आत्मसन्तुष्टिका लागि हो अभियान

एकीकृतबस्ती निर्माणको अभियानमा हुनुहुन्छ ? यो अभियानबाट तपाईंले पाएको उपलब्धी के हो ?
सामाजिक काम आनन्दको अनुभूति दिलाउने काम पनि हो । अरूको सेवामा जुट्दा पाइने आनन्द अरू कुनै काम गर्दा मिल्छ भन्ने मलाई लाग्दैन । हामी अहिले एकीकृत बस्ती निर्माणको अभियानमा छौँ । नेपालमा गएको विनासकारी भूकम्पपछि सुरु भएको यो अभियान भूकम्पपीडितका लागि मात्र सीमित भएन । भूकम्पले घरबार र परिवार नै गुमाएका व्यक्तिलाई बस्ने ठाउँको व्यवस्था मिलाउँदा उहाँहरूले हामीलाई जुन सम्मान गर्नुभएको छ ।

साथै यो काम देखेर देश र विदेशमा रहेका हाम्रा आमाबुबा, दाजुभाइ, शुभचिन्तक तथा शुभेच्छुकहरूले जुन आशीर्वाद दिनुभएको छ । आज आएर हेर्दा धेरै पुण्यको काम गरिएछ भन्ने लाग्छ । तर, यो अभियानको हामीले नेतृत्व मात्र गरेको हो । यसको सञ्चालक भनेको हामीभन्दा दयालु मन भएका अरू नेपाली दाजुभाइ दिदीबहिनी नै हुनुहुन्छ । ठूलो हृदय भएका मनकारी व्यक्तिले सहयोग नगरेको भए सायद यो अभियानले यतिधेरै मूर्तरूप लिन सक्दैनथ्यो होला ।

म एउटा सामान्य कलाकार मलाई धुर्मुस भनेर चिनाउनका लागि उहाँहरूले जुन भूमिका खेल्नुभएको थियो, उहाँहरू नै विपत्तिमा परेपछि मैले सामान्य सहयोग गर्नुपर्छ भनेर अभियान थालेको हो । विपत्तिमा पर्ने जो कोहीले सरकारको महसुस गर्दै न्यानो साथको खोजी गरेको हुन्छ । हामी यो देशको जिम्मेवार नागरिक भएकाले उहाँहरूलाई लागेको चोटमा मलम लगाएर हिँड्दै गर्दा धेरै आनन्दको अनुभूति भइरहेको छ । साँच्चै नै सही काम रहेछ भन्ने आत्मसन्तुष्टि अहिले भइरहेको छ ।

यो अभियानका लागि सरकारको सहयोग कस्तो छ ?
सरकारबाट हामीलाई समन्वयकारी भूमिका निर्वाह भएको छ । किनभने कुनै पनि काम र परियोजना सञ्चालन गर्नका लागि स्वीकृतिका कुरा हुन्छन् । स्थानीय निकायसँग समन्वय गर्ने कुरा हुन्छन् । सरकारले तोकेका मापदण्डभित्र रहेर काम गर्नुपर्ने हुन्छ । सरकारी मापदण्डभित्र रहेर काम गर्दा धेरै प्रक्रिया ढिलासुस्ती हुन्छ भनेको सुनिएको थियो ।

तर, हामीसँग त्यस्तो नभइकन सरकारले हामीलाई एकीकृत नमुनाबस्ती विकासअन्तर्गत जग्गालाई व्यक्तिगत रूपमा लालपुर्जा बनाएर हस्तान्तरण गर्न दोहोरो कर लाग्ने थियो त्यसलाई सरकारले मिनाहा गरेको छ । यो एकीकृत नमुना मुसहर बस्ती तथा एकीकृत नमुना गिरानचौर बस्तीको कुरा हो ।  यसरी सरकारले हामीलाई एकदमै सहयोगी र समन्वयकारी भूमिका निर्वाह गरेको छ । तर, सरकारले स्थान तोकेरै नमुना बस्ती बनाउन धुर्मुस–सुन्तली फाउन्डेसनलाई यति रकम उपलब्ध गराउने भनेर आर्थिक सहयोगचाहिँ गरेको छैन ।

यसअघि स्थिर सरकार थिएनन् । अब जनमतप्राप्त स्थायी सरकार आएको छ । तपाईंहरूले यो सरकारबाट के अपेक्षा गर्नुभएको छ ?
हामीले अहिलेसम्म जति काम गरेका छौँ सरकारलाई सघाउने हिसाबले गरेका छौँ । सरकारको सहयोगी अभियन्ताका रूपमा काम गरेका छौँ । यो अभियानमा हामी जुटेको तीन वर्ष पूरा भयो । यो अवधिमा हामी पुनर्निर्माणमा जुटेका हौँ । हामीले निर्माणको काम गर्दा हिजोको दिनमा सामान्य ज्ञान मात्र थियो । तर, आज यति धेरै ज्ञान पायौँ यसले हाम्रो कामलाई व्यवस्थित गरेर अघि बढ्न सहयोग पुर्याउँछ । भूकम्पपीडित अवस्था कस्तो छ ? र उनीहरूलाई कसरी राहत प्रदान गर्न सकिन्छ भनेर सोच्दासोच्दै आज समग्र पुनर्निर्माणको काम कसरी गर्न सकिन्छ भनेर काम गरेको अुनभव पनि भयो ।

र, तराईमा भएको समस्यालाई समाधान गर्दै नमुना मुसहरबस्ती निर्माणपश्चात् तराई डुबेको सन्दर्भमा उहाँहरूलाई पनि मलमपट्टी लगाउँदै एकीकृत तराई सन्तपुरबस्ती निर्माण गरिरहँदा हामीले पाएको सुनेको भनेको पीडितका पीडा हो । अहिलेको सरकारले ती पीडालाई सुनेर सम्बोधन गर्नुपर्छ, पहिलो कुरा । यी पीडितको पीडा सुन्नका लागि भनेर राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण बनेको छ तर, त्यसले स्वतन्त्र रूपमा काम गर्न पाएको छैन । प्राधिकरण सञ्चालनका लागि बनेको कार्यविधिले त्यसलाई बन्देज पारेको छ । अहिले प्राधिकरणले सोचेको जति काम गर्न नसक्नुको कारण पनि त्यही हो ।

त्यहाँभित्रको सिस्टमले गर्दा तत्काल फिल्डमा गएर काम गर्न प्राधिकरणलाई धेरै चुनौती नै छ । त्यसैले अहिलेको सरकारले पहिलो प्राथमिकतामा राख्नुपर्ने विषय भनेको यही हो भन्ने मलाई लाग्छ । जुनकी भूकम्पबाट पीडितलाई गाँस र वासको उचित व्यवस्थापन गर्नु तथा तराईका डुबान पीडितलाई राहत प्रदान गर्नु र हरेक वर्ष तराई डुब्ने गरेको छ त्यसो हुन नदिन दीर्घकालीन योजना ल्याउन जरुरी छ ।  धेरै जनताको अपेक्षा मैले सुनेको छु । त्यसकारणले मलाई के लाग्छ भने जति हुन्छ छिटो पुनर्निर्माणको काम सक्नका लागि पुनर्निर्माण मन्त्रालय गठन गर्नुपर्छ भन्ने लाग्छ ।

यदी यस्तो मन्त्रालय भयो भने, उसैको नेतृत्वमा सम्पूर्ण काम गर्न सकिन्छ । जुनसुकै काम गर्नका लागि विषयगत रूपमा अन्य मन्त्रालय धाउनु पर्दैन । अहिले पुनर्निर्माण प्राधिकरणले सहरी विकास मन्त्रालय भवन विभागबाट इन्जिनियर परिचालन गर्नुपर्छ । स्थानीय विकास मन्त्रालयको सहयोगमा जहाँजहाँ पुनर्निर्माणको काम गर्ने हो त्यहाँको अनुमति लिनुप¥यो । नक्सा पाससम्मका कुरा त्यहाँबाट गर्नुप¥यो । यो सबैका लागि चाहिने बजेट विनियोजनका लागि फेरि अर्थमन्त्रालय पुग्नुपर्यो । यो धेरै च्यानल पार गरेर काम गर्नुपर्दा ढिलो नै हुन्छ ।

कामहरू हुँदै होलान् तर, तुलनात्मक हिसाबले नै ढिलो हुने सिस्टम अहिले छ । यी सबै समस्या समाधानका लागि सरकारले पुनर्निर्माण मन्त्रालय बनाउने, मन्त्री नियुक्त गर्ने, मन्त्रीको मातहतमा अन्य मन्त्रालयजस्तै कार्ययोजना बनाएर अघि बढ्यो भने, एकद्वार प्रणाली हुन्छ । अनि नेतृत्व लिने मान्छेले आफ्नो जिम्मेवारी महसुस गर्दै जहाँजहाँ पुनर्निर्माण गर्नुपर्ने हो त्यहाँ गर्छ । यहाँ त घर बनाउने काम मात्र छैन । पुरातत्वका वस्तुहरू ध्वस्त भएका छन् । मठमन्दिर धेरै भत्केका छन् । तालतलैयाको अवस्था उस्तै छ । त्यसैले समग्र राष्ट्रको निर्माणका लागि पुनर्निर्माण मन्त्रालय अत्यन्तै आवश्यक छ ।

एकीकृत नमुना बस्तीका नमुना बनेका धुर्मुस–सुन्तलीलाई बस्ती बनेका क्षेत्रका सर्वसाधारणले आवश्यक ठानेजस्तै सरकारले पनि आवश्यक ठानोस् भन्ने हो ?
हामी सरकारलाई सघाउन चाहान्छौँ । सरकार दरिलो र बलियो भएन देश कहिल्यै विकासको गतिमा अघि बढ्न सक्दैन । अहिले भनिएको जस्तो समृद्धि हासिल गर्न सकिँदैन । हामी एक स्वतन्त्र नागरिकको हैसियतमा काम गदैगर्दा हामीले जे जानेका छौँ, जे बुझेका छौँ । जुन जिम्मेवारीलाई निर्वाह गर्न सक्छौँ त्यहीअनुसार सरकारले हामीलाई पनि जिम्मेवारी दिनुपर्छ । हुन त हामीलाई नेपाल सरकारले सरसफाइ दूतको जिम्मेवारी दिएको छ । त्यो एक सम्मान हो ।

हामी सम्मान होइन परिणाममुखी काम गर्न चाहान्छौँ । कामको जिम्मेवारी हामीलाई हुनुपर्छ भन्ने हो । त्यस्तै पुनर्निर्माण प्राधिकरणले पनि पुनर्निर्माण दूतका रूपमा सम्मान दिएको छ । त्यो प्राधिकरणको कुरा हो तर, हामी त्यहाँबाट पनि कामको जिम्मेवारी चाहान्छौँ । हामी राज्यलाई सघाउन हिँडेको भएकाले, हामीबाट छिटो रिजल्ट आउँछ । छिटोभन्दा छिटो पीडितले राहत पाउँछन् ।

सरकारले पनि त्यसको महत्व बुझ्दै हामीजस्ता धेरै अभियन्ता हुनुहुन्छ, देश, राष्ट्र, समाज र दुःखी, अशक्त, असहायका लागि सहयोग गर्ने अभियन्ता हुनुहुन्छ उहाँहरू सबैलाई उहाँहरूले गरेको कामको उचित मूल्यांकन गर्दै जिम्मेवारी सुम्पिनुपर्छ भन्ने लाग्छ । सरकार सबै ठाउँमा नपुग्न सक्छ । सबै ठाउँमा सरकारको उपस्थिति नहुन सक्छ । यस्तो अवस्थामा देश निर्माणकै लागि लागेका विभिन्न क्षेत्रका अभियन्तालाई जिम्मेवारी सुम्पियो भने देशले छिटोभन्दा छिटो विकासमा गति लिन्छ ।

अबका तपाईंका योजना के छन् त ?
हामीले नमुना नेपाल निर्माण परियोजनाको काम अघि बढाइरहेका छौँ । अहिले सर्भेको काम करिबकरिब सिद्धिएको छ । ललितपुरको लेलेस्थित खावा डाँडामा १ हजार ६ सय रोपनी सर्भे भइकन अहिले हामी मास्टर प्लान डिपिआरआइएको क्रममा छौँ । यो महत्वपूर्ण योजना हो । यसले हाम्रो देश नेपाललाई विश्वमा थप पहिचान गराउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । देशलाई आर्थिक समृद्धिमा अघि बढाउनका लागि पनि महत्वपूर्ण भूमिका खेल्छ । दिगो हिसाबमा सामाजिक काम गर्नका लागि नमुना नेपालको परिकल्पना गरेर काम थालेका छौँ ।

यो नमुना नेपालको पाटो भयो । अर्को नेपालमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट स्टेडियम निर्माण गर्नुपर्ने आवश्यकता छ । मलाई धेरै शुभचिन्तक तथा क्रिकेट खेलाडीहरूले नै स्टेडियम निर्माणका लागि धुर्मुस–सुन्तलीले नेतृत्व गर्नुपर्छ भन्नुभएको छ । तर, यसमा जटिलता पनि छ । हामीले बस्ती निर्माणका क्रममा जुन काम गरेका छौँ, हाम्रो आँटलाई सार्थक बनाउन सहयोगी मनलाई अपिल पनि गरिरहेका छौँ । उहाँहरूले निरन्तर सहयोग पनि गरिरहनुभएको छ ।

अहिले हाम्रो नमुना नेपाल निर्माण परियोजनाका लागि अर्बौं रुपैयाँको आँट गर्नसक्ने अवस्था छ । स्टेडियम बनाउनका लागि पनि अपिल नै गर्नुपर्यो । यी दुइटै योजनाका लागि सरकारले समन्वयकारी भूमिका निर्वाह गरेर आर्थिक व्यवस्थापनको पाटो हेरिदिने हो भने, जग्गा उपलब्ध गराउने हो र त्यसको व्यवस्थापनका लागि चाहिने नीतिनियम लगायतका कानुनी प्रक्रियाका कुराको व्यवस्थापन गरिदिने र त्यसको निर्माण नेतृत्व हामी धुर्मुस–सुन्तली फाउन्डेसनलाई दिने हो भने निर्धारित समयमै हो भने, निर्धारित समयमै हामी हाम्रो जिम्मेवारी पूरा गरी हस्तान्तरण गर्न सक्छौँ ।

कलाकारिताबाट राजनीतिमा होमिनेको संख्या बढिरहेको छ । तपाईंको पनि राजनीतिक यात्राको पहिलो खुड्किलो समाजसेवा हो ?
सबैभन्दा धेरैचाहिँ हामीलाई भूकम्पले नै सामाजिक कार्यमा सहभागी हुन सिकायो । समाजसेवी भनेर हामीलाई चिनाउने अवस्था आयो । भूकम्पले विनास त भयो विकासका मूल फुटाउने धेरै अवसर पनि दिएको छ जस्तो लाग्छ । क्षति भए पनि जुनसुकै वेला जे पनि हुनसक्छ सुरक्षित बनाउ है भनेर प्रकृतिले भन्ने लाग्छ । अनि अर्को कुरा आज हामी जुन अवस्थामा छौँ अहिले के हुन्छ भन्ने कसैलाई पनि थाहा नहुँदो रहेछ ।

त्यसैले आफ्नो भूमिका लागि, देशका लागि र माटोका लागि केही गर्नुपर्छ भन्ने सन्देश पनि यो विनासकारी भूकम्पले दिएको छ । बाँचुञ्जेल राम्रो काम गरौँ, सकारात्मक सन्देश बाँडौँ भन्ने पनि मनमा जागेको छ । तपाईंले सोध्नुभएको जस्तो राजनीतिकको लागि जग भन्ने कुरा पछि यस्तै गरी सोधिँदा मात्र मलाई पनि महसुस भएको हो । राजनीतिका लागि यो काम गरिएकै होइन । अहिले हाम्रो फाउन्डेसनले जुन काम गरिरहेको छ यो नितान्त आत्मसन्तुष्टिका लागि हो ।

आनन्दका लागि पनि हो । पीडामा रहेका आममानिसको अनुहारमा खुसी छाउँदा जुन आनन्द आउँछ नि सायद स्वर्गीय आनन्द भनेकै त्यही हो भन्ने लाग्छ । त्यसैले फेरि पनि पनि भन्छु यो अभियान, यो काम भोलिका लागि भनेर होइन त्यतिवेला नै पीडामा रहेका दाजुभाइ दिदीबहिनीलाई सामान्य सहयोग गर्ने भनेर सुरु भएको हो । समयक्रमसँगै यसको विकास र विस्तार सकारात्मक रूपमा भयो भनेर मैले लिएको छु ।  (सौर्यकर्मी टंक खनालले गरेको कुराकानीमा आधारित)

प्रतिक्रिया