युट्युब गोली काण्डको नयाँ खुलासा

ब्वाइफ्रेन्डलाई मार्न आएकी थिइन् महिला

क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्नियामा युट्युब मुख्यालयमा भएको गोली काण्डको नयाँ खुलासा भएको छ । शंस्कास्पद महिला सुटर आफ्नो ब्वाइफ्रेन्डलाई मार्न त्यहाँ पुगेकी बताइएको छ । यो गोली काण्डमा उनका ब्वाइफ्रेन्डसहित चार जना घाइते भएका छन् । हमलापछि उनले आफूले आफैँलाई गोली हानेकी छन् । ३९ वर्षीया नसिम अगमद नामकी ती महिला घटनास्थलमै ढलेकी थिइन् ।

प्रहरीले यो घटनालाई अहिले यही कोणबाट अनुसन्धान गरिरहेको बताइएको छ । यो आतंककारी हमला नभएर घरेलु झगडाको विष भएको प्रहरीको ठहर छ । उनी आफ्नो ब्वाइफ्रेन्डसँग मात्र होइन युट्युबलगायत अन्य भिडियो सेयरिङ साइटसँग पनि रिसाएकी थिइन् । युट्युबले भिडियो अपलोडमा भेदभाव गर्ने गरेको उनको आरोप थियो ।

उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्काल प्रहरी घटनास्थल पुगेर स्थितिलाई नियन्त्रणमा लिएकोमा धन्यवाद दिएका छन् । स्थानीय मिडिया एनबिसीका अनुसार ती महिलाले लञ्च समयमा आक्रमण गरेकी थिइन् । उनी पहिले डाइनिङ क्षेत्रमा पुगिन् र गोली चलाउन सुरु गरिन् । एक्कासि भएको आक्रणका कारण सबैजनाको भागाभाग भएको थियो ।

घटनाको केही समयपछि नै आफूहरू पुगेको त्यहाँ पुग्दा मानिस बाहिर निस्किरहेको प्रहरीले बताएका छन् । उनी पशु अधिकारकर्मी भएको डेलिमेलले उल्लेख गरेको छ । उनी पशुअधिकारकर्मी मात्र होइन युट्युबमा सक्रिय पनि थिइन् । उनी युट्युबले ल्याएको नयाँ नीतिको विरोध गर्नेहरू मध्येकी थिइन् । युट्युबले भिडिओ सेन्सरप्रति उनी रुष्ट थिइन् किनभने यसले उनको कमाइ रोकिएको थियो ।

युट्युबले भेदभाव गरेको आरोप लगाउँदै उनले नसिमसावज डट कममा केही दिन पहिले लेखेकी थिइन्, ‘युट्युबले अन्य भिडियो अपलोड साइटलाई बराबर अघि बढ्ने अवसर दिँदैन । उसले चाहँदा मात्र तपाईं अघि बढ्नु हुनेछ ।’ नसिमको आरोपपछि युट्युबले उनको एकाउन्ट हटाएको थियो । उनको फेसबुक र इस्टाग्राम एकाउन्ट पनि हटाइएको थियो । नसिमका पिता इस्माइल अगमदले भने, ‘मैले पहिले नै प्रहरीलाई यसबारे जानकारी दिएको थिएँ । उनी युट्युबसँग आक्रोशित छिन् र जुनसुकै वेला मुख्यालय जान सक्छिन् ।’

आखिर भयो पनि यही, उनको शव घरभन्दा ४ सय ७० मिल टाढा भेटियो । प्रहरीकाअनुसार यो घटनामा एक ३६ वर्षीय पुरुष घाइते भएका छन् । उनको अवस्था गम्भीर रहेको बताइएको छ । तीनै व्यक्ति नसिमको ब्वाइफ्रेन्ड रहेको ठानिएको छ । एक ३२ वर्षीया महिलाको पनि अवस्था गम्भीर छ । एक २७ वर्षीय पुरुष घाइते छन् अन्य घाइतेको भने कुर्कुच्चामा सामान्य चोट लागेको छ ।

गुगलका सिइओ सुन्दर पिचईले युट्युब मुख्यालयमा भएको गोलीकाण्डलाई दुःखद् भनेका छन् । उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘युट्युब मुख्यालयमा भएको गोली काण्डको दुःखद् घटनालाई म शब्दमा बयान गर्न सक्दिनँ । युट्युबका सिइओ सुसान बोजिकी र म यस मुस्किलको घडीमा कर्मचारीहरू र युट्युब समाजलाई सहयोग गर्न केन्द्रित भएका छौँ ।’

प्रतिक्रिया