प्रदीप उप्रेती राजनीति र कुटनीति एक अर्कोका परिपूरक हुन् । एकको अभावमा पनि अर्को पक्षले पूर्णता नपाउने निश्चित छ । सार्वभौमसत्ता सम्पन्न मुलुकको राजनीतिक स्थायित्व, शान्ति एवं आर्थिक समृद्धिको लागि छिमेकीराष्ट्रबाट प्राप्त हुने सहयोग तथा सद्भाव आवश्यक मानिन्छ ।
यस प्रकारको गहन विषयवस्तुमा आवश्यक तालमेल मिलाउनको लागि दक्ष कुटनीतिज्ञको भूमिका निकै महत्वपूर्ण रहन्छ । तसर्थ यी समूहबाट यथा समयमा गरिने सहि सल्लाह, सुझाव एवं आवश्यक निर्णयले मुलुकको विदेश नीतिमा प्रत्यक्ष वा परोक्ष प्रभाव पर्ने भएको हुँदा सम्बद्ध पक्षको राजनीतिक नियुक्तिमा विशेष ख्याल राख्नुपर्ने हुन्छ ।
कुटनीतिज्ञमा रहनुपर्ने आवश्यक गुणको अभाव तथा राजनीतिक आस्थाको आधारमा गरिने नियुक्तिले कहिलेकाहीँ असमनजस्य व्यवहार खडा भई विवादास्पद कार्यको सूत्रपात हुने सक्ने खतरा देखिन्छ । जसका कारण राज्यको विदेश नीतिमा नकारात्मक प्रभावको जालो लाग्ने प्रवल सम्भावना रहन्छ । वर्तमान नेपालको परिपे्रक्षमा भनाइ र गराइमा हुने तात्विक असरले गर्दा वेलाबखतमा कुटनीतिको क्षेत्रमा चिसोपनको आभाष हुने गरेको छ ।
सरकार परिवर्तन हुने वित्तिकै उक्त समुहमा आसिन रहन्छु वा रहन्न भन्ने मनोवैज्ञानिक त्रास नै यस क्षेत्रको समस्याको जड हो । मुलुकमा सत्ताको नयॉ बागडोर सम्हाल्नेवित्तिकै विदेशस्थित नियोगहरूमा कार्यरत कुटनीतिक नेतृत्व परिवर्तन गरी आफूनिकट राजनीतिक आस्थाको आधारमा नियूक्ति गर्न हतारिने प्रवृत्तिले यस क्षेत्रमा नकारात्मक छाप छोडेको छ । कुटनीतिक क्षेत्रका ज्ञाता एवं अब्बल व्यक्तित्वलाई जिम्मेवारी दिने हो भने निश्चितरूपमा अत्यधिक सफलता प्राप्त गर्न सकिने थियो ।
परराष्ट्र सेवामा लामो समय व्यतित गरेका विज्ञ वा परराष्ट्र मामिलासम्बन्धि अभिरुची एवं दक्षता हासिल गरेका बौद्धिक व्यक्तित्व पहिचान गरी गरिने राजनीतिक नियुक्तिबाट आशातित सफलता प्राप्त गर्न सम्भव छ । किनकी विदेशस्थित नियोगका पदाधिकारीहरू निश्चितरूपमा सम्बद्ध मुलुकको राज्यको मातहतमा रहने प्रबुद्धवर्ग भएको हुँदा कुनै पनि राजनीतिक विचारमा आधारित सरकारले कुटनीतिज्ञहरूलाई हेर्ने नजरमा परिवर्तन गरी आत्मीयता कायम राख्न सके वैदेशिक सम्बन्ध विकासमा थप मद्दत पुग्ने निश्चित छ ।
तर, नेपालको सन्दर्भमा भन्ने हो भने परनिर्भरतामुखी राजनीतिक व्यवहारको कारण मुलुकको विदेश नीतिमा निश्चितरूपमा समय वा अवस्था हेरी सकारात्मक वा नकारात्मक प्रभाव पर्ने भएको हुँदा विशेष निगरानी राख्दै कार्य गर्नुपर्ने हुन्छ । कुटनीतिक अवस्थाको बारेमा अनभिज्ञ , केवल दलीय राजनीतिको आडमा गरिने नियुक्तिले कहिलेकाहीँ यस क्षेत्रमा दुष्प्रभाव पर्न जाने देखिन्छ ।
राज्यपक्षबाट अवलम्बन गरिने यस प्रकारको व्यवहारले छिमेकी राष्ट्रसँग लामो समयदेखि कायम रहँदै आएको दाैँत्य सम्बन्धको विकाससमेत छायामा पर्न गई समस्या समाधान हुनुभन्दा पनि विकराल हुने परिस्थितीजन्य अवस्था पैदा हुनेछ । सार्वभौमसत्ता सम्पन्न मुलुकको आन्तरिक सुरक्षाको प्रश्नमा प्रतिकूल असर पर्ने प्रवृतिका गैरजिम्मेवारीपूर्ण व्यवहारका कारण उत्पन्न हुने घटनाक्रमको विकासले अन्ततः यस क्षेत्रमा नकारात्मक प्रभाव पर्न जाने तथ्यलाई हृदयंगम गर्दै होसियारीपूर्वक कार्य गर्नुुपर्ने हुन्छ ।
अभिव्यक्ति स्वतन्त्रताको नाममा बाह्य जगतका, व्यक्ति विशेष वा समुदाय विशेषबाट वेला–बखतमा अभिव्यक्त गरिने गलत मनसायका धारणाको विकासले मुलुकको स्वाधिनतामाथि आँच आई भ्रमजनक अवस्था उत्पन्न भएको देखिएको छ । नागरिक समाजमा सिर्जना हुन जाने असन्तोष तथा भ्रमलाई ध्यानमा राखी सम्बद्ध पक्षबाट यस प्रकारको व्यवहारमा आत्मसंयमता अपनाउनु जरुरी छ ।
द्विपक्षीय वा त्रिपक्षीय सम्बन्ध विस्तारको क्रममा देखिएका अवरोधहरू पन्छाउँदै सम्बन्ध सुधारका क्षेत्रमा नयॉ आयाम थप्न कुशल कूटनीतिकर्मीले मात्रै सक्छ । मुलुकको कुटनीतिक क्षेत्र अत्यन्त संवेदनशिल क्षेत्र हो । कूटनीतिक क्षेत्रमा गरिने व्यवहारले मुलुकको भविष्य निर्धारण गर्न सक्ने भएको हुँदा विवेकसम्मत ढंगबाट कार्य गर्नुपर्ने हुन्छ । सदैव सकारात्मक सोचको अभिवृद्धिको साथ गरिने व्यवहारले कुटनीतिको क्षेत्रमा निखारपन आउने अत्यधिक सम्भावना रहन्छ ।
विदेशस्थित कुटनीतिक नियोगहरूमा आबद्ध रहने व्यक्तित्वहरू पक्कै पनि सम्बद्ध मुलुकको धरोहर तथा कुटनीतिक दूतहरू हुन् भन्ने यथार्थपरक तथ्यलाई कसैले पनि भुल्नुहुँदैन । युद्धजस्तो अत्यन्त संगिन अवस्थामा समेत यस्ता धरोहरको सामान्यतया हेरफेर नगरिने विश्वव्यापी प्रचलित मान्यतालाई विशेष हेक्का राख्दै गरिने आदरभावले निश्चतरूपमा यस क्षेत्रमा सफलता प्राप्त गर्न सकिनेछ ।
मुलुक हाक्ने शक्तिहरूले आफू अनुकूलको मूल्यांकन गर्दै छिमेकी राष्ट्रलाई पक्ष वा विपक्ष भन्न थाल्ने हो भने दुर्भाग्य हुन्छ । यस्तो मानसिकताले मित्रराष्ट्रहरूमा समेत अन्योलता छाउने देखिन्छ । यसले समग्ररूपमा कुनै पनि पक्षको हित नगर्ने निश्चित छ । यस्ता क्रियाकलापले अन्ततोगत्वा मुलुकको दौत्य सम्बन्धको विकासमा नकारात्मक एवं दिर्घकालिन असर पार्ने देखिन्छ ।
राजनीतिक आस्थामा दृढ रहन नसक्ने नेपालका राजनीतिक दलका व्यवहारका कारण उत्पन्न हुन सक्ने कुटनीतिक व्यवहारसमेत कुन समयमा कुन मोडमा जान्छ सहजै अनुमान लगाउन अत्यन्त कठिन हुनेछ । अत : मुलुकको शान्ति तथा आर्थिक विकासको लागि अत्यन्त महत्वपूर्ण रहेको यस क्षेत्रमा आवश्यक रणनीतिहरू अवलम्बन गरिँदा पछिसम्म असर नपर्ने गरी दिर्घकालिन रणनीतिहरू अवलम्बन गरिनु नै वास्तविकरूपमा बुद्धिमानी ठहरिने छ ।
किनकी नेपालजस्तो भूपरिवेष्ठित राष्ट्रको कुटनीतिक सम्बन्धको विकास पञ्चशिलको सिद्धान्तमा आधारित रहनुकोे साथै असंलग्न राष्ट्रको परराष्ट्र नीति एवं सयुक्तराष्ट्र संघको बडापत्रमा आधारित रहेर रहन्छ । यो कुरालाई नेपाललगायत विश्वका अन्य कुनै सम्प्रभूत्व राष्ट्र वा सम्बन्धित मुलुकका परराष्ट्रविद्हरूले भुल्नुहुदैँन ।
यदि यसको विपरित जाने चेष्टा गरिन्छ भने साना राष्ट्रहरूको अस्तित्वमाथि ठूला शक्ति राष्ट्रहरूको प्रत्यक्ष वा अप्रत्यक्ष हस्तक्षेपको संज्ञाको रूपमा बुझ्न सकिन्छ । सम्बद्ध क्षेत्रका व्यक्तित्वहरूले कुटनीतिक मर्यादालाई विशेष ख्याल राख्दै कार्य गर्नु नै यथार्थमा अब्बल कुटनीति हो ।
प्रतिक्रिया