सात दिने भिसामा विदेश, २२ होटेलको मेनेजर !


सुनसरी वराह नगरपालिका–९ प्रकाशपुरका २८ वर्षका श्याम कार्की सामान्य परिवारका मान्छे हुन् । सुनसरी टेक्निकल कलेज धरानमा एसएलसी पास गरी सिभिल इन्जिनियरिङ अध्ययन गरेर जागिर खान उनी काठमाडाैँ छिरे । तर, भनेजस्तो जागिर पाएनन् । विदेशमा होटल लाइनमा काम राम्रो पाइन्छ भनेर सिंगापुरको सपना देखेर उनी काठमाडौंमा ह्वाइट हाउसबाट ०५७ सालमा होटल म्यानेजमेन्टबाट डिप्लोमा गरे ।

साथीहरूको लहैलहैमा ०६९ मा सात दिनको भिसा लगाएर उनी सिंगापुर गए । वेटरमा काम गर्न गएका कार्कीले काम पाएनन् । त्यहीबाट उनी मलेसिया छिरे । एक वर्षसम्म त्यहाँको होटल सनवे पुत्रा र सेराटन होटलमा वेटरको काम गरे । त्यसपछि ०६९ को अन्तिममा उनले चीनका तीन दाजुभाइले खोलेको ग्रान्ड इन्टरनेसनल होलटमा पार्टटाइम वेटरको काम पाए । त्यति वेलासम्म उनले मलेसियाको वातावरण बुझिसकेका थिए ।

मालिकको राम्रो सेवा गर्दा भाग्य चम्कियो
नम्र स्वभाव, बोल्न फरवार्ड, ग्राहकहरूप्रति सधैँ वफादार कार्की पार्टटाइम वेटरको रूपमा ग्रान्ड होटल छिरेपछि भने उनले भाग्य चम्कियो । दुई हप्ता मात्र वेटरको काम गरेका थिए । ग्राहकका रूपमा मालिक होटलमा आए । उनले आफ्नै मालिकलाई सर्भिज गर्ने मौका पाए । मालिक भनेर थाहा थिएन उनलाई निकै बेर गफ पनि गरे । ग्राहकसँगको डिल गर्ने शैली, उनको कामप्रतिको लगाव देखेर कार्यालयमा उनलाई बोलावट भयो ।

उनी के काम बिगारियो र अब जागिर जाने हो कि भन्दै कार्यालय गए । उनको हातमा वेटरको सुपरभाइजरको पत्र थमाइदिए । त्यो पोस्टमा उनले चार महिना मात्र सेवा गरे । त्यहाँ पनि उनले उत्कृष्टता प्रदर्शन गरे । त्यसपछि सबै विभागमा हेर्न उनलाई नो अब्जेक्सन लेटर दिइयो । फ्रन्ट अफिस, किचेन, सबै ठाउँको अध्ययन गर्ने मौका पाए । उनले फ्रन्ट अफिसमा एक वर्ष समय दिएर काम गरे । त्यसपछि उनले होटलको मेनेजरमा नियुक्ती पाए ।

एक वर्ष काम गरेपछि होटलको हेडक्वार्टरमा उनलाई होटेलको जनरल मेनेजरको काम दिइयो । त्यो कामबाट पनि होटेल मालिकको मन जित्न सफल कार्की मलेसिया र सिंगापुरमा सञ्चालित १४ वटा होटेलहरूको व्यवस्थापन हेर्ने ग्रुप मेनेजर भए ।सात दिनको भिसामा विदेश छिरेका मजदुर साढे दुई वर्षको अन्तरालमा दुई देशमा भएका होटलहरूको ग्रुप मेनेजर हुनु चानचुने कुरा होइन ।

बिदा मनाउन घर आएका कार्कीले निक्कै खुसी मुद्रामा आफ्नो प्रगतिको कथा सुनाउँदै भने, ‘कामप्रति मेरो लगाव र होटेल मालिकहरूको विश्वास जित्न सफल भएपछि मैले यति थोरै समयमा आफैँले कल्पना नै गर्न नसकेको सफलता पाएँ । इमानदार भएर काम गरे सफलता त्यति टाढा रहेनछ ।’ उनले अहिले चीन, सिंगापुर, मलेसियामा भएका २२ वटा होटेलहरूको निगरानी गर्ने जिम्मा पाएका छन् । होटेलका शाखाहरू नेपालको लुम्बिनी र भुटानमा पनि खोल्ने तयारी भइरहेको छ ।

पाँच वटा मुलुकमा कम्पनीले ६२ वटा शाखा सञ्चालनमा ल्याएको उनले बताए ।  उनकाअनुसार चिनियाँ तीन दाजुुभाइले खोलेको होटेलका पहिलो पुस्ताका मालिकहरू पनि सामान्य परिवारका थिए । चीनमा रिक्सा तानेर केही पैसा जम्मा गरी उनीहरू काम गर्न मलेसिया छिरेका थिए । उनीहरूको अहिले मृत्यु भइसकेको छ । छोराहरूले सञ्चालन गरिरहेका छन् । रोर्बट, इटी र इएस तानले होटल स्थापना गरेका हुन् ।

प्रत्येक होटलमा मेनेजर हुन्छ ती मेनेजरले बनाएको रिपोर्ट चेक गर्ने र होटललाई कसरी गुणस्तर राम्रो बनाउने विषयमा उनले परामर्श दिन्छन् ।  उनले उक्त होलटमा सेवा गरेको पाँच वर्ष मात्र भएको छ । कार्कीले अहिले आफ्नै लगानीमा मलेसिया र सिंगापुरमा टाभल्स टुर पनि खोलेका छन् । उनले नेपालबाट जाने पर्यटकहरूलाई मलेसिया र सिंगापुर घुमाउने काम पनि गर्छन् । द एराइज ट्राभल्समार्फत उनले नेपाल घुम्ने पर्यटक पनि पठाउँदै आएका छन् ।

नेपालको हालत देखेर पर्यटकले बस्ने समय छोट्याए
नेपालका सडकमा भएको धुलो धुवाँ र फोहोरका कारण अन्तर्राष्ट्रिय एयरपोर्टबाट नेपाल प्रवेश गर्ने बित्तिकै पर्यटकहरूले नाक खुम्चाउँछन् । पूरै नेपाल घुम्ने योजना बनाएर आएका पर्यटक पनि एक हप्ता काठमाडौं बसेर फेरि फर्कने गरेको तीतो यथार्थता सुनाउँदै उनले नेपालमा पर्यटक प्रवद्र्धनका क्षेत्रमा सुधार गर्नुपर्ने सुझाव दिए । उनले भने, ‘नेपालमा घुम्ने अथाह स्थान भए पनि विदेशीलाई लक्षित गर्दै त्यसको प्रवद्र्धन गर्न धेरै बाँकी छ । अब पर्यटनकै क्षेत्रमा धेरै लगानी गर्ने हो भने राम्रो आम्दानीको स्रोत पर्यटन नै हुनसक्छ ।’

नेपालमा अन्तर्राष्ट्रिय मान्यताको होटेल खोल्छु
नेपालका होटेलबारे पनि राम्रो अध्ययन गरेका कार्कीले नेपालमा अन्तर्राष्ट्रिय स्तरको होटेलका रूपमा हायत, सोल्टी, द्वारिका र सांग्रिला मात्र रहेको बताए । अबको दुई÷चार वर्षमा होटेलका क्षेत्रमा गरेको अनुभव र त्यसबाट सिकेको पाठलाई नेपालमा उतार्ने योजना बनाएका कार्कीले नेपालमै अन्तर्राष्ट्रिय स्तरको होटेल खोलेर धेरै विदेशी पर्यटकलाई नेपालको आकर्षणबारे जानकारी गराउने कार्कीको योजना छ ।

उनले अहिले सिंगापुर र मलेसियामा भएको आफ्नो ट्राभल्समार्फत नेपालका पूर्वी क्षेत्रमा पर्यटक भित्र्याउनका लागि पहल गरिरहेका छन् ।अहिले प्रचारको अभावमा चितवनको सौराहाबाहेक पूर्वी क्षेत्रमा विदेशी पर्यटक नआएको उल्लेख गर्दै कार्कीले पूर्वका पर्यटकीय क्षेत्रको प्रचार गर्न र धेरैभन्दा धेरै पर्यटक भित्र्याउन पहल गर्ने कार्कीले बताएका छन् ।
(कुराकानीमा आधारित)

प्रतिक्रिया