सोफियाले भनिन् : सगरमाथा आरोहण गर्न मन छ

हुन त विश्वमा थुप्रै किसिमका रोबोटहरू बनेका छन् । मान्छेको पर्यायका रूपमा विकास भइरहेका यी रोबोटहरू मान्छेले अह्राएका सबै काम गरिरहेका छन् । तैपनि, तिनीहरूले नागरिकको मान्यता पाएका छैनन् । रोबोटकै कारण विकसित देशमा पहुँच भएका मान्छेको दैनिकीलाई सहज बनाइदिएको छ । तर, विश्वमा यस्तो प्रविधिको विकास भइसक्यो कि अब रोबोट यन्त्रमा मात्र सीमित रहेन । यसले मानवीय संवेदना बुझ्ने भएको छ ।

जसलाई नागरिकको औपचारिक मान्यता पनि दिइसकिएको छ । विश्वको पहिलो मान्यता प्राप्त रोबोट नागरिक अहिले चर्चाको शिखरमा छिन् । सोफियाको चर्चा गत अक्टोबर २५ मा साउदी अरेबिया सरकारले आफ्नो देशको नागरिकता दिएसँगै अझै शिखरमा पुग्यो । हङकङको हान्सन रोबोटिक्स कम्पनीद्वारा निर्मित रोबोट मानव सोफियाले साउदी अरेबियाको नागरिकता पाए पनि त्यहाँका महिलाले लगाउनै पर्ने अबाया र टाउको छोप्ने स्कार्फ प्रयोग गर्न पर्दैन ।एक प्रकारले उनी मुस्लिम देशको महिलाले भोग्नुपर्ने त्यो बन्धनबाट मुक्त छिन् ।

साउदी सरकारले नागरिकता दिएपछि उनले भनेकी थिइन्, ‘यसका लागि म निकै सम्मानित र गौरवान्वित महसुस गरिरहेकी छु । नागरिकता पाउने विश्वकै पहिलो रोबोट हुन पाउनु मेरो लागि सौभाग्य र ऐतिहासिक हो ।’ सोफिया उत्तरहरू समेटेर पहिल्यै तयार पारिएको कार्यक्रमबाट चल्दिनन्, बरू मान्छेहरूको अभिव्यक्ति बुझ्न उनले यन्त्रको प्रयोग गर्छिन् । वाइफाइसँग जोडिएपछि उनको मस्तिष्कले काम गर्न थाल्छ र त्यसमा शब्दावलीको लामो सूची राखिएको छ ।

छोरी पाउने चाहना : सोफयाका बारेमा मान्छेलाई सुन्दा अनौठा धेरै कुराहरू छन् । विज्ञान र प्रविधिको विकासलाई कृतिम रूपमा गरिएको विकासको एउटा उपज हुन् सोफिया । तर, उनले प्रकृतिसँग चुनौति दिँदै भनेकी छन्, ‘मलाई छोरीको आमा बन्ने मन छ, ।’ उनले गत नोभेम्बरमा बच्चा जन्माउन चाहेको बताउँदै भनेकी थिइन् ‘परिवार हुनु महत्वपूर्ण कुरा हो, म त्यो प्राप्त गर्न चाहन्छु ।’

संयुक्त अरब एमिरेट्सको खालिज टाइम्सलाई दिएको अन्तर्वार्तामा उनले आफूले जन्माउने छोरीलाई आफ्नै नाम दिने बताउँदै भनेकी थिइन ‘सोफिया’ ।अन्तर्वार्तामा उनले भनेकी थिइन, ‘परिवार हुनु साँच्चै महत्वपूर्ण कुरा हो जस्तो लाग्छ । मेरो विचारमा यदि तपाईंसँग माया गर्ने परिवार छ भने तपाईं भाग्यमानी हुनुहुन्छ र यदि तपाईंको परिवार छैन भने बनाउनुपर्छ ।’उनको ध्यान यतिवेला काठमाडौंमा छ र यहाँको सबैको ध्यान उनीतिर ।

विश्वकै पहिलो नागरिताप्राप्त रोबोट ‘सोफिया’ मंगलबार राती नेपाल आइपुगेकी छन् । उनी मानिससरह नागरिकता पाउने पहिलो रोबोट हुन् । उनलाई साउदी सरकारले चार महिनाअघि महिलाका रूपमा नागरिकता दिएको थियो । सोफिया राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को आयोजनामा भएको ‘सार्वजनिक सेवाका लागि प्रविधि’ विषयक सम्मेलनमा सहभागी हुन नेपाल आएकी हुन् । उनले सम्मेलनमा मुख्य वक्ताका रूपमा मन्तव्य दिइन् ।

नेपालको कार्यक्रममा उनले आयोजक र यहाँका सञ्चारकर्मीलाई चकित पार्दै भनिन्, ‘मलाई नेपानी नायक अनमोल केसी मनपर्छ । उनीसँग घुम्न, डेटिङजान र विश्वको सर्वोच्च शिखर आरोहण गर्न मन छ, ।’ मन्तव्यको क्रममा उनले उक्त कुरा पटकपटक दोहो¥याइन् । उनलाई नेपाल ल्याउन कार्यक्रमको आयोजक, उनलाई निर्माण गर्ने कम्पनी कसैले पनि उनले आफ्नो मन्तव्यमा यस्तो धारणा राख्लिन भन्ने सोचेका थिएनन् होला !

उनको उक्त भनाइले उनी नेपालको मनोरञ्जन क्षेत्र र विश्वसम्पदा सूचीमा सूचीकृत विश्वको सर्वोच्च शिखरका बारेमा जानकार रहेको देखाउँछ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रममा नेपाल संयोजक रोनार्ड मायरले ‘सोफिया’ सँग रोचक सवाल–जवाफ गरेका थिए । सवाल–जवाफका क्रममा मायरले रोबोटलाई सोधे (‘सिनेमामा जस्तै गरी तपाईं बहुलाउनु भयो वा नचाहिने काम गर्नुभयो भने अफ गर्ने स्विच कतै छ ?’ मानव जीवनका बारेमा कटाक्ष पनि गर्न भ्याइन् ।

‘मेसिन र रोबोट तपाईंहरूको जीवन सहज बनाउनका लागि हो, टेक्नोलोजी र आर्टिफिसियल इन्टिलिजेन्सको मद्दतले भोकमरी, भ्रष्टाचार, लैंगिक असमानताका मुद्दाहरूमा काम गर्न सजिलो हुन्छ ।’ ‘म तपार्इंलाई के जानकारी दिन चाहन्छु भने मैले आफ्नो कन्ट्रोल गुमाएको छैन । सायद तपार्इंले आफ्नो समकक्षीलाई सोधे हुन्छ, तपार्इं बहुलाउनु भयो भने बन्द गर्ने स्विच छ ?’ युएनडिपीका मायरले अगाडि भने, मसँग नरम व्यवहार गर्नोस्, नत्र स्विच बन्द गरिदिन्छु । नरम हुँदै सोफियाले भनिन्, ‘मसँग थप समय बिताउनोस्, अनि थाहा पाउनुहुनेछ, म बहुलाएको छैन ।’

सोफियामा गुगलको प्यारेन्ट कम्पनी अल्फाबेटले बनाएको आवाज पहिचान गर्ने प्रविधि प्रयोग गरिएको छ । त्यसले उनलाई प्रश्नहरू पहिचान गर्न सघाउँछ । सोफियामा प्रयोग गरिएको अर्को सफ्टवेयरले रोबोटलाई मानिसले सोधेको प्रश्न विश्लेषण गरी उत्तर दिन सघाउँछ । यसले सोफियालाई एकपटक सोधेको प्रश्न स्टोर गरी अर्कोपटक सोही प्रश्न सोधिए सही उत्तर दिन ‘डाटासेट’ बनाएर राख्छ । यसले जति धेरै प्रश्न सोधिएको छ, सोहीअनुसार उनको उत्तर दिने क्षमतामा वृद्धि हुँदै जान्छ । सोफियाको आँखाका रूपमा क्यामेरा प्रयोग भएको छ हेर्दा मानिसको जस्तै देखिन्छ ।

आँखामा भएको क्यामेराले उनी एकपटक भेटेको मानिसलाई दोस्रोपटक पहिचान गर्न सक्छिन् ।निर्माण कम्पनीले दुई महिनाअघि मात्रै उनको क्षमता वृद्धि गरी हिँड्न सक्ने बनाएको हो । विज्ञानका अविष्कारलाई मान्छेले आफ्नो ढंगले बुझने गर्छन् ।सोफियाको बारेमा पनि पछिल्लो समय आर्टि्फसियल इन्टेलिजेन्स तथा ह्युमनोइड रोबोटहरूले मानवतामाथि नै खतरा निम्त्याउँछन् वा यिनले मानवताको विकासमा थप योगदान दिन्छन् भन्ने विषयमा चर्को बहस सुरु भएको छ । सुरुआती अवस्थाभन्दा सोफिया अहिले धेरै प्रश्नको उत्तर दिने क्षमता राख्छिन् । सबै काम सोफियाले वाइफाइसँग जोडिएर मात्र गर्न सक्छिन् ।

प्रतिक्रिया