ताल र पूर्व दक्षिणवर्ती सत्ती क्षेत्रमा रहेको प्रकाशेश्वर मन्दिर लगायतका दर्जनौँ क्षेत्रहरू धार्मिक पर्यटनका लागि निकै प्रख्यात क्षेत्रको रूपमा लिन सकिन्छ ।
समग्रमा भन्नुपर्दा कैलाली जिल्ला ताल तलैया, वन जंगलले भरिपूर्ण जिल्लाको रूपमा स्थापित छ । कैलाली जिल्ला प्राकृतिक सौन्दर्यका लागि निकै उर्वरभूमि पनि हो । यसै जिल्लाबाट प्रदेश–७ मा रहेका अति नै महत्वपूर्ण एवं धार्मिक, सांस्कृतिक एवं प्राकृतिक सम्पदाको खानीका रूपमा रहेका पर्यटकीय क्षेत्रहरूको अवलोकन गर्न सकिन्छ ।
अछाम जिल्लाको साँफेबगर नजिकै रहेको पुरातात्विक एवं सम्पदासूचीमा सूचीकृत वैद्यनाथ धामदेखि लिएर जनालीकोटमा रहेको जनालीकोट मन्दिर, पूर्वी क्षेत्रमा रहेको विनायस्थित पञ्चदेवल, क्षेत्रहरू र बाह्रबण्ड अठार खण्डका रूपमा चिनिने अग्लो भागमा अवस्थित रामारोशन ताल क्षेत्र अछाम जिल्लाका पर्यटकीय गन्तव्य अन्तर्गत पर्दछन् भने नेपालमै लोपोन्मुख तर अछाम जिल्लामा मात्र पाइने नौमुठे गाई एक अर्को पर्यटनको सम्भावना बोकेको चिनो पनि हो ।
यस्तै अछाम जिल्लामा मनाइने धमारी, पुत्ला, पञ्चेवाजा, हुडकेउली, होली र देउडा पनि अछाम जिल्लाका धार्मिक एवं सांस्कृतिक सम्पदाका रूपमा लिइन्छ । यस्तै बाजुरा जिल्लाको बडीमालिका क्षेत्र, बुढीन्दा ताल पनि पर्यटनको केन्द्रका रूपमा लिइन्छ । बाजुरा जिल्लामा भुवा नाच निकै प्रचलित संस्कृति हो । डोटी जिल्लामा रहेको धार्मिक पर्यटनको केन्द्र शैलेश्वरी मन्दिर स्थापित छ भने गौरा त्यस जिल्लाको अर्को लोकप्रिय संस्कृति पनि हो ।
बझाङ जिल्लामा रहेको शैपाल हिमाल, सुर्मादेवी मन्दिर धार्मिक पर्यटनका केन्द्रहरू हुन भने भुवा, देउडा लगायतका संस्कृतिहरू निकै प्रख्यात छन् । डडेल्धुरा जिल्लामा रहेको उग्रतारामन्दिर निकै प्रख्यात धार्मिक पर्यटनको क्षेत्र हो भने अमरगढी किल्ला यस क्षेत्रको अर्को पर्यटनको केन्द्र हो । डडेल्धुरा जिल्लामा गौरा पर्वलाई विशेष महत्व दिएर मनाएको पाइन्छ भने जाँतजस्ता मेलाहरू विभिन्न अवसरहरूमा मनाउने प्रचलन पनि कायमै रहेको देखिन्छ ।
बैतडी जिल्लामा रहेका त्रिपुरा, निगालाशैनी, मेलौली भगवी धार्मिक पर्यटनका केन्द्रहरूका रूपमा स्थापित छन् भने बैतडी जिल्लाको कलासंस्कृतिको रूपमा छलिया नाच निकै ख्याती प्राप्त संस्कृति हो । दाचुर्ला जिल्लामा आठ हजार मिटर अग्लो अपि हिमाल रहेको छ भने मालिकार्जुन मन्दिर त्यस क्षेत्रको धार्मिक पर्यटनको केन्द्र हो । कला संस्कृतिमा गौरा, छलिया, शौका जातिको परम्परागत नृत्यदेखि लिएर आयआर्जनका लागि यार्सागुम्बा पनि आकर्षणको केन्द्रका रूपमा लिन सकिन्छ ।
यता कञ्चनपुर जिल्ला वातावरणीय रूपले पनि निकै सम्पन्न जिल्लाको रूपमा लिन सकिन्छ । कञ्चनपुर जिल्लामा रहेको प्राचीन सिद्धनाथ बाबाको मन्दिर धार्मिक पर्यटनको केन्द्र हो । पूर्णागिरी माताको मन्दिरमा दर्शन गरेर फर्किने धर्मालम्बीहरूले अनिवार्य रूपमा सो मन्दिरको दर्शन गर्नुपर्ने धार्मिक मान्यता भएका कारण पनि भारतीय पर्यटकहरूको घुइँचो लाग्ने गरेको पाइन्छ । कञ्चनपुर जिल्लामा रहेको शुक्लाफाँटा आरक्षमा नेपालमै लोपोन्मुख कृष्णासारको अवलोकन गर्न पाइन्छ । यस क्षेत्रमा विभिन्न जिल्लाबाट बसाइँसराइ गरेर मानिसहरू आउने हुनाले यस जिल्लामा सांस्कृतिक विविधता छ ।
विविधतामा एकता पनि उत्तिकै कायम रहेको पाइन्छ । यस जिल्लामा बेदकोट ताल झिलमिला ताल पर्दछन् भने लिंगा क्षेत्र पनि धार्मिक पर्यटन केन्द्रको रूपमा स्थापित क्षेत्र हुन् । नेपालका कैलाली र कञ्चनपुर जिल्लामा मात्र बसोवास गर्ने राना थारूहरूको परम्परागत पहिरन, राना नृत्य, र थारू समुदायको झुम्रा नाच, डङगरवा नाच, लठ्ठि नाच, सखिया लगायतका महत्वपूर्ण संस्कृतिहरू पनि पर्यटनका लागि निकै सम्भावना बोकेका देखिन्छन् ।
कैलाली जिल्लालगायत प्रदेश–७ का नौ वटै जिल्लामा बसोवास गर्ने मानिसहरू र समुदायका आआफ्नै कला, धर्म संस्कृतिहरू रहेका छन् । यही मौलिकता र संस्कृतिले प्रदेश–७ लाई सांस्कृतिक एकतामा बाँधेको पनि पाइन्छ । सबै जात, धाषाभाषी र संस्कृतिका मानिसहरूको धार्मिक एवं सांस्कृतिक एकतालाई बलियो बनाउँदै लगेको पाइन्छ । कला, संस्कृति र वातावरणीय सौन्दर्यका लागि निकै प्रख्यात कैलालीलगायत प्रदेश–७ लाई देसकै मूलप्रवाहमा ल्याउनका लागि यस क्षेत्रको कला, संस्कृति र प्राकृतिक सम्पदालाई समेत उजागर गर्नुपर्ने देखिन्छ ।
राज्यले यस क्षेत्रको पर्यटन विकासका लागि जसरी लगानी गर्न सक्नुपर्दथ्यो त्यसरी नगरेका कारण पनि यस क्षेत्रको पर्यटन विकासमा खासै उपलब्धी प्राप्त हुन सकिरहेको देखिँदैन । सात नम्बर क्षेत्रमा रहेका धार्मिक, सांस्कृतिक, प्राकृतिक सम्पदान र वेशभूषालाई राज्यको मूलप्रवाहमा ल्याउन सकेको खण्डमा यस क्षेत्रको पर्यटन व्यवसायमार्फत पनि निकै ठूलो आर्थिक विकास हुनुका साथसाथै बेरोजगारी घटाउने कार्यमा पनि निकै ठूलो टेवा पुग्ने देखिन्छ ।
प्रतिक्रिया