‘स्तन क्यान्सरको जोखिम बढ्दो‘ डा. अम्बुज कर्ण

काठमाडौं । नेपालमा क्यान्सरका बिरामीको संख्या बढ्दो रूपमा पाइएको छ । त्यसमा पनि फोक्सो, स्तन, आमाशय, पाठेघर तथा पाठेघरको मुखको क्यान्सरका बिरामीहरूको चाप बढी नै देखिएको छ ।  क्यान्सरको प्रकोप, जोखिम बढ्दो छ, त्यसैअनुसार क्यान्सर पत्ता लगाउने प्रविधिको पनि विकास हुँदै गएको छ । पहिले पहिले जस्तो उपचार गर्न कठिनाई अहिले छैन । रोग लागेको छ भने चाँडै नै उपचार गर्नुपर्छ । उपचार गर्ने पद्धतिको विकास हुँदै गएकाले क्यान्सर लाग्दैमा आत्तिनु पर्ने अवस्था अहिले छैन ।

नेपालकै पुरानो र ठूलोसमेत रहेको सरकारी अस्पताल हो वीर अस्पताल । यहाँ विभिन्न रोगका बिरामीहरू उपचारमा आउने गरेका छन् । तर, जति बिरामी आउँछन् ती सबै अन्य अस्पतालमा उपचार गरेर निको नभएपछि आउनेहरूको संख्या अधिक रहेको छ । यसरी अन्य अस्पतालबाट ठीक नभएपछि आएका अधिकांश बिरामीको अवस्था अत्यन्तै नाजुक हुन्छ । त्यसमा पनि क्यान्सरका बिरामीको अवस्था त रोगले पुरै जगडिसकेको अवस्था हुन्छ । यस्तो अवस्थामा उपचार पनि नलाग्ने अवस्था हुन सक्छ ।

सुरुको अवस्थामा क्यान्सरको पहिचान गरेर उपचार हुन सकेमा निको हुने सम्भावना अधिक हुन्छ । मानिसको आहार, विहार तथा अन्य क्रियाकलापले गर्दा क्यान्सरजस्तो प्राणघातक रोग लाग्न सक्छ । क्यान्सर शरीरका जुनसुकै भागमा लाग्न सक्छ । त्यसमा पनि अस्पतालमा आएका क्यान्सर रोगीको अवस्थालाई हेर्ने हो भने स्तन क्यान्सरका बिरामीको संख्या पनि कम छैन । अहिलेको युगले मानिसलाई धेरै सचेत बनाएको छ । पहिलेका मानिसलाई यसबारेमा त्यति ज्ञान नभएर उपचारतर्फ नलागेका पनि हुन सक्छन् ।

तर, अहिले स्तनमा गाँठागुँठीको शंका लाग्ने बित्तिकै चिकित्सिकमा पुगी हाल्छन् । त्यहाँमाथि पनि आफूलाई सुरक्षित राख्नका लागि वेलावेलामा स्वास्थ्य परीक्षण गर्ने महिलाको संख्या पनि कम छैन । क्यान्सर नसर्ने रोग हो तर, यो रोगले एक व्यक्तिलाई मात्र नभई समाज, देश र सारा विश्वलाई नै चुनौती थपिरहेको छ । जुनसुकै उमेरका मानिसलाई शरीरका सबै अंगमा क्यान्सर हुन सक्छ । महिलाहरूमा सबैभन्दा बढी स्तन क्यान्सर हुने गरेको छ । स्तनमा नयाँ मासु वा गाँठो आएर अनावश्यक रूपमा बढ्यो भने त्यो स्तन क्यान्सर हो ।

क्यान्सर हुँदैमा डराउने, आत्तिने गर्नु हुँदैन त्यसका लागि जीवनशैलीमा परिवर्तन गर्न जरुरी छ । हामीले दैनिक सागसब्जी र फलफूल बढी खाने, जंकफुड, तारेको र भुटेका खाद्यवस्तु कम खाने गर्नुपर्छ । स्तन क्यान्सर पुरुषमा पनि हुन्छ । हजार जना पुरुषहरूमध्ये एक जना पुरुषलाई स्तन क्यान्सर लाग्दछ । पुरुषमा हुने स्तन क्यान्सर शून्य दशमलव १ प्रतिशत हुन्छ । कलेजोको कारणले हुने गरेको क्यान्सर नै पुरुषमा हुने स्तन क्यान्सर हो ।

स्तन क्यान्सरको कारण
गलत रहनसहन र खानपिन क्यान्सर लाग्नुको प्रमुख कारण हो । स्तन क्यान्सर सहरीया महिलाहरूमा हुने सम्भावना बढी हुन्छ । कोही आफ्नो सुन्दरमा कमी आउने डरले त कोही व्यस्थ जीवनले गर्दा आफ्ना बच्चलाई सहरीया महिलाहरु बच्चालाई स्तनपान कम गराउँछन् । जसले गर्दा दूध गानिन गई स्तन क्यान्सर हुने सम्भावन बढ्न जान्छ । ज्यादै मोटोपना र सन्तान उत्पादन नगर्ने महिलाहरूमा पनि यो रोग भएको पाइन्छ ।

सुरुको अवस्थामा स्तन क्यान्सर हुँदा केही नहुने वा लक्षण नै देखा पर्दैैन । स्तनमा गिर्खा भए पनि नदुख्ने भएकाले थाहा हुँदैन । त्यसैले ४० वर्ष कटेपछि नियमित रूपमा स्वास्थ्य जाँच गराउनुपर्छ । सन्तान जन्माउन असमर्थ र जन्माएर पनि स्तनपान नगराउने महिलाहरूलाई स्तन क्यान्सर हुने सम्भावना बढी हुन्छ । जुन महिलाको महिनावारी छिटो वा सानो उमेरदेखि नै सुरु भएको हुन्छ र महिनावारी (मेनोपज) लामो समयपछि मात्र सकिन्छ, त्यस्तालाई स्तन क्यान्सर हुने सम्भावना बढी हुन्छ ।

नियमित व्यायाम नगर्ने, पिल्स खाने महिलालाई क्यान्सर जोखिम हुन्छ ।  तथ्यांकमा ४० र ५० वर्षपछि मात्रै स्तन क्यान्सर बढी देखिन्छ । तर, अहिले ४० वर्ष नै नपुग्दै स्तन क्यान्सर बढी देखिएको छ । युवावस्थाका (२०–३०) वर्ष उमेरका महिलामा पनि देखिएको छ । स्तनको आकारमा परिवर्तन आएमा जाँच गर्नुपर्छ ।

दूधको निप्पल (मुन्टा) बाट रगत बग्ने, पानी बग्ने, पिप बग्नेजस्ता लक्षण देखिए तुरुन्छ चिकित्सककोमा जानुपर्छ । स्तन क्यान्सर हुँदा काखीमा गिर्खा आउन सक्छ । क्यान्सर अन्य अंग फोक्सोमा फैलियो भने खोकी लाग्ने र छाती दुख्ने हुन्छ भने हड्डीमा फैलिँदै जाँदा हाड दुख्छ । टाउकोमा फैलिँदा टाउको दुख्ने, वान्ता आउने लक्षण देखिन्छ ।

बच्ने उपाय
महिनाको एकपटक आफैँ स्तन छाम्ने वा वर्षका एकपटक विशेषज्ञसँग सल्लाह लिने गर्नुपर्दछ । जाँच गर्दा महिनावारी हुनुभन्दा अगाडि वा पछाडि गर्नु सबैभन्दा उत्तम हुन्छ । किनभने महिनावारी भएको बेलामा स्तन कडा हुन्छ र परीक्षण गर्दा थाहा नहुने सम्भावना बलियो रहने गर्दछ । मेमोग्राम (स्तनको एक्स–रे गर्ने विशेष प्रकारको मेसिन) बाट नियमित चेकजाच गर्ने गर्नुपर्दछ । जसले क्यान्सरको सुरुको अवस्थासहित स्तनमा भएको गाँठासमेत पत्ता लगाउँछ ।

यसैगरी गलत खानपानका कारण पेटमा रहेका विभिन्न अंगमा समेत क्यान्सरको खतरा रहने गर्दछ । पेटमा हुने क्यान्सर मध्ये विशेषगरी आमाशयमा हुने गर्दछ । यस्तै आन्द्रा, फोक्सो, कलेजोमा पनि क्यान्सरको सम्भावना अत्याधिक हुने गरेको छ । आन्द्रा, कलेजो, आमाशयको क्यान्सरको लक्षणका रूपमा खान मन नलाग्ने, दुब्लाउँदै जाने हुन्छ । क्यान्सरको प्रमुख लक्षण नै सुरुमा खान मन नलाग्ने, दुब्लाउँदै जाने हो । आमाशय क्यान्सर हुँदा पेट दुख्ने, वान्ता आउने लक्षण देखापर्दछ ।

त्यस्तै आन्द्रा क्यान्सर हुँदा दिशामा रगत जाने र दिशाको रङ नै बदलिएर दिशा कालो हुन्छ । कलेजो क्यान्सर भएको बिरामीमा जन्डिस देखियो भने त्यो फैलिसकेको र बढी जोखिम अवस्था हो । मद्यपान, धूमपान गर्ने, हेपाटाइटिस भएको व्यक्तिलाई क्यान्सर हुने सम्भावना बढी हुन्छ, त्यसैले चनाखो हुनुपर्छ । परिवारमा अरू सदस्यलाई क्यान्सर भएको छ भने पनि सर्तकता अपनाउन जरुरी छ । खानपिन, आनीबानी, रहनसहनमा परिवर्तन ल्याउन सकियो भने क्यान्सर हुनबाट बच्न सकिन्छ ।

३० देखि ४० प्रतिशत क्यान्सर दैनिक गतिविधि, खानपिन (मद्यपान, धूमपान) ले हुन्छ । नियमित रूपमा व्यायाम गर्ने, सागपात, फलफूल बढीभन्दा बढी खाने, जंकफुड कम खाने, सेकुवा, भुटन, आगोमा पोलेर बनाइएको मासुको परिकार कम खानुपर्छ । पोलेको मासु आन्द्रा र खाना नलीको क्यान्सर गराउने मूख्य कारण हो । क्यान्सर भएको सुरुको स्टेजमा पत्ता लगाउन सक्यो भने ९९ प्रतिशत निको बनाउन सकिन्छ । क्यान्सर हुनेबित्तिकै त्यसको उपचार नै नहुने र मृत्यु भइहाल्ने भन्ने हुँदैन ।

पोलेको मासुले बढी जोखिम
खानानलीको क्यान्सर गराउने मूख्य कारण भनेको पोलेको मासु हो । विशेषगरी पोलेको मासुले आन्द्रा र खाने नलीको क्यान्सर हुन्छ । त्यसैले पोलेको मासु खानबाट जोगिन सकियो भने क्यान्सर हुनबाट पनि बच्न सकिन्छ । पोलेको मासुमा केमिकल हुन्छ, फ्याट मासु आगोमा पकाइन्छ त्यसले केमिकल उत्पादन गर्छ । त्यो केमिकलले आन्द्राको भागमा क्यान्सर हुने तत्वहरूलाई बढवा गर्छ । त्यसले क्यान्सर बन्ने तत्व बनेको बनेकै गर्छ त्यसले गर्दा क्यान्सर हुने सम्भावना बढी हुन्छ ।

क्यान्सर वंशानुगत हुने भएकाले समय समयमा उपचार गराई बच्न सकिन्छ । क्यान्सरको प्रकोप, जोखिम बढ्दो छ यो नराम्रो÷डरलाग्दो पक्ष हो । क्यान्सर उपचार गर्ने प्रविधिको पनि विकास भएकाले सबैले बेलाबखतमा चेकअप गराउनुपर्छ ।  वीर अस्पतालका क्यान्सर विशेषज्ञ तथा सहायक प्रोफेसर डा. कर्णसँग सौर्य दैकिककी यसिमा महतले गरेको कुराकानीको अंश

प्रतिक्रिया