नुवाकोट, २० फागुन । फागु पूर्णिमा बिदाको सदुपयोग गर्दै डा. गोविन्द केसी नुवाकोटका बिरामीको उपचारमा व्यस्त भएका छन् । डा. केसी पञ्चकन्या गाउँपालिका-१ र लिखु गाउँपालिका-४ मा बिरामीको उपचारमा स्वास्थ्य शिविरमा संलग्न भएका हुन् ।
पञ्चकन्या गाउँपालिका-१ आपचौरमा शुक्रबार १५० जनाको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरेका डा. केसी शनिबार लिखु गाउँपालिका-४ चौघडामा स्थानीयवासीको स्वास्थ्य परीक्षण गर्नमा व्यस्त भएका छन् ।
चौघडा स्वास्थ्य चौकीमा डा. केसीले २०७ जना स्थानीयवासीको स्वास्थ्य परीक्षण, स्वास्थ्यसम्बन्धी परामर्श र औषधि वितरण गरेको स्थानीयवासी शान्तिकुञ्ज एकेडेमीका अध्यक्ष मधु अधिकारीले जानकारी दिए ।
डा. केसी आफ्ना दुई जना सहयोगीका साथमा व्यक्तिगत खर्चमा केही औषधि खरिद गरी तथा केही औषधि कम्पनीबाट सहयोग जुटाएर नुवाकोट आएको हो ।
उनले बिहीबार फागू पूर्णिमाको बिदा र लगत्तै शनिबार पनि भएकाले यो बिदालाई सदुपयोग गर्न आएको बताए । डा. केसी भूकम्पपछि सोही महिनाको अन्तिम साता स्वास्थ्य शिविर चलाउन यो क्षेत्रमा आएका थिए ।
प्रतिक्रिया