यौन रोगको खतरनाक घटना !

लन्डन । एक बेलायती पुरुष यौन रोग सुपर गानोरिया (सुजाक) बाट गम्भीर बनेका छन् । यी पुरुषको बेलायतमा एक नियमित यौनसाथी छिन्, तर उनले दक्षिण–पूर्व एसिया भ्रमणका क्रममा एक महिलासँग यौन सम्बन्ध राख्दा यो रोग लागेको हो । सार्वजनिक स्वास्थ्य बेलायतले कुनै एन्टिबायोटिकले नछुने यो पहिलो यौन रोग फेला परेको बताएको छ । यो रोग फैलन नदिन यी पुरुषका लागि कुनै अर्कै यौनसाथीको खोजी भइरहेको स्वास्थ्यकर्मीले बताएका छन् ।

यी पुरुषलाई यो रोगको संक्रमण यसै वर्ष भएको हो । अहिलेसम्म दिइएका कुनै पनि एन्टिबायोटिक उपचारले बिरामीलाई छुनसमेत सकेको छैन । सार्वजनिक स्वास्थ्यसँग जाडिएका डा. ग्वेडा हग्स भन्छन्, ‘यो पहिलो घटना हो, जसमा आम रूपमा प्रयोग गरिने एन्टिबायोटिक निकम्मा साबित भएको छ ।’ विश्व स्वास्थ्य संगठन र युरोपियन सेन्टर फर डिजिज कन्ट्रोलले संसारमा आफ्नै विशेषताको यो पहिलो घटना भएको बताएको छ ।

यो रोग निस्सिरिया गोनोरिया नामको एक ब्याक्टेरियाबाट सर्दछ । असुरक्षित, अप्राकृतिक र ओरल सेक्सबाट यो फैलन्छ । जसलाई यो रोग लाग्दछ, त्यसमा हरेक दश जनामा एक जना हेट्रोसेक्सुअल पुरुष, तीन चौथाइभन्दा बढी महिला र समलिंगी पुरुषमा यसको लक्षण देखिँदैन ।  यो रोगको लक्षणमा यौनांगमा गाढा हरियो रङको थोप्ला देखिनु, पिसाब गर्दा दुख्नु र महिलामा दुई महिनावारीको बीचमा रक्तस्राव हुनु रहेको छ ।

यदी यसको उपचार हुन नसके बाँझोपन हुन सक्ने, यौनांग सुन्निने र पोल्ने हुन सक्छ र गर्भावस्था भएमा यो बच्चासम्म पुग्न सक्छ ।  जुन पुरुषलाई यस्तो गम्भीर रोग लागेको छ, त्यसको विश्लेषणबाट पत्ता लागेको छ कि, एक एन्टिबायोटिकले त्यसमा काम गर्न सक्छ । अहिले ती पुरुषको उपचार भइरहेको छ । आगामी महिना मात्र यसको उपलब्धि थाहा पाउन सकिने बताइएको छ ।

प्रतिक्रिया