-कल्पना पण्डित बेलायत बसाइको ८ वर्षपछि यस वर्षको गृष्म ऋतुमा स्विट्जरल्यान्ड घुम्न जाने साइत जुर्यो । मनमा कौतुहलता र उत्सुकता जागिरहेको थियो । जुन अस्वभाविक थिएन, किनकि म सानो उमेर छदाँदेखी नै नेताहरूको भाषण सुनेको थिएँ, पत्रपत्रिका पढेको थिएँ , जहाँ उनीहरू गर्वका साथ नेपाललाई स्वीजरल्यान्ड बनाइदिन्छु भन्दथे । मेरो कलिलो मासपटलमा परेको त्यो छाप कति अमिट रहेछ भन्ने कुरो आफूलाई बल्ल बुझ्न पाएँ ।
त्यसैले पनि त्यो सपनाको देश कस्तो होला भनेर आँखा वरिपरि घुम्न थालेको थियो । यतिका वर्ष बेलायत बसेको मलाई यस्तो कौतुहलता र आतुर हुन नपर्ने हो । तर, यसकारण हुन सक्दछ, मैले स्विजरल्यान्ड गएर नेपाललाई खोज्ने , ति नेताहरूले बनाउने भन्ने गरेको नेपाल । मनमा इच्छा , आकांक्षा र अभिलाषा सजाएर गत अगस्ट २ तारिख लन्डन लुटन विमानस्थलबाट स–परिवार स्विजरल्यान्डको जुरिच उड्यौँ । कुहिरो र बादलसँग लुकामारी खेल्दै करीब डेढ घण्टाको उडानपश्चात् जुरीज पुग्यौँ । जहाँ वरिपरि डाँडाकाँडा देखीनासाथ मन रोमाञ्चित भइरहेको थियो ।
जुरिच विमानस्थलबाट हामी लुसर्नतर्फ रेलमा लाग्यौँ । जहाँ गुडिरहेको रेलको झ्यालको दायाँबायाबाट जुरिज सहर नियाल्ने मौका पाएँ । मलाई सहरसगँ खासै मोह लगाव छैन । जुरिज युरोपको अन्य सहरहरूभन्दा त्यस्तो खासै भिन्न लागेन । मानवनिर्मित सहरभन्दा प्राकृतिक सुन्दरता डाँडाकाडाँ, पहाडपर्वत, तालतलैया, समुन्द्री तट आदिले मेरो मन लोभ्याउँछ, प्यारो लाग्दछ । यस्तोमा सुस्ताउन मन लाग्छ । मेरो स्विट्जरल्यान्ड भ्रमणको उद्देश्य पनि यहाँको सहरको साक्षात्कार थोरै र ग्रामीण परिवेश डाँडाकाडाँ प्रकृतिको दृश्यावलोकन धेरै गर्नु रहेको थियो । जुरिच सहरलाई छोडेर रेल जुरिच तालको छेउ हुदैँ हुइकिदैँ जादाँ दाँयाबायाँ देखिएको मनमोहक दृश्यले हामी प्रफुल्लित हुँदै थियौँ ।
कति छिट्टै जुरिचदेखी लुसर्नसम्मको सवा घण्टाको यात्रा पूरा भयो , पत्तै भएन । प्रि–बुकिङ गरेको लुसर्नको उक्त होटलमा लगेज राखी केही समय आराम गरी पूर्व निर्धारित कार्यक्रमअनुसार माउन्ट रीगी अवलोकनका लागि लुसर्नबाट फेरी रेल समाती अर्धगोल्डाउ पुग्यौँ । जहाँबाट रोमाञ्चकारी माउन्टेन रेलको यात्रा सुरु भयो । झ्यालविनाको २÷३ डब्बाको सानो रेल जतिजति नागबेली पहाडमा उकालो चढ्थ्यो उति उति सुन्दर दृश्यहरू देखीँदै जाँदा जुरिच शहरलाई छोडेर रेल जुरिच तालको छेउबाट हुइँकिदै जाँदा दायाँबाँया देखिएको मनमोहक दृश्यले हामी प्रफुल्लित हुँदै थियौँ ।
कति छिट्टै जुरिचदेखि लुसर्नसम्मको सवा घण्टाको यात्रा पूरा भयो, पत्तै भएन । प्रि–बुकिङ गरेकाले लुसर्नको एक होटलमा लगेज राखी केही समय आराम गरी पूर्वनिर्धारित कार्यक्रमअनुसार माउन्ट रिगी अवलोकनको लागि लुसर्नबाट फेरी रेल समाती अर्थ–गोल्डाउ पुग्यौँ । जहाँबाट रोमाञ्चकारी रेलको यात्रा सुरु भयो, झ्यालबिनाको जम्मा २,३ डब्बाको सानो रेल जति–जति नागबेली पहाडमा उकालो चढ्थ्यो, उति–उति सुन्दर दृश्यहरू देखिँदै जाँदा मनै प्रफुल्लित बन्थ्यो । यहाँको भीड पहाडमा सुरुङ बनाएर रेल चलेको देख्दा हाम्रो मुलुकको भीर पहरा याद आयो । जहाँ रेल चल्ने सुरुङ त परै जाओस् गोरेटो बाटोसमेत बनेको छैन ।
मनमनै प्रश्न गरेँ, आखिर किन यस्तो ? करिब एक सय ४० वर्षअघि नै सञ्चालनमा आएको माउन्टेन रेलको एक घण्टापछिको यात्रापश्चात् माउन्टेन रिगीको चुचुरोमा पुग्यौँ । जहाँ पर्यटकको सुविधाको लागि रेष्टुरेन्ट, भ्यु टावर, प्रतिक्षालय, खानेपानी आदिको व्यवस्था रहेछ । यहाँबाट चारैतिर तालका हरिया फाँट अनि बस्तीहरू देख्दा पोखराको सराङकोटबाट फेवाताल हेम्जा र पोखरा सहर दृश्यावलोकन गरेको सम्झना आयो । प्राकृतिक सुन्दरता नेपालजस्तै भएता पनि भौतिक सुविधा र विकासले गर्दा स्विट्जरल्यान्डलाई सुनमा सुगन्ध नै थपेको छ ।
मलाई लाग्छ, नेपाल विकास नहुनुको कारण कुनै पनि उपलब्ध श्रोत साधनलाई उचित व्यवस्थापन गर्न नसकेकोले हो, आर्थिक श्रोत साधनको सदुपयोग यसकारण पनि हुन सक्दैन कि, नीति निर्माता र अधिकांश ब्युरोक्रेसी भ्रष्ट र कर्तव्यविमुख छन् । इमानदारीता, जवाफदेहिता र प्रतिबद्धता भन्ने कुरो शब्दमै सीमित रहन गयो । व्यवहारमा धोका र जालसाजी जताततै व्याप्त छ । कसैलाई पनि मुलुक र समाजको हितमा सोच्ने फुर्सद छैन । आफूलाई केन्द्रमा राखी हेर्ने प्रवृत्ति हाबी छ । यस्तै–यस्तै अनेक तर्कनाहरू बाबजुत करिब एक घण्टा जति माउन्ट रिगी जसलाई पहाड की रानी उपनामले पनि चिनिन्छ ।
यहाँबाट देखिने मनमोहक दृश्यको रसपान गर्दै केही दृश्यलाई क्यामरामा कैद गरियो । मन्द–मन्द बताससहित घमाइलो बनेर हामीलाई साथ दिएकी प्रकृति पनि विस्तारै सुस्ताउन थालेकी थिइन् । फर्कंदा वैकल्पिक रुटको प्रयोग गर्ने सोच्अनुरुप रिगीबाट तालको फेदमा रहेको सानो बजार भिटनाउसम्म माउन्टेन रेलमा झर्यौ । त्यसपछि सवा घण्टा लुसर्न तालमा चल्ने फेर क्रुजको रोमाञ्चाकारी यात्रामा तालको निलो पानी सिरसिरे बतास दायाँबाया देखिने बस्ती पहाडसँग रमाउँदै र दृश्यवलोकन गर्दै पहिलो दिनको गन्तव्य लुसर्न आइपुगियो ।
भ्रमणको दोस्रो दिनको तालिका अलि व्यस्त थियो तय गरिएअनुसार सम्पन्न हुन्छ कि हुँदैन भन्ने मनमा द्विविधा थियो । बाह्रैमास हिउँले माउन्ट तितलिस हेर्ने उद्देश्यसहित हामी लुर्सनबाट बिहान आठ बजेको एन्जेलबर्ग जाने रेल समात्यौँ । यहाँको रेल सेवा अब्बल लाग्यो । चटक्क, सफा, ठूला–ठूला झ्याल , भिडभाड मुक्त , तोकीएको समयमा कति पनि तल माथि नभइकन जुन सेवा दिएको छ , मैले यस्तो अन्यत्र देखेको छैन । ‘ नमस्ते ’ , हाम्रो नजिकै बसेको एउटा गोरे बोल्दा म झसंग हुँदै नमस्ते फर्काए । हामी नेपालीमा कुरा गरिरहेको उसले सुनिरहेको रहेछ । “खुसी लाग्यो तपाईं नेपाली भाषा बोल्नु हुँदोरहेछ ।” तपाईको नाम ?
मैले सोधेँ । म आडम –नाम परिर्वतन ) नेपालमा स्विस सहयोगमा सञ्चालित हेल्मेटास संस्थामा लामो समय काम गरेँ । मेरो श्रीमती नेपाली हो । श्रीमती र छोरी हाल काठमाडाैँमा बस्छन् । उनले बोलेको ठेट नेपाली शब्द हामीले चाख मानेर सुनिरह्यौँ । जर्मन भाषा बोलिने उक्त ठाउँको स्थानीयसँग नेपाली भाषामा कुराकानी गर्दा रमाइलो अनुभूती भयो । करिब पाँच मिनेट जतिको भलाकुसारीपश्चात् उनी झर्ने स्टेसन आयो र ‘बाई नमस्ते फेरि भेटौँला’ भन्दै उनी बिदा भए । खोला , ताल ,फाँट ,बस्ती , पहाड र सुरुङ्ग हुँदै करिब डेढ घण्टाको यात्रापछि रेल एउटा सानो पहाडी बजार एन्जेलबर्गमा पुग्यो ।
जहाँबाट वरिपरिका उच्च सेताम्मे चुचुराहरू देखिन्थ्यो ।मन त्यसै रमाइरहेको थियो । मध्य गर्मि महिना अगस्टमा हिउँमा खेल्ने ,हिउँलाई छाम्ने र टेक्ने अभिलासा आज पूरा हुँदै थियो । रेलबाट झरेर करिब १० मिनेटको पैदल यात्राबाट हिउँको पहाड माउन्ट तितलिस केबुलकारको बेस स्टेसनमा पुग्यौँ । तिनवटा बेग्लै आकार प्रकारको करिब आधा घण्टाको यात्रापश्चात् हिउँको चुचुरोमा पुग्दा स्वर्ग नै यहि हो कि भन्ने आभाष भयो । तिनमध्ये पहिलो मनकामना केबुलकार जस्तै , दोस्रो र तेस्रो नितान्त बेग्लै २५ देखि ३० जना अट्ने त्यो पनि एउटै डिब्बामा अनि ३ सय ६० डिग्रीमा चुम्दै चल्ने ।
यस्तो विचित्र केबलकार पहिलोपटक देख्न र अनुभव गर्न पाएँ । समुन्द्र सतहबाट ३०२० मिटर उचाइमा रहेको माउण्ट तितलिस स्विट्जरल्याण्डको एक प्रसिद्ध पर्यटकीय गन्तब्य रहेछ ।बाह्रै महिना हिउँले ढाक्ने हुनाले विशेष गरी गर्मी महिनामा हिउँ खेल्ने र वरिपरिको दृश्यावलोकन गर्ने उद्देश्यले पर्यटकहरूको ओइरो लाग्ने रहेछ । सम्झेँ, ‘हाम्रो हिमाल त्यतिकै सुन्दर र मनोमोहक छ । जति यहाँको छ , हाम्रो हिमाललाई चुम्न र हिउँ खेल्न जान ठूलै जोखिम उठाउनुपर्दछ । पैदल शिवाय कुनै विकल्प छैन , त्यसमाथी माउन्टेनियरिंगसम्बन्धि विशेष तालिम लिनुपर्दछ ।
आफ्नो मुलुकमा आँखाले देखेर चित्त बुझाउनुपरेको सेता हिमश्रृंखलाहरू यहाँ स्पर्श गर्न पाउँदा खुसी त लाग्यो तर नेपालको हिम पर्वतमा यसर पुग्न पाए कस्तो हुन्थ्यो होला भन्ने प्रश्न भने आइरह्यो । हिउँमा विभिन्न आकृतिहरू बनाउँदा , एक आपसमा हिउँ खेल्दै फोटो खिच्दाको क्षण कम्ति रमाइलो थिएन । पर्यटको ओइरो लाग्ने उक्त स्थानमा के बच्चा , के बुढाबुढी सबै एक आपसमा हिउँ खेल्नमा मस्त देखिन्थे । अझ त्यहाँ हिउँको खाेँचमा पर्यटकको लागी बनाइएको झोलुंगे पुल , हिम गुफा र रेष्टुरेटलगायतका लगायतका सुविधाले झनै पर्यटकलाई आकर्षित गरिरहेको देखिन्थ्यो । स्वयं आफलाई पनि केही समय अझै त्यहीँ बस्ने रहर लाग्थ्यो ।
रहर हुँदाहँदै पनि अर्को गन्तव्यलाई मध्यनजर राख्दै र त्यहाँको दृश्यलाई धेरैजसो आँखामा र थोरैलाई क्यामेरामा कैद गर्दै फेरि उहि केबुलकारबाट एन्जेलबर्ग झरी अर्को गन्तव्यतिर लाग्यौँ । मानव जीवनको सबैभन्दा खुसीको क्षण मेरो विचारमा अन्जान ठाउँका लागि खाजा हुनु हो । एन्जलसबर्गबाट माउन्ट पिलाट्स जाँदा प्रसिद्ध अन्वेषक सर रिर्चाड वर्टनको यस कथन सम्झिँए । नयाँ ठाउँ हेर्ने रहर नै हाम्रो लागि सशक्त ड्राइभिङ फोर्स थियो । एन्जलवर्गबाट अल्पनासवर्ड पुगेलगत्तै विश्वको सबैभन्दा भिरालो जमिनमा चल्ने रेलयात्रा सुरु भयो । जसको अन्तिम गन्तव्य थियो माउन्ट पिलाटस । करिब ४ दशमलव ६ कि.मी . को सो यात्रामा रेल अधिकतम ४८ भिरालोमा गुड्छ ।
आङै सिरिंग हुने भिरमा रेल गुडिरहँदा रमाइलोको साथै डर पनि लागिरहेको थियो । करिब १ सय २८ वर्षदेखी सञ्चालनमा रहेको यो रेलको ३० मिनेटको यात्रा गरिरहँदा विकासको यस्तो स्वरुप पनि यस संसारमा सम्भव रहेछ भन्ने महसुस भयो । रेलको अद्भुतपूर्व यात्रापछि मध्य स्विजरल्यान्डमा रहेको २१ सय ८२ मिटरको अग्लो चट्टानको पहाडको चुचुरो माउन्ट पिलाटस पुगियो जहाँबाट लुसर्न सहर ताल र वरिपरिको मनोमोहक दृश्य देखिन्थ्यो । सिरसिरे बतासको झोक्कासँगै कफि पिउँदै मनोरम दृश्य अवलोकन गरिरहँदा संयोग नै मान्नुपर्दछ । एउटा अनौठो दृश्य देखियो , एउटा अधवैँशे पुरुष हामीनजिकै आएर विशेष पहिरन पहिरिई ९० डिग्रीको ठाडो चट्टानको भिरबाट हाम फालेको दृश्य व्यग्रतापूर्वक हेरिएको थियो ।
प्याराग्लाइडिंगमा बाहेक मानिस यसरी हामफालेको यसअघि कहिल्यै देखिएको थिइनँ , त्यसैले बनी अनौठो लागीरहेको थियो । उसलाई के भयो ? कहाँ गयो ? केही थाहा हुन सकेन त्यो न त्यो भिरको फेदसम्म देख्न सम्भव थिपो । हामीसँग भएका अन्य पर्यटकको लागि पनि यो विषय खुलदुलीको विषय बन्यो । करिब दुई घण्टा माउण्ट पिलाटसमा बिताई बेलुकी लुर्सन आईपुग्यो । स्विट्जरल्यान्ड भ्रमणको तेश्रो दिन लुसर्नबाट लगेजसहित हाम्रो यात्रा सुरु भयो ।
जर्मन भाषा बोलीने यस क्षेत्रबाट फ्रेन्च भाषा बोलिने क्षेत्रतिर लाग्दै थियौँ । स्मरण रहोस् स्विजरल्यान्डको आफ्नै बेग्लै भाषा छैन । पूर्वी भागमा जर्मन बोलिन्छ भने पश्चिम फ्रान्ससग जोडिएको क्षेत्रमा फ्रेन्च भाषीको बाहुल्यता छ । विभिन्न रेल परिवतर्न गदैै र यात्रामा देखिने मनोरम दृश्यहरूको रेलबाटै अवलोकन गर्दै मोनट्रेक्स आइपुग्यौँ । करिब ५ घण्टाको यो रेल रुट यो स्विटजरल्यान्डको एउटा सुन्दर दृश्य अवलोकनको रुटमा पर्दछ ।
इन्टरलेकन ज्युसिमेन, स्टाड, सानेनजस्ता बीचमा पर्ने साना बजार कम्ति लोभ लाग्दा थिएनन् । दाया बायाँ देखिने परम्परागत स्विस घरहरू र त्यस घरको बार्दलीमा सजाइएका फूलहरू मेरो आँखा अगाडी अझसम्म घुमिरहेका छन् ।रेल मोनट्रक्स लिएर पुग्दा पर देखिएको निलो पानीको विशाल जेनेभा ताल अदभूत थियो । फ्रान्स र स्विट्जरल्यान्डको सिमानामा रहेको यो ५८० वर्ग किमीको ताल काठमाडौं उपत्यका (५६० वर्ग कि मी) भन्दा ठूलो रहेछ । आँखाले नभ्याउने मानौँ म कुनै समुद्र हेर्दैछु जस्तै लाग्ने यसै विशाल तालको छेउमा जेनेभा लुजान मोनट्रेक्स भेभेजस्ता ठूला सहरहरू रहेछन् ।
मोनट्रेक्सबाट क्रुजमा एक घण्टामा उक्त तालको रोमाञ्चकारी यात्रापछि लुजानस्थित एक होटलमा लगेज थन्क्याएर जेनेभा सहर हेर्ने उत्कृष्ट अभिलाषासहित रेलबाट त्यतातिर लाग्यौँ । “मोजु” मलाई हेर्दै एकजना गोरा बोल्यो । म अलमल्लमा परे केही बोलीन । विशेष टोपी लगाएको र हातमा सानो मेसिन देखेर टिकट चेकिङ गर्ने मान्छे होला भन्ने अनुमान लगाएँ र टिकट निकालेर देखाएँ । मेसिनले चेक गरेपछि मुसुक्क हाँस्दै र टाउको हल्लाउँदै गयो । मेरो अनुमान सहि रहेछ । पछि बुझ्दा हेलो भनेको रहेछ फ्रेन्च भाषामा ।
चलनचल्तीमा अंग्रेजी भाषाको प्रयोग भएको देखिएन । बाटोमा भेटिने अधिकाशं मानीसलाई सोध्यो अंग्रजी बुझ्दैनथे ।अंग्रेजी जाने पुग्छ भन्ने भ्रम म मा रहेछ भन्ने बल्ल थाहा भयो । लुजानबाट जेनेभा तालको छेउछेवै ५० मिनेट जतिको रेल यात्रापछि जेनेभा सहर पुगिन्छ । यस सहरको नाम नसुन्ने व्यक्ति बिरलै होलान् । अन्तर्राष्ट्रिय संघ–सस्था विशेष गरी संयुक्त राष्ट्रसंघ मतहतका विभिन्न निकायहरूको मुख्यालय यही सहरमा पर्दछ ।
विश्वव्यापी सन्धि–सम्झौता ,गोष्ठी , सभा सम्मेलन आदिको लागि प्रख्यात यस सहर पुग्नेवित्तिकै देखिने वाटर–जेटले हाम्रो ध्यान तान्यो । वाटर जेट छेवैमा रहेको जेनेभा तालको बीचमा २४सै घण्टा चालु रहने पानीको फोहरा हो । जसबाट ६००० लिटर पानी निरन्तर १ सय ४० मिटरको उचाइसम्म फोहराकोरूपमा झ्याँक्दछ । प्रायजसो पर्यटकको घुइँचो लाग्ने रहेछ यही फोहरा हेर्नको लागी । शहरको अन्य संरचना जस्तै घर , सडक , सवारी सा अन्य युरोपेली सहरको भन्दा खासै फरक लागेन ।
संयुक्त राष्ट्रसंघको भवन , पुरानो जेनेभा सहर , क्याथेइल , आदीको अवलोकनपश्चात् लुजान फर्की एक नेपाली रेष्टुरेन्ट लिटेजमा स्वादिष्ट नेपाली खानाको मज्जा लिँदै आराम गर्ने तिर लागियो । चौथो दिन लुजान सहरको केही धरोहरहरू अवलोकन गर्ने योजना अनुरुप अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिको मुख्यालय र संग्रहालयको साथै लुजान सहरको ताल छेउको दृश्यावलोकन पश्चात् निर्धारित १२ ३० बजेको तीव्र गतिमा चल्ने रेलबाट स्विजरल्यान्डलाई बिदा गरी फ्रान्सको राजधानी पेरिसतर्फ लाग्यौँ ।
स्विजरल्यान्ड घुम्नका लागि आकर्षक भए पनि त्यहाँ हरेक कुरा जस्तै खाना ,बस्न , यातायात लागायतका सेवा सुविधा निक्कै महंगो लाग्यो मेरो अनुभवमा बेलायतको भन्दा तेब्बर महंगो थियो । यद्यपि केही सामान्य कुरामा ध्यान दिने हो भने केहि खर्च जोगाउन पनि सकिन्छ । जस्तो केही समय अगावै हवाई टिकट लिने र होटल बुकिङ अगाडि गर्दा सस्तो पर्न जान्छ ,यात्राको लागी ट्याक्सी र बससेवा भन्दा रेल सेवा सस्तो र छिटो हुन्छ , यस्तै सार्वजनिक स्थल र पर्यटकिय स्थानमा खानेपानी प्रसस्तै हुने भएकाले पानी नकिन्दा राम्रो , बोतलमा भरेर पिउन सकिन्छ , र रेष्टुरेन्टमा खाँदा महंगो पर्ने भएकाले कोप , मिग्रोसमा खरिद गर्दा केही पैसा जोगाउन सकिन्छ ।
प्रतिक्रिया