‘६–६ महिनामा दाँतको परिक्षण गरौं’

यसिमा महत
काठमाडौं, १२ चैत । यतिबेला काठमाडौंका जुनसुकै डेन्टल अस्पताल गएपनि बिरामीको चाप बढेको देखिन्छ । दाँतमा सिमेन्ट भर्ने, सफाइ गर्ने, बढी दुखाई भएका बिरामी अस्पतालमा आउने गरेको चावहिलस्थित ओम समाज डेन्टल अस्पतालका प्रमुख डा. सुबास घिमिरेले बताए ।

अस्पतालमा आएका बिरामीको उपचार गर्न भ्याइनभ्याई नभइको बताउने डा. घिमिरेले उपचारका लागि काठमाडौं उपत्यकाका मात्र नभई छिमेकी जिल्ला नुवाकोट, सिन्धुली, मकवानपुरबाट पनि दैनिक दाँतका समस्या लिएर बिरामी आउने गरेको सुनाए ।

मानिस अल्छे हुँदा दाँतको समस्या आउने भन्दै डा. घिमिरेले भने, ‘हामीले खाना खाने कुरालाई मात्र महत्वमा राख्छौं । खाइसकेपछि दाँतको उचित सफाई गर्दैनौं,’ डाक्टर घिमिरेले थपे, ‘खाएर मुख तथा दाँतको सफाइ नगर्नु नै दाँतको समस्या भित्र्याउनु हो ।’

हेलचेक्र्याइकै कारण मानिसको दाँत दुख्ने, मुख गन्हाउने, गिजाबाट रगत आउने, मुखमा क्यान्सर हुने गरेको भन्दै डा. घिमिरेले दाँत र गिजामा आएका समस्याले मुखमा संक्रमण हुँदा निस्कने विकार पदार्थ रगतमा मिसिँदा रक्तचाप, हाडजोर्नी, मधुमेह, मृगौला, मुटु तथा फोक्सोमा समेत असर पर्ने बताए ।

दाँतको समस्याबाट बच्न खानापछि सँधै ब्रस गर्ने सुझाव दिँदै उनले गुलियो, बढी कार्वोहाइड्रेट भएका खानेकुरा खान नहुने बताए । चुरोट, रक्सी, गुट्का, खैनी, परागलगायतका पदार्थले पनि दाँतलाई असर पु¥याउने दन्त चिकित्सकले बताएका छन् ।

सुत्नुभन्दा ३ घण्टा अगाडि खाना खाएर दाँत माझेर मात्रै सुत्न आग्रह गर्दै डा. घिमिरेले दाँतका समस्या समाधान गर्न विश्वासिलो अस्पतालमा गएर प्रत्येक ६–६ महिनामा दन्त परीक्षण गर्न सुझाव दिएका छन् ।

प्रतिक्रिया