मेडिकलको परीक्षामा उच्चतम प्रविधि

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरूको लागि लिने लाइसेन्सिङ परीक्षा (दर्ता प्रमाणपत्र परीक्षा) मा निक्कै कडाइ गरेको छ । विगतका परीक्षामा अनियमितता भएका खबरहरू सार्वजनिक भएपछि काउन्सिलले सम्भावित अनियमितता नियन्त्रणका लागि पहिलोपटक प्रविधिको प्रयोग गरेको हो ।

काउन्सिलले पहिलोपटक मोबाइल जामर प्रयोग गरेको छ भने विद्यार्थीलाई कलमसमेत आफैँ उपलब्ध गराएको छ । नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान, कलेज अफ मेडिसिन, भण्डार खालमा शनिबार लिइएको लाइसेन्स परीक्षामा तीन वटा मोबाइल जामर प्रयोग गरिएको काउन्सिलले जानकारी दिएको छ । परीक्षामा एमबिबिएस गरेका १ हजार ६ सय ३८ र बिडिएस गरेका ३ सय ५ गरी १ हजार ९ सय ४३ परीक्षार्थी सहभागी थिए ।

यता, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) ले एमडी÷एमएस र स्नातकोत्तर तहका अन्य विषय (पिजी) का लागि लिएको प्रवेश परीक्षामा पनि निक्कै कडाइ गरेको छ । आइओएमले एक सूचना निकालेर शनिबार र आइतबारको परीक्षामा कुनै पनि विद्युतीय तथा प्राविधिक वस्तु नल्याउन आग्रह गरेको थियो ।

सोहीअनुसार शनिबारको परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन परीक्षा हलमा क्यालकुलेटर, मोबाइल, ट्याबलेट लगायतका कुनै पनि विद्युतीय उपकरण लैजान रोक लगाएको थियो । यसका साथै आइओएमले विद्यार्थीलाई लेख्ने कलमसमेत लान दिएको थिएन । विद्यार्थीलाई परीक्षा हलमा नै कलम उपलब्ध गराइएको थियो । परीक्षा हलमा प्रवेश गर्नुअघि नै विद्यार्थीको आँखा तथा कानको समेत चेकजाँच गरिएको थियो ।

परीक्षा हलमा प्रवेश गर्नका लागि नै कडा सुरक्षा जाँचको व्यवस्था गरेपछि परीक्षा दिनका लागि आवेदन दिएका आधाभन्दा बढी विदेशी विद्यार्थी परीक्षामा अनुपस्थित भएको आइओएमले जानकारी दिएको छ । विदेशी विद्यार्थीलाई त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको महाराजगञ्ज नर्सिङ क्याम्पसमा परीक्षा केन्द्र तोकिएको थियो ।

परीक्षाका लागि ५ सय ९० विदेशी विद्यार्थीले आवदेन दिए पनि कडाइ गरेपछि २ सय ९८ जना मात्र सहभागी भएको आइओएमले जनाएको छ । विगतका प्रवेश परीक्षामा विद्यार्थीले प्रविधिको सहयोगमा डिभाइसको प्रयोग गर्दै चिट चोरेको फेला पारेपछि आइओएमले यो पटक विशेष सुरक्षा व्यवस्था गरेको थियो । आइओएमका अनुसार पिजी तहका लागि ४ हजार ९८ जना विद्यार्थीले आवेदन दिएका थिए ।

प्रतिक्रिया